तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुर्घटनाग्रस्त विमान उडानका लागि कति सुरक्षित थियो, सरकार के भन्छ
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधवार दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको विमानको पूर्ण प्राविधिक परीक्षणका लागि ५० घण्टाको उडान अवधि अझै बाँकी रहेको बीबीसीलाई बताएका छन्।
मन्त्रिपरिषद्को आकस्मिक बैठकमा उक्त दुर्घटना र त्यसले हवाई सुरक्षाकाबारेमा उठाएका प्रश्नहरूबारे छलफल भएपछि मन्त्री पाण्डेको यस्तो भनाइ आएको हो।
अठार जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाको विस्तृत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ।
मन्त्री पाण्डेले उक्त आयोगले हवाई सुरक्षाबारे विस्तृतमा सुझाव दिने भन्दै सरकारलाई पछिल्लो दुर्घटनाले हवाइ सुरक्षालाई लिएर थप कदम चाल्न सरकारमाथि दबाब परेको बताएका छन्।
के उक्त विमान उडानका लागि सुरक्षित थियो?
सौर्य एअरलाइन्सको जहाज काठमाण्डूबाट स्थानीय समयानुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको थियो।
अधिकारीहरूले भुइँ छाड्नेबित्तिकै अनियन्त्रित भएको उक्त विमान केही सेकेन्डमै बजारिएको बताएका छन्।
त्यसपछि विभिन्न टुक्रा भएको सो विमानमा आगो लागेको थियो। पूर्ण परीक्षण अर्थात् 'सी चेक'का लागि पोखरा जान लागेको उक्त विमानमा चालक दलका सदस्यसहित विमानको प्राविधिक परीक्षण गर्ने कर्मचारीहरू र कतिपयका परिवारका सदस्यहरू रहेका थिए।
विमानका क्याप्टेन बाँचे पनि अरू १८ जनाको निधन भएको छ।
मन्त्री पाण्डेले दुर्घटनाको कारण भन्न सकिने अवस्था नरहेको बताउँदै समग्र परीक्षणका लागि उक्त विमान पोखरा जान लागेको बताए।
उनले भने, “त्यहाँका प्राविधिकहरूले हामीलाई गरेको ब्रिफिङअनुसार उक्त जहाजसँग ५० घण्टा उडानको अवधि अझै बाँकी थियो। उड्ने अवधि बाँकी नै भए पनि बेलैमा यसलाई 'सी चेक'मा लैजानुपर्छ भनेर त्यो पूरै टोली जान खोजेको थियो। आफू पनि आश्वस्त भएरै प्राविधिकहरू त्यो विमानमा चढ्नुभएको हुनुपर्छ।”
उनले प्राविधिकहरूले अरू ५० घण्टा त्यो विमानका लागि उडान भर्न मिल्ने नै समय हो भनेर आफूहरूलाई बताएको पनि जनाए।
त्यसरी प्राविधिक जाँचका लागि उड्न लागेको उक्त विमानमा कसरी कतिपय असम्बन्धित प्राविधिक व्यक्तिहरू पनि परे भन्ने प्रश्न उठिरहेको छ।
त्यसबारे जबाफ दिँदै मन्त्री पाण्डे भन्छन्, “यो सबै कुरा अध्ययन र छानबिनकै क्रममा आउला। मैले सुनेअनुसार एक जना प्राविधिकको श्रीमती र एक जना छोरा पनि हुनुहुन्थ्यो। प्रोटोकल मिल्थ्यो कि मिल्दैन थियो भन्ने अध्ययनकै क्रममा आउँछ होला।”
प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको उपस्थितिमा अधिकारीहरूले उक्त घटनाबारे बुधवारै ब्रिफिङ गरेका थिए।
मन्त्री पाण्डेले भने, “कारण केही भन्न सकिने अवस्था छैन। एक्कासि दायाँतिर मोडियो। एअरपोर्टको डिलमा रहेको कन्टेनरमा ठोक्किएको थाहा हुन्छ। त्योसँगै तल खोल्सोमा खस्यो। त्यसको ककपिट कन्टेनरमा नै अड्किएको देखिन्छ, जहाँ क्याप्टेन सकुशल रहनुभयो। त्योभन्दा प्लेनको अरू भाग नजिकैको अर्को डाँडामा गएर ठोक्किएको देखिन्छ र त्यसपछि त्यो क्षतविक्षत भएको छ र अनि सम्पूर्ण ककपिट खसेको ठाउँदेखि बाँकी ठाउँसम्म आगजनी भएको देखिन्छ।”
अब सरकार के गर्छ?
