यी भारतीय विद्यार्थी जो युद्धग्रस्त युक्रेनमा पढ्न गइरहेका छन्

ऋषि द्विवेदी एक वर्ष पहिले युक्रेनबाट उद्धार गरेर भारत लगिएका हजारौँ भारतीय विद्यार्थीमध्ये एक हुन्।

तर युद्धका कारण सुरक्षा जोखिम उत्पन्न भएको भएता पनि युक्रेन फर्केर उनी अहिले लभिभमा अध्ययनरत छन्।

"हामीलाई क्षेप्यास्त्र वा ड्रोन हमलाको चेतावनी दिने हवाई आक्रमणसम्बन्धी साइरन दिनको चार पटकसम्म बज्छ," २५ वर्षीय द्विवेदीले बीबीसीसँग भने।

भारतीय राज्य उत्तर प्रदेशको कन्नौजका उनी लभिभ न्याशनल मेडिकल युनिभर्सिटीमा मेडिसिन र शल्यक्रिया विषयमा स्नातक तहको पाँचौँ वर्षका छात्र हुन्।

एक वर्ष पहिले रुसले युक्रेनमा आक्रमण सुरु गर्दा उनलाई उद्धार गरेर स्वदेश फिर्ता लगिएको थियो। तर उनी आफ्नो पढाइ पूरा गर्न गत अक्टोबरमा युक्रेन फर्के।

युद्धको आरम्भमा गोलाबारीमा परेर चिकित्साशास्त्रका एकजना २२ वर्षीय भारतीय विद्यार्थीको मृत्यु भएपछि भारतले १८ हजार विद्यार्थीसहित उक्त देशमा फसेका आफ्ना २३ हजार नागरिकलाई उद्धार गरेको थियो।

तर धेरैजसो चिकित्साशास्त्रका विद्यार्थीहरूसहित ठूलो सङ्ख्यामा भारतीयहरू सरकारी सुझावको बेवास्ता गर्दै पछि युक्रेन फर्किसकेका छन्।

चिकित्सक बन्ने हो भने आफूहरूसँग अन्य खासै विकल्प नभएको उनीहरू बताउँछन्।

द्विवेदी हाल युक्रेनमा बसोबास गरिरहेका १,१०० भारतीयहरूमध्ये एक हुन्।

कुन सहरमा छन् भारतीय विद्यार्थी?

धेरैजसो विद्यार्थी देशको पश्चिमी सहरहरू लभिभ, उज्गोरोड र टेर्नोपिल जस्ता स्थानमा रहेका छन्।

ती सहरहरू रुसी हवाई आक्रमण हुनसक्ने क्षेत्र भित्र पर्छन् तर पूर्वमा भइरहेको लडाइँको क्षेत्रभन्दा धेरै टाढा छन्।

तर युक्रेन फर्कने विदेशीहरूमा भारतीय विद्यार्थी मात्र छैनन्।

बीबीसीले लभिभमा फर्केका अफ्रिकी विद्यार्थीहरूलाई पनि भेटेको छ र अरू कतिपयले पनि उनीहरूले फर्कनु पर्छ कि भन्ने सोच बनाएका छन्।

"हामी आफ्नो पढाइ पूरा गर्न सक्छौँ कि सक्दैनौँ भनेर सौच्छौँ। हेलिकप्टर वा विमान हामीमाथि उड्दा हामी सुत्न सक्दैनौँ। आक्रमण हुन लागेको हो कि भनेर हामीलाई चिन्ता लाग्छ," लभिभमा चौथो वर्षमा अध्ययनरत चिकित्साशास्त्रकी विद्यार्थी सृष्टि मोजेज भन्छिन्।

त्यहाँ आउँदै जाँदै गर्ने खालको बिजुलीको आपूर्ति छ त्यसैले उत्तरी भारतीय सहर देहरादुनकी मोजेज नियमित बिजुलीको व्यवस्था भएको नजिकैको महँगो अपार्टमेन्टमा सर्न बाध्य भएकी छिन्।

फिर्ता नजानका लागि सर्त

विज्ञका अनुसार विदेशमा रहेका चिकित्साशास्त्रका अधिकांश भारतीय विद्यार्थी स्नातक गरेपछि आफ्नो देश फर्कन चाहन्छन्। तर त्यसका लागि उनीहरूलाई भारतको चिकित्सा शिक्षा नियामक राष्ट्रिय चिकित्सा आयोग एनएमसीको अनुमति चाहिन्छ।

युद्धका कारण यी विद्यार्थीहरू शिक्षाबाट वञ्चित भएपछि भारतका शिक्षा मन्त्रीले उनीहरूलाई "डाक्टर बनाउन" सरकारले "सम्भव हुने सबै प्रयास" गर्ने बताएका थिए।

इन्डियन मेडिकल असोसिएशनले यस्ता विद्यार्थीलाई भारतीय कलेजमा भर्ना गर्न आग्रह गरेको थियो। प्रदेश सरकारहरूले पनि यस्तै माग गरेका छन्।

भारतको विदेश मन्त्रालयले "भारतीय निजी मेडिकल संस्थाहरूलाई फर्केर आएका विद्यार्थीहरूलाई... एक पटकको असाधारण अवस्थाका आधारमा भर्ना गर्न" अनुरोध पनि गर्‍यो।

तर स्वास्थ्य मन्त्रालयले अर्कैखाले निर्णय गर्‍यो। उसले गत जुलाईमा "कुनै पनि विदेशी मेडिकल संस्थानबाट मेडिकल विद्यार्थीहरूलाई भारतीय मेडिकल कलेजहरूमा समायोजन गर्ने वा स्थानान्तरण गर्ने" प्रावधान नभएको बतायो।

