प्रतिबन्धबीच करोडौँले गोप्य रूपमा चलाउँछन् ह्वाट्सएप

    • Author, जो टाइडी
    • Role, साइबर संवाददाता, बीबीसी विश्व सेवा

'टेक्स्ट मेसिजिङ'का लागि लोकप्रिय एप ह्वाट्सएप प्रतिबन्धित बनेका देशमा समेत "करोडौँ" मानिसहरूले प्रविधिको वैकल्पिक उपाय खोजेर त्यसको प्रयोग गरिरहेको उक्त प्ल्याटफर्मका प्रमुखले बताएका छन्।

विल क्याथ्कार्टले बीबीसी न्यूजसँग भने, “कति मानिसहरूले त्यस्तो समाधान निकाले भन्ने थाहा पाएर तपाईँ अचम्ममा पर्नुहुनेछ।”

कैयौँ पश्चिमा एपहरूझैँ ह्वाट्सएप इरान र उत्तर कोरियालगायत देशमा प्रतिबन्धित छन्।

र गत महिना चीन समेत त्यस्ता देशको पङ्क्तिमा जोडियो।

त्यसबाहेक कतार, इजिप्ट, जोर्डन र यूएईजस्ता देशमा यस एपका 'भोइस कल' सेवा प्रतिबन्धित बनेका छन्।

तर ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरू कहाँकहाँका छन् भन्ने कुरा उनीहरूको त्यससँग दर्ता भएका मोबाइल नम्बरका आधारमा थाहा पाउँछ।

“हामीसँग मानिसहरूले ह्वाट्सएप प्रयोग गर्नेसम्बन्धी धेरै नै अचम्मलाग्दा जानकारी छन्। हामी जहाँ प्रतिबन्धित छौँ, त्यहीँबाट करोडौँ मानिसहरू ह्वाट्सएपमा जोडिएको देख्छौँ," क्याथ्कार्टले बीबीसी न्यूजसँग भने।

अवरोध

चीनले एप्रिलमा एपललाई एक आदेश दिँदै चिनियाँ आइफोन प्रयोगकर्तालाई एपस्टोरबाट ह्वाट्सएप डाउनलोड हुन रोक्न भनेको छ।

उक्त कदम "दुर्भाग्यपूर्ण" भएको क्याथ्कार्टले बताए।

यद्यपि चीन उक्त एपका लागि कहिल्यै मुख्य बजार होइन।

"त्यो एपलले रोजेको विकल्प हो। त्यसका विकल्प छैनन्," उनले भने।

"मेरा विचारमा यो वास्तवमै एक त्यस्तो अवस्था हो जहाँ उनीहरूले आफूलाई केही रोक्न सक्षम हुने स्थितिमा राखेका छन्।"

एन्ड्रोइड प्रयोगकर्ताहरूले भने आधिकारिक 'शप'हरूमा नगई अझै ह्वाट्सएप डाउनलोड गर्न सक्छन्।

तर क्याथ्कार्टका अनुसार अन्यत्र 'भर्चुअल प्राइभेट नेटवर्क' अर्थात् 'भीपीएन'हरू र गत जूनमा सुरु गरिएको ह्वाट्सएपको प्रोक्सी सेवाले ह्वाट्सएपलाई पहुँचमा राख्न सघाइरहेको छ।

जोखिम

सन्देशहरू प्रेषक र प्रापकबीचमा अरू कसैले पढ्न नसक्ने बनाउने महत्त्वपूर्ण एन्ड-टु-एन्ड इन्क्रिप्शन सुविधा भएका 'ह्वाट्सएप' र 'सिग्नल'सहित चीनले 'टेलिग्राम'लाई पनि प्रतिबन्ध लगाएको छ।

बेइजिङले माइक्रोब्लगिङ एप 'थ्रेड्स' पनि हटाउने भनिरहेको छ।

क्याथ्कार्टले बीबीसीसँग इन्टरनेट स्वतन्त्रता सम्बन्धी कार्यक्रममा बोलेका थिए।

उनले लामो समयदेखि उदार लोकतन्त्रका मूल्यमान्यता फैलाउन पश्चिमा प्रविधि मञ्चहरूको सफल निर्यातबारे सोच्नुपर्ने बताउँदै आएका छन्।

तर उनले स्वतन्त्र र खुला इन्टरनेटसँगै त्यसको शक्ति कमजोर भइरहेको बताए।

"यो साँच्चिकै जोखिममा छ - र मेरो विचारमा त्यो सङ्घर्षको रूपमा छ," क्याथ्कार्टले बीबीसी न्यूजसँग भने।

"हामीले संसारभरका मानिसहरूलाई सरकारी सेन्सरशिप वा तानाशाही सरकारको निगरानीबाट बच्दै सुरक्षित रूपमा गोप्य सञ्चार गर्ने सुविधा दिइरहेका छौँ भन्ने तथ्यमा निकै गर्व गर्छौँ। उनीहरूले अन्यथा त्यस्तो अवसर पाउने थिएनन्।"

"तर यो निरन्तर जोखिममा छ र लडाइँ निरन्तर छ।"

चिन्ता

चिनियाँ स्वामित्वको टिकटकलाई राष्ट्रिय सुरक्षाका कारण भन्दै सम्भावित प्रतिबन्ध लगाउन थालिएसँगै अमेरिका समेत यस लडाइँमा सामेल भएको छ।

र क्याथ्कार्ट निरन्तरका सरकारी कदमहरूलाई लिएर चिन्ता व्यक्त गर्छन्।

उनको चिन्तामा यूकेमा एन्ड-टु-एन्ड इन्क्रिप्शन सुविधालाई प्रतिबन्ध लगाउने र प्रहरीलाई सन्दिग्ध अपराधीका सन्देश पढ्न दिने कुरा समेत छ।

"दुर्भाग्यवश, यो बहस सकिसकेजस्तो लाग्दैन," उनले बीबीसी न्यूजसँग भने।

"एन्ड-टु-एन्ड इन्क्रिप्शनबारे थाहा भए यो के हो र कसरी काम गर्छ भन्ने थाहा नभए पनि मानिसहरू गोपनीयताको ख्याल गर्छन्।"

"र त्यही एउटा कारणले हामीले यसबारे धेरै कुरा गर्नुपर्छ, यो के हो र यसमा के कुरा दाउमा छ भन्नेबारे स्पष्ट हुनुपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।