इजरेलले गाजामा नरसंहार गरिरहेको विश्वका अग्रणी विज्ञहरूको भनाइ

स्ट्रेचरमा मानिसहरूले बोकिरहेको दृश्य

तस्बिर स्रोत, Reuters

    • Author, एमिर नादेर
    • Role, बीबीसी न्यूज, जेरुसलेम

नरसंहारसम्बन्धी प्राज्ञहरूको विश्वको अग्रणी सङ्गठनले गाजामा इजरेलले नरसंहार गरिरहेको ठहर गरेको छ।

इन्टरन्याश्नल एशोसिएसन अफ जेनोसाइड स्कलर्स (आईएजीएस)द्वारा पारित एक प्रस्तावमा इजरेलको व्यवहार नरसंहारसम्बन्धी संयुक्त राष्ट्र सङ्घको महासन्धिमा उल्लेख गरिएको कानुनी परिभाषासँग मिल्ने उल्लेख गरिएको छ।

तीन पृष्ठको सो प्रस्तावमा आईएजीएसले २२ महिना लामो युद्धमा इजरेलले गरेका कार्यहरूको एक सूची समेटेको छ जसले त्यहाँ नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको देखाउँछ।

आईएजीएस नरसंहारसम्बन्धी विद्वानहरूको विश्वको सबैभन्दा ठूलो व्यावसायिक सङ्घ हो जसमा होलोकस्ट अर्थात् यहुदीविरूद्धको नरसंहारसम्बन्धी कैयौँ विज्ञहरू छन्।

यसका ५०० सदस्यहरूमध्ये २८ प्रतिशतले मतदानमा भाग लिएका थिए र मतदान गर्नेहरूमध्ये ८६ प्रतिशतले प्रस्तावलाई समर्थन गरे।

इजरेली नीति र गतिविधिका सारांशमा घोषणापत्रले स्वास्थ्य सेवा, सहायता र शैक्षिक क्षेत्रहरूसहितका व्यापक क्षेत्र र त्यससँग सम्बन्धित व्यक्तिहरूमा हमला गरिएको उल्लेख छ।

त्यसका अन्य धेरै विषयवस्तुहरूमध्ये उसले राष्ट्रसङ्घीय सहायता संस्था युनिसेफले जनाए अनुसार इजरेलद्वारा मारिएका वा घाइते बनाइएका ५०,००० बालबालिकाको सङ्ख्या उल्लेख गर्दै त्यसले गाजामा प्यालेस्टिनीहरू समुदायका रूपमा बाँच्ने र बढ्ने क्षमतामा असर गर्ने जनाइएको छ।

सो प्रस्तावले इजरेली नेताहरूमाझ गाजाबाट सबै प्यालेस्टिनीहरूलाई जबरजस्ती निष्कासन गर्ने कुरामा साथ सहमति हुनु र गाजा क्षेत्रका आवासहरू लगभग पूर्णतया नष्ट गरिनुलाई महत्त्वसाथ दर्साइएको छ।

आईएजीएस के भन्छ?

आईएजीएसले इजरेली नेताहरूले गाजामा प्यालेस्टिनीहरूलाई 'डिह्युमनाइजिङ' गर्ने, उनीहरू सबैलाई शत्रुको रूपमा चित्रण गर्ने र "गाजालाई सोतर" पार्ने तथा "नर्क" मा परिणत गर्ने वाचा गरेका अभिव्यक्ति हेक्का राखिएको जनाएको छ।

इजरेली विदेश मन्त्रालयले सो प्रतिवेदन "हमासका झूट" एवं कमजोर अनुसन्धानमा आधारित रहेको जनाउँदै त्यो "कानुनी पेशाका लागि लज्जा" भनेको छ। इजरेलका एकजना प्रवक्ताले इजरेल आफैँ नरसंहारको पीडित रहेको बताएका छन्।

इजरेलले गाजामा आफ्नो गतिविधि नरसंहारसरह भएको कुरालाई बारम्बार अस्वीकार गर्दै आएको छ। उसले ती आत्मरक्षाको उपायका रूपमा जायज रहेको भन्ने गर्छ।

