पुरुष सहकर्मीको 'पाइन्ट' तानेकामा दक्षिण कोरियाली महिलालाई २,१०० डलर जरिबाना

सडकमा हिँड्दै गरेका मानिसहरू

तस्बिर स्रोत, Getty Images

    • Author, को एवे
    • Role, बीबीसी न्यूज

दक्षिण कोरियामा आफ्ना एक पुरुष सहकर्मीको 'पाइन्ट' र भित्री वस्त्र उनीहरूका अन्य साथीहरूको सामुन्ने दुर्घटनावश तानेकामा एक महिलालाई अदालतले यौन दुर्व्यवहारका निम्ति जरिबाना गराएको छ।

अन्दाजी ५० वर्षकी उक्त महिलालाई २,१०० डलर बराबार जरिबानाका साथै आठ घण्टाको यौन हिंसा रोकथाम प्रशिक्षण कक्षा लिन अदालतले आदेश दिएको छ।

उक्त घटना गत अक्टोबरमा उत्तरपूर्वी गाङ्ग्वन प्रान्तस्थित एक रेस्टुरेन्टको भान्छाकोठामा भएको थियो।

महिलालाई 'पछुतो'

चुन्चन डिस्ट्रिक्ट कोर्टले आफूले २० वर्ष हाराहारीका सहकर्मीलाई जिस्क्याउने उद्देश्यले मात्र त्यसो गरेको भन्ने महिलाको जिकिरलाई अस्वीकार गरेको छ।

तर ती महिलाको विगतमा कुनै आपराधिक रेकर्ड नभएको र तिनले पछुतो गरेको विषयलाई आफूले ध्यान दिएको अदालतले जनाएको छ।

न्यायाधीशका अनुसार ती महिलाले उक्त पुरुष र तिनका आमाबुबासामु घुँडा टेकेर माफी मागेकी थिइन्।

"सामान्य जिस्क्याउन खोजेको घटनालाई उनीहरूले ज्यादा सजाय दिएको जस्तो लाग्यो," अदालतको आदेशप्रति टिप्पणी गर्दै 'जोसन' दैनिक पत्रिकाको समाचारमा एक जनाले बताएका छन्।

अर्का पाठकले चाहिँ विमति जनाए, "यो जरिबाना धेरै हुँदै होइन। किन यस्तरी अरूलाई जिस्क्याउने? के तपाईँलाई यो सामान्य जिस्किएको जस्तो लाग्यो?"

दक्षिण कोरियाली चलन

कसैको भित्री वस्त्रसमेत 'पाइन्ट' तान्नुलाई 'प्यान्ट्सिङ' वा 'डिब्यागिङ' भन्ने गरिन्छ। यसलाई सामान्य जिस्क्याउने शैली मानिए पनि आलोचकहरूले यसलाई एक किसिमको 'बुलिइङ' (अरूलाई दु:ख, हैरानी दिने काम) भन्ने गर्छन्।

दक्षिण कोरियामा विभिन्न 'शो' तथा रियालिटी टीभी कार्यक्रमहरूमा 'प्यान्ट्सिङ'लाई एक हास्य विधाका रूपमा प्रयोग गरिँदै आएको छ।

तर यसो गर्दा मानिसहरू समस्यामा पनि परेका छन्।

सन् २०१९ मा अन्य महिला स्केटरहरूका सामुन्ने दक्षिण कोरियाका ओलिम्पिक शर्ट ट्र्याक स्पीड स्केटिङका च्याम्पिअन लिम ह्यो-जुनले अर्का पुरुष खेलाडीको 'पाइन्ट' तानिदिएपछि उनलाई एक वर्ष निलम्बन गरिएको थियो।

साथै सन् २०२१ मा नर्थ ज्योला प्रान्तको प्रारम्भिक स्कूलका विद्यार्थीको एक समूहमाथि उनीहरूभन्दा साना एक विद्यार्थीलाई खेल मैदानमा हैरान पारेको भनेर अनुसन्धान गरिएको थियो।

ती विद्यार्थीको 'पाइन्ट' तानिदिएको भनेर उनकी आमाले प्रहरीलाई बताएपछि सो समूहमाथि अनुसन्धान गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।