'एरिस्टोटल : इतिहासका सबभन्दा महत्त्वपूर्ण विद्वान'

तस्बिर स्रोत, Getty Images
के एरिस्टोटल अहिलेसम्मका जन्मिएका मध्ये सबभन्दा प्रभावशाली विद्वान हुन सक्छन्?
यी प्राचीन ग्रीक दार्शनिकको प्रभाव परेको क्षेत्र यति विशाल र विस्तारित छ कि हाम्रो विश्व उनका विचारबाट कुन रूपमा निर्मित छ भन्ने हामी देख्नै सक्दैनौँ।
राजनीतिदेखि विज्ञानसम्म साहित्यदेखि तर्कशास्त्रसम्म एरिस्टोटलको प्रभाव जताततै देखिन्छ। उनले समुन्द्री जीवनको अध्ययन गरेर जीवविज्ञानको आधार बनाए।
उनले थुप्रै किसिमका राजनीतिक प्रणाली अध्ययन गरेर राजनीति विज्ञानको क्षेत्रमा अग्रणी काम गरे।
कविता, कथा रचना देखि उनको विश्लेषणले आधुनिक सिनेमालाई समेत अहिले पनि बाँधेको छ।
र तर्कशास्त्रमा उनका सिद्धान्तले दर्शनदेखि डिजिटल युगका हरेक विषयका लागि आधारशीला तयार पारेको छ।
रोयल होलोवे युनिभर्सिटी अफ लन्डनका एक प्राध्यापक तथा दर्शनशास्त्री जोन सेलर्स आफ्नो दाबी ठूलो सुनिएपनि उनी एरिस्टोटलले जतिको प्रभाव संसारमा अरू कुनै विद्वानले पार्न सकेका छैनन् भन्ने अडान राख्छन्। उनी भन्छन्, "हाम्रो सोचाइको आधार नै उनले तय गरिदिएका हुन्।"
एक साहसिक दाबी
एन्टीगोन म्यागजिनका लागि लेखेको एक लेखमा उनले एउटा आश्चर्यजनक टिप्पणी गरेका छन्: "एरिस्टोटल अहिले सम्मका सबभन्दा महान दार्शनिक मात्र होइनन्- उनी त पृथ्वीमा जन्मिएका सबभन्दा महत्त्वपूर्ण विद्वान पनि हुन्।"
यो असाधारण दाबी हो र उनले त्यसबारे 'एरिस्टोटल: अन्डरस्ट्यान्डिङ द वर्ल्ड्स ग्रेटेस्ट फिलोसफर' भन्ने पुस्तकमा त्यसबारे विस्तृत व्याख्या पेस गरेका छन्।

तस्बिर स्रोत, Getty Images
"मैले जब दर्शनशास्त्र पढ्न सुरु गरेँ मलाई थाहा थियो कि एरिस्टोटल महत्त्वपूर्ण हुन् तर उनी धक लाग्ने गरी ठूला खालको लाग्थे। जब जब मैले उनलाई पढ्न सुरु गर्थेँ म तुरून्तै अलमलमा परिहाल्थेँ।"
समयक्रममा उनले एरिस्टोटललाई पढ्न धैर्य चाहिने महसुस गरे।
"कसरी उनलाई पढ्ने भन्ने थाहा हुनुपर्छ," उनी भन्छन्, " त्यो हो बिस्तारै"।
उनको पुस्तकले एरिस्टोटलका विचारहरू र त्यसबाट पर्ने दीर्घप्रभाव उजागर गरेको छ।
सिकाइको जीवन
सोक्रेटस् र प्लेटोका साथ साथ एरिस्टोटल पश्चिमा शास्त्रीय दर्शनको स्वर्णिम त्रिकोणात्मक संरचनाको महत्त्वपूर्ण हिस्सा मानिन्छन्।
उत्तरी ग्रीसमा जन्मेका उनी १८ वर्षको उमेरमा प्लेटोको एकेडेमीमा पढ्न एथेन्स गएका थिए जहाँ उनले विद्यार्थी र शिक्षकका रूपमा १८ वर्ष बिताए।
प्लेटोप्रति उनको आदरभाव हुँदाहुँदै उनले आफ्नै धारणाहरू विकास गर्दै गए।
आफ्ना गुरुको मृत्युपछि उनले लेसबोस टापुमा गएर प्रकृतिको अध्ययन गर्न भनेर एथेन्स छोडिदिए।
उनी पछि म्यासेडनका राजा फिलिपका छोरालाई पढाउनका लागि छानिएका थिए जो पछि 'एलेक्जेन्डर द ग्रेट' बने।

