कोभिडको नयाँ सब-भेरिअन्ट किन तीव्र गतिमा फैलिरहेको छ

    • Author, फिलिपा रक्श्बी
    • Role, स्वास्थ्य संवाददाता, बीबीसी न्यूज

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको ओमिक्रन स्ट्रेनको एउटा सब-भेरिअन्टलाई "भेरिअन्ट अफ इन्ट्रेस्ट" अर्थात् "चासोको भेरिअन्ट" को वर्गमा राखेको छ।

जेएन.१ (JN.1) नाम दिइएको उक्त सब-भेरिअन्ट "तीव्र गतिमा फैलिरहेको" डब्ल्यूएचओले जनाएको छ।

भारत, चीन, यूके र संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा जेएन.१ फेला परिसकेको छ। नेपालमा भने अहिलेसम्म ओमिक्रन कोरोनाभाइरसको उक्त सब-भेरिअन्ट भेटिएको पुष्टि भइसकेको छैन।

डब्ल्यूएचओका अनुसार जेएन.१ बाट सर्वसाधारण मानिसलाई हुन सक्ने जोखिम अहिले निकै कम छ।

अहिले कोभिड-१९ विरुद्ध प्रचलनमा रहेका खोपहरूले मानिसलाई उक्त सब-भेरिअन्टबाट पनि सुरक्षा दिने उसले जनाएको छ।

तर डब्ल्यूएचओले हिउँद याममा कोभिड र अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएको छ।

श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने इन्फ्लूएन्जा भाइरस, रिस्पिरटरी सिन्सिशल भाइरल (आरएसभी) र बालबालिकामा हुने निमोनियाको समस्या उत्तरी गोलार्धमा पर्ने देशहरूमा बढ्दो क्रममा छ।

कोभिड गराउने भाइरस निरन्तर परिवर्तित भइरहेको छ। उक्त भाइरसका नयाँ भेरिअन्टहरू पनि देखा परेका छन्।

केही समयदेखि विश्वभरि ओमिक्रन भेरिअन्ट बढी देखा परेको छ।

डब्ल्यूएचओले जेएन.१ सहित ओमिक्रनसँग सम्बन्धित केही भेरिअन्टलाई अनुगमन गरिरहेको छ।

तर ती कुनै पनि चिन्ताको विषय नभएको उसको भनाइ छ।

जेएन.१ अहिले विश्वका विभिन्न स्थानमा तीव्र गतिमा पुगिरहेको देखिन्छ।

अहिले अमेरिकामा तीव्रतम गतिमा फैलिरहेको कोरोनाभाइरस पनि यही भेरिअन्ट भएको अमेरिकी जनस्वास्थ्य निकाय सीडीसीले जनाएको छ।

अहिले अमेरिकामा पुष्टि हुने कोभिडमध्ये जेएन.१ ले १५-२९ प्रतिशत सङ्क्रमण गराउने गरेको छ।

यूके हेल्थ सिक्युरटी एजेन्सीका अनुसार प्रयोगशालामा पुष्टि हुने कुल कोभिडमध्ये सात प्रतिशत जेएन.१ मा फेला परेको छ।

हिउँदमा कोरोनाभाइरस सङ्क्रमण अझ फैलिन सक्ने

सबै क्षेत्रमा जेएन.१ कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ। यो सब-भेरिअन्ट बीए.२.८६ भेरिअन्टबाट उत्पत्ति भएको हो।

तर सम्भवतः यसको स्पाइक प्रोटीनमा भएको अतिरिक्त उत्परिवर्तन (म्यूटेशन)ले यो भाइरसलाई बढी सङ्क्रामक बनाएको हुन सक्छ।

"विभिन्न भाइरल र ब्याक्टेरिअल सङ्क्रमण बढ्दा यो भेरिअन्टका कारण सार्स-कोभ-२ [कोरोनाभाइरस] का बिरामीको सङ्ख्या बढ्न सक्छ - विशेष गरी हिउँ याम सुरु हुन लागेका देशमा," डब्ल्यूएचओले जोखिम मूल्याङ्कन गर्दै भनेको छ।

खोपहरूले प्रदान गर्ने प्रतिरोधात्मक क्षमतालाई परास्त गर्न जेएन.१ कति सक्षम छ भन्ने बुझ्न पर्याप्त प्रमाण नभएको डब्ल्यूएचओले जनाएको छ।

अरू भेरिअन्टले भन्दा यसले मानिसलाई बढी बिरामी पारेको विवरण पनि देखिएको छैन।

धेरै देशले कोभिडका कारण अस्पताल भर्ना हुनुपरेका बिरामीको सङ्ख्या ह्वात्तै घटेको तथ्याङ्क देखाएकाले यो भेरिअन्टबाट स्वास्थ्यमा पर्ने प्रभाव जान्न थप अध्ययन आवश्यक भएको डब्ल्यूएचओले औँल्याएको छ।

कोरोभाइरस र श्वासप्रश्वास प्रणालीका अरू सङ्क्रमणबाट कसरी जोगिने

डब्ल्यूएचओले सङ्क्रमण र गम्भीर रोगबाट जोगिन यस्ता सुझाव दिएको छ :

  • भिडभाड भएको र बन्द ठाउँमा मास्क लगाएर बस्नुहोस्
  • हाछ्युँ र खोकी आउँदा नाकमुख छोप्नुहोस्
  • हात बारम्बार धुनुहोस्
  • यदि जोखिममा पर्ने वर्गमा पर्नुहुन्छ भने कोभिड र फ्लूविरुद्धका खोपबारे अद्यावधिक जानकारी राख्नुहोस्
  • सन्चो छैन भने घरमै बस्नुहोस्
  • कोभिडको लक्षण देखिए परीक्षण गराइहाल्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।