विकिलीक्सका जेलमुक्त संस्थापक जुलिअन असान्ज अमेरिकातर्फ

असान्ज

तस्बिर स्रोत, X/Wikileaks

    • Author, बर्न डिबसम्यान जुनिअर
    • Role, बीबीसी न्यूज, वाशिङ्टन

ब्रिटिश जेलबाट रिहा भएका विकिलीक्सका संस्थापक जुलिअन असान्ज अदालतमा उपस्थित हुन थाईल्यान्डबाट अमेरिकातर्फ लागेका छन्।

अमेरिकी अदालतमा उपस्थित भई उनले अमेरिकाले लगाएको आरोप अनुसारको अपराध स्वीकार्नुपर्ने बताइएको छ।

लामो कानुनी उतारतढावपछि अमेरिकी अधिकारीहरूसँग भएको एउटा सम्झौताअनुरूप असान्ज यूकेको जेलबाट छुटेका हुन्।

असान्जलाई राष्ट्रिय सुरक्षासम्बन्धी अति गोप्य सूचना अनधिकृत रूपमा प्राप्त गर्ने तथा त्यस्ता सूचनाहरू चुहाउने कार्य गरेको अभियोग लगाइएको थियो।

अमेरिकाले वर्षौँदेखि ‍विकिलीक्सले इराक र अफगानिस्तान युद्धबारे कैयौँ गोप्य सूचना उजागर हुने गरी सार्वजनिक गरेका कागजपत्रले मानिसहरूको ज्यान जोखिममा पारेको दाबी गर्दै आएको थियो।

असान्जले पछिल्ला पाँच वर्ष ब्रिटेनको जेलमा बिताए। उनी त्यहाँ अमेरिकामा गर्न लागिएको सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहेका थिए।

विकिलीक्सले के भन्यो?

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार असान्जले अब अमेरिकी हिरासतमा बस्नुपर्ने छैन। अमेरिकाले यूकेमा उनले बिताएको थुनाको अवधिलाई गणना गरेर त्यस्तो छुट दिने बताइएको छ।

अमेरीकी न्याय मन्त्रालयको पत्रअनुसार असान्ज अस्ट्रेलिया फर्किनेछन्।

विकिलीक्सले सामाजिक सञ्जाल एक्समा असान्जले सोमवार एक हजार ९ सय एक दिनपछि बेलमार्श जेलको सानो बन्दी कोठा छाडेको लेखेको छ।

विकिलीक्सले साझा गरेको भिडिओमा जीन्स र नीलो शर्ट लगाएका असान्जलाई विमानमा उनी प्रस्थान गर्नुअघि गाडीमा लादैँ गरेको देखाइएको छ।

असान्जकी श्रीमतीले के भनिन्?

उनकी श्रीमती स्टेला असान्जले एक्समा लेख्दै आफ्ना समर्थकहरूलाई धन्यवाद दिएकी छिन्।

उनले ती समर्थकहरूले "यसलाई साकार पार्न वर्षौँदेखि काम गरेको" उल्लेख गरेकी छन्।

आफ्ना श्रीमान् जेलमुक्त भएकोमा आफू अत्यन्तै हर्षित भए पनि कानुनी लडाइँ अझै नसकिएकोमा चिन्तित भएको उनले बताएकी छिन्।

अमेरिकासँग भएको सम्झौताअनुरूप उनलाई एउटा आरोपमा दोषी ठहर गरिनेछ। त्यसको अन्तिम निर्णय बुधवार नोर्दन मारियाना आइल्यान्डस्‌को एउटा अदालतमा हुने ठानिएको छ।

'यूएस कमनवेल्थ' मा रहेको उक्त अदालत अस्ट्रेलियाबाट नजिकमा पर्छ। यो हवाई वा अमेरिकी सङ्घीय अदालतहरूभन्दा धेरै नजिक छ।

जुलिअन असान्जकी श्रीमती

तस्बिर स्रोत, Reuters

एएफपी समाचार संस्थाले अस्ट्रेलिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै यो मुद्दा "धेरै लामो समयसम्म तन्किएको" जनाएको छ।

उनका वकिल रिचर्ड मिलरसँग सीबीएसले सम्पर्क गरेको थियो। तर उनले टिप्पणी गर्न अस्वीकार गरे।

