तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल र भारतका सेनापतिको दुईचोटि भेटघाट, तर 'अग्निपथ'बारे अनिश्चितता किन ज्युँका त्युँ
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाल र भारतका सेनाप्रमुखले हालसालै एकअर्काका मुलुकको भ्रमण गरे पनि यस क्रममा 'अग्निपथ' योजनाअन्तर्गत भारतीय सेनामा नेपालीहरूको भर्तीबारेको अन्योल कायमै रहेको देखिएको छ।
सैनिक अधिकारीहरू यो 'सैनिकभन्दा पनि राष्ट्रिय तहको विषय' भएकाले यस्तो विषयको छलफल अझ माथिल्लो तहमा हुन सक्ने ठान्छन्।
सन् २०२२ को जुनमा भारत सरकारले उसको सेनामा अधिकृत तहभन्दा तलका सबै भर्तीमा लागु हुने गरी 'अग्निपथ' योजना अनुमोदन गरेको थियो।
त्यो योजना नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सम्झौताको मर्मविपरीत रहेको भन्दै नेपालले आफ्ना नागरिकलाई भर्ती लिन बन्द गर्न भारतलाई आग्रह गरेको थियो।
'राष्ट्रिय तह' का मुद्दाभन्दा पनि सैनिक तहका विषयमा छलफल
भारतले 'अग्निपथ' योजना एकतर्फी रूपमा ल्याएको भन्दै काठमाण्डूले असहमति जनाएसँगै नेपालबाट भारतीय सेनामा हुने गोर्खा भर्ती स्थगित भएको छ।
त्यसयता दुवै देशका उच्च अधिकारीहरूले एक अर्काको भ्रमण गरेको भए पनि नेपालले 'राजनीतिक सहमति नभएसम्म त्यसबारे कुनै निर्णय लिन नसक्ने' बताउँदै आएको छ।
हाल भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले दिल्लीमा महत्त्वपूर्ण भेटवार्ताहरू गरेका छन् भने उनलाई भारतीय सेनाको मानार्थ जेनरलको उपाधिबाट सम्मानित गरिएको छ।
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नोभेम्बर तेस्रो साता नेपालको भ्रमणमा आउँदा उनलाई पनि मानार्थ जेनरलको उपाधिबाट सम्मानित गरिएको थियो। त्यसक्रममा बलियो रक्षा र दुईपक्षीय साझेदारी कायम राख्नेबारे छलफल भएका अधिकारीहरूले जनाएका थिए।
तर त्यस बेला 'अग्निपथ'अन्तर्गत गोर्खा भर्तीमा देखिएको गतिरोधबारे छलफल भएका कुनै विवरण बाहिर आएन।
अहिले नेपाली सेनाका प्रधानसेनापति सिग्देलको भारत भ्रमणमा आपसी हितका विषय र तालिम अनि सहयोगका विषयमा केन्द्रित रही छलफलहरू गरेका अधिकारीहरू बताउँछन्।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसी भन्छन्, "प्रधानसेनापतिको भ्रमण भएकाले राष्ट्रिय तहका भन्दा पनि सैनिक तहका विषयमा कुराकानी हुन्छ। हाम्रो लामो सम्बन्धलाई निरन्तरता दिने र भविष्यमा विभिन्न माध्यमबाट अझ सुदृढ बनाउने भन्नेबारे नै भ्रमण केन्द्रित छ।"
'अग्निपथ' योजनाबारे दुई देशबीचका सैनिक नेतृत्वबीच कुनै छलफल भएको छ? भन्ने प्रश्नमा उनले थपे, "मेरो बुझाइमा यो उहाँहरूको राष्ट्रिय विषय हो, सैनिक विषय होइन। यससम्बन्धी छलफल र यसका विभिन्न आयामहरूको छलफल त्यही तहमा होला। हामीहरूको बीचमा त्यो विषय प्रवेश भएर त्यस्तो कुनै वार्ता भएजस्तो मलाई लाग्दैन। यस्तो कुराहरू राष्ट्रिय नीति निर्माताहरूकै तहबाट होला भन्ने लाग्छ।"
हाल भारतमा कार्यान्वयनमा रहेको 'अग्निपथ' योजनाअनुसार भर्ती भएका 'अग्निवीर' जवानहरूको कार्यकाल चार वर्षको मात्र रहने व्यवस्था छ।
तीमध्ये छानिएका २५ प्रतिशत जवानहरूलाई भने चार वर्षपछि पनि सेनामा अगाडि बढ्ने अवसर दिइने छ। बाँकी ७५ प्रतिशत लाई भने 'सेवानिधि' भनिएको एकमुष्ट करिब २० लाख रुपैयाँको प्याकेजसहित बिदाइ गरिने छ।
यसअघि भने भारतीय सेनामा 'पेन्शन' पाक्ने गरी जवानहरूको भर्ती लिइने गरिन्थ्यो। भारतमा समेत विवादमा रहेको यो योजनाअन्तर्गत सेवाअवधि र 'पेन्शन' रकम बढाउने गरी समीक्षाको प्रयास अघि बढाइएको विवरण आएको छ।
भारतीय सेनामा गोर्खा भर्ती रोकिएपछि कस्तो असर?