तस्बिर स्रोत, Getty Images
जब एलेक्जेन्डरले आफ्नो विजय यात्रा सुरु गरे, एरिस्टोटल एथेन्स फर्किए र आफ्नै स्कूल द लाइसिअम स्थापना गरे। उनले ६२ वर्षको उमेरमा मृत्यु हुनु अघि पढाउन, लेख्न र अनुसन्धानमा व्यतित गरे।
उनका कामका सानो अंश मात्र हाल बाँकी रहेको भए पनि ती दश लाख शब्द बराबरका छन् - एक असाधारण बौद्धिक विरासत हो।
वैज्ञानिक विचारक
एरिस्टोटल दार्शनिक मात्र होइनन् उनी वैज्ञानिकहरू मध्येमा पनि पर्दछन्।
माइक्रोस्कोप र जेनेटिक्सको सुविधा उपलब्ध हुनु भन्दा धेरै अघि उनले व्यवस्थित रूपमा प्राकृतिक विश्वको अध्ययन गरे। उनले जनावर र विरुवाको यस्तो प्रकारले वर्गीकरण गरे कि त्यो जीव विज्ञानलाई प्राज्ञिक विधामा स्थापित गर्ने आधार बन्यो।
उनका कतिपय निष्कर्ष पछि गलत सावित भए । तर सेलर्सको तर्क छ एरिस्टोटलको वास्तविक उपलब्धि उनको अध्ययन गर्ने तरिका थियो। आफूमा निहित पूर्वाग्रही विचारबाटभन्दा पनि अवलोकन, पर्यवेक्षण र प्रमाणले नै अध्ययनको ज्ञान र बुझाइलाई निर्देश गर्नुपर्छ भन्नेमा उनको जोड थियो।
यो सिद्धान्त नै आधुनिक विज्ञानको केन्द्रमा रहेको छ।

तस्बिर स्रोत, Getty Images
राजनीति र साहित्यमा विरासत
एरिस्टोटलले राजनीतिबारे पनि उस्तै व्यवस्थित तरिका अपनाए।
उनले किन केही समाजको प्रगति भइरहन्छ र किन केही विफल हुन्छन् भन्ने बुझ्न विभिन्न नगर राज्यका संविधानहरू जम्मा पारेर तुलना गरे।
विचारमा भन्दा प्रमाणमा आधारित उनको यो तरिका अभूतपूर्व थियो र यसैले सामाजिक विज्ञानको आधारशीला खडा गर्यो।
साहित्यमा उनको प्रभाव उत्तिकै प्रभावकारी थियो। काव्यशास्त्रमा उनले ग्रीक नाटकको विश्लेषण गरे। र कथालाई अति आवश्यक तत्वका रूपमा विभाजन गरे – सुरुवात, मध्य र अन्त्य – जसले अहिले पनि सिनेमा र किताबहरू कसरी लेख्ने भन्ने संरचना प्रदान गर्छन्।

तस्बिर स्रोत, Getty Images
तर्क र नैतिकताका पिता
एरिस्टोटलको तर्कशास्त्रबारेको काम उनको दीर्घकालसम्म निरन्तर रहेका काम मध्येका हुन्।
उनले केही महत्त्वपूर्ण सिद्धान्त अगाडि सारे। जस्तो कि कुनै भनाइ कि सत्य हुन्छ कि असत्य – त्यसलाई अहिले हामी ल अफ द एक्स्क्लुडेड मिडल भनिन्छ। यो साधारण तर शक्तिशाली धारणाले दर्शनशास्त्रीय बहसदेखि कम्प्युटरका बाइनरी कोडहरूसम्ममा काम लाग्छ।
एरिस्टोटलले जीवनको सबभन्दा ठूलो प्रश्न हामी कसरी बाँच्ने भन्नेबारे पनि समाधान खोजे।
निकोमाकियन एथिक्समा उनले तर्क गरे जब तर्क, सामाजिक सम्बन्ध र बौद्धिक जिज्ञाशा सन्तुलित राख्न सक्ने मान्छे सफल हुन्छन्।
उनको विश्वासमा राम्रो जीवन भनेको स्वनियन्त्रण विकास गरेर र समाजसँग अन्तरक्रिया गर्नु र ज्ञानको खोजी गर्नु हो।
एउटा त्यस्तो प्रभाव जुन हामी अहिले विचार गर्दैनौँ
सेलर्स विश्वास गर्छन्, एरिस्टोटलका विचारहरू आधुनिक विचारमा यसरी निहित छन् कि हामीले तिनलाई खासै ध्यानमा राख्दैनौँ।
"उनका अवधारणा जताततै छन् तर हामीले तिनलाई वेवास्ता गर्छौँ।"
त्यसोभए एरिस्टोटल इतिहासका सबभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् त?
सेलर्सले बलियोसँग तर्क अगाडि सारेका छन् । तर अन्तमा पाठकले नै त्यो निर्णय गर्ने हो की के एरिस्टोटल साँच्चिकै एकजना महान विचारक थिए? र सेलरले तर्क गरे जस्तो इतिहासका सबभन्दा महत्त्वपूर्ण मानव?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








