उज्यालो नेपाल पार्टी घोषणामा कुलमान घिसिङले भने 'अब देशकै नेतृत्व गर्नुपर्ला जस्तो छ'

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङ एउटा नयाँ राजनीतिक दलको घोषणा सभामा उपस्थित भएका छन्।

बुधवार औपचारिक घोषणा गरिएको उज्यालो नेपाल पार्टीमा यसअघि दुई कार्यकाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका घिसिङ प्रमुख अतिथि थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री रहेका घिसिङ उक्त दलको कुनै पनि समितिमा भने छैनन्।

घिसिङकै संरक्षकत्वमा गठन भएको भनिएको उक्त दलमा उनी आगामी चुनावमा उम्मेदवारी दिएपछि मात्रै खुलेर सक्रिय हुने दाबी दलका नेताहरूले गरेका छन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय छन्।

'अब देशकै नेतृत्व'

ऊर्जामन्त्री घिसिङले उज्यालो नेपाल पार्टीमा आफ्नो आबद्धता रहे नरहेकोबारे भने केही खुलाएनन्।

आफूले ३० वर्षदेखि सहकार्य गरिरहेका पूर्व सचिव उपाध्यायले पार्टी खोल्दा गर्व लागेर आफू घोषणा सभामा आएको घिसिङले बताए।

उनले विगत आठ वर्षदेखि आफू लगायतले चलाइरहेको उज्यालो अभियानलाई उपाध्यायले पार्टीमा रूपान्तरण गरेकोमा धन्यवाद पनि दिए।

उज्यालो अभियानका लागि आफू दुई महिना विदेश गएको स्मरण गर्दै घिसिङले उज्यालो नेपाल अभियानमा विदेशमा रहेका नेपालीहरूले पनि ठूलो साथ दिएको बताए।

देशलाई सङ्कट पर्दा समाधान गरेर आफूलाई प्रमाणित गरेको दाबी गर्दै घिसिङले आफूमा राजनीतिक महत्वाकाङ्क्षा रहेको कुरा लुकाएनन्।

"जतिबेला देशमा सङ्कट आउँछ मेरो उपस्थिति चाहिने रहेछ," आफूले चिलिमे जलविद्युत् आयोजनामा आएको सङ्कट समाधान गरेको र विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएर लोडशेडिङ अन्त्य गरेको दाबी गर्दै घिसिङले भने।

सरकारसँग आफ्नो विवाद परेको र कार्यकाल सकिन चार महिना बाँकी रहँदा निकालिए पनि फेरि जेन जी आन्दोलन पछिको सङ्कटका समयमा आफूले मन्त्री बनेर सङ्कट समाधान गर्ने मौका पाएको बताए।

"अब यहाँबाट निस्किएपछि कहाँ जाने भन्ने तपाइँहरूलाई लागिरहेको होला," घिसिङले भने।

"अब देशकै नेतृत्व गर्नुपर्छ जस्तो लागिरहेको छ।"

को हुन् कुलमान घिसिङ

गएको मार्चमा केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो।

करिब आठ वर्षअघि घिसिङले पहिलो पटक विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका बेला नेपाल 'लोडशेडिङमुक्त' घोषणा गरिएको थियो।

नेपालमा लामो समयदेखि हुँदै आएको लोडशेडिङ हटाएको श्रेय पाउने गरेका घिसिङ राजनीतिमा आउने आकलन त्यस बेलै धेरैले गरेका थिए। तर उनी कुनै पनि दलमा खुलेर देखिएका थिएनन्। लोडशेडिङ अन्त्यको सङ्केत दिने गरी बिजुलीको बल्ब चुनाव चिन्ह रहेको उज्यालो नेपाल पार्टी घिसिङकै संरक्षकत्वमा गठन गरिएको विवरण आए पनि उनले न आफ्नो आबद्धता स्वीकार गरेका छन् न खण्डन गरेका छन्।

भदौ चौथो साता भएको जेन जी आन्दोलनपछि पूर्व प्रधान न्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारमा घिसिङ तीन वटा महत्त्वपूर्ण मन्त्रालय सम्हाल्ने जिम्मेवारीसहित मन्त्री बनेका थिए।

अन्तरिम सरकारमा स्वतन्त्र व्यक्तिहरूलाई मन्त्री बनाउने प्रधानमन्त्रीको योजनाले घिसिङलाई दलमा खुल्न अप्ठ्यारो परेको ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।