ब्रिटिश शासनसँग लड्ने यी सिख रानीले नेपालमा शरण लिएकी थिइन्

तस्बिर स्रोत, NIKITA DESHPANDE/BBC
- Author, खुशहाल लाली
- Role, बीबीसी संवाददाता
"तपाईँले मलाई जेल हाल्नुभयो। चारैतिर सुरक्षाकर्मीको पहराले राख्नुभयो। तपाईँले रानी जिन्दलाई कैदमा राख्ने विचार गर्नुभयो। म चामत्कारिक रूपमा तपाईँको नाकमुनिबाटै जाँदै छु।"
लेखिका चित्रा बनर्जीको पुस्तक 'द लास्ट क्वीनमा'मा समाविष्ट यो उद्गारलाई महारानी जिन्द कौरले जेलका वार्डनलाई लेखिएको व्यङ्ग्यात्मक पत्रको अंशका रूपमा प्रस्तुत गरिएको छ।
महारानी जिन्द कौरले मिर्जापुरस्थित चुनार किल्लाको जेलबाट भाग्ने क्रममा एउटा पत्र लेखेको मानिन्छ।
जिन्द कौरलाई सुरुमा लाहोर जेलमा राखिएको थियो। त्यसपछि शेखुपुरा जेलमा कैदी बनाएर पन्जाबबाट उत्तर प्रदेश पठाइएको थियो।
जिन्द कौर महाराज रणजीत सिंहकी कान्छी रानी थिइन्। रणजीत सिंहका धेरै रानी थिए। तर जिन्दले महारानीको उपाधि पाएकी थिइन्।
रणजीत सिंहको मृत्युपछि सिख राज्य कब्जा गर्ने र पन्जाबलाई अधीनमा राख्ने ब्रिटिश शासकहरूको प्रयासको कडा प्रतिरोध गरिन्।
रानी जिन्द कौरको जीवनमा आधारित रहेर निर्माण गरिएको ‘बागी रानी’ वृत्तचित्र निर्माण गरेका प्रख्यात निर्माता माइकल सिंहले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्: "महारानी जिन्दले आफ्ना छोरा दलीप सिंहलाई मात्र जोगाइनन्, पन्जाबको सिंहासन प्राप्त गर्न सिंहिनीले जस्तै लडेकी थिइन्।''
अङ्ग्रेजसँग लड्ने सङ्कल्प

तस्बिर स्रोत, PETER BANCE COLLECTION
चित्रा बनर्जीले आफ्नो पुस्तकमा लेखेअनुसार प्रथम अङ्ग्रेज-सिख युद्धमा पराजय भोगेपछि लाहोरमा खालसा दरबारको काम रोकिएको थियो।
त्यसैले युद्धबाट निराश र दुःखी सेनापतिहरूको प्रतिनिधिमण्डल दीवान-ए-आम (दरबारमा राजाले सर्वसाधारण र भारदारहरूसँग राजकाजका विषयमा बैठक गर्नका लागि निर्धारित विशेष कक्ष) पुग्यो।
उनीहरूले भने, “हामीले तपाईँको लागि ज्यान जोखिममा राखेका छौँ। हामी तपाईँलाई भेट्न चाहन्छौँ।"
त्यस बेला रणजीत सिंहका कान्छा छोरा दलीप सिंह राजगद्दीमा बसेका थिए। तर उनको उमेर पाँच वर्ष मात्र थियो। त्यहाँको अवस्था देखेर उनी निकै डराएका थिए। तर महारानी जिन्द कौरले उनलाई सम्हालिन्।
उनले पर्दा पछाडिबाट ती मानिसहरूलाई भनिन्, "तपाईँहरू मेरो लुगा लगाउनुहोस् र मलाई आफ्नो लुगा दिनुहोस्। तपाईँ दरबारमा बस्नुहोस् र म तपाईँहरूको ठाउँमा युद्धमा जान्छु र एक सच्चा खालसा सिपाहीले जस्तै प्राण अर्पण गर्छु।"
महारानीको यो चुनौतीले युद्धमा पराजित मानिसहरूमा फेरि आत्मबल भरियो। विद्रोहको मनस्थितिमा रहेकाहरूले आफ्नो धारणा फेरे।
