काबुल विमानस्थल बम हमलाका योजनाकार आईएस नेता तालिबानबाट मारिए

तस्बिर स्रोत, EPA
तालिबानबाट इस्लामिक स्टेटका एक जना योजनाकार मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
तालिबानले सत्ता लिएपछि सन् २०२१ मा अफगानिस्तानको छोडेर जान काबुल विमानस्थलमा कैयौँ मानिसहरू भेला भएको ठाउँमा बम प्रहार भएको थियो।
अमेरिकी अधिकारीहरूले १७० जना सर्वसाधारण र १३ अमेरिकी फौजको ज्यान जाने गरी भएको उक्त बम हमलाका मुख्य योजनाकार दुई साता अघि मारिएको बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस न्यूजलाई बताएका छन्।
उनी मारिएको निश्चित गर्न समय लागेको बताइएको छ र उनको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
अमेरिकी अधिकारीहरूले गुप्तचर सूचना र उक्त क्षेत्रको अनुगमनबाट आईएसका ती नेता मारिएको ठहर गरिएको बताएका छन्। उक्त बम आक्रमणमा उनको संलग्नताबारे थप विवरण पनि अधिकारीहरूले खुलाएका छैनन्।
“सरकारी विज्ञहरू यो कुरामा पक्का छन् कि ती व्यक्ति सबैभन्दा बढी जिम्मेवार मानिस हुन्,” एक जना वरिष्ठ अमेरिकी अधिकारीले सीबीएससँग भने।
पीडित परिवारलाई जानकारी

तस्बिर स्रोत, Italian Ministry of Defence/Reuters
न्यूयोर्क टाइम्समा प्रकाशित एक विवरण अनुसार अमेरिकाले उनको मृत्युबारे अप्रिलको सुरुमै थाहा पाएको थियो। तर उनी तालिबानको निशानामा मारिएको वा आईएस र तालिबानबीच जारी द्वन्द्वमा उनी मारिएको भन्ने प्रस्ट नभएको उक्त पत्रिकाले उल्लेख गरेको छ।
सोमवारबाट अमेरिकाले उक्त बम आक्रमणमा मारिएका सैनिकहरूका परिवारलाई आईएस नेताको मृत्युबारे जानकारी गराउन सुरु गरेको थियो।
उक्त बम आक्रमणमा मारिएका अमेरिकी जल सेनामा कार्यरत टेलर हुभरका पिता डरिनले जलसेनाले आफूलाई उक्त समाचारबारे जानकारी दिएको सीबीएससँग पुष्टि गरे।
“उनीहरूले मलाई विस्तृतमा केही बताएनन् तर धेरै वटा र विश्वसनीय स्रोतबाट ती व्यक्ति मारिएको थाहा पाएको बताए,” हुभरले मङ्गलवार एक अन्तर्वार्तामा भने।
आईएसको अफगानिस्तान शाखाले आक्रमणको चेतावनी दिएपछि पश्चिमी देशका सरकारहरूले आफ्ना नागरिकहरूलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढै रहन चेतावनी दिएलगत्तै विमानस्थलमा विस्फोट भएको थियो।
आत्मघाती हमला
विमानस्थलको गेट बाहिर परिवारका सदस्यलाई पर्खिरहेका मानिसहरूको भीडमा एक जना आत्मघाती हमलाकारी प्रवेश गरेर विस्फोट गराएका थिए।
अफगानिस्तानबाट फिर्ता हुँदै गरेका अमेरिकी सैनिकहरूको उद्धार उडानमा समावेश गराइने आशामा उक्त क्षेत्रमा ठूलो भीड लागेको थियो।
त्यसको एक दिनपछि अमेरिकाले काबुलमा आत्मघाती बम हमलाकारीलाई लक्षित गर्दै गरेको ड्रोन आक्रमणमा सात जना बालबालिका सहित १० जना सर्वसाधारण मारिएका थिए।


अमेरिकाले आईएसको अफगानिस्तान शाखा आईएस-के का नेता अनाउल्लाह गफारीलाई पक्राउ गर्ने वा उक्त बम आक्रमणमा संलग्नलाई पक्राउ गर्नेलाई १० लाख अमेरिकी डलर इनाम दिने घोषणा गरेको थियो।
अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता भएसँगै यहाँ जारी सबैभन्दा लामो युद्ध समाप्ति भएको थियो।
अमेरिकी फौज फिर्ता भएसँगै अफगानिस्तानमा उसले दुई दशकदेखि समर्थन गरेको सरकार ढलेर पुन तालिबान सत्तामा फर्किएको थियो।
बाइडन प्रशासनको आलोचना

तस्बिर स्रोत, Jonathan Gifford/MoD/PA
फौज फिर्तीको निर्णयपछि जो बाइडन नेतृत्वको अमेरिकी प्रशासनको आन्तरिक र बाह्य आलोचना भएको थियो।
अमेरिकाको विपक्षी रिपब्लिकन पार्टीले नेतृत्व गरेका सुनुवाइहरूमा धेरैले अफगानहरूलाई अलपत्र बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए। बम आक्रमणमा घाइते भएका एक जना अमेरिकी जलसेनाले फौज फिर्तीको निर्णयलाई “महा विपत्ति”को संज्ञा दिएका थिए।
रिपब्लिकन सांसद माइकल म्याकले आईएस नेता मारिएको समाचार स्वागतयोग्य भए पनि मारिएका अमेरिकी फौजका परिवारलाई त्यतिले मात्रै न्याय नहुने बताए।
“यी विवरण साँचो भए त्यो राम्रो कुरा हो। तर यसले मात्रै बाइडन प्रशासनको असफलता जसले आक्रमण निम्त्यायो त्यसको दोषलाई कम गर्दैन,” उनले भने।
राष्ट्रपति बाइडनले फौज फिर्ताबारे बृहत् समीक्षा गर्न निर्देशन दिएका थिए। जसको प्रतिवेदन यसै महिनाको सुरुमा प्रकाशित भएको छ।
उक्त समीक्षाले सन् २०२० मा तालिबानसँग युद्ध अन्त्य गर्ने त्यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई दोष लगाएको छ।








