दक्षिण भारतमा यात्रुवाहक बसमा आगो लाग्दा कम्तीमा १९ जनाको मृत्यु

तस्बिर स्रोत, ANI
- Author, अभिषेक दे
- Role, बीबीसी न्यूज, गुवाहटी
दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा गुड्दै गरेको एउटा यात्रुवाहक बसमा आगो लाग्दा कम्तीमा १९ जनाको मृत्यु भएको विवरण प्राप्त बएको छ।
हैदराबादबाट ब्याङ्लोरतिर जाँदै गरेको उक्त बस राजमार्गमा एउटा मोटरसाइकलसँग ठोक्किन पुग्दा आगलागी भएको बताइएको छ। घटना शुक्रवार बिहान सबेरै भएको हो।
उक्त बसमा झन्डै ४० जना यात्रु चढेको बताइएको छ। दुर्घटनामा कैयौँ व्यक्ति घाइते भएका छन्।
दुर्घटनामा परेको मोटरसाइकल बसमुनि थिचिएपछि पेट्रोल चुहिएको थियो र विस्फोटन भएको थियो।
प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चाारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार उक्त घटनापछि यात्रुहरूले चिच्याएर गुहार मागेका थिए। स्थानीयवासीहरूले केही व्यक्तिलाई जीवितै बाहिर निकालेका थिए भने केही व्यक्ति बसको आपत्कालीन द्वारबाट बाहिर निस्किएका थिए।
उक्त बसका चालक र सहचालक घटनापछि भागेको बताइएको छ। स्थानीय प्रशासनले तेल कसरी चुहियो र चालकले लापरबाही गरेका हुन् कि होइनन् भनेर सत्यतथ्य पत्ता लगाउन भन्दै छानबिन थालेको छ।
'बसमा आगो लाग्दा यात्रुहरू निद्रामा थिए'
अधिकांश यात्रुहरू हैदराबादबाट बसमा चढेका थिए। बसमा आगो लाग्दा यात्रुहरू निद्रामा भएको विवरणहरूमा उल्लेख छ।
मृतकहरूको कुल सङ्ख्या अझै पुष्टि हुन बाँकी भएको बताइएको छ।
"अहिलेसम्म १९ वटा शव फेला परेका छन्," वरिष्ठ प्रहरी अधिकारी कोया प्रवीणले समाचारसंस्था पीटीआईलाई भने। दुर्घटनामा परेका मोटरसाइकल चालकको पनि मृत्यु भएको छ।
प्रवीणका अनुसार आगो निभाउन दमकल घटनास्थलमा पुग्दा बस पूरै जलिसकेको थियो। "मोटरसाइकलको इन्धनको ट्याङ्कीबाट आगो फैलिएको हो। त्यसबाट आगो बसमा चाँडै फैलियो," उनले भने।
भारतमा सडक दुर्घटनाको सङ्ख्या धेरै
मृतकहरूको सनाखत गर्न विधिविज्ञानविज्ञहरू परिचालित भएको समाचार आएको छ। केही शव चिन्न नसकिने अवस्थामा भएकाले डीएनए परीक्षण आवश्यक पर्न सक्ने ठानिएको छ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले उक्त घटनालाई "दुःखद" भन्दै शोक व्यक्त गरेकी छन्।
भारतमा यात्राका लागि धेरै प्रयोग हुने सवारीसाधन बस हो। तर सञ्चालकहरूले सुरक्षासम्बन्धी नियम र बसले यात्रु बोक्न सक्ने क्षमताबारे बेवास्ता गरेको पाइन्छ।
भारतमा गत वर्ष एक लाख ८० हजार मानिसको मृत्यु सडक दुर्घटनामा भएको थियो। भारत सडक दुर्घटनाका कारण सर्वाधिक मानिसको मृत्यु हुने देश हो।
चालकहरूले लापरबाहीपूर्वक र खतरनाक तरिकाले सवारीसाधन चलाउने भएकाले भारतमा धेरै घातक दुर्घटना हुने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