त्यतिखेर एक जनाले भनेका थिए, "हामी लड्छौँ। मर्न को डराउँछ र? बलिदानको समय आउँदा ज्यान दिन्छौँ। महाराजका लागि, हाम्रो पन्जाब का लागि र हाम्री आमाका लागि।"
भारत सरकारको ‘स्वतन्त्रताको अमृत महोत्सव’ वेबसाइटमा जिन्दलाई "गुमनाम नायक"मध्ये एक भनेर उल्लेख गरिएको छ।
उक्त वेबसाइटमा राखिएको विवरणअनुसार "महारानी जिन्द कौर सन् १८४३ देखि सन् १८४६ सम्म सिख साम्राज्यकी अन्तिम रानी थिइन्। उनी सिख साम्राज्यका प्रथम महाराजा रणजीत सिंहकी कान्छी पत्नी र अन्तिम महाराजा दलीप सिंहकी आमा थिइन्। अन्य सिखहरूजस्तै उनले दुईवटा कुरा मात्र सिकिन् - शासन गर्ने वा विद्रोह गर्ने।"
रानी जिन्दां समेत भनेर चिनिने महारानी जिन्द कौर सुरुमा रणजीत सिंहकी पत्नीको रूपमा चिनिन्छिन्। तर अन्ततः उनी रानी र सिख राज्यको सार्वभौमिकताका लागि लड्ने 'आमा' बनिन्।
कैयौँ इतिहासकारहरूले समेत उनलाई आफ्ना लेखमा 'रानी माई' वा 'रानी आमा' भनेर लेखेका छन्। तर भारतमा रहेको ब्रिटिश शासनले उनलाई 'पन्जाबकी मेसालिना' भनेर प्रचार गर्यो।
यद्यपि भारत सरकारको वेबसाइटको आधिकारिक जानकारीले जिन्द कौर र रोमन सम्राज्ञी भालेरिया मेसालिनाबीच धेरै समानता नभएको दाबी गरेको छ।
चित्रा बनर्जीले आफ्नो पुस्तक 'द लास्ट क्वीन' मा जिन्दांले भनेको एक कथनलाई समेत उद्धृत गरेकी छन्: "अङ्ग्रेजहरूले मलाई 'पन्जाब दी मेसालिना' भन्नुपछाडि गुलाब सिंहको षड्यन्त्र छ।"
रोमकी रानी मेसालिना आफ्नो साम्राज्य पुनः स्थापित गर्ने योजना बनाउन र आफ्नो उदारताका लागि प्रसिद्ध थिइन्।
अमृत महोत्सव वेबसाइटमा लेखिएको छ, "अङ्ग्रेजहरूले जिन्द कौरलाई उनको छविलाई कलङ्कित गर्न र पन्जाबमा शासन गर्नेलाई बदनाम गर्न मेसालिनासँग तुलना गरे।"
जिन्दले जब पन्जाबको नेतृत्व गरिन्

तस्बिर स्रोत, GETTY IMAGES
पृथ्वीपाल सिंह कपूरले 'द मेजर करेन्ट्स अफ द फ्रीडम स्ट्रगल इन पन्जाब' नामक पुस्तकमा लेखेअनुसार रणजीत सिंहले जिन्द कौरको अद्वितीय सौन्दर्य र धार्मिक स्वभावका कारण उनीसँग विवाह गरेका थिए।
कान्छा छोरा दलीप सिंह जन्मिएको १० महिनापछि महाराज दलीप सिंहको मृत्यु भयो।
रणजीत सिंहका जेठा छोरा खडक सिंह, नाति नौनिहाल सिंह, महाराजा शेर सिंह, कम्बरप्रताप सिंह र राजा ध्यान सिंहको हत्यापछि रानी जिन्द कौरका पाँचवर्षे छोरा दलीप सिंहलाई महाराजा बनाइएको थियो र जिन्द कौर उनकी संरक्षक बनिन्।
कपूर लेख्छन्, "जिन्द कौर संरक्षक बनेपछि राज्यभित्र र बाहिरबाट कडा विरोधको सामना गर्नुपरेको थियो।"
त्यसरी विरोध गर्नेमध्ये ब्रिटिश सरकार पनि थियो। अर्को चाहिँ रानीविरुद्ध षड्यन्त्र गर्ने दरबारियाहरू थिए। तर रानीले न दलीप सिंहको शासनकालमा लाहोरमा ब्रिटिश सेना तैनाथ गर्न स्वीकृति दिइन् न त वैरोवालको सन्धिको मस्यौदालाई स्वीकृत गरिन्।
