तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आयल निगमले इन्धनको मूल्य घटायो, कुन शहरमा अब कति मूल्य
नेपाल आयल निगमले सोमबार राती १२ बजेबाट लागु हुने गरी इन्धनको मूल्य घटाएको छ।
ईण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ जुलाईमा प्राप्त नयाँ मूल्य अनुसार आयल निगम सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिएको अधिकारीहरूले जनाएका छन्।
पछिल्लो निर्णय अनुसार सोमबार मध्यरातबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ७ रुपियाँ ५० पैसा देखी पाँच रुपियाँसम्म घटेको छ।
आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ११५ अमेरिकी डलरले घटाइएको निगमको भनाई छ।
कहाँ कति मूल्य?
पछिल्लो निर्णयसँगै चारआली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको मूल्य प्रति लिटर १६७.५० रुपियाँ कायम भएको छ।
त्यसै गरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १४७.५० रुपियाँ भएको छ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर १६९ रुपियाँ र डिजेल अनि मट्टितेलको मूल्य १४९ रुपियाँ प्रतिलिटर कायम भएको छ।
काठमाण्डू, पोखरा र दिपायलमा पेट्रोलको मूल्य अब प्रति लिटर १७० रुपियाँ भएको छ।
त्यसै गरी डिजेल र मट्टितेलको मूल्य मध्यरातबाट १५० रुपियाँ प्रतिलिटर हुनेछ।
एलपीजी ग्यासको मूल्यमा भने केही परिवर्तन भएका छैनन्।
अधिकारीहरूका अनुसार निगमले इन्धन बिक्रीबाट पछिल्लो १५ दिनमै एक अर्ब ६० करोड रुपैयाँ मुनाफा गर्ने प्रक्षेपण गरेको छ।
अधिकारीहरूका अनुसार चालू आर्थिक वर्षमा निगमले आईओसीको झन्डै २४ अर्ब रुपैयाँ बक्यौता तिरिसकेको छ।
तर अझै पनि आफ्ना अन्य बक्यौता बाँकी नै रहेका कारण मूल्य समायोजनको विषयमा अझै स्पष्ट हुन नसकेको उनीहरू बताउँछन्।
वित्तीय अवस्था
गत सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका बेला त्यसै अनुपातमा नेपालमा शुल्क नबढाइएको निगमका प्रवक्ता मनोज ठाकुर दाबी गर्छन्।
जस कारण आर्थिक वर्ष २०७८/७९मा झन्डै ४९ अर्ब रुपैयाँको घाटा बेहोरेको उनको तर्क छ।
‘‘एकातिर घाटा बेहोर्ने र अर्कोतर्फ आईओसीलाई समयमै पैसा पठाउन नसक्दा हाम्रो बक्यौता करिब २४ अर्बसम्म पुगिसकेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय बजारमा केही कमी आउनु र सोहीअनुसार मूल्य प्राप्त गर्दा केही चाहिँ उपभोक्तालाई पनि राहत दियौँ, केही मुनाफाबाट आईओसीको बक्यौता तिर्यौ,’’ ठाकुरले बीबीसीसँग भने।
चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा निगमले १७ अर्ब रुपैयाँ नाफा कमाएको थियो।
त्यस्तै निगमले मूल्य अभिवृद्धि कर मार्फत ३.५ करोड र मूल्य स्थिरीकरण कोषका लागि सरकारबाट करिब ३.५ करोड रुपैयाँ प्राप्त गरेको अधिकारीहरू बताउँछन्।
यी सबै रकम जुटाएर आईओसीको बक्यौता तिरेको उनीहरूको भनाइ छ।
दायित्व कति?
