सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन कस्तो तयारी भइरहेको छ

तस्बिर स्रोत, Getty Images
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
क्रिकेट खेलाडी सन्दीप लामिछानेले बलात्कारको अभियोगमा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै कतिपयको चासो थियो- के अब सन्दीपले दुई हप्तापछि सुरु हुन लागेको आइसीसी टी २० विश्वकप सहभागिता जनाउन पाउँछन्?
त्यसका लागि थुप्रै प्रक्रियाहरू पूरा गर्नुपर्ने तर समय निकै छोटो भएकोले कतिपयले यसमा शङ्का जनाएका थिए।
तर नेपाल क्रिकेट सङ्घ (क्यान)ले अदालतबाट सफाइ पाएको केही घण्टापछि नै लामिछानेको निलम्बन फुकुवा गर्यो।
अहिले उनलाई विश्वकपमा समावेश गर्नका लागि आवश्यक पहल थालिसकेको क्यान पदाधिकारीहरूले बताएका छन्।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बीबीसीसँग भने , “लामिछानेलाई नेपाली टोलीको हिस्सा बनाउन आवश्यक विषयहरूमा काम थालिसकिएको छ। प्रक्रिया छिटोछिटो हुनेछ।”

के गर्दै छ क्यान ?
क्यानले सबैभन्दा पहिले अदालतको निर्णयको जानकारी गराउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सन्दीपलाई विश्वकपमा सहभागी गराउने विषयमा पत्राचार गरिसकेको छ।
आइसीसीबाट पत्राचारको जबाफ आइसकेको छैन, तर ‘क्लिन चिट’ पाइसकेको अवस्थामा उनलाई रोक्न पर्ने कारण नभएको मौखिक जानकारी आइसीसी पदाधिकारीहरूले दिइसकेको क्यान अध्यक्ष चन्दले बताए।
क्यानले यसअघि नै विश्वकपका लागि अन्तिम १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ। तर आईसीसीको नियमअनुसार आगामी जेठ १२ गतेसम्म खेलाडीहरू परिवर्तन गर्न पाउने व्यवस्था भएकोले सन्दीपको नाम थप्ने विषयमा कुनै समस्या हुने देखिँदैन।
सन्दीपलाई विश्वकप टोलीमा समावेश गराउने/ नगराउने निर्णय भने राष्ट्रिय क्रिकेटको छनोट समिति, क्यान प्रतिनिधि, प्रशिक्षक मोन्टी देशाइ र कप्तान रोहित पौडेलबीचको छलफलबाट तय गरिने भएको छ।
छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले भने, “यस विषयमा एक चरण प्रशिक्षक मोन्टीसँग कुरा भइसकेको छ। उहाँ सकारात्मक हुनुहुन्छ। अन्य प्रक्रियाहरू पनि चलिरहेको छ। बाँकी कुरा छलफलपछि तय गरिनेछ।”
फिटनेस परीक्षा