शिरोमणि समितिद्वारा प्रकाशित पुस्तक "प्रख्यात सिख व्यक्तित्वहरू" मा जिन्द कौरका बारेमा सिमरन कौर लेख्छिन्, "पहिलो अङ्ग्रेज-सिख युद्धपछि सन् १८४९ को १५ डिसेम्बरमा लाहोरमा सर्तहरू निर्धारण गर्नका लागि वार्ता हुँदा दिवान दीनानाथको विचार सन्धि गर्नुअघि रानीसँग पनि परामर्श लिनुपर्छ भन्ने थियो। अनि फ्रेडरिक क्युरीले भनेका थिए - गभर्नर जेनरलले रानीको होइन, सरदार र सिख राज्यका स्तम्भहरूको राय खोज्छन्।"

तस्बिर स्रोत, GETTY IMAGES
खोप लगाउन नमानेपछि जेल
रानी जिन्द कौर राज्यभित्र र बाहिर भइरहेका षड्यन्त्रको कडा प्रतिवाद गर्दै थिइन्। उनलाई सर्वसाधारण जनताको पूर्ण समर्थन थियो।
अङ्ग्रेजहरूले तेज सिंहलाई मन्त्रीको पद दिए र उनलाई बालक महाराज दलीप सिंहलाई खोप लगाइदिन अह्राए।
तर महाराजले आमाको आज्ञाअनुसार खोप लगाउन अस्वीकार गरे।
त्यसपछि रानी र दलीप सिंहलाई शाही किल्लामा कैद गरियो।
"पन्जाबका गभर्नर हेनरी लरेन्स र उनका भारदारहरूले नयाँ प्रशासनबाट रानीलाई हटाउने योजना बनाए," पृथ्वीपाल सिंह कपूर लेख्छन्।
"त्यस बेला रानीलाई शाही किल्लाको एउटा टावरमा कैदीको रूपमा राखिएको थियो।"
लामो समयदेखि खालसा दरबारको विपक्षी रहेका अफगान शासक दोस्त मुहम्मदलाई पठाइएको एउटा पत्रलाई उद्धृत गर्दै सिमरन कौर लेख्छिन्: "रानीलाई यति धेरै उत्पीडन गरियो कि उनलाई पानी समेत दिइएन, उनको खानतलासी गरियो। अङ्ग्रेज सरकारले उनलाई नदिएको कुनै यातना छैन।"

तस्बिर स्रोत, BRITISH LIBRARY
विद्रोहका लागि प्रेरणा
महारानी जिन्दले खालसा दरबारका समर्थक र सहानुभूति राख्नेहरूलाई आफूले बेहोरेको सकसबारे जानकारी गराउन पत्र लेखिरहेकी थिइन्।
यसले जनतामा गहिरो प्रभाव पारेको थियो र त्यसै कारण अङ्ग्रेजहरूले रानीलाई लाहोरबाट बाहिर पठाए।
उनलाई दलीप सिंहबाट छुट्ट्याउन शेखुपुरा जेलमा राखिएको थियो। त्यहाँ उनीसँग सामान्य कैदीलाई जस्तै व्यवहार गरियो।
तर त्यहाँ उनका एक सहायक थिए। उनको नाम माही थियो। उनलाई खालसा दरबारप्रति निष्ठावान् गुप्तचर अवतारले जागिर दिएर पठाएका थिए।
जिन्दले आफूसँग भएको ज्यादतीबारे चिठी लेखेर सार्वजनिक गरेकी थिइन्। त्यसपछि पन्जाबमा अङ्ग्रेजविरुद्ध विद्रोह भयो। राजमातालाई अपमानित गरिएको देखेर खालसा दरबार क्रोधित थियो।
चित्रा बनर्जी लेख्छिन्, "मुल्तानमा विद्रोह गर्न अरू राज्यलाई उक्साउँदै शेर सिंह अटारीवाला र उनका बुबा चतर सिंहले सेना बनाए अनि रामनगरमा अङ्ग्रेजहरूमाथि आक्रमण गरे। दोस्त मुहम्मदले आफ्ना छोराको नेतृत्वमा अफगान घोडचढीको एउटा फौज सहयोगका लागि पठाए।"
