तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनेबारे बहस कति आवश्यक?
पृथ्वी जयन्ती नजिकिएसँगै यस वर्ष पनि उक्त दिन सार्वजनिक बिदा दिने कि नदिने भन्नेबारे बहस सुरु भएको छ।
प्रत्येक वर्ष उक्त दिन राष्ट्रिय एकता दिवस मनाएर बिदा दिनुपर्ने माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यस पटक सरकारमा जानका लागि उक्त विषयलाई एक सर्तका रूपमा अघि सारेको छ।
बुधवार बसेको राप्रपाको पदाधिकारी तथा सचिवालयको बैठकले अन्य सर्तसँगै सार्वजनिक बिदाको सर्त पनि अघि सारेको हो।
त्यस विषयमा गठबन्धनमा छलफल गरेर निर्णय गरिने सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका एक नेता दीननाथ शर्माले बीबीसीलाई बताए।
“यो विषयमा पार्टीहरूले छुट्टाछुट्टै भन्दा पनि गठबन्धनमै छलफल गरेर निर्णय गर्नुपर्छ, त्यो हामीले अहिलेसम्म गरिसकेका छैनौँ,” उनले भने।
बिहीवार बालुवाटारमा बसेको बैठकले त्यसबारे छलफल नगरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बीबीसीलाई बताए।
उनले भने, “आजको बैठकमा त्यो विषय प्रवेश गरेन। तर नीति तथा कार्यक्रममा हाम्रा सर्तहरू समेटिए भने मात्रै हामी सरकारमा जानेछौँ।”
किन बिदा दिइयो, किन हट्यो?
देश गणतन्त्रमा गएसँगै सरकारले जम्मा एक पटक मात्रै २०७४ सालमा पृथ्वी जयन्तीका दिन राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिएको थियो।
राप्रपा नेपालका अध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री कमल थापाले २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा आफ्नै पहलमा राष्ट्रिय एकता दिवस मनाएर सार्वजनिक बिदा दिइएको बताए।
“त्यसपछि सरकार परिवर्तन भयो रसार्वजनिक बिदा दिन पनि बन्द गरियो,” उनले भने।
तर त्यही वर्षदेखि राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा सम्मान जनाउन थालेको र त्यो प्रत्येक वर्ष अनौपचारिक रूपमा भए पनि कायम रहँदै आएको नेता थापाले बताए।
उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाहिरिएका छन्। तर उक्त पार्टीको अध्यक्षका रूपमा मनाइएको पृथ्वी जयन्तीको एउटा प्रसङ्ग उनी सम्झन्छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले एकता दिवसमा सार्वजनिक बिदा दिने मनसाय राखे पनि सायद प्रचण्डका कारण नदिएको आफूलाई लाग्ने थापाले बताए।
“२०७४ पछि संयुक्त सरकार हुँदा सायद माओवादीले दिन मानेन। त्यसले गर्दा होला। तर व्यक्तिगत रूपमा उहाँको (ओली) को चाहना बिदा दिने नै होला भन्ने लाग्छ मलाई,” थापाले भने।
अहिले एमालेसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको छ।
यो सरकारले सार्वजनिक बिदा दिन राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले अघि सारेको सर्त मान्छ मान्दैन भन्ने विषय धेरैले चासोका रूपमा हेरेका छन्।
यस पटकको आम चुनाव लड्न पनि उनी पृथ्वी नारायण शाहकै जन्मस्थान गोरखा पुगेका थिए। कतिपयले त्यति बेला उनलाई पृथ्वी नारायण शाहको विरोध गरे पनि चुनाव लड्न “उनकै शरणमा पुगेको” भनी टिप्पणीसमेत गरेका थिए।
तर प्रचण्डले पृथ्वीनारायण शाह 'सामन्ती' राजा भए पनि राज्य निर्माणमा उनको ऐतिहासिक तथा महत्त्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका थिए।
उनले बीबीसीसँगकै अन्तर्वार्तामा चुनावी अभियानका क्रममा पृथ्वीनारायण शाहबारे बोल्दै भनेका थिए, “जनयुद्धको तयारी गर्दै गर्दाको दस्ताबेजमा पृथ्वीनारायण शाहको भूमिकालाई हामीले त्यति बेलाका भुरेटाकुरे राज्यले गर्दा जनतालाई धेरै दुख भएको थियो। जिल्लैपिच्छे कर तिर्नुपर्नाले जनताको आर्थिक अवस्था जर्जर थियो। त्यसबाट मुक्ति पाउनका लागि जुन केन्द्रीय राज्य बन्नुपर्थ्यो त्यसमा पृथ्वी नारायण शाहको भूमिकालाई हामीले ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्नुपर्छ र उच्च मूल्याङ्कन गर्नुपर्छ भनेर लेखेका छौँ।”
पृथ्वी जयन्तीप्रति मानिसको भावना किन कायमै छ?