आईएजीएस विद्वानहरूले सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमण स्वयंमा एक अपराध भएको बताएका छन्। उक्त हमलामा झन्डै १,२०० जना मारिनुका साथै २५१ जना बन्धक बनाइएका थिए।

ती प्राज्ञहरूले इजरेलको प्रतिक्रिया हमासविरुद्ध मात्र निर्देशित नभईकन गाजाको सम्पूर्ण जनसङ्ख्या लक्षित भएको जनाएका छन्।

नाजी जर्मनीद्वारा यहुदीहरूको सामूहिक हत्यापछि तयार पारिएको सन् १९४८ को संयुक्त राष्ट्रको नरसंहारसम्बन्धी महासन्धिले नरसंहारलाई "पूर्ण वा आंशिक रूपमा राष्ट्रिय, जातीय, जातीय वा धार्मिक समूहलाई नष्ट गर्ने उद्देश्यले गरिएको अपराध" भनेर परिभाषित गर्छ।

दुई इजरेली संस्थाहरूसहित कैयौँ मुख्य अधिकारवादी सङ्गठनहरूले समेत इजरेलले नरसंहार गरिरहेको विश्वास गरेको घोषणा गरेका छन्।

संयुक्त राष्ट्र सङ्घ र कैयौँ पश्चिमी राष्ट्रहरूले उनीहरूले नरसंहार भइरहेको छ भन्ने अदालतको फैसलालाई मात्र आधिकारिक मान्ने जनाएका छन्।

'विचाराधीन मुद्दालाई प्रभाव पार्दैन'

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत र इन्टरन्याश्नल कोर्ट अफ जस्टिस (आईसीजे)मा हाल सन् २०२३ मा दक्षिण अफ्रिकाले अघि सारेको मुद्दा विचाराधीन छ जसमा इजरेलले नरसंहार गरिरहेको तर्क गरिएको छ।

आईसीजेले हालसम्म यस विषयमा कुनै निर्णय गरेको छैन र इजरेललाई आफ्नो बचाउ प्रस्तुत गर्न सन् २०२६ को ज्यानुअरीसम्मको समय दिएको छ।

यहुदी समुदायले इसाई बच्चाहरूको हत्या गर्छ भन्ने ऐतिहासिक सन्दर्भमा इजरेलले यहुदी विरोधी भावना राखिएको आरोप लगाउँदै त्यसलाई "रगतमा खोट देखाएको" बताएको छ।

आईएजीएसले आफ्नो प्रस्तावले अन्तर्राष्ट्रिय अदालतमा पेश गरिएका मुद्दामा कुनै असर नपार्ने जनाएको छ।

सोमवार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यस युद्धका क्रममा हालसम्म ६३,५५७ जना मारिएका र १६०,६६० जना घाइते भएको जनाएको छ।

उक्त मन्त्रालयको सङ्ख्यालाई धेरैजसो विश्वसनीय मानिन्छ तर त्यसमा नागरिक र लडाकूहरू अलग्याएर प्रस्तुत गरिएको हुँदैन।

गत अगस्टमा संयुक्त राष्ट्रसङ्घको साथ पाएको खाद्य अनुगमनकर्ता आईपीसीले गाजाका केही भागहरूमा अनिकाल रहेको पुष्टि गरेको थियो। गाजा पुग्ने खाद्यान्न र चिकित्सा सहायतामाथि जारी प्रतिबन्धहरूमार्फत् इजरेलमाथि अनिकाल निम्त्याएको आरोप लगाइएको छ।

इजरेलले गाजा स्ट्रीपमा जाने सबै सीमा नाकाहरू नियन्त्रण गर्छ। अन्तर्राष्ट्रिय कानुन अन्तर्गत कुनै क्षेत्र कब्जा गर्ने शक्तिले नै त्यो क्षेत्रमा रहेका सर्वसाधारणको रक्षा गर्ने जिम्मेवारी वहन गर्नु पर्छ। त्यसमा भोकमरी रोकथाम गर्नु पर्ने पनि समावेश छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।