जलवायु परिवर्तनका असरबारे राष्ट्रपति पौडेलले विश्वनेताको ध्यानाकर्षण गराउँदै के भने

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उद्घाटन सत्रमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले नेपालमा पारिरहेका असर र तिनले निम्त्याउने जोखिमबारे एउटा अन्तर्राष्ट्रिय मञ्चमार्फत्‌ विश्वनेताहरूको ध्यानाकर्षण गराएका छन्।

स्विट्जरल्यान्डको जिनिभामा बिहीवार एउटा उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सामाजिक न्यायमा जलवायु परिवर्तनको प्रतिकूल असर पर्नेतर्फ सचेत गराए।

सामाजिक न्याय र भावी पुस्ताको भविष्यको कुरा गर्दा एउटा पर्वतीय मुलुकको बासिन्दा हुनुको नाताले जलवायु परिवर्तन र त्यसले नेपाली जनजीवनमा पारेको प्रतिकूल असरका बारेमा केही बोल्नु सान्दर्भिक भएको उनले जिकिर गरे।

११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‌घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका पौडेलले कार्बन उत्सर्जनमा न्यून योगदान भए पनि नेपालले जलवायु परिवर्तनको नकारात्मक असरहरूको मार खेपिरहेको उल्लेख गरे।

'नेपाल दोषी होइन'

जलवायु परिवर्तनमा नेपालको कुनै दोष नरहेको चर्चा गर्दै पौडेलले पछिल्ला वर्षहरूमा सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालयले आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत भइरहेका हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका उल्लेख गरे।

“जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई मानव जातिलाई चरम गरिबी र असमानतामा धकेलेको छ,” उनले भने।

“जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ।”

जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र क्षतिपूर्तिको व्यवस्था, आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय सुनिश्चित गरिनुपर्नेमा राष्ट्रपति पौडेलले उल्लेख गरे।

“विश्व समुदाय खास गरेर ठूला उत्सर्जनकर्ताहरू यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन। हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन,” उनले अगाडि भने।

राष्ट्रपति रामचन्द्र पौडेल

तस्बिर स्रोत, RSS

सामाजिक न्याय

हाल जिनिभामै रहेका राष्ट्रपति पौडेललका प्रेस सल्लाहकार किरण पोखरेलले जलवायु परिवर्तनले पार्ने असरलाई न्यूनीकरणलाई सम्बोधन नगरिएसम्म सामाजिक न्याय स्थापना सम्भव नहुनेमा राष्ट्रपतिको जोड रहेको उल्लेख गरे।

“सामाजिक न्याय गर्ने हो भने जलवायुको न्याय पनि सुनिश्चित हुनुपर्छ भन्नेमा उहाँले जोड दिनुभएको हो,” पोखरेलले भने।

बीबीसी विश्वसेवाका वातावरण पत्रकार नविन सिं खड्का नेपाली नेताहरूले महत्त्वपूर्ण विषय त्यसरी अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु सकारात्मक भएको बताउँछन्।

“जलवायु परिवर्तनका असर नेपालमा बढ्दै गएको कसैबाट लुकेको छैन। त्यो पृष्ठभूमिमा नेपालका अधिकारीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु र राष्ट्रपतिले त्यसलाई सामाजिक न्यायसँग जोडेर कुरा राख्नु सान्दर्भिक नै हो,” उनी भन्छन्।

फरक प्रसङ्गमा राष्ट्रपति पौडेलले विकासमा खर्च गर्नुपर्ने ठूलो रकम घातक हतियारका लागि लगानी गरिएको जिकिर गरे।

“अन्तर्राष्ट्रिय समुदायले यो पथलाई उल्टाउनुपर्छ र समग्र मानवताको समृद्धिका लागि स्रोतहरू परिचालन गर्नुपर्छ। दिगो शान्ति हतियारबाट होइन, साझा समृद्धि र विश्वबन्धुत्वको भावनाबाट प्राप्त गर्न सकिन्छ,” उनले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।