असान्ज अस्ट्रेलिया पुगे, अमेरिका प्रवेश गर्न 'निषेध': विकिलीक्स सुरु भएदेखिका मुख्य घटना

संयुक्त राज्य अमेरिकाको एउटा अदालतले मुक्त गर्ने आदेश दिएपछि विकिलीक्सका संस्थापक जुलिअन असान्ज अस्ट्रेलिया फर्किएका छन्।
अमेरिकाको न्याय मन्त्रालयसँगको एउटा सम्झौताअन्तर्गत उनी बुधवार प्रशान्त महासागरस्थित टापु क्षेत्रको अदालतमा उपस्थित भएका थिए। उक्त भूभाग अमेरिकाको स्वामित्वमा छ।
उक्त अदालतले उनलाई "षड्यन्त्रसम्बन्धी" एउटा मामिलामा मात्र दोषी ठहर गरेको थियो र तत्कालै उनलाई मुक्त पनि गर्ने आदेश दिएको थियो।
यद्यपि अमेरिकाको न्याय मन्त्रालयले असान्जलाई "बिनाअनुमति अमेरिका आउन निषेध" गरिएको जनाएको छ।
असान्जकी पत्नी स्टेलाले क्षमादानका लागि अनुरोध गरिने जनाएकी छन्। क्षमादान पाए भने असान्ज अमेरिकी भूमिमा पुनः जान पाउने छन्।

तस्बिर स्रोत, Reuters
उक्त अमेरिकी अदालतका न्यायाधीशले असान्ज "स्वतन्त्र व्यक्तिका रूपमा अदालतबाट बाहिर जान सक्ने" आदेश दिएका थिए।
असान्ज अमेरिकी न्याय मन्त्रालयसँग भएको एउटा सम्झौताबमोजिम मङ्गलवार यूकेको एउटा जेलबाट रिहा भएका थिए। उनलाई बुधवार नोर्दन म्यारियाना आइल्यान्ड्सको अदालतमा उपस्थित भए।
'यूएस कमनवेल्थ' मा रहेको उक्त क्षेत्र हवाई वा अमेरिकी सङ्घीय अदालतहरूभन्दा अस्ट्रेलियानजिक अवस्थित छ।
उक्त अदालतको आदेशसँगै असान्ज जासुसीको आरोपमा अमेरिका सुपुर्दगी गर्न लागिएको अवस्थाविरुद्धको एक दशकभन्दा लामो सङ्घर्षपछि स्वतन्त्र व्यक्तिका रूपमा अस्ट्रेलिया फर्किएका हुन्।

तस्बिर स्रोत, @WikiLeaks/PA Wire
असान्ज अस्ट्रेलियाली नागरिक हुन्। अहिले उनी ५२ वर्षका भए।
उनी मुक्त भएपछि अस्ट्रेलियामा उत्सव मनाइएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बनिजी असान्जको मुक्तिका लागि बोल्दै आएका थिए। गत सेप्टेम्बर महिनामा अस्ट्रेलियाली सांसदहरूको एउटा समूहले वाशिङ्टन डीसीको भ्रमण गरेर असान्जको मुक्तिका लागि आफ्ना समकक्षीहरूलाई दबाव दिएका थिए।
स्थानीय समयानुसार साँझ अस्ट्रेलियाको राजधानी क्यान्बरा पुग्दा उनलाई उनकी पत्नी र पिताले स्वागत गरे।
असान्जका एक वकिलले विकिलीक्सले आफ्नो काम जारी राख्ने र असान्ज "वाक् स्वतन्त्रता र सरकारमा पारदर्शिता" को पक्षमा उभिइराख्ने बताएका छन्।
असान्जमाथि कस्तो आरोप
उनी लन्डनस्थित एक्वडोरको दूतावासबाट सन् २०१९ को एप्रिलमा पक्राउ परेका थिए। उनी त्यहाँ सन् २०१२ देखि बस्दै आएका थिए।
उनलाई स्वीडनमा बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। उनीले ती आरोपहरू अस्वीकार गर्दै आएका थिए। यद्यपि स्वीडन सुपुर्दगी हुनबाट जोगिन उनले एक्वडोरको दूतावासमा शरण मागेका थिए।

तस्बिर स्रोत, Reuters
त्यस बेला सुरुमा स्वीडन र अन्तत: आफूलाई अमेरिकाको जिम्मा लगाउने उनको दाबी थियो।
गिरफ्तारीपछि सुरुमा उनलाई जमानतका सर्तहरू उल्लङ्घन गरेको आरोपमा ५० साताको जेल सजाय तोकिएको थियो।
त्यसपछिदेखि उनी लन्डनको सबैभन्दा धेरै सुरक्षा दिइएको भनिने बेल्मार्श जेलमा रहेका थिए।
जुलिअन असान्जको मुद्दामा प्रमुख घटनाक्रम र मिति
सन् २००६ - असान्जले विकिलीक्सको स्थापना गरे। उनी त्यसका सहसंस्थापक थिए। त्यो वेबमा आधारित "डेड-लेटरबक्स" हो। त्यसमा मानिसहरूले संवेदनशील सूचनाहरू चुहावट गर्ने गर्छन्।
२०१० एप्रिल - विकिलीक्सले इराकमा सर्वसाधारणमाथि अमेरिकी हेलिकप्टरबाट गोली चलाइएको फुटेज सार्वजनिक गरिदियो
२०१० अगस्ट - स्वीडनका अभियोजनकर्ताहरूले पहिलो पटक असान्जविरुद्ध दुई फरकफरक यौन दुर्व्यवहारसम्बन्धी आरोपमा पक्राउपुर्जी जारी गरे। त्यसलाई असान्जले "निराधार" भनेर खण्डन गर्दै आएका छन्
२०१० डिसेम्बर - असान्जलाई लन्डनमा गिरफ्तार गरियो र उनले तुरुन्तै जमानत पाए। उनीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउपुर्जी पनि जारी भयो
एक्वडोर दूतावासमा उनको प्रवेश

