पटका सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो यसको इतिहास के हो

संसारका कैयौँ देशमा चाडबाड र विशेष दिनमा आतसबाजी गरिन्छ

तस्बिर स्रोत, Getty Images

संसारका कैयौँ देशमा पटका पड्काएर उत्सव मनाइन्छ।

दीपावली मनाउने मौकामा कैयौँ देशका विभिन्न स्थानमा रातमा पटकाको उज्यालोले आकाश जगमग हुन्छ।

अमेरिकामा चार जुलाईमा स्वतन्त्रता दिवस मनाउँदा देशभर आतसबाजी गरिन्छ। क्यानडामा १ जुलाईमा आतसबाजी हुन्छ, फ्रान्समा १४ जुलाईमा 'ब्यास्टील डे' मा परेडपछि आतसबाजी गरिन्छ।

चीन र एशियाका कैयौँ देशमा 'लूनर न्यू ईयर'मा विशेष कार्यक्रम गरिन्छ र लाखौँ पटका पड्काइन्छ। मेक्सिकोमा पटका पड्काएर क्रिसमस मनाइन्छ।

सबभन्दा पहिला कहाँ पड्काइन्थ्यो पटका

पटकाको कथाको जरो चीनमा भएको मानिन्छ जहाँ बारुद (गन पाउडर) को खोजको साथमा नै आतसबाजी सुरु भएको थियो।

इतिहासका जानकार डा टोनियो एन्ड्रेडले आफ्नो पुस्तक 'द गन पाउडर एज'मा लेखेका छन्- गन पाउडरको आविष्कार चीनमा भएको थियो। उनीहरूले लगत्तै त्यसलाई सेनाका लागि हतियारका रूपमा