कोरोनाको खोप लिइसकेकाहरू के यसको नयाँ भेरिअन्टबाट सुरक्षित हुन्छन्?

    • Author, भाग्यश्री राउत
    • Role, बीबीसी मराठी

भारतमा देशभरि फेरि एकपटक कोरोनाभाइरस सङ्क्रमणका घटना तीव्र रूपमा बढेका विवरण आएका छन्। यो साताको सुरुसम्म झन्डै ४ हजार सक्रिय सङ्क्रमण देखा परेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

यही साता इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का निर्देशक डा राजीव बहलले भारतमा कोरोनाभाइरसका चार भेरिअन्ट भेटिएको बताएका छन्।

योभन्दा पहिले भारतमा कोरोनाभाइरस सङ्क्रमणका तीन लहर आएका थिए। त्यतिखेर रोग संक्रमणको गम्भीरता यति धेरै थियो कि ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका थिए।

त्यसयता सरकारले वृहत् स्तरमा कोरोनाको खोप अभियान चलायो र जनसङ्ख्याको ठूलो हिस्साले खोप लगाए।

तर अब प्रश्न के उठेको छ भने सन् २०२२ मा लगाएका कोभिड खोपले नयाँ भेरिअन्टका विरुद्ध समेत प्रभावकारिता देखाउन सक्छन्? कतै नयाँ भेरिअन्टले सङ्क्रमणको अर्को लहर निम्त्याउला?

आउनुहोस् यी प्रश्नका जबाफबारे जानौँ। तर त्योभन्दा पहिले यो जान्न जरुरी छ कि कोरोनाको नयाँ भेरिअन्ट कस्तो हो? यसका लक्षण के हुन्छन् भन्ने थाहा पाउन पनि जरुरी छ।

के हो नयाँ जेएन १ भेरिअन्ट?

हाल सिङ्गापुर र हङ्‌कङ्‌मा पनि कोरोना सङ्क्रमणको मामिला बढिरहेको छ।

इकोनोमिक टाइम्सले उल्लेख गरेअनुसार सिङ्गापुरमा जिनोमको इन्डेक्सिङ् गर्दा अधिकांश मामिलामा जेएन १ भेरिअन्ट पाइएको छ।

तर यो जेएन १ भेरिअन्ट एकदमै नौलो भने होइन। यो ओमिक्रोनकै एक सब-भेरिअन्ट हो जुन केही वर्ष अघि पत्ता लागेको थियो।

दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा सामुदायिक चिकित्सा विभागका प्रोफेसर डा संजय राय कोभ्याक्सीन (कोभिड खोप)को तीनै चरणको परीक्षणमा एक प्रमुख शोधकर्ता थिए।

उनलाई बीबीसी संवाददाता चंदन जजवाडेले कोभिड १९ को जेएन १ भेरिअन्टबारे सोधेका थिए।

"जेएन १ कोरोनाको ओमिक्रोन भाइरसको सब-भेरिअन्ट हो। यो पत्ता लागेको एक वर्षभन्दा धेरै भइसक्यो। यो नयाँ होइन। यो गम्भीर हुन सक्छ कि सक्दैन भन्ने बारे हामीलाई जानकारी छ," डा रायले भने।

"जेएन १ भेरिअन्टसँग तर्सिन जरुरी छैन। अहिलेसम्म थाहा भएअनुसार यो सामान्य रुघाखोकी सरह वा त्योभन्दा पनि सहज हुन सक्छ।"

तर कतै यो भेरिअन्ट खतरनाक हुन सक्छ? भनेर हामीद्ये अन्य विशेषज्ञहरूलाई पनि सोध्यौँ।

नागपुर सरकारी मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश गावंडे कोरोना महामारीको समयमा महाराष्ट्र राज्य सरकारले गठन गरेको कार्यदलका सदस्य थिए।

उनी भन्छन्, "यो ओमिक्रोनभन्दा पनि कम खतरनाक छ। तर एकदम तेज गतिले फैलन्छ। एकजना सङ्क्रमित भए कैयन् लाई यो सर्न सक्छ। धेरै गम्भीर हुँदैन। त्यसैले मानिसहरू डराउनु पर्दैन।"

तर साना बच्चा, वृद्धवृद्धा तथा अन्य स्वास्थ्य समस्या विद्यमान रहेका मानिसहरूले भने ध्यान राख्नु पर्ने उनले बताए।

जो सङ्क्रमित छन् तिनले अरूबाट दुरी कायम गर्न र सङ्क्रमण फैलन नदिन सजग हुनु पर्ने उनले बताए।

के पुरानो खोपले काम गर्ला?