उनले चुनावी अभियानका क्रममा शाहको प्रशंसा गरेका र हालै प्रधानमन्त्रीका रूपमा शपथ लिँदा विगतमा ‘वर्ग विशेषसँग जोडिएको पोसाक’ भन्ने गरिएको दौरा सुरवाल लगाएका कारण यस पटक राप्रपाको मागलाई उनी नेतृत्वको सरकारले के गर्छ भनेर चासोपूर्वक हेरिएको छ।
जात व्यवस्थाका कारण पृथ्वीनारायण शाहको विरोध जनआन्दोलनका क्रममा गरिए पनि उनले अप्ठ्यारो अवस्थामा नेपाललाई ‘टेको’ दिएका कारण उनीप्रति आम मानिसको भावना कायमै रहेको समाजशास्त्री चैतन्य मिश्र बताउँछन्। नेपाल एकीकरणमा पृथ्वी नारायण शाहले खेलेको भूमिकाको महत्त्वको कदर गर्नुपर्ने उनी ठान्छन्।
तर उनले नेपाल एक बनेपछिको अवस्थामा भाषाभाषी, जात जातिहरू र क्षेत्रका हिसाबले थिचिएको विषयमा विरोध हुने गरेको उनले बताए।
“नेपालको इतिहास लामो छ तर हामीले अलि छोट्याएर हेर्यौँ, पृथ्वीनारायण शाहको पालायतामात्रै हेर्यौँ जुन गलत छ। तर पनि मुलुक निर्माणमा उहाँको भूमिका महत्त्वपूर्ण छ भनेर मान्न हामीलाई करै पर्छ,” उनले भने।
सम्मानका लागि बिदा नै आवश्यक पर्छ?
तर सार्वजनिक बिदा दिएर मात्रै शाहको कदर हुन्छ भन्ने ठान्नुभन्दा जे कारणले उनको विरोध भएको हो त्यसलाई सम्बोधन गरिनुपर्ने मिश्रले बताए।
“जुन बेला पृथ्वीनारायण शाहले नेपाललाई एक बनाए त्यति बेला दक्षिण एसियामा थुप्रै उथलपुथल थियो। उनले जसरी नेपाललाई त्यस्तो अवस्थामा खुट्टा टेकेर टेको दिए त्यसका लागि सम्मान गर्न आवश्यक छ,” समाजशास्त्री मिश्रले भने।
खासगरी जात व्यवस्था र त्यसले ल्याएको असमानताका कारण पृथ्वीनारायण शाहको विरोध हुने गरेको हुँदा त्यसको सम्बोधनका लागि सबै भाषाभाषीलाई बराबरको हैसियत दिने जस्ता काम गरेर शाहलाई सम्मान दिनुपर्ने मिश्रले बताए।
त्यसबाहेक जातका आधारमा हुने विभेद हटाउँदै जाँदा उनीप्रति सम्मान हुने मिश्र ठान्छन्।