'अग्निपथ' कार्यान्वयनमा आएपछि नेपालका कतिपय दलका नेताहरू तथा सुरक्षा विश्लेषकहरूले भारतीय सेनामा चार वर्षको जागिर सकेपछि ठूलो सङ्ख्यामा हतियार चलाउन तालिमप्राप्त जनशक्ति बाहिरै बस्नुपर्ने भएकाले त्यसले राष्ट्रिय सुरक्षामा नै चुनौती थप्न सक्ने बताउने गरेको पाइन्छ।
तर भारतीय सेनामा रोजगारीको अवसरको खोजीमा रहेका कैयौँ युवाहरूलाई यसले निराश बनाएको गोर्खा भूतपूर्व सैनिकहरूको एउटा सङ्गठन संयुक्त पूर्वकल्याणकारी महासङ्घका महासचिव कुलबहादुर केसी बताउँछन्।
उनले भने, "अहिले पनि तालिम केन्द्रहरू सञ्चालन भइरहेको छ। ब्रिटिश सेना, नेपाल प्रहरी र नेपाली सेनालाई केन्द्रित गरिरहेका छन्। भारतलाई आशा मारिसकेका छन्।"
भर्ती खुल्दा लाखौँ नेपालीले भारतीय सेनामा भर्ना हुनेहरूले इच्छा व्यक्त गर्ने गरेका भन्दै उनले बर्सेनि १,३०० भन्दा धेरै भारतीय सेनामा भर्ना हुने गरेका उल्लेख गरे।
हाल भारतीय सेनामा सातवटा गोर्खा रेजिमन्ट तथा तिनका ३९ वटा बटालिअन रहेका छन्।
ती रेजिमन्टहरूमा भर्ती हुनेहरूमध्ये ६० प्रतिशत जति नेपालका अनि ४० प्रतिशत जति भारतका नेपालीभाषी गोर्खाली समुदायका हुने गरेकोमा 'अग्निपथ'अन्तर्गत भर्ना रोकिएपछि भारतकै नेपाली भाषीसहितका समुदायबाट भर्ना लिने गरिएको बताइन्छ।
भारतीय सेनामा करिब ३२,००० गोर्खा सैनिक रहेको अनुमान छ।
'अग्निपथ' योजना सन् २०२२ मा लागु भए पनि नेपालबाट भारतीय सेनामा हुने भर्ती कोभिडका कारण सन् २०२० देखि नै प्रभावित भएको थियो।
'अग्निपथ'प्रति नेपालमा असन्तोष व्यक्त भएपछि तत्कालीन भारतीय स्थल सेनाध्यक्ष मनोज पांडेले नेपालले कुनै निर्णय नगरे 'अग्निपथ'अन्तर्गतका कोटा अरूलाई उपलब्ध गराइने बताएका थिए।
भारतीय राजदूतावासको वेबसाइटका अनुसार नेपालमा एक लाख २२ हजार गोर्खा पेन्शनधारीहरू रहेका छन्। भारतले पछिल्लो पटक सन् २०१६-१७ मा सार्वजनिक गरेको एउटा आँकडाअनुसार उसले पेन्शनमा मात्रै ४.४७ अर्ब रुपियाँ खर्च गरेको छ।
'अग्निपथ'बारेको गतिरोध लम्बिइरहँदा कतिपय विश्लेषकहरूले नेपाल सरकारसामु यसलाई लिएर तीन वटा विकल्प रहेको बताउने गरेको पाइन्छ।
युवाहरूलाई स्वविवेक अपनाएर भारतले घोषणा गरेअनुसार भर्ना हुन दिनेलाई पहिलो विकल्प भनिएको छ।