तस्बिर स्रोत, AFP
मे २०१२ – यूकेको सर्वोच्च अदालतले उनीमाथि लागेका आरोपबारे सोधपुछका लागि उनलाई स्वीडन सुपुर्दगी गर्नुपर्ने आदेश दियो
जुन २०१२- असान्ज लन्डनस्थित एक्वडोरको दूतावासमा प्रवेश गरे
अगस्ट २०१२- असान्जलाई आधिकारिक रूपमा दूतावासले शरण दियो र दूतावासको कौसीबाट पत्रकारहरूलाई सम्बोधन गर्दै उनले आफूलाई "सन्दिग्ध व्यक्तिका रूपमा लिँदै पछि लाग्ने काम गर्न" छाडिदिन माग अमेरिकासँग गरे
फेब्रुअरी २०१६ - संयुक्त राष्ट्रसङ्घीय एउटा समितिले असान्जलाई यूके र स्वीडनका अधिकारीहरूले "स्वेच्छाचारपूर्वक हिरासतमा" राखेको र उनलाई स्वतन्त्रता दिन आह्वान गर्यो
मे २०१७ - स्वीडनका अभियोजनकर्ताले असान्जमाथिको यौन दुर्व्यवहारको अभियोग फिर्ता लिएको घोषणा गरे

तस्बिर स्रोत, Getty Images
अक्टोबर २०१८ - असान्जलाई एक्वडोरको दूतावासले केही नियमहरू पालना गर्न लगायो। त्यसै महिना उनले एक्वडोर सरकारविरुद्ध कानुनी कारबाही सुरु गर्न लागेको खुलासा भयो। उनले "मौलिक हक र स्वतन्त्रता"को उल्लङ्घन गरेको आरोप लगाउँदै कानुनी उपचार खोजेका थिए
एप्रिल २०१९ - लन्डन प्रहरी दूतावासभित्र प्रवेश गर्यो। एक्वडोर सरकारको अनुमतिमा उनलाई पक्राउ गरियो। उनलाई सन् २०१२ मा जारी गरिएको पक्राउपुर्जीका आधारमा "अदालतमा आत्मसमर्पण नगरेको" भन्दै हिरासतमा लिइयो
बेल्मार्श जेल

तस्बिर स्रोत, AFP
मे २०१९ - असान्जलाई जमानतका सर्त उल्लङ्घन गरेको आरोपमा ५० साताको जेल सजाय सुनाइयो
मे २०१९ - स्वीडनले यौन दुर्व्यवहारबारे पुन: अनुसन्धान गर्दै अभियोजनको प्रक्रिया थाल्यो। अमेरिकाले असान्जविरुद्ध आफ्नो आरोपको पनि जानकारी दियो। उनले ब्रिटेनको अदालतमा सुपुर्दगीविरुद्ध कानुनी लडाइँ सुरु गरे।
नोभेम्बर २०१९ - स्वीडनका अभियोजनकर्ताहरूले उनीमाथिको बलात्कारसम्बन्धी अभियोग फिर्ता लिए
ज्यानुअरी २०२१ - यूकेका एक न्यायाधीशले असान्जको मानसिक स्वास्थ्यमा असर परेको भन्दै अमेरिकामा सुपुर्दगी गर्नुपर्ने अनुरोधलाई अस्वीकार गरे। तर डिसेम्बरमा अमेरिकाले त्यसविरुद्ध मुद्दा जित्यो
जुन २०२२ - यूके सरकारले असान्जलाई अमेरिका सुपुर्दगी गर्ने आदेश दियो तर उनले गरेका पुनरावेदनमा अन्तिम निर्णय हुन बाँकी थियो
फेब्रुअरी २०२४ - असान्जका वकिलहरूले इङ्ल्यान्ड र वेल्सको सबैभन्दा माथिल्लो अदालतमा उनको सुपुर्दगी रोक्नको लागि अन्तिम कानुनी लडाइँ सुरु गरे
मे २०२४ - असान्जले अमेरिकामा गरिने सुपुर्दगीविरुद्ध पुन: पुनरावेदन गर्न सक्ने उच्च अदालतले आदेश दियो
१९ जुन २०२४ - असान्जले अमेरिकासँग एउटा सम्झौतामा हस्ताक्षर गरे र उच्च अदालतले उनलाई जमानत दियो
२४ जुन २०२४ - असान्ज जेलबाट जमानतमा रिहा भए र अमेरिकी न्याय मन्त्रालयसँगको सम्झौताअनुसार प्रशान्त क्षेत्रस्थित एउटा अमेरिकी अदालतमा उपस्थित हुन गए।

तस्बिर स्रोत, EPA
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









