तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नीजेरमा राष्ट्रपतिलाई बन्धक बनाएर कू गराएका नाइकेद्वारा आफूलाई नयाँ नेता घोषणा
- Author, सिमा इला इसूफू र लुसी फ्लेमिङ
- Role, बीबीसी न्यूज, निआमे र लन्डन
नीजेरमा सैन्य कू का नाइके जेनरल अब्दुरमन चियानीले आफूलाई देशको नयाँ नेता घोषणा गरेका छन्।
प्रेजिडेन्सियल गार्ड्स टुकडीका प्रमुख उनले त्यहाँका निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गरी कब्जामा लिएका थिए।
६२ वर्षीय जेनरल चियानी सन् २०११ यता प्रेजिडेन्सियल गार्डका प्रमुख थिए जसलाई सन् २०१८ मा यसअघिका राष्ट्रपतिले जेनरलमा पदोन्नति गरेका थिए।
उनलाई सन् २०१५ मा पूर्वराष्ट्रपति विरुद्धको एक कू प्रयासमा समेत जोडिएको थियो तर अदालतमा उपस्थित भएर उनले त्यसलाई अस्वीकार गरेका थिए।
यससँगै सन् १९६० मा स्वतन्त्र भएपछिको निजेरको पहिलो शान्तिपूर्ण र प्रजातान्त्रिक सङ्क्रमणमा अन्त्य भएको छ।
उक्त अफ्रिकी मुलुकमा राष्ट्रपतिलाई अपदस्थ गरिएपछि उक्त कदमका समर्थकहरूले राष्ट्रपतिको दलको मुख्यालयमा आक्रमण गर्नुका साथै भवन तथा र सवारीसाधनहरूमा आगजनी पनि गरेका छन्।
विद्रोही नेताहरूको समर्थनमा संसद्बाहिर भेला भएका मानिसहरूको भिडबाट निस्किएको एउटा समूहले आगजनी गरेको थियो। संसद् भवनबाहिर रुसको झण्डा प्रदर्शन गरिएको थियो।
बुधवार राष्ट्रपति मोहम्मद बाजूमलाई बन्धक बनाउने सैन्य समूहलाई पछि सेनाले पनि समर्थन दिने बतायो।
रुसले पनि अन्य देश तथा संयुक्त राष्ट्रसङ्घले जस्तै बाजूमको रिहाइको माग गरेको छ। यद्यपि भाडाका सैनिक उपलब्ध गराउने रुसी समूह वाग्नरका नेता येभ्गनी प्रिगोजिनले कू लाई 'जित' भन्दै प्रसंशा गरेका विवरण सार्वजनिक भएका छन्।
दुई वर्षअघि नीजेरको राष्ट्रपतिमा निर्वाचित भएका ६४ वर्षीय बाजूम पश्चिम अफ्रिकामा इस्लामिक लडाकुहरूविरुद्ध जारी लडाइँमा पश्चिमी मुलुकलाई सहयोग गर्ने प्रमुख पात्र हुन्।
नीजेरमा यूरेनिअम खानी छ। त्यहाँ पूर्वऔपनिवेशिक शक्ति अमेरिका र फ्रान्स दुवैका सैन्य शिविरहरू छन्। ती दुवैले अहिलेको 'कू' को निन्दा गरेका छन्।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले बाजूमलाई वाशिङ्टनले 'अटुट समर्थन' गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसङ्घले नीजेरमा आफ्नो मानवीय सहायता कार्य स्थगन गरेको जनाएको छ। 'कू' कै कारण सहायता रोकिएको हो वा होइन भन्ने चाहिँ स्पष्ट छैन।
राष्ट्रसङ्घले यसअघि नीजेरमा ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक रहेको बताउँदै आएको थियो।
बिहीवार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रपति बाजूमलाई “तत्काल र बिनासर्त” रिहा गर्नु पर्ने माग अघि सारे।
बाजूमले आफूविरुद्ध चालिएको कदमको अवज्ञा गर्दै बिहीवार बिहान ट्विटरमा लेखेका छन्ः “कठिन सङ्घर्षपछि प्राप्त उपलब्धिहरूको रक्षा गरिने छ। प्रजातन्त्र र स्वतन्त्रतालाई माया गर्ने सबै नीजेरी जनताहरूले त्यो देख्न पाउने छन्।"
उनका विदेशमन्त्रीले पनि समर्थन जुटाउने र वार्ताका लागि आग्रह गर्ने प्रयास गरिरहेका छन्। यद्यपि सेनाप्रमुखले सशस्त्र बलभित्र झडपको अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आफूले सत्तापलटको समर्थन गरेको तर्क गरेका छन्।
राष्ट्रपतिलाई सत्ताच्युत गर्ने सैन्य पक्षले आफ्नो नेता घोषणा नगरेकाले अहिले नीजेर कसको नेतृत्वमा छ भन्ने स्पष्ट छैन।
त्यहाँको सरकारी टीभीले देशभक्ति झल्काउने सङ्गीत र कुरानका श्लोकहरू (आयत) सहित बुधवार राति अबेर भएको 'कू' को घोषणा दोहोर्याउँदै प्रसारण गरिरहेको छ।
कू घोषणा भएपछि टेलिभिजनले नियमित समाचार बुलेटिन प्रसारण गरेको थिएन।