अझै पनि निगमले नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी रहेको अधिकारीहरू बताउँछन्।
कुल ७ अर्ब ऋणमा हालसम्म ७० करोड रुपैयाँ मात्रै तिर्न आफूहरू सफल भएको उनीहरूको भनाइ छ।
‘‘यो सबै कसरी भयोभन्दा अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसक्दाको कारण हो। जसरी मूल्य बढेर गयो त्यो अनुपातमा हामीले बढाउन सकेनौँ। बढाउन नसक्नुको अर्थ हामीले जनतालाई केही न केही राहत त दिएकै हौँ,’’ ठाकुरले भने।
अझै पनि साढे २१ अर्ब रुपैयाँ निगमको दायित्व रहेको उनले बताए।
विगतमा मूल्य स्थिरीकरण कोषको रकम पनि घाटा पूर्ति गर्नका लागि प्रयोग गरेको निगमले जनाएको छ।
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भने निगमको तर्कसँग सहमत छैनन्।
मूल्य बढाउने र घटाउने विषयमा निगमले दाबी गरेजस्तो अवस्था नरहेको उनी बताउँछन्।
‘‘मूल्य बढाउने बेला एकै पटकमा धेरै बढाउने अनि घटाउँदा चाहिँ बहाना बनाउने गरेको देखिन्छ। राज्यको नामबाट लुट भइरहेको छ,’’ उनले भने।
उद्देश्य भन्दा फरक ढङ्गले मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकम प्रयोग गरिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्।
मूल्य समायोजन
अधिकारीहरूका अनुसार निगमले गत चैत देखि झन्डै तीन पटक पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।
गत चैत २० मा निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ झन्डै १० रुपैयाँ घटाएको थियो।
त्यसपछि जेठ २ गते डिजेल र मट्टितेलमा प्रति लिटर १०/१० रुपैयाँ घटाएको थियो। अन्य इन्धनको मूल्य भने यथावत् नै राखिएको थियो।
पछिल्लो पटक असार पाँच गते हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ झन्डै २६ रुपैयाँ प्रतिलिटर घटाइएको थियो।
विगतमा आईओसीले जति मूल्य बढायो त्यति नै नेपालमा वृद्धि गर्ने नगरिएको अधिकारीहरूको दाबी छ।
‘‘विगतमा पनि १० रुपैयाँ (प्रति लिटर) बढेर आउँदा दशै रुपैयाँ हामीले उपभोक्तालाई बढाएका छैनौँ। सरकारी कम्पनी भएका नाताले केही हामीले सहुलियत दिएका छौँ। अस्ति पनि सात रुपैयाँ घटेर आउँदा हामीले १० रुपैयाँ घटाएका थियौँ,’’ ठाकुरले भने।
विगतमा लामो कसरतपछि सरकारले डिजेल, मट्टितेल र पेट्रोलमा स्वचालित मूल्य प्रणाली लागु गरेको थियो।
‘‘निर्देशिका नै जारी भएको थियो- अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने, घट्दा घट्ने। तर त्यो कार्यान्वयन भएन। ठूलो बेइमानी भएको छ,’’ उपभोक्ता अधिकारकर्मी बानियाँले भने।
कुन इन्धनमा कति नाफा छ?
निगमकाअनुसार अहिले एक लिटर पेट्रोलमा उसलाई १२ रुपैयाँ नाफा छ।
त्यस्तै डिजेलमा १३ रुपैयाँ र मट्टितेलमा झन्डै २७ रुपैयाँ नाफा छ। हवाई इन्धनमा ३७ रुपैयाँ नाफा छ।
हवाई इन्धनमा केही समय अघिसम्म १६० रुपैयाँ घाटा रहेको अधिकारीहरूले बताएका थिए।
तर पछिल्लो पटक मूल्य १६१ रुपैयाँ घटेर आएका कारण निगमलाई घाटा र नाफामा बराबरको स्थिति देखिएको बताइन्छ।
आईओसीले प्रत्येक महिनाको १ तारिखमा सबै इन्धनको मूल्य निर्धारण गरेर निमलाई पठाउने गर्छ। त्यस्तै १६ तारिखमा पेट्रोल र डिजेलको मूल्य पठाउने गर्छ।
नेपालमा प्रतिदिन झन्डै ५,००० किलोलिटर पेट्रोल, ८,५०० किलोलिटर डिजेल र एक लाख २० हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको निगमले जनाएको छ।
निगमले पटकपटक मूल्य समायोजन गरेको भने पनि पछिल्ला केही महिनाहरूमा इन्धनको चर्को मूल्यको मार खेप्न सर्वसाधारण बाध्य छन्।
इन्धनको मूल्यकै कारण बजारमा महँगी पनि बढेको बताइन्छ।
एउटै निकायले सामान आयात गर्ने र बजार मूल्य पनि निर्धारण गर्ने परिपाटीका कारण पनि समस्या उत्पन्न भएको ठहर गर्दै उक्त विषयमा आफूहरू अदालत जान लागेको ज्योति बानियाँ बताउँछन्।
‘‘मूल्य निर्धारणका लागि तेस्रो पक्ष गठन हुनुपर्छ भन्ने हाम्रो धारणा हो। स्वतन्त्र निकाय गठन गरी त्यसले बजार मूल्य तोक्नु जरुरी भइसक्यो,’’ उनले भने।