बशर अल–असद कहाँ छन्? सिरियामा फैलिएका अफवाह र सम्भावित नयाँ परिस्थितिको चिन्ता

राष्ट्रपति बशर अल-असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन्।

तस्बिर स्रोत, AFP

    • Author, सेबास्टिअन असर
    • Role, बीबीसी मध्यपूर्व क्षेत्रीय सम्पादक
  • पढ्ने समय: ३ मिनेट

हाल सिरियाको राजधानी दमास्कसमा अन्योल र त्रासको वातावरण छ। विद्रोहीहरू दमास्कसको नजिक पुगिरहँदा मानिसहरू वास्तवमा के भइरहेको छ भनेर पत्ता लगाउन सकिरहेका छैनन्।

राष्ट्रपति बशर अल-असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन्।

त्यहाँको आन्तरिक मामिला मन्त्रालयले राजधानी वरिपरि बलियो रक्षात्मक घेरा निर्माण गरिरहेको जनाएको छ।

तर देशभरका विद्रोही समूहहरूले कब्जामा लिएका सहर,नगर र गाउँहरूमा सरकारी सेनाले त्यस्तो कुनै पनि सुरक्षा प्रदान गर्न असफल भएको प्रस्टसँग देखिन्छ।

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले सिरियाको तेस्रो ठूलो सहर होम्सको केन्द्रभाग समेत कब्जा गरेको र राजधानी दमास्कसतर्फ अघि बढिरहेको बताएका छन्।

उनीहरूले यसअघि नै दोस्रो ठूलो सहर अलेपो कब्जा गरेका थिए।

असद कहाँ छन्?

सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को 'अरब स्प्रिङ'मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को 'अरब स्प्रिङ'मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

यतिबेला राष्ट्रपति बशर अल-असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको निगरानी गरिरहेका छन्।

सबैजना अशद देशमै छन्-छैनन् भन्ने जान्न खोजिरहेका छन्।

असद एक विमानमार्फत नाम दमास्कस छाडेको तर उनी गएको स्थान थाहा नभएको समाचार संस्था रोयटर्सले दुईजना सिरियाली अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

राष्ट्रपति अशदको कार्यालयले त्यस्ता सबै खबरको खण्डन गर्दै उनी अझै दमास्कसमै रहेको र नियमित रूपमा आफ्नो काम गरिरहेको जनाएको छ। तर त्यसको सङ्केत भने देखिएको छैन।

सिरिया यतिखेर एक विभाजित देशका रूपमा छ जहाँ वर्षौँ लामो गृहयुद्धको गहिरो घाउ अझै निको हुन सकेको छैन।

त्यहाँ करिब डेढ साता अघिसम्म झण्डै चार वर्षदेखि कायम गरिएको एकखाले गतिरोध र यथास्थिति थियो।

असदको पकड गुमेमा के होला?

देशमा चलिरहेको गृहयुद्धबीच राष्ट्रपति असदको आफ्ना अरब नेताहरूसँगको सम्बन्ध क्रमशः सुधार भए तापनि सिरियाभित्र युद्धपछिको अवस्थामा जनताको सुखद भविष्य निर्माण गर्ने दिशामा कुनै प्रगति भएको देखिएन।

विद्रोहीहरूले यसअघि नै देशको दोस्रो ठूलो सहर अलेपोसहित राजधानी नजिकका विभिन्न ठाउँ कब्जामा लिएका छन्
तस्बिरको क्याप्शन, विद्रोहीहरूले यसअघि नै देशको दोस्रो ठूलो सहर अलेपोसहित राजधानी नजिकका विभिन्न ठाउँ कब्जामा लिएका छन्

वर्षौँको घातक द्वन्द्वका बाबजुद राष्ट्रपति असद स्थिर रूपमा देशको सत्तामा रहनुले त्यहाँ उनको पकडको छाप देखाउँछ।

यदि उनले अहिले यस परिस्थितिको सामना गर्न छाडे भने त्यहाँ फेरि शक्ति शून्यता देखा पर्नेछ। त्यस्तो शून्यताको पूर्ति कसरी होला भन्ने कसैलाई प्रस्ट थाहा छैन।

उहाँको स्थानमा सत्ता हात पार्ने प्रतिपक्ष एक ठाउँमा छैन र त्यहाँ कायम रहेका विद्रोही समूहहरूबिच विभाजन र झगडाको विगत छ।

नयाँ चिन्ता र ब्युँतिएको आशा

नयाँ चरणको द्वन्द्वका क्रममा इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामले सिरियाली सत्ताको नियन्त्रणमा रहेका क्षेत्रहरूमा कब्जा जमाएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नयाँ चरणको द्वन्द्वका क्रममा इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामले सिरियाली सत्ताको नियन्त्रणमा रहेका क्षेत्रहरूमा कब्जा जमाएको छ

राष्ट्रपति असद विरुद्धको पछिल्लो विद्रोहको नेतृत्व गर्ने समूहको जग अल-कायदाको अतिवादमा आधारित छ।

यसका नेताले सिरियाका समुदायहरूलाई आफ्नो विचारधारा उनीहरूमाथि नलाद्ने भन्दै आश्वस्त पार्ने प्रयास गरिरहे तापनि जनतामा अब के होला भन्ने चिन्ता छ ।

सिरियाको अवस्था झन् बिग्रने र आमजनताको पीडा बढ्न सक्ने व्यापक चिन्ताबिच कैयौँ समूहहरू आफ्नो नियन्त्रण कायम गर्न आपसमा लडिरहेका छन्।

पहिले नै अत्यन्त अस्थिर र नाजुक क्षेत्रमा अब थप अस्थिरता बढ्ने देखिन्छ।

तर यतिखेर कम्तीमा देश भित्र र बाहिर बसिरहेका सिरियालीहरूले आफ्नो घर फर्कने आशामा एकताबद्ध छन्।

त्यस्तो आशा असदको विरोध र उनीविरुद्ध असहमत देखिँदा उत्पन्न हिंसात्मक कारबाहीबाट सुरु भएको युद्धमा लामो समयदेखि हराएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।