तर राजधानी नेआमेमा पसल र बजारहरू खुला थिए। बिहानैदेखि भएको ठूला वर्षाका कारण विद्रोहका समर्थकहरू ढिला गरी सडकमा भेला भएका थिए।
देशको संसद् भवनबाहिर भेला भएका सयौँ मानिसले रुसको झण्डा बोकेका थिए। उनीहरूले फ्रान्स र नीजेरमा रहेका विदेशी सैन्य शिविरहरूविरुद्ध लिखित नारा देखिने सामग्री बोकेका थिए।
त्यसपछि प्रहरीले सत्तारूढ दलको मुख्यालयमा पुगेका प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्या प्रहार गरेको थियो। प्रदर्शनकारीहरूलाई देखेलगत्तै उक्त दलका कार्यकर्ताहरू त्यहाँबाट भागेका थिए।
झडपमा केही व्यक्ति घाइते भएका छन् र पीएनडीएस तराया पार्टी भवन वरपर जलेका गाडीहरू देख्न पाइन्छ।
कू समर्थकहरूले उक्त पार्टीमाथि भ्रष्टाचार गरेको तथा सुरक्षास्थितिमा सुधार ल्याउन र लामो समयदेखि चलिरहेको जिहादी विद्रोह अन्त्य गर्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्।
दुई छिमेकी देशहरू माली र बुर्किनाफासोमा पनि इस्लामिक विद्रोहका कारण कू भएको थियो। फ्रान्ससँगको सम्बन्धमा तिक्तता उत्पन्न भएपछि दुवै देशका नयाँ सैन्य नेताहरू रुससँग नजिकिएका छन्।
"उनीहरूले सहरमा उचित सुरक्षा व्यवस्था गर्ने र अवस्था सुधार गर्न सघाउने मेरो आशा छ। किनकि हामीसँग राम्रा स्रोतहरू छन्। उनीहरूले बुर्किनाफासो वा मालीलाई पछ्याऊन् कि नपछ्याऊन् त्यसको मलाई मतलब छैन,” विद्रोहका समर्थक जिबोले बीबीसीसँग भने।
किन भयो सत्ताकब्जाको घोषणा?
रुसमा प्रतिबन्ध नलगाइएका केही प्रमुख सामाजिक सञ्जालहरूमध्ये एक टेलिग्राममा क्रेम्लिन समर्थकहरूले यो रुस र वाग्नरका लागि नीजेरमा प्रवेश गर्ने अवसर भएको जनाउँदै कूको समर्थनमा टिप्पणी साझा गरिरहेका छन्।
तत्कालका लागि त्यहाँ रुसी संलग्नताको कुनै प्रमाण छैन। रुसको सरकारी समाचारसंस्थालाई उद्धृत गर्दै रोएटर्सले जनाएअनुसार रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले नीजेरमा संवैधानिक व्यवस्था पुनर्स्थापित हुनुपर्ने बताएका छन्।
केही सातायता नीजेरका नागरिक समाज समूहरूले फ्रान्सबाट टाढिनुपर्ने र रुससँग नजिकिनुपर्ने आह्वान गर्दै आएका छन्।
बिहीवार बिहान एउटा सैन्य विमानले वायुसेनाको शिविरमा अवतरण गरेपछि जुन्टाले नीजेरको सीमा उल्लङ्घन गरेको भन्दै फ्रान्सको आलोचना गरेको छ।
सैन्य प्रवक्ता कर्नेल मेजर आमाडू अब्दर्मानले बिग्रँदो सुरक्षास्थिति र “कमजोर आर्थिक तथा सामाजिक प्रशासन”का कारण सत्ताकब्जा गरिएको घोषणा गरेका हुन्।
नीजेरबाट प्रकाशित हुने पत्रिका "ल'ओन्क्वेटर"का अनुसार राष्ट्रपति बाजूमले जेनरल अब्दूरहमान चियानीलाई राष्ट्रपतिको सुरक्षा कमान्डरबाट हटाउने प्रयास गरेका कारण यो विद्रोह भएको हो।
सर्वसाधारणमा कस्तो प्रभाव?
विकसित घटनाक्रमबारे मानिसहरू विभाजित देखिएका छन्। कोही स्तब्ध छन् भने कोही विचलित छन्।
बुधवार प्रदर्शन भइरहँदा राष्ट्रपतिका सयौँ समर्थकले सेनाको अवज्ञा गर्दै विरोधप्रदर्शन गरेका थिए। उनीहरूले सेनालाई छाउनीमा फिर्ता आह्वान गरेका थिए।
प्रतिक्रियामा सैनिकहरूले चेतावनी दिन गोली चलाएपछि प्रदर्शनकारीहरू तितरबितर भए।
“यो कू अत्यन्त खेदजनक छ। यसले मलाई दुःखी बनाएको छ किनकि म देशको हित चाहन्छु। नीजेर अब पछि पर्ने छ,” आफ्नी पत्नी र तीनवर्षे छोरासँग बस्ने निआमेका मुस्तफाले बीबीसीसँग भने।
नीजेरका विदेशमन्त्री हासूमी मसूडूले जनतालाई सत्ताकब्जाको विरोध गर्न आह्वान गरेका छन्।
फ्रान्स ट्वेन्टीफोर च्यानललाई दिएको अन्तर्वार्तामा उनले छिमेकी नाइजिरियाबाट पठाइएका प्रतिनिधिले सेनासँग कुरा गरिरहेको र वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।