चिनीको तस्करी: न देशलाई फाइदा न जनतालाई

नेपाल-भारतको सीमावर्ती क्षेत्रमा कहिले दूधको तस्करी त कहिले कुखुराको तस्करीका विवरण आउँछन्। चाडबाड नजिकिइरहेका बेला पछिल्ला महिनामा चिनीको तस्करी असाध्यै बढेको तथ्याङ्कहरूले देखाउँछन्।

पर्सा प्रहरीले यो आर्थिक वर्षको साढे तीन महिनामा अघिल्लो एक वर्षभरिको भन्दा बढी परिमाणमा अवैध रूपमा भित्रिँदै गरेको चिनी बरामद गरेको छ।

पर्साका प्रहरी प्रवक्ता समेत रहेका नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार गएको आर्थिक वर्षमा १३ सय ५८ किलोग्राम चिनी अवैध रूपमा भित्रिँदै गरेको अवस्थामा बरामद गरिएको थियो।

तर जेठ यतामात्रै अहिलेसम्म १४ सय ३२ किलोग्राम चिनी विभिन्न नाकाबाट बरामद गरिएको छ।

त्यसरी बरामद गरिएको चिनी केवल नाकाबाट भित्रिँदै गरेको मात्रै नभई पर्साका विभिन्न गोदाममा लुकाइ छिपाइ राखेको अवस्थामा समेत बरामद गरिएको प्रवक्ता थापाले बताए।

किन र कसरी हुन्छ चिनी तस्करी?

खासगरी भरियामार्फत साइकल, मोटरसाइकलमा दैनिक रूपमा चिनी भारतीय बजारबाट नेपालका सीमावर्ती क्षेत्रमा भित्रिने गरेको स्थानीय बासिन्दाहरू बताउँछन्।

भारतमा चिनीको मूल्य भारतीय रुपैयाँ ४०/४२ छ भने नेपालका सीमावर्ती बजारमा नेपाली रुपैयाँ ७५ देखि ८० रुपैयाँसम्म पर्छ।

त्यसरी मूल्यमा अन्तर परेपछि घरायसी प्रयोजनका निम्ति मात्रै नभई व्यापारीहरूले लुकाइछिपाइ नाका छलेर ठूलो परिमाणमा चिनी ल्याउने गरेको पटेर्वासुगौली गाउँपालिकाका रामकृष्ण चौधरी बताउँछन्।

“चिनीको मूल्यमा किलोमै १० देखि १३ रुपैयाँसम्म फरक पर्ने भएपछि दिनहुँ जसो भन्सार नतिरी भिश्वा, इनरुवा नहर, भंगाहा, भेलाई लगायतका नाकाबाट मोटरसाइकल र साइकलमा चिनी ल्याइने गरेको छ,” चौधरीले भने।

ग्रामीण भेगको नाकातिर रहेका प्रहरीलाई आर्थिक प्रलोभन देखाएर चिनी अवैध रूपमा ल्याउने गरेको चौधरीको आरोप छ।

एकातिर पर्साको गाउँदेखि वीरगन्जस्थित मुख्य बजारसम्म चिनी तस्करी भइरहेको विवरणहरू छन् भने अर्कोतर्फ बाँकेका सीमावर्ती बजारका पसलहरूमा नेपालमा उत्पादित चिनी पाउन मुस्किल भएको व्यापारीहरू बताउँछन्।

नेपालगन्जमा नेपालमा उत्पादित चिनी पाउनै गाह्रो

बाँकेको सीमावर्ती बजारका पसलहरूमा नेपालमा उत्पादित चिनी पाउन मुस्किल भएको नेपालगन्जका व्यापारीहरू बताउँछन्।

नेपालगन्जका थोक बिक्रेता मुन्ना मन्सुरीले नेपालमा चिनीको भाउ बढ्दा ठूला पसलहरू मर्कामा परेको बताए।

“चिनी विक्रेता कम्पनीसँग हामीले प्रति केजी १०५ मा खरिद गरेर ११० मा साना किराना पसललाई बिक्री गर्न खोज्दा पनि उनीहरू किन्न मान्दैनन्,” मन्सुरीले भने।

“भारतीय व्यापारीले आवश्यकता अनुसार ५ देखि १० किलोग्राम सम्म प्रति किलो ७० रुपैयाँकै दरले साना किरानाहरूलाई पसलमै पुर्‍याइदिन्छन्।”

यसरी नेपालगन्जमा चिनीको मूल्य त्यति धेरै फरक नभए पनि पहाडी क्षेत्रका बजारहरूमा चिनी पुर्‍याउने व्यापारी र उपभोक्ताले नेपालगन्जबाट चिनी किनेर लैजाने अनि महँगोमा बेच्ने गरेको मन्सुरी बताउँछन्।

नाकामा ७०/७५ रुपैयाँमा पाइने चिनी काठमाण्डूलगायत सहर अनि पहाडहरूमा एक किलोको १३० रुपैयाँसम्म रहेको छ।

चिनीको मूल्यवृद्धि किन यति धेरै?

