आस्ट्राजेनेका खोपको असर दाबी गरेका पीडितहरू क्षतिपूर्तिको सङ्घर्षमा एक कदम अघि

कोभिशील्ड खोप

तस्बिर स्रोत, EPA

आफूलाई आस्ट्राजेनेका कोभिड खोप लगाएपछि मस्तिष्कमा क्षति पुगेको बताएका एक जना व्यक्तिका वकिलले उक्त खोप उत्पादक कम्पनीले कानुनी अडानमा उल्लेख्य परिवर्तन गरेको बताएका छन्।

आस्ट्राजेनेकाले पहिलो पटक अदालती कागजपत्रहरूमा आफ्नो कोभिड खोपको असर निकै दुर्लभ हुनसक्ने स्वीकार गरेको छ। यो औषधी उत्पादकले आफ्नो कोभिड खोपबारे कैयौँ मुद्दा खेपिरहेको छ।

आस्ट्राजेनेकामाथि मुद्दा दायर गरेका कतिपय व्यक्तिहरूले आफ्ना आफन्त गुमाउनुपरेको बताएका छन् भने अरू केहीले खोपले गम्भीर चोट पुर्‍याएको दाबी गरेका छन्।

अध्ययनहरूले भने आस्ट्राजेनेका सहितका कोभिड खोपहरूले दशौँ लाख मानिसहरूको ज्यान बचाएको उल्लेख गरेका छन्।

यसबारे सबैभन्दा पहिलो दाबी जेमी स्कटले गरेका थिए। उनलाई सन् २०२१ को एप्रिलमा कोभिड खोप लगाएपछि रगत जम्ने समस्या भएको थियो जसले उनको मस्तिष्कमा क्षति भयो र काम गर्न नसक्ने भए।

यूकेको उपभोक्ता संरक्षण कानुन अन्तर्गत भएको कारबाहीमा उक्त खोप “त्रुटिपूर्ण” रहेको र मानिसहरूले ठानेभन्दा कम सुरक्षित रहेको आरोप लगाइएको छ।

कोभिड खोप

तस्बिर स्रोत, PA Media

आस्ट्राजेनेका यूकेमा लगाइएको पहिलो कोभिड खोप हो।

आस्ट्राजेनेकाले यस्तो दाबीलाई चुनौती दिइरहेको छ। यद्यपि उसले इङ्लिस हाई कोर्टमा फेब्रुअरीमा पेस गरेको दस्ताबेजमा आफ्नो कोभिड खोपले “निकै दुर्लभ अवस्थामा टीटीएस निम्त्याउन सक्ने” स्वीकार गरेको छ।

यो मुद्दामा संलग्न कानुन व्यवसायीहरूले टीटीएस वा भीआईटीटीलाई खोप लगाएपछि उत्पन्न हुने एक प्रकारको अवस्था भनेका छन् जसलाई थ्रम्बोसिस विथ थ्रम्बोसाइटोपेनिया सिन्ड्रोम भनिन्छ।

यो निकै दुर्लभ सिन्ड्रोम हो र थ्रम्बोसिस अर्थात् रगत जम्ने वा थ्रम्बोसाइटोपेनिया भनिने प्लेटलेट्सको सङ्ख्या घट्ने अवस्थाका कारण उत्पन्न हुन्छ।

यो खोपका केही सुरुआती मात्राहरू गरिब देशहरूलाई लागत खर्चमै बेचिएको थियो।

सन् २०२३ को मे महिनामा आस्ट्राजेनेकालाई पठाइएको पत्रको जबाफमा उसले “खोपले ठूलो मात्रामा टीटीएस हुने कुरा आफूहरूले स्वीकार नगर्ने” बताएको स्कटका कानुन व्यवसायीले बीबीसीसँग पुष्टि गरे।

तर फेब्रुअरीमा उच्च अदालतमा पेस गरेको कानुनी दस्ताबेजमा आस्ट्राजेनेकाले भनेको छ, “आस्ट्राजेनेका खोपले निकै दुर्लभ अवस्थामा टीटीएस निम्त्याउन सक्ने कुरा स्वीकार गरिएको छ। यसको कारण अज्ञात छ।”

यो खोप उत्पादक कम्पनीले अन्य कुनै कारणले नभई खोपकै कारण टीटीएस निम्तिएको पुष्टि गर्न हरेक उजुरीकर्तालाई चुनौती दिएको छ।

उसले थप भनेको छ, “अर्को कुरा आस्ट्राजेनेका वा अरू कुनै खोप नलगाए पनि टीटीएस हुनसक्छ। हरेक व्यक्तिमा यसको कारण विज्ञ प्रमाणको विषय हो।”