पन्जाबले आफ्नो स्वतन्त्रता फिर्ता पाउने देखियो। तर अङ्ग्रेजहरूले भारतभरिबाट सैनिक परिचालन गरेकाले र जम्मुका राजा गुलाब सिंहले फेरि विश्वासघात गरेकाले त्यो विजय सम्भव भएन।
सिख सेनाले वीरतापूर्वक लड्यो। शेर सिंहका तीन घोडा लडाइँमा मारिए, सेनाको हतियार सकियो र अन्ततः अटारीवालाले आत्मसमर्पण गर्नुपर्यो। भाइ महाराज सिंहजस्ता धार्मिक नेताहरू पनि विद्रोहमा सहभागी भएको मानिसहरू ठान्छन्।
यसमा हेनरी लरेन्स र तेज सिंहको हत्या गर्ने षड्यन्त्र पनि समावेश थियो। तर गोप्य सूचना चुहिएका कारण त्यो योजना पूरा हुन सकेन।
कपूरले लेखेका छन्, "पन्जाबमा अङ्ग्रेजहरूविरुद्धको प्रारम्भिक विद्रोहमा महारानी जिन्दको मस्तिष्क थियो योजना थियो भने भाइ महाराज सिंह त्यो लडाइँका आत्मा थिए। त्यस बेला ब्रिटिश सरकारले भाइ महाराज सिंहलाई गिरफ्तार गर्नको लागि उनको टाउकोको मूल्य एक लाख रुपैयाँ तोकेको थियो।"

तस्बिर स्रोत, Getty Images
स्वतन्त्रताको पहिलो लडाइँ?
वरिष्ठ पत्रकार जगतार सिंह र गुरदर्शन सिंह बहियाले आफ्नो पुस्तक "कालापानी" मा पन्जाब वा पन्जाबसँग सम्बन्धित स्वतन्त्रता आन्दोलनको उल्लेख गरेका छन्।
लेखकहरूले भाइ महाराज सिंहको नेतृत्वमा ब्रिटिश शासनविरुद्धको विद्रोहलाई जिन्द कौरको प्रयासमा भारतको स्वतन्त्रताको पहिलो सङ्घर्ष मान्छन्।
उनीहरूले धेरै इतिहासकारहरूलाई उद्धृत गर्दै सन् १८४९ मा ब्रिटिश शासनविरुद्ध लडिएको युद्धलाई वर्तमान भारत, पाकिस्तान र बाङ्ग्लादेशको स्वतन्त्रताको पहिलो युद्ध भनेका छन्।
"सन् १८५७ को विद्रोहलाई पहिलो स्वतन्त्रता सङ्ग्राम मान्नु बहसको विषय हो। पन्जाबसँग सम्बन्धित इतिहासकारहरूले सन्तोषजनक रूपमा दोस्रो अङ्ग्रेज-सिख युद्ध (सन् १८४९) लाई पहिलो स्वतन्त्रता सङ्ग्राम मानेका छन्।"
तर पन्जाबी र सिख इतिहासकारहरूको यो विचारलाई भारतमा राष्ट्रिय स्तरमा मान्यता दिइएको छैन। भारतमा सन् १८५७ को विद्रोहलाई भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम भनिन्छ।
भागेर नेपाल गइन्

तस्बिर स्रोत, GETTY IMAGES
जिन्द कौर साधवीको भेषमा चुनार जेलबाट भागेर शरण लिन नेपाल पुगिन्। नेपाल कहिल्यै ब्रिटिश साम्राज्यको उपनिवेश भएन।
नेपालका तात्कालिक प्रधानमन्त्री जङ्गबहादुरले उनलाई आश्रय दिए। त्यसले भारत सरकारका लागि अप्ठ्यारो अवस्था उत्पन्न भयो।
पृथ्वीपाल सिंह कपूरले लेखेका छन्: "नेपालमा बस्दा महारानी जिन्द कौरले पन्जाबका विद्रोही र इलाहाबादमा रहेका राजनीतिक बन्दीहरूसँग सम्पर्क गरिन्। उनी पन्जाबमा ब्रिटिश शक्तिलाई ध्वस्त पार्न चाहन्थिन्। उनले सबै सम्भावनाको फाइदा उठाउने प्रयास गरिन्, तर भाग्यले उनलाई साथ दिएन।"
उनले नेपालबाट दलीप सिंहलाई पनि सम्पर्क गर्ने प्रयास गरिन्।