केही वर्ष पहिले कोरोनाभाइरसले पूरै दुनियाँलाई मुस्किलमा पारिदिएको थियो। लाखौँ मानिसले ज्यान गुमाए। भारतमा त्यतिखेर ठूलो स्तरमा खोप अभियान चलाइयो।

भारतमा धेरै मानिसहरूले कोभिशिल्ड र कोभ्याक्सीन लगाए। केहीले रुसी स्पुतनीक खोप पनि लगाए।

तर के दुई-तीन वर्ष पहिले लगाइएका ती खोपले नयाँ भेरिअन्टविरुद्ध पनि काम गर्ला भन्ने प्रश्न उठेको छ।

इण्डियन मेडिकल एसोसिएसन महाराष्ट्रका पूर्व अध्यक्ष डा अविनाश भोंडवेले विगतमा दुई डोज तथा बुस्टर डोज खोप पनि लगाएकाहरूलाई केही फाइदा जरुर हुने छ।

उनले भने, "ती खोप पहिलो कोभिड भाइरसका विरुद्ध बनाइएका थिए। मूल भाइरसका विरुद्ध ती पूर्ण असरदार थिएनन्।"

डाक्टरहरूका अनुसार खोप लगाएपछि कोरोनाको सङ्क्रमण नै नहुने भन्ने हुँदैन। तर त्यसका लक्षण हलुका हुन्छन्।

तर जसले खोपका दुई डोज तथा बुस्टर डोज लगाएका छन् तिनमा लामो समयसम्म रोग प्रतिरोधी क्षमता विद्यमान रहन्छ। एक वा दुई डोजमात्र लिएकाहरूमा इम्युनिटी रोग प्रतिरोधी क्षमता कम हुन सक्छ।

डा अविनाश भोंडवे भन्छन्, "कोरोना खोपले निश्चित रूपमा फाइदा दिन्छ तर केवल तिनलाई जसले दुई डोज तथा बुस्टर डोज लिएका छन्।"

अर्का डा अविनाश गावंडेको विचारमा चाहिँ पुरानो खोपले नयाँ भेरिअन्टविरुद्ध काम गर्दैन। उनका अनुसार जसरी इन्फ्लुएन्जाको एक वर्ष लगाएको खोपले अर्को वर्ष काम गर्दैन उसै गरी कोरोनालाई पूर्ण काबुमा लिने हो भने नयाँ खोपको विकास गर्नु पर्छ।

पुरानो खोपले प्रतिरोधी क्षमता विकास भएकाहरूलाई भने नयाँ भेरिअन्टसँग जुझ्न मद्दत मिल्ने पनि उनले बताए।

डा भोंडवे भन्छन् अनुसन्धान कार्य निकै महँगो हुने हुनाले नयाँ खोप बनाउन सम्भव देखिँदैन।

कोरोनाका नयाँ भेरिअन्ट निरन्तर आइरहने हुनाले हरेक पटक नयाँ खोप बनाउन सम्भव नहुने पनि उनले बताए।

के सङ्क्रमणको नयाँ लहर आउला?

विशेषज्ञहरूका अनुसार कोरोनाको नयाँ भेरिअन्ट एकदम तीव्र गतिमा फैलिरहेको छ। कतिपयका मनमा के फेरि सङ्क्रमणको नयाँ लहर आउला भन्ने पनि परेको छ।

डा अविनाश गावंडे भन्छन् यसपटक नयाँ लहर नै आउने सम्भावना कम छ। यसका लागि उनले तीन कारण प्रस्तुत गरे।

पहिलो, भारतमा धेरै मानिसले खोप लगाइसकेका छन्। त्यसैले कतिपय मानिसमा यो भेरिअन्टसँग लड्ने केही न केही प्रतिरोधी क्षमता बाँकी छ।

दोस्रो, यो भेरिअन्ट तेज गतिमा फैलिरहेको छ तर यसको गम्भीरता कम छ। धेरैलाई लागे पनि यो चाँडै निको हुन्छ र पहिलेजस्तो अवस्था आइपर्दैन।

तेस्रो, यदि कोही मानिस यो भेरिअन्टबाट सङ्क्रमित भइहाले पनि गम्भीरता कम भएकोले पत्तो नै हुँदैन। अनि सङ्क्रमित भएका मानिसहरूमा यो भेरिअन्टविरुद्ध प्रतिरोधी क्षमता पनि विकास हुन्छ।

कम गम्भीर भएकाले यसबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुनु परेको सङ्ख्या कम देखिएको डा गावंडेले बताए।

उनी भन्छन्, "यसका लक्षण हलुका हुन्छन्। मृत्यु दर पनि कम छ। त्यसैले यसबाट सङ्क्रमणको नयाँ लहर आउला भन्न सकिँदैन। तर पहिले देखि नै अन्य रोगसँग जुझिरहेकाहरूले चाहिँ सजग हुन जरुरी छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।