प्रवेश पाउनको लागि कडा प्रतिस्पर्धा र चिकित्सा अध्ययनको उच्च लागतका कारण युक्रेनबाट फर्केका धेरै विद्यार्थीले भारतीय कलेजमा भर्ना हुन पनि खोजिरहेका छैनन्।

टेर्नोपिल न्यासनल मेडिकल युनिभर्सिटीमा मेडिसिन पढिरहेकी वैशाली सेठिया गत वर्ष मार्चको सुरुमा हङ्गेरीको सीमा हुँदै युक्रेन छाडेर फेरि नोभेम्बरमा फर्केकी थिइन्।

"एनएमसीले एउटा आदेश जारी गरेर नोभेम्बर २०२१ पछि विदेशी विश्वविद्यालयहरूमा भर्ना भएका भारतीय विद्यार्थीहरूले उनीहरूको डिग्रीलाई भारतमा मान्यता दिन चाहेको खण्डमा सोही विश्वविद्यालयमा पढाइ पूरा गर्नुपर्नेछ भनेको थियो," फरिदाबादकी सेठिया भन्छिन्।

उनका अनुसार युद्धले उनलाई युक्रेन छाड्न बाध्य पार्नु केही महिना अघि डिसेम्बर २०२१ मा मात्र उनले भर्ना पाएकी थिइन्।

"मानिसहरूले हामीलाई युक्रेन किन फर्कियौ भनेर सोधिरहेका छन्। हामीले फर्कनै पर्‍यो," उनी भन्छिन्।

भारतको स्वास्थ्य मन्त्रालय के भन्छ?

गत महिना भारतको स्वास्थ्य मन्त्रालयले युद्ध सुरु हुँदा युक्रेनी विश्वविद्यालयहरूमा रहेका ३,९४६ जना भारतीय विद्यार्थीहरू युक्रेन बाहिरका विश्वविद्यालयहरूमा सरेको बताएको थियो।

अहिले पनि करिब १७० जना भारतीय विद्यार्थीले युक्रेनी विश्वविद्यालयहरूमा अध्ययन जारी राखेका छन्।

उनीहरू अस्थायी रूपमा सुरक्षित क्षेत्रहरूमा सरेर पठनपाठन सञ्चालन गरिरहेका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयले गत जुन ३० वा त्यसअघि आफ्नो चिकित्सा शिक्षा पूरा गरेका भारतीय विद्यार्थीले 'फरेन मेडिकल ग्राजुएशन एक्जामिनेशन' मा सहभागी हुन पाउने पनि घोषणा गरेको थियो।

उक्त परीक्षामा सामेल भएर उत्तिर्ण भएपछि मात्र विदेशमा चिकित्साशास्त्र पढेका विद्यार्थीले भारतमा चिकित्सकका रूपमा अभ्यास गर्न पाउँछन्।

तर अहिले युक्रेन फर्केका विद्यार्थीका लागि यो सबै कुराको खासै अर्थ छैन।

अनि, जसले त्यस्तो गरेनन् उनीहरूमा पनि एकखाले दोधारको स्थिति देखिएको छ।

युक्रेन जानुको कारण

भारतको बिहार राज्यका दीपक कुमारले युक्रेन फर्केर आफ्नो पढाइ सुरु गर्न चाहे पनि पारिवारिक दबाबका कारण नपाएको बताए।

"मेरो सुरक्षाको चिन्ताले मेरो परिवारले मलाई फर्कन दिएका छैन," उनी भन्छन्।

दीपक भारतको निजी मेडिकल कलेजमा भर्ना हुन सक्ने थिए तर पनि शुल्क बढी भएकाले त्यो नगरेको उनले बताए।

"हामीसँग म युक्रेन जानका लागि आवश्यक पैसा पनि थिएन तर मेरो बुबाले शुल्क तिर्न हाम्रो केही जग्गा बेच्नु भएको थियो," उनी भन्छन्।

बीबीसीसँग कुराकानी गरेका विद्यार्थीहरूले युक्रेनमा लाग्ने सम्पूर्ण मेडिकल कोर्सको शुल्क भारतको निजी संस्थानहरूमा अध्ययन गर्न लाग्ने खर्चको आधाभन्दा पनि कम रहेको बताए।

मृत्युञ्जय कुमारका छोरा शशांक अध्ययनका लागि अहिले लभिभ फर्केका छन्।

उनका भनाइमा भारतीय निजी कलेजहरूले करिब ७२ लाख भारु लिने मेडिकल कोर्सका लागि युक्रेनमा जम्मा २५ लाख रुपैयाँ मात्र लाग्छ।

लभिभ फर्केका ऋषि द्विवेदी अहिले फर्किएपछि खासै चिन्ता गर्न छाडेका छन्।

"हामी फर्केको महिनामा हामी विद्यार्थीहरू चर्चामा थियौँ। त्यसपछि मानिसहरूले हाम्रो बारेमा चिन्ता गर्न छोडे।"

तर हरेक दिन भविष्यको अनिश्चितताले भरिएको छ।

"हामीले हाम्रा अभिभावकलाई भनेका छौँ- यदि युद्ध फेरि बढ्यो र हामी भाग्न आवश्यक भयो भने हामी नजिकैका सीमा क्षेत्रबाट बाहिर निस्कने प्रयास गर्नेछौँ," उनी भन्छन्।

क्लेयर प्रेस र केभिन म्याकग्रेगोरबाट थप रिपोर्टिङ