बीबीसीले पनि उनका अमेरिकास्थित वकिललाई सम्पर्क गरेको थियो।

उनी र उनका वकिलहरूले लामो समयदेखि असान्जविरुद्धको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै आएका थिए।

गत एप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडनले असान्जविरुद्धको मुद्दा फिर्ता लिन अस्ट्रेलियाले गरेको अनुरोधलाई आफूले विचार गरिरहेको बताएका थिए।

असान्ज

तस्बिर स्रोत, Reuters

एक करोडभन्दा बढी दस्तावेजको 'चुहावट'

यसअघि ब्रिटिश उच्च अदालतले असान्जले अमेरिकामा सुपुर्दगीको विरुद्धमा नयाँ अपिल गर्नसक्ने र आफ्नो सम्भावित मुद्दाको सुनुवाइ कसरी गरिन्छ तथा उनको अभिव्यक्ति स्वतन्त्रता उल्लङ्घन हुँदैन भन्ने अमेरिकी आश्वासनविरुद्ध चुनौती दिन सक्ने आदेश दिएको थियो।

त्यो आदेशपछि उनकी पत्नी स्टेलाले पत्रकार र समर्थकहरूलाई बाइडन प्रशासनले "यस्तो लाजमर्दो अभियोग लगाउने कुराबाट आफूलाई टाढा राख्नुपर्ने" बताएकी थिइन्।

अफगानिस्तान र इराक युद्धसँग सम्बन्धित गोप्य अमेरिकी सैन्य दस्तावेजहरू र कूटनीतिक पत्रहरू सार्वजनिक गरेकोमा अमेरिकी अभियोजनकर्ताहरूले सुरुमा असान्जलाई जासुसीसम्बन्धी कानुनअन्तर्गत १८ वटा मुद्दा लगाउन चाहन्थे।

असान्जले सन् २००६ मा विकिलीक्स स्थापना गरेका थिए।

अहिलेसम्म आफूले युद्ध, जासुसी, भ्रष्टाचार लगायतका विषय समेटेका एक करोडभन्दा बढी गोप्य दस्ताबेज छापिसकेको उक्त वेबसाइटको दाबी छ।

अमेरिकी सरकारले त्यसलाई "उसको इतिहासमा गरिएको गोप्य सूचनाको सबैभन्दा ठूलो चुहावट"को रूपमा लिने गरेको छ। सन् २०१० मा विकिलीक्सले इराकमा अमेरिकी सैनिक हेलिकप्टरबाट खिचिएको एउटा भिडिओ सार्वजनिक गर्‍यो जसमा बग्दादमा १८ सर्वसाधारण नागिरक मारिएको देखिएको थियो।

यो वेबसाइटले अमेरिकी सेनाका पूर्वगुप्तचर विश्लेषक चेल्सी म्यानिङले उपलब्ध गराएकी हजारौँ गोप्य दस्तावेज पनि प्रकाशित गरेको थियो।

बग्दादमा अमेरिकी सैनिक हेलिकप्टरबाट खिचिएको भिडिओ

तस्बिर स्रोत, WIKILEAKS

तस्बिरको क्याप्शन, बग्दादमा अमेरिकी सैनिक हेलिकप्टरबाट खिचिएको भिडिओ

राष्ट्रपति बाराक ओबामाले उनको सजाय घटाइदिनुअघि म्यानिङलाई ३५ वर्षको जेल सजाय तोकिएको थियो।

असान्जले स्वीडेनमा बलात्कार र यौन दुर्व्यवहारका छुट्टाछुट्टै अभियोगहरूको पनि सामना गरेका थिए। ती आरोपहरूलाई उनले अस्वीकार गरेका थिए।

उनले एक्वडोरको लन्डन दूतावासमा शरण लिएर लुकेर सात वर्ष बिताए। त्यस बेला उनले स्विडेनी मुद्दाले उनलाई अमेरिका पुर्‍याउन सक्ने दाबी गरेका थिए।

स्विडेनी अधिकारीहरूले सन् २०१९ मा ती मुद्दाहरू फिर्ता लिए। त्यसको कारणका रूपमा उनीहरूले मुख्य उजुरी दर्ता भएको समय धेरै भएको बताएका थिए।

तर ब्रिटिश अधिकारीहरूले उनलाई हिरासतमा लिए। स्वीडनमा सुपुर्दगी गर्नका लागि अदालतसमक्ष आत्मसमर्पण नगरेको भन्दै उनीमाथि मुद्दा चलाइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।