जङ्गलमा पाँच दिन अलपत्र पर्दा 'एक बोतल मदिराको भर'

तस्बिर स्रोत, Victoria Police
- Author, जोर्ज राइट
- Role, बीबीसी न्यूज
अस्ट्रेलियाको एउटा जङ्गलमा पाँच दिनसम्म अलपत्र परेकी एक ४८ वर्षीया महिला ललिपप र एक बोतल मदिराको भरमा ज्यान जोगाउन सफल भएकी छन्।
लिलिआन इप आइतवार भिक्टोरिया राज्यको घना जङ्गलको बाटो हुँदै छोटो यात्राका लागि निस्केकी थिइन्।
तर गलत दिशातिर लाग्दा उनी एउटा बिन्दुमा पुगिन् जहाँबाट अगाडि निस्किने बाटो भएन र उनको कार हिलोमा फस्यो।
मदिरा नपिउने गरेकी इपको कारमा एक बोतल मात्र मदिरा थियो।
कसैलाई उपहार दिन उनले त्यो बोतल लगेकी थिइन्।
अस्पताल भर्ना
पाँच रातसम्म त्यहाँ फसेकी इपलाई खोजीमा निस्केका आपत्कालीन सेवाका सदस्यहरूले शुक्रवार फेला पारे।
“मेरो मस्तिष्कमा आइरहेको पहिलो कुरा पानी र चुरोट थिए,” इपले नाइनन्यूज अस्ट्रेलियासँग भनिन्। “ईश्वरको कृपाले धन्न मसँग एउटा चुरोट रहेछ।”
“मलाई अब मर्छु होला जस्तो लाग्यो। शुक्रवार मेरो पूरै शरीर शिथिल भयो,” बाँच्ने आस मार्न लागेको बताउँदै उनले भनिन्।
आफूलाई जिउँदो फेला पार्न सकिने आस मार्दै उनले परिवारका सदस्यहरूलाई माया गर्ने गरेको भन्दै एउटा चिठी पनि लेखिन्।

तस्बिर स्रोत, Victoria Police


नजिकै पर्ने नगरदेखि करिब ६० किलोमिटर पर इपलाई फेला पारियो।
भिक्टोरिया प्रहरीका अनुसार स्वास्थ्यका कारण उनी हिँड्न नसक्ने अवस्थामा थिइन् र कारभित्रै बसेकी थिइन्।
उनको कारमा थोरै खाजा र ललिपप थियो भने पानी छँदै थिएन।
“मदिरा नपिउने गरेकी लिलिआनसँग तरल पदार्थको नाममा मदिराको एउटा बोतल थियो जुन आफ्नी आमालाई उपहार दिनका लागि उनले किनेकी थिइन्,” वोडोङ्गा प्रहरी स्टेशनका अधिकारी मार्टिन टोर्पीले भने।
“कारबाट ननिस्केर उनले बुद्धि पुर्याइन् र उनलाई फेला पार्न प्रहरीलाई सजिलो भयो," उनले थपे।
शरीरमा पानीको मात्रा कम रहेका कारण इपलाई अस्पताल पुर्याइयो।
अहिले उनी मेल्बर्नस्थित घर फर्किसकेकी छन्।












