अफगानिस्तान: पछिल्ला घण्टामा के भए? २० वर्षे द्वन्द्वको मुख्य घटनाक्रम कस्ता?

अमेरिकी फौज

तस्बिर स्रोत, XVIII Airborne Corps/Handout via REUTERS

तस्बिरको क्याप्शन, हामिद कारजाई विमानस्थलबाट बाहिरिने अन्तिम अमेरिकी सैनिक मेजर जनरल क्रिश डोनाह्यु रहेका थिए

अफगानिस्तानमा एउटा युगको अन्त्य भएर अर्को नयाँ अनिश्चित अध्याय प्रारम्भ हुन लाग्दैछ।

पछिल्ला घण्टाका प्रमुख घटनाक्रम यस्ता छन्:

  • उद्धार कार्यको सुपरिवेक्षण गरेका जेनरल फ्र्याङ्क मकेन्जीले यसलाई अमेरिकी सेनाको इतिहासकै सबैभन्दा ठूलो गैरफौजी उद्धारकार्य भनेका छन्
  • अन्तिम अमेरिकी विमान उडेसँगै काबुल विमानस्थलमा तालिबानले हर्षोल्लास गर्दै हवाई फायर गरेको थियो। तालिबानहरूले सहरमा पनि खुसीयाली मनाएको विवरण आएका छन्
  • अमेरिकीहरूको बहिर्गमनसँगै अहिले अफगानिस्तानमा तालिबान शासनअन्तर्गत महिला, बालबालिका र मानवअधिकारकर्मीका लागि अनिश्चित समय देखा परेको छ
  • तालिबानको सरकार कस्तो हुन्छ र यसले विचलित भइसकेको अफगान अर्थतन्त्रमा कसरी काम गर्छ भनेर व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन्
  • अमेरिकी उपस्थितिको अन्तिम दिन पनि हिंसात्मक घटनाहरू भएका थिए
  • अमेरिकाले विमानस्थलमा प्रहार गरिएका कैयौँ रकेटहरूलाई आफूले रोकिदिएको जनाएको थियो। इस्लामिक स्टेट खोरोसान समूहले आक्रमणको जिम्मेवारी लिएको थियो
  • अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा एकै परिवारका छ बालबालिकासहित १० जनाको मृत्यु भएको विवरणहरू आएका छन्। अमेरिकाले अनुसन्धान भइरहेको जनाएको छ
  • काबुलमा अमेरिकी उपस्थिति शून्य रहेको छ। अब अमेरिकाले अफगानिस्तान हेर्ने कूटनीतिक कार्यालय दोहामा खोल्ने विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जनाएका छन्
  • अमेरिकाले अफगानिस्तानबाट पूर्ण रूपमा सेना फिर्ता गरेको छ। १० वर्षको लडाइँपछि अफगानिस्तानको सत्ता तालिबानको हातमा पुगेको छ
  • अमेरिकी सेनाले अगस्ट १४ यता एक लाख २३ हजार गैरसैनिक नागरिकको उद्धार गरेको थियो, छ हजार अमेरिकी सैनिकहरू पनि फिर्ता गरिएको छ
  • अमेरिकका साझेदार देशहरूले अन्य हजारौँ मानिसको उद्धार गरेका थिए। तर ती देशका लागि काम गरेका धेरै अफगान नागरिकहरूले देशबाहिर जान पाएनन्

२० वर्षको युद्ध, चार राष्ट्रपति

पछिल्लो दुई दशकमा अफगानिस्तानमा अमेरिकी फौजको उपस्थिति रहँदा चारजना राष्ट्रपतिले सत्ता सम्हालेका थिए।

अमेरिकी फौज फिर्ती

तस्बिर स्रोत, U.S. Central Command/Handout via REUTERS

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्कवादी आक्रमणपछि राष्ट्रपति जर्ज डब्ल्यु बुसले अफगानिस्तानमा फौजहरू पठाएका थिए।

आफ्नो दुई कार्यकालमा उक्त द्वन्द्व झेलेका राष्ट्रपति बराक ओबामाले त्यहाँ थप फौजहरू पठाउन स्वीकृति दिएका थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई घर फर्काउने वाचा गरे र तालिबानहरूसँग सम्झौता गरे।

फौज फिर्तीको निर्णय कार्यान्वयन गर्ने र त्यहाँबाट ठूलो सङ्ख्यामा मानिसहरूको उद्धार गर्ने जिम्मेवारी भने राष्ट्रपति बाइडनको काँधमा आइपर्‍यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

२० वर्षे द्वन्द्वका प्रमुख घटनाक्रम

  • सन् २००१ अक्टोबर ७: अमेरिकी नेतृत्वको गठबन्धनद्वारा तालिबान र अल-कायदाका अफगानिस्तानस्थित अखडाहरूमा बम आक्रमण। काबुल, कान्दहार र जललाबाद निसानामा एक दशक लामो सोभियत शासन र त्यसपछिको गृहयुद्धपश्चात् सत्तामा पुगेका तालिबानहरूले अल-कायदाका नेता ओसामा बिन लादेन अमेरिकालाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि हमला
  • सन् २००१ नोभेम्बर १३: गठबन्धनको साथ पाएका तालिबानविरोधी विद्रोहीहरूको समूह द नोर्दन अलायन्सद्वारा काबुल कब्जा
  • सन् २००९ फेब्रुरी ७: अमेरिकी राष्ट्रपति बराक ओबामाद्वारा अफगानिस्तानमा खटाइएका फौजको सङ्ख्यामा उल्लेख्य वृद्धि। एक समय फौजको सङ्ख्या १ लाख ४० हजार पुगेको थियो
  • सन् २०१४ डिसेम्बर: नेटोद्वारा अफगानिस्तानको आफ्नो फौजी कारबाही अन्त्य भएको घोषणा। त्यसपछि अमेरिकाद्वारा पनि हजारौँ सैनिक स्वदेश फिर्ता। त्यहाँ बसेका अधिकांश सैनिकहरू अफगान सुरक्षाकर्मीको तालिम र सहयोगमा केन्द्रित
  • सन् २०२० फेब्रुअरी २९: अमेरिका र तलिबानबीच अफगानिस्तानमा 'शान्ति ल्याउने सम्झौता' मा दोहामा हस्ताक्षर। लडाकुहरूले उक्त सम्झौता पालना गरे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र सबै सैनिक फिर्ता गरिसक्ने वचनबद्धता
  • सन् २०२१ एप्रिल १३: अमेरिकी राष्ट्रपति जो बाइडनद्वारा सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने घोषणा
  • सन् २०२१ अगस्ट १६: एक महिनाभन्दा केही बढी अवधिमा तलिबानद्वारा काबुलसहित अफगानिस्तानका प्रमुख सहर र नगरहरू कब्जा। तालिबानका सामु अफगान सुरक्षा निकाय विफल
  • सन् २०२१ अगस्ट ३१: अमेरिकाद्वारा अफगानिस्तानबाट फौज फिर्ती पूरा भएको अमेरिकी घोषणा