त्यतिन्जेलसम्म रानीको जङ्गबहादुरसँगको सम्बन्ध बिग्रिएको थियो। उनको आँखाको ज्योति पनि कम हुँदै गएको थियो।
अमृतसर र पटनामा रहेका आफ्ना चरहरूमार्फत् उनी दलीप सिंहसँग सम्पर्क स्थापित गर्न सफल भइन्।
कपूरका अनुसार, "सन् १८५७ को विद्रोह हुँदा जिन्द कौरले पन्जाबमा ब्रिटिश विद्रोहीहरूलाई पत्र लेखिन् अनि बनारस र इलाहाबादमा भारतीय रेजिमेन्टका कमान्डरहरूलाई सम्पर्क गर्दै ब्रिटिशहरूसँग भारतमा लड्न पर्याप्त सैनिकहरू नरहेको बताइन्। "
जिन्द कौरको ब्रिटिशविरोधी गतिविधिहरूबाट दिक्क ब्रिटिश शासकहरूले दलीप सिंहलाई अन्ततः सन् १८६० मा आफ्नी आमालाई इङ्ग्ल्यान्ड लैजाने अनुमति दिए।
त्यस बेलासम्म दलीप सिंह पूर्णतः ब्रिटिश शैलीमा घुलमिल भइसकेका थिए।
दलीप सिंहमा आएको परिवर्तन

तस्बिर स्रोत, NORFOLK COUNTY COUNCIL
ऐतिहासिक स्रोतहरूका अनुसार आमा र छोरा (जिन्द र दलीप सिंह) को भेट सन् १८६१ को एप्रिलमा भयो।
तर दलीप सिंहले कपाल काटेको देखेपछि रानी निराश भइन्। सिमरन कौरले लेखेअनुसार आमा जिन्दले छोरालाई भेट्दा उनीहरूबीन तीन कुरा भए।
- तिम्रो धर्म सिख हो। तिमी फेरि सिख बन्नुपर्छ
- अङ्ग्रेजहरूले तिमीलाई धोका दिएर राज्य लुटे
- भैरोवाल सम्झौतामा हस्ताक्षर भएअनुसार अङ्ग्रेजहरू तिम्रा संरक्षक थिए र तिमीलाई सिंहासनबाट हटाउन सक्दैनथे।
सिमरन कौरले आफ्नो लेखमा जिन्दको प्रेरणामा दलीप सिंह फेरि सिख बने र अमृतपान गरे भन्ने दाबी गरेकी छिन्।
इङ्ग्ल्यान्ड आए पनि दलीप सिंहलाई आमासँग भेट्न दिइँदैन थियो। यसैबीच जिन्द कौरको स्वास्थ्य बिग्रिँदै गयो।
त्यसैले दलीप सिंहले रानीलाई योर्कशरस्थित मल्ग्रेभ काशलमा ल्याउन प्रशासनसँग अनुमति मागे। उनले यो महल लर्ड नर्मन्डीसँग भाडामा लिएका थिए र उनले आफ्नी आमालाई त्यहाँ ल्याउने अनुमति पाए।
त्यहाँ जिन्द कौरले सिख राज्यसँग भएका विश्वासघातका कथाहरू छोरालाई सुनाउने अवसर पाइन्।
उनले आफ्ना छोरालाई ब्रिटिश भूमिमा आफ्नो अन्तिम संस्कार नगरियोस् भनेर निर्देशन दिइन्। सन् १८६३ मा इङ्ग्ल्यान्डमा उनको मृत्यु भयो।
आमाको इच्छानुसार दलीप सिंह उनको शव लिएर भारत फर्किए। तर सरकारले उनलाई पन्जाब जाने दिएन।
त्यसैले उनको अन्तिम संस्कार नासिकको गोदावरी नदीको किनारमा गरियो। त्यहाँ एउटा सानो समाधिस्थल पनि निर्माण गरियो।
पछि दलीप सिंहकी छोरी राजकुमारी बम्बाले त्यहाँबाट आफ्नी हजुरआमाको अस्थि निकालेर उनका पति रणजीत सिंहको समाधिमा राख्न लगिन्।
जिन्द कौरको समाधि पहिले मुम्बई र पछि लाहोरमा बनाइएको भए पनि पन्जाबको इतिहासमा उनी एक महत्त्वपूर्ण पात्र हुन्। उनलाई सधैँ एक नायिकाका रूपमा स्मरण गरिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