नेपालमा हवाई दुर्घटनाहरू बारम्बार भइरहने भएकाले यसले देशको उड्डयन सुरक्षामा गम्भीर चुनौती थपेको विज्ञहरूले बताउने गरेका छन्।
युरोपियन यूनियनको उड्डयनसम्बन्धी एउटा निकायले त नेपाललाई कालोसूचीमा राखेको छ, जसले गर्दा कुनै पनि नेपाली वायुसेवाले युरोपमा उडान गर्न बन्देज छ।
सन् २०२३ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ७२ जना यात्रुको ज्यान जाने गरी यती एअरलाइन्सको विमान दुर्घटना भएको थियो।
काठमाण्डूमै बुधवार बिहान भएको दुर्घटनाले हवाई सुरक्षाको पेचिलो सवाल पुन अधिकारीहरूसामु ल्याइदिएको छ।
मन्त्री पाण्डेले उक्त दुर्घटनाको जाँच गर्न गठित आयोगलाई विस्तृत सुझावसहितको प्रतिवेदन पेस गर्न भनेको भन्दै त्यसलाई कार्यान्वयन गर्ने बताए।
कैयौँ विज्ञहरूले प्रत्येक दुर्घटनापछि बन्ने यस्ता आयोगका प्रतिवेदन पछि त्यसै थन्काइने गरेका भन्दै सरकारको आलोचना गर्छन्।
वर्षौँदेखि नेपाल नागरिक उड्डयन प्राधिकर सम्बन्धी विधेयक संसद्बाट अघि बढ्न नसक्नुलाई त्यसको उदाहरणको रूपमा प्रस्तुत गर्ने गरिएको छ।
मन्त्री पाण्डेले थपे, “आयोगले कस्तो समाधान गर्नुपर्छ भन्ने सुझाव ल्याउँछ। त्यसलाई टेकेर हामी व्यवस्थित किसिमले कानुन बनाउने र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने दिशा पक्रन्छौँ।”
उनले थपे, “गरेर देखाउँछौँ भन्नेबाहेक अरू विश्वास दिलाउने आधार पनि मसँग छैन। यस्ता नराम्रा घटनाले पनि हामीलाई ठिक ढङ्गले चल्नका लागि र प्रतिबद्धताका साथ अघि बढ्नका लागि दबाव सृजना गर्छ। सरकारमाथि त्यो दबाव परेको र सरकार आफैँ पनि सजग रहेको ठानेको छु।”
दुर्घटनाबारे मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन र यसबारे विस्तृत जाँच गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा छानबिन आयोग गठन गरेको छ।
उक्त आयोगलाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिने सुझाव ४५ दिन भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
उक्त आयोगमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपुराज ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डङ्गोल सदस्य छन्।
मन्त्रिपरिषद्को बैठकले आगामी दिनमा हावाई दुर्घटना हुन नदिन सबै वायु सेवा सञ्चालक कम्पनीले हवाईजहाजको निरन्तर परीक्षण गर्ने र नागरिक उड्डयन प्राधिकरणले त्यसको नियमित अनुगमन गराउने पनि निर्णय लिएको छ।
सरकारले उक्त दुर्घटनाबाट आफू स्तब्ध रहेको भन्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै बिहीवार देशभर आधा झण्डा झुकाउने निर्णय लिएको छ।
दुर्घटनामा घाइते भएका विमान चालक मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना पनि सरकारले गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।