सन्दीपको शारीरिक तन्दुरुस्ती उनलाई टोलीमा राख्ने/नराख्ने अर्को प्रमुख विषय हुनेछ।
काठमान्डू जिल्ला अदालतले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेपछि निलम्बनमा परेका उनले त्यसयता कुनै प्रतियोगितामा खेल्न पाएनन्।
अर्कोतर्फ राष्ट्रिय टोलीका अन्य खेलाडीहरू भने लगभग एक वर्षदेखि नियमित प्रतियोगिता खेल्दै शारीरिक तन्दुरुस्ती कायम राखेका छन्।
त्यसैले क्यानले उनको ‘फिटनेस टेस्ट’ लिँदैछ।
क्यानका ‘इन्ट्रेस्ट एन्ड कन्डिसनिङ’ प्रशिक्षक भारतीय अब्दुल सट्टा अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै अमेरिकामा छन्। उनको निर्देशनमा सन्दीपको शारीरिक परीक्षा लिइने छनोट समितिका संयोजक दीपेन्द्रले बताए।
उनले भने, “अब्दुलजीको निर्देशनअनुसार हामी 'फिटनेस टेस्ट' लिन्छौँ र त्यसको रिपोर्ट पठाउँछौँ। त्यसपछि मात्र सन्दीपको फिटनेसबारे स्पष्ट हुनेछ।”
यदि फिटनेस परीक्षामा असफल भएमा सन्दीपको राष्ट्रिय टोलीमा समावेश हुने ढोका बन्द हुने बताइएको छ।
सन्दीपले अदालतको निर्णय आउनु अगाडि नै कीर्तिपुरमा नियमित प्रशिक्षण गरिरहेका थिए।
को बाहिरिएला ?
सन्दीप लामिछाने टोलीमा परेसँगै टोलीका एक जना खेलाडीले विश्वकपमा खेल्ने मौका गुमाउने पक्का जस्तै छ।
लेगस्पिनर सन्दीप भित्रिएपछि एक जना स्पिनर बाहिरिन सक्ने सम्भावना बढी छ। तर टोलीमा तेज बलरको सङ्ख्या बढी भएकोले तेज बलर पनि बाहिरिन सक्ने कतिपयको अनुमान छ।
छनोट समितिका संयोजक चौधरी भन्छन्, “अहिले हामी सन्दीपलाई पठाउने भन्ने विषयमा केन्द्रित छौँ। त्यसबारे पछि निर्णय लिइनेछ। तर हामीले बाहिरिने खेलाडी पनि विश्वकपभरि टोलीसँगै रहने र त्यसको खर्च क्यानलाई बेहोर्न अनुरोध गरिसकेका छौँ। ”

लामिछानेमाथि बलात्कारको आरोप र सफाइ
लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेका थियो। उक्त आरोपमा जिल्ला अदालत काठमाण्डूले लामिछानेलाई बलात्कार अभियोगमा दोषी ठहर गरेको थियो।
तर लामिछानेले जबरजस्ती करणी गरेको भए पनि पीडित किशोरीको उमेर “१८ वर्ष पूरा भएको” ठहर गरेको थियो।
गत पौष महिनामा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसहित आठ वर्षको जेल सजाय तोकेको थियो।
काठमाण्डू जिल्ला अदालतले लामिछानेले तीन लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय पनि गरेको थियो।
त्यसबाहेक क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ गरी पीडित किशोरीले कुल पाँच लाख रुपैयाँ पाउने अदालतको निर्णय थियो।
जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।
उक्त मुद्दामा बुधवार दिउँसो उच्च अदालत पाटनले लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाण्डू जिल्ला अदालतले दिएको फैसलालाई उल्ट्याएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बीबीसीलाई बताए।
उमेर नपुगेको सरकारी पक्षको दाबी प्रमाणित नहुने र संलग्न सबुदप्रमाणले जबरजस्ती करणी गरेको पुष्टि नगर्ने देखिएको भन्दै अदालतले लामिछानेलाई सफाइ दिएको भन्ने विवरणहरू आएका छन्।
यद्यपि त्यसबारे अदालतबाट पूर्णपाठ आएपछि मात्र विस्तृतमा थाहा हुने अधिकारीहरूले बताएका छन्।
उच्च अदालतको उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ।

तस्बिर स्रोत, Getty Images
यसअघि के भएको थियो?
२ जेठ, २०८१: उच्च अदालत पाटनद्वारा जिल्ला अदालत काठमाण्डूको फैसला उल्टिने निर्णय
२५ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतद्वारा आठ वर्ष जेल सजाय तथा जरिवाना
१३ पौष, २०८०: काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबरजस्ती करणी गरेको ठहर
११ असार, २०८०: गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश
७ जेठ, २०८०: वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश
९ चैत, २०८०: लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश
१६ फागुन, २०७९: सर्वोच्च अदालतद्वारा देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति
१८ माघ, २०७९: अनुशासन उल्लङ्घनको कारबाहीमा गरिएको निलम्बन फुकुवा
२८ पौष, २०७९: पाटन उच्च अदालतद्वारा २० लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा
१४ कात्तिक, २०७९: काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता
२० असोज, २०७९: विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ
२३ भदौ, २०७९: नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन
२१ भदौ, २०७९: पीडित भनिएकी एक किशोरीद्वारा काठमाण्डूको गौशाला प्रहरी कार्यालयमा उजुरी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