दोस्रोमा भारतलाई उक्त योजनालाई पुनरवलोकन गर्न अनुरोध गर्ने र तेस्रोमा 'अग्निपथ'लाई अस्वीकार गर्ने अनि सन् १९४७ को त्रिपक्षीय गोर्खा भर्तीसम्बन्धी योजनालाई खारेज गर्ने विकल्पहरू रहेका छन्।
कतिपय वामपन्थी दलहरूले लामो समययता त्यस्तो माग राख्दै आएको पनि पाइन्छ।
भारतमा प्रधानसेनापति सिग्देलले के गरिरहेका छन्?
भारतीय सेनाले नेपाली प्रधानसेनापतिको जारी भ्रमणका क्रममा दुईपक्षीय रक्षा सहकार्य र क्षेत्रीय सुरक्षा चासोहरूबारे रणनीतिक छलफल भएको जनाएको छ।
भारतीय सेनाको विज्ञप्तिमा भनिएको छ, "यो भ्रमणले दुई देशबीच रक्षासम्बन्धलाई अभिवृद्धि गर्ने प्रतिबद्धतालाई मात्रै दर्शाउँदैन्, यसले क्षेत्रीय सुरक्षा र शान्तिका लागि हामीले दिएको साझा महत्त्वलाई पनि देखाउँछ। जेनरल सिग्देलले वरिष्ठ सैनिक र सरकारी अधिकारीहरूसँग गर्नुभएको छलफलले रक्षा सहकार्य र रणनीतिक साझेदारी अभिवृद्धि गर्न भविष्यमा बाटो खोल्नेछ।"
आइतवार स्वदेश फर्कन लागेका नेपाली सेनाका प्रधानसेनापतिले दिल्लीमा रहँदा भारतीय रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल, रक्षासचिव राजेशकुमार सिंह र विदेशसचिव विक्रम मिस्रीसहितका उच्च अधिकारीहरूसँग भेट गरेका थिए।
स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाली प्रधानसेनापतिसँगको छलफलपछि नेपाललाई एउटा 'टार्गेट प्र्याक्टिश ड्रोन' र 'फील्ड' अस्पतालहरूसँग सम्बन्धित स्वास्थ्य उपकरणहरू उपलब्ध गराउने घोषणा गरेका थिए।
त्यसबाहेक नेपाली सेनाध्यक्षलाई भारतीय सेनाका उच्च अधिकारीहरूले भारतीय सुरक्षा अवधारणा र आपसी चासोका विषयबारे ब्रिफिङ गरेका थिए।
भारतीय रक्षामन्त्रीसँगको छलफलमा तालिम, संयुक्त अभ्यास, कार्यशाला गोष्ठी र प्रतिरक्षा सामाग्रीको आपूर्तिसहितका विषयमा छलफल भएको थियो।
नेपाली सेनाका प्रवक्ताले पुसको दोस्रो साता दुई देशका सेना सहभागी हुने 'सूर्यकिरण' सैन्य अभ्यास नेपालमा हुन लागेको जानकारी दिए।
बुटवलको सालझन्डीमा हुने उक्त अभ्यासमा भारतीय सेनाको बटालियन तह सहभागी हुने गरेको छ।
सन् २०११ मा सुरु भएको उक्त संयुक्त अभ्यास दुवै देशमा आलोपालो हुने गरेको छ। अहिलेसम्म त्यसका १७ वटा संस्करण पुरा भइसकेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।