प्रतिनिधिसभाको बैठकमा कांग्रेसले दोहोर्यायो संसदीय समितिको अडान, अवरोधबीच सभामुखले चलाए सदन

तस्बिर स्रोत, Parliament Secretariat
प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा नेपाली कांग्रेसले 'बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता नभएसम्म' आफूहरूले विश्राम नलिने जनाएको छ।
तर प्रमुख प्रतिपक्षीले “संसदीय छानबिन समिति नबनेसम्म सदन नचल्ने” जनाउँदै अवरोध गरे पनि सभामुखले गतिविधि अघि बढाएका छन्।
बैठक सुरु भए लगत्तै बोलेका कांग्रेस सांसद बद्री पाण्डेले संसदीय समिति गठनको सैद्धान्तिक सहमतिपछि पनि कार्यादेशमा प्रस्ट नपारिएको बताए।
“संसदीय छानबिन समिति बनाऊँ, दाबी अनुसार वहाँ [रवि लामिछाने] संलग्न भएको होइन भने वहाँले उन्मुक्ति पाउनुहोस्, सफाइ पाउनुहोस्। दाबी अनुसार वहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै वहाँलाई पनि पक्राउ पुर्जी जारी होस्,” कांग्रेस सहमहामन्त्री समेत रहेका पाण्डेले भने।
सहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार विभिन्न सञ्चारमाध्यममा यसअघि प्रकाशित भएको थियो।
नवलपुरको एक सहकारी संस्थाको बचत अपचलन गरेको आरोप लागेकी बस्नेत फरार रहेको बताइएको छ।
गृहमन्त्रीले बोल्न पाउँदा 'बराले'

तस्बिर स्रोत, Parliament Secretariat
पाण्डेले यसबीचमा गृहमन्त्री लामिछानेले संसद्मा बोल्ने अवसर पाउँदा समेत 'लाखौँ-करोडौँ मानिसहरूलाई बराल्ने' काम गरेको बताए।
राष्ट्रिय सूचना बेच्ने एजेन्ट यही संसद्मा रहेको भनेर यसअघि गृहमन्त्री लामिछानेले दिएको अभिव्यक्ति लक्षित गर्दै पाण्डेले उक्त व्यक्ति को हो प्रस्ट पार्न आग्रह गरे।
“माननीय गृहमन्त्रीज्यू, को हो त्यो एजेन्ट देखाउनुहोस्। उसलाई यो सदनबाट गलहत्त्याउन तपाईँको साथमा हामी लाग्नेछौँ,” पाण्डेले भने।
“तपाईँ निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्रीज्यू तपाईँलाई यो सदनबाट गलहत्त्याउने त्यो कामबाट समेत हामी चुक्नेछैनौँ।”
राष्ट्रपतिलाई धन्यवाद
पाण्डेले बोलेपछि विपक्षी सांसदकै नाराबाजीबीच प्रधानमन्त्रीले संयुक्त सदनमा राष्ट्रपतिले गरेको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति पेस गर्न दिँदै थप कार्यसूची अघि बढाएका थिए।
नाराबाजी र अवरोधकै बीच सभामुखले राखेको राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ मा सदनको संयुक्त सत्रलाई सम्बोधन गरेका थिए।
कांग्रेसले अवरोध गरे तापनि धन्यवाद ज्ञापनको प्रस्तावको विपक्षमा भने उभिएन।
सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी अवरोधकै बीच विश्वासको मत लिएका थिए।
संसदीय समितिको कार्यादेशमा अझै अन्योल

तस्बिर स्रोत, Parliament Secretariat
यसअघि संसदीय समितिको कार्यादेश तय गर्न सिंहदरबारमा बसेको सत्ता र प्रतिपक्ष दलका नेताहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफूहरूको उपस्थितिले कार्यादेश बनाउन असहज हुने भने आफूहरू बाधक नबन्ने कुरा बैठकमा बताएको पत्रकारहरूलाई बताए।
“हाम्रो कारणले टीओआर बन्ने कुरा रोकिँदैन,” खनालले भने
“हाम्रो कुरा त एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन।”
उक्त बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद जीवन परियारले आफ्नो दलको 'बटमलाइन' प्रस्ट पारेको बताए।
“जुन व्यक्तिका बारेमा प्रमुख प्रतिपक्षी दलले अपचलन भयो भनेर जुन प्रश्न उठाएका छौँ त्यसको छानबिन हुनुपर्छ,” पत्रकारहरूसँग बोल्दै उनले भने।
“त्यो छानबिन भएन भने हामीले उठाएको सवालको कुनै औचित्य रहँदैन।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








