दिल्लीमा भएको विस्फोटनबारे अहिलेसम्म नसुल्झिएका यी चार विषय

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा भएको कार विस्फोटनको घटनालाई षड्यन्त्र भन्दै त्यसका निम्ति जिम्मेदार पक्षलाई नछाडिने बताएका छन्।

भारतको राजधानीमा अवस्थित ऐतिहासिक लालकिल्लानजिकै सोमवार साँझ भएको विस्फोटनमा आठ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् तर स्थानीय सञ्चारमाध्यमहरूले मारिनेको सङ्ख्या कम्तीमा १२ पुगेको उल्लेख गरेका छन्।

प्रहरीले सो घटनाबारे प्रतिआतङ्कवादसँग सम्बन्धित कानुनबमोजिम अनुसन्धान थालेको छ। उक्त घटनापछि भारतभरि सुरक्षा व्यवस्था कडा पारिएको छ। गृहमन्त्री अमित शाहले सोमवार राति घटनास्थलको निरीक्षण गरेका थिए।

अनुसन्धानकर्ताहरूले त्यहाँबाट विभिन्न नमुना सङ्कलन गरेर जाँचका निम्ति विधिविज्ञान प्रयोगशालामा पठाएका छन्। तर अहिलेसम्म केही प्रश्नहरू अनुत्तरित नै छन्।

पहिलो प्रश्न - विस्फोट कसरी भयो?

दिल्लीका प्रहरी आयुक्त सतीश गोलचाले सोमवार साँझको घटनाबारे जानकारी दिँदै सञ्चारमाध्यमसँग भने, "यो विस्फोटनले वरपर रहेका गाडीहरूमा पनि क्षति पुग्यो। यसको सूचना पाउनासाथ दिल्ली प्रहरी, एफएसएल, एनआईए र एनएसजीका टोलीहरू घटनास्थलमा पुगेर अवस्थाको निरीक्षण गरे।"

"यो विस्फोटनबारे जाँच भइरहेको छ र चाँडै यसको आकलन गरेर यसका बारे बताइने छ।"

तर कारमा विस्फोटन कसरी भयो भन्ने बारे स्पष्ट जानकारी अहिलेसम्म प्राप्त भएको छैन।

यो विस्फोटन कसरी भयो? के कारमा पहिलेदेखि नै कुनै विस्फोटक पदार्थ वा बम राखिएको थियो? के कारको इन्धन राख्ने ट्याङ्क वा सीएनजी ट्याङ्कमा विस्फोट भएर अरू गाडी त्यसको चपेटामा परेका हुन्? के कारमा सवार मानिसहरूलाई पहिला नै जानकारी थियो? यी विषयबारे अहिलेसम्म केही स्पष्ट भएको छैन।

दोस्रो प्रश्न - के 'आतङ्ककारी हमला' भएको हो?

आक्रमण भएको सम्भावनाबारे प्रहरी प्रशासनले स्पष्ट रूपमा कुनै टिप्पणी गरेको छैन। तर दिल्ली प्रहरी आयुक्तले यस घटनाको जाँच कैयौँ निकायहरूले गरिरहेको बताएका छन्।

विधिविज्ञान प्रयोगशालाका अधिकारी मोहम्मद वाहिदले पत्रकारहरूलाई भने, "घटनास्थलमा सङ्कलित नमुना प्रयोगशालामा पठाइँदै छ। त्यसपछि हामीलाई थप जानकारी मिल्ने छ। नमुना परीक्षणपश्चात् मात्र हामी कुनै निष्कर्षमा पुग्न सक्छौँ।"

विस्फोटनबारे सञ्चारमाध्यममा विभिन्न खालका चर्चाहरू हुँदै छन्। केही प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै विस्फोटन सीएनजी (ग्यास)का कारण भएको दाबी पनि गरिएको छ। तर प्रहरीले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन।

मङ्गलवार बिहान दिल्ली नोर्थका डीसीपी राजा बान्ठियाले सञ्चारमाध्यमसँग भने, "दिल्ली विस्फोटनमा यूएपीए, एक्सप्लोसिभ एक्ट र भारतीय न्याय संहिताका धाराहरूअन्तर्गत उजुरी दर्ता गरिएको छ। फरेन्सिक विशेषज्ञ, एफएसएलका टोली तथा अन्य विशेषज्ञ टोलीहरू घटनास्थलमा पुगेका छन्। हामी सबै प्रमाण सङ्कलन गर्दै छौँ।"

तेस्रो प्रश्न - कार कसको थियो?

घटनाका बारे सोमवार साँझ जानकारी दिँदै गृहमन्त्री अमित शाहले भनेका थिए, "सोमवार साँझ ७ बजेतिर दिल्लीमा लालकिल्लानजिकै सुभाष मार्ग ट्राफिक सिग्नलमा आई-२० ह्युन्डाई गाडीमा एक विस्फोट भयो। विस्फोटका कारण वरपरका केही गाडी क्षतिग्रस्त भए र केही मानिस घाइते भएका समाचार छन्। प्रारम्भिक सूचनाअनुसार केही मानिस हताहत पनि भएका छन्।"

मङ्गलवार दिउँसोसम्म उक्त कारबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। कारको मालिक को थियो? कहाँ जाँदै थियो? कारमा कति जना सवार थिए र विस्फोटनमा कारमा सवार कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन।

अनुसन्धानकर्ताहरू कार कहाँबाट आएको थियो भनेर पत्ता लगाउने कोसिस गर्दै छन्। विस्फोटन भएको ठाउँ वरपर उक्त कार पहिलेदेखि नै थियो कि थिएन भन्नेबारे पनि प्रशासनसँग स्पष्ट उत्तर छैन। बताइएअनुसार उक्त कार त्यहाँ पार्किङ थियो र विस्फोटन हुनुभन्दा केही समय अगाडि मात्र बिस्तारै अगाडि बढ्न थालेको थियो।

तर प्रहरी या बीबीसीले यी चर्चाको पुष्टि गरेको छैन।

चौथो प्रश्न - निसाना के?

भारतका प्रधानमन्त्री मोदीले भुटान पुगेर षड्यन्त्रकारीलाई नछोडिने उद्घोष गरे। उक्त घटनाबारे सरकारले आधिकारिक धारणा वा निष्कर्ष सार्वजनिक भएको त छैन तर मोदी र गृहमन्त्री अमित शाहका टिप्पणीले सरकारको दृष्टिकोणबारे केही सङ्केत गर्छ।

यससँगै उक्त विस्फोटन भएको स्थल जानीजानी छानिएको पो थियो कि भन्ने आशङ्का पनि उत्पन्न भएको छ।

यदि नियतवश विस्फोटन गराइएको भने त्यो कसप्रति लक्षित थियो? के सर्वसाधारण मानिसहरू निसानामा थिए? उक्त घटनाको जालो स्थानीय स्तरमा सीमित थियो कि भारतले अघिपछि आरोप लगाउँदै आए जसरी देशबाहिर पनि जोडिएको छ?

यी प्रश्नहरूको उत्तर हामीलाई अहिले थाहा छैन।

बीबीसीका लागि कलेक्टिभ न्यूजरूमका तर्फबाट प्रकाशित

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।