उल्लेख्य परिवर्तन

कोभिड खोप

तस्बिर स्रोत, Getty Images

स्कट र अन्य ५१ जना आवेदकहरूका वकिलले यो मुद्दामा आस्ट्राजेनेकाको अडानमा यसले ठूलो परिवर्तन ल्याएको बताएका छन्।

लेग डे नामको वकालत कार्यालयकी सारा मुरले बीबीसीसँग भनिन्, “धेरै मानिसहरूलाई हुँदैन भन्ने स्वीकारोक्ति महत्त्वपूर्ण छ। आस्ट्राजेनेका खोपले टीटीएस र भीआईटीटी निम्त्याउँछ भन्ने यो नै तथ्य हो।”

औपचारिक निवेदनमा उनीहरूले आफ्नो अडान परिवर्तन गर्नु महत्त्वपूर्ण भएको उनी बताउँछिन्।

यो स्वीकारोक्तिले निवेदकहरूलाई आर्थिक सुरक्षा र क्षतिपूर्तिको बाटो खुल्ने ठानिएको छ।

आस्ट्राजेनेकाले यसबारे बीबीसीसँग कुरा गरे पनि सारा मुरले गरेको दाबीबारे ठोस उत्तर दिएन। एउटा विज्ञप्तिमा उसले बीबीसीसँग भनेको छ, “जसले आफ्ना प्रियजन गुमाए वा स्वास्थ्य समस्याबारे जानकारी दिए उनीहरूप्रति हाम्रो सहानुभूति छ। बिरामीहरूको सुरक्षा हाम्रो सबैभन्दा उच्च प्राथमिकता हो र नियामक निकायहरूले पनि खोपसहित सबै औषधीको सुरक्षित प्रयोग सुनिश्चित गर्न प्रस्ट मापदण्ड बनाएका छन्।”

“आस्ट्राजेनेका-अक्सफर्ड खोपले क्लिनिकल ट्रायलको क्रममा र वास्तविक प्रयोगको क्रममा पनि स्वीकार्य सुरक्षा प्रोफाइल देखाएको छ र विश्वभरिका नियामकहरूले खोपको निकै दुर्लभ असर भन्दा यसको फाइदा धेरै छ भन्दै आएका छन्।”

चिकित्सकीय परामर्शमा परिवर्तन

कोभिड परीक्षण

तस्बिर स्रोत, Getty Images

सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले आस्ट्राजेनेका खोप “१८ वर्ष र त्यो भन्दा माथिको उमेर समूहका मानिसहरूका लागि सुरक्षित र प्रभावकारी” रहेको बतायो।

सन् २०२१ मा खोप तथा रोग प्रतिरोधबारे संयुक्त समितिले ३० वर्ष भन्दा मुनिका व्यक्तिहरूलाई आस्ट्राजेनेकाको वैकल्पिक खोप लगाउन भन्यो। “निकै कम सङ्ख्यामा मानिसहरूलाई रगत जम्ने समस्या” भएको जानकारी आएपछि यस्तो सल्लाह दिइएको थियो।

आस्ट्राजेनेकाले उक्त सुझाव कार्यान्वयन गर्दै आफ्नो खोपका बाकस र भायलमा लेभलिङ परिवर्तन गरिएको जनाएको छ।

तर सन् २०२१ को मे महिनामा उक्त मार्गदर्शनमा पुन: परिवर्तन गर्दै ४० वर्ष मुनिका व्यक्तिहरू उल्लेख गरियो।

आस्ट्राजेनेकाले बीबीसीलाई, “आजको दिनसम्म ३० वटा सर्वसाधारणका उजुरीहरू फिर्ता लिइएका, अघि नबढाइएका वा आस्ट्राजेनेकाको पक्षमा फैसला भएर टुङ्गिएका” बताएको छ।

उचित क्षतिपूर्ति

कोभिड खोप

तस्बिर स्रोत, Reuters

जेमीकी श्रीमती केट स्कटले यसअघि बीबीसीसँग भनेकी थिइन् “जेमीले विशेषज्ञबाट २५० भन्दा धेरै पुनर्स्थापना कक्षाहरू लिनुपरेको थियो। उनले फेरि हिँड्न, निल्न र बोल्न सिक्नु परेको थियो। उनलाई स्मरणको समस्या भयो।”

उनका अनुसार उनलाई चेतनाको समस्या, बोल्न समस्या कहिले धेरै टाउको दुख्ने र आँखा नदेख्ने सम्मको समस्या भयो।

“यूके सरकारले खोपबाट भएको क्षतिको लागि परिपूरणको योजना ल्याउनुपर्छ। अहिले भएको अपर्याप्त र अनुचित छ … त्यसपछि मात्रै हामी उचित क्षतिपूर्ति चाहन्छौँ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।