नेपालमा चिनी पर्याप्त उत्पादन नभएका कारण मूल्य वृद्धि भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चिरञ्जीवी ओली बताउँछन्।

“भारतबाट चिनीको तस्करी हुनु र नेपालमा चिनीको मूल्य वृद्धि हुनुमा सरकारकै हात रहेको छ,” उपाध्यक्ष ओलीले भने।

“नेपालमा चिनी उत्पादन गर्ने वातावरण सहज नहुनु र भारतबाट ल्याइने चिनीमा कर वृद्धि गरिनुका साथै विभिन्न बहानामा रोक लगाएपछि तस्करी बढ्नु स्वाभाविक हो।”

नेपाल र भारतका बजारमा प्रतिकिलो ४५ देखि ५० रुपैयाँ मूल्यमा फरक परेका कारण चाडबाडमा मात्रै नभई अन्य समयमा पनि चिनीको तस्करी हुँदै आएको उपाध्यक्ष ओली बताउँछन्।

नियन्त्रणका उपाय के छन्?

तर चिनीको तस्करी कम गर्न नाकामा जाँच कडा पारिएको प्रहरीको दाबी छ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टका अनुसार घरायसी प्रयोजनका लागि मात्रै चिनी आयात गर्न दिइएको छ।

“घरायसी प्रायोजनका लागि एक व्यक्ति बराबर ५ देखि १० किलो चिनी बिना रोक तोक ल्याउन दिएका छौँ। त्यो भन्दा बढी हामी ल्याउन दिँदैनौँ,” उनले भने।

तर खुल्ला सिमानाका कारण लुकीछिपी ल्याउने चिनीबारे आफूलाई जानकारी नभएको इन्चार्ज विष्ट बताउँछन्।

उता पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापा भने चिनी तस्करी भइरहेको बारे आफूहरूलाई प्राप्त भएको विशेष सूचना अनुसार आफूहरूले अनुगमन कडाइ गर्दा ठूलो मात्रामा चिनी बरामद गर्न सकेको बताउँछन्।

“चोरी निकासी तथा तस्करीविरुद्ध विभिन्न नाका लगायत बजारमा निरन्तर अनुगमन गरिएकोले नै छोटो समयमा गत वर्ष भरी बरामद गरिएको भन्दा बढी पछिल्ला तीन महिनामा बरामद हुन सकेको हो,” उनले भने।

चिनी तस्करहरूले घरायसी प्रायोजनका लागि भन्दै साइकलमा मुख्य नाका हुँदै एक पटकमा १० किलोको दरले चिनी भित्र्याउँदै पसलहरूमा बिक्री गर्ने गरेको व्यापारीहरू बताउँछन्।

राजस्वमा असर

भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्ष २०७९/२०८० मा १८ करोड बराबरको ११ लाख ७३ हजार ४४३ किलो चिनी भित्र्याउँदा १ करोड ७२ लाखमात्रै राजस्व उठेको थियो।

जुन भनेको भन्सार विभागको तथ्याङ्क अनुसार विगतका तीन/चार वर्षको तुलनामा उल्लेख्य कम हो।

“सबै भन्सार कार्यालयहरूमा धेरथोर समातिएका र मुद्दाहरू आएकोले केही हदसम्म अवैध रूपमा चिनी भित्रिएको छ भन्ने चाहिँ प्रमाणित हुन्छ,” भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले भने।

अघिल्लो वर्षको बजेटमा चिनीको भन्सार महसुल दर ४० प्रतिशत रहेका कारण पनि चिनीको मूल्य महँगो परेका कारण तस्करी बढेको हो कि भनेर यो ३० प्रतिशत बनाइएको खड्का बताउँछन्।

“चिनी अवैध रूपमा नआओस् भन्ने उद्देश्यले महसुल दर १० प्रतिशतले घटाइएको र सरकारले ल्याउने चिनीमा पनि ५० प्रतिशत महसुल छुट गरेको भन्ने जानकारीमा आएको छ,” निर्देशक खड्काले भने।

  • नेपालगन्जबाट बिमला चौधरी र वीरगन्जबाट माधुरी महतोको रिपोर्टिङ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।