पपुवा न्यूगिनीमा जातीय हिंसा, गोली हानेर ६० जनाभन्दा बढीको हत्या

पपुवा न्यूगिनीको हाइल्यान्ड्स क्षेत्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हाइल्यान्ड्स क्षेत्रमा जातीय द्वन्द्व चर्किएको छ
    • Author, टिफनी टर्न्बुल र केली अङ
    • Role, बीबीसी न्यूज, सिड्नी

पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड्स क्षेत्रमा थापिएको एम्बुशमा परी दर्जनौँ मानिसको मृत्यु भएको अधिकारीहरूले बताइका छन्।

इङ्गा प्रान्तमा सप्ताहान्तमा भएको एउटा जातीय विवादका क्रममा गोली हानेर कम्तीमा ६४ जनाको हत्या गरिएको प्रहरीका प्रवक्ताले जनाएका छन्।

हाइल्यान्ड्स क्षेत्रमा लामो समयदेखि हिंसा फैलिएको छ। अहिलेको घटनालाई हालैका वर्षमा भएको सबैभन्दा नराम्रो हिंसा मानिएको छ।

गैरकानुनी रूपमा ठूलो परिमाणमा बन्दुक भित्रिने गरेकाले भिन्न समुदायहरूबीच हुने भिडन्त निकै घातक बनेको भने हिंसाको चक्र अझ बढेको छ।

'पत्याउनै गाह्रो'

प्रहरीले राजधानी पोर्ट मोर्स्बीबाट करिब ६०० किलोमिटर उत्तर पश्चिममा रहेको वाबाग सहरनजिकैबाट शवहरू सङ्कलन गर्न थालेको छ।

“यो इङ्गा वा सम्भवतः समग्र हाइल्यान्ड्ससमा मैले देखेको अहिलेसम्मकै सबैभन्दा ठूलो हत्या हो,” रोयल पपुवा न्यूगिनी कन्स्ट्याबलरीका कार्यवाहक प्रमुख जोर्ज काकासले अस्ट्रेलियन बोर्डकास्टिङ कर्पोरेशनसँग भनेका छन्।

“हामी सबै जना स्तब्ध भएका छौँ र चिन्तित छौँ। यो पत्याउन नै गाह्रो भइरहेको छ।”

प्रहरीले उक्त स्थानमा केही विचलित बनाउने प्रकृतिका भिडिओ र फोटोहरू पनि फेला पारेको छ। भिडिओमा शवहरूलाई एउटा ट्रकमा राखेको देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जग्गा र सम्पत्तिको वितरणजस्ता विषयका कारण हुने बढ्दो जातीय द्वन्द्व रोकथाम गर्न गत जुलाई महिनामा इङ्गामा तीन महिना लकडाउन गरिएको थियो। त्यसबेला प्रहरीले कर्फ्यू लगाउनुका साथै यात्रा निषेधाज्ञा जारी गरेको थियो।

गत वर्ष अगस्टमा तीन जनाको हत्या गरिएको बीभत्स दृश्य देखिने भिडिओ इन्टरनेटमा फैलिएपछि त्यहाँको हिंसाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि समाचार प्रकाशित गरेका थिए।

पोर्ट मोर्स्बीमा भवनमा आगजनी भएपछि निस्किएको धुवाँको मुस्लो

तस्बिर स्रोत, Femli Studio/Reuters

तस्बिरको क्याप्शन, तलब कटौतीको विरोध गर्दै प्रहरीहरूले गत महिना प्रदर्शन थालेपछि पोर्ट मोर्स्बीमा आगजनी र लुटपाटका घटनाहरू भएका थिए

फेरि लडाइँ हुन लागेको सङ्केत

एम्बुशअघि गभर्नर पिटर इपाटासले एबीसीलाई लडाइँ पुनः सुरु हुन लागेको सङ्केत देखिएको बताएका थिए।

अहिलेको द्वन्द्वमा १७ वटासम्म जातीय समूहहरू संलग्न रहेको हुन सक्ने ठानिएको भन्दै उनले शान्ति कायम गर्ने जिम्मेवारी अन्ततः सुरक्षा फौजको भएको बताए।

“प्रान्तीय हिसाबले हेर्दा हामीलाई यस्तो लडाइँ हुन लागेको भन्ने जानकारी थियो र हामीले सुरक्षाकर्मीलाई अघिल्लो साता यस्तो नहोस् भन्ने सुनिश्चित गर्नका लागि उनीहरूले उपयुक्त कदम चाल्नुपर्छ भनेका थियौँ।”

सुरक्षा पूरै पपुवा न्यूगिनीकै लागि प्रमुख चिन्ताको विषय हो।

सरकारले गत महिना एउटा ठूलो दङ्गा र लुटपाटको घटनामा कम्तीमा १५ जनाको ज्यान गएपछि सङ्कटकाल घोषणा गरेको थियो।

पपुवा न्यूगिनीको एउटा निकट साझेदार रहेको अस्ट्रेलियाले ती हत्याको खबर "ज्यादै चिन्तित तुल्याउने" खालको भएको जनाएको छ।

“हामीले मुख्यतः प्रहरी अधिकारीको तालिम र पपुवा न्यूगिनीको सुरक्षाका लागि उल्लेख्य सहयोग उपलब्ध गराइरहेका छौँ,” प्रधानमन्त्री एन्थनी एल्बनिजीले एउटा रेडिओ अन्तर्वार्तामा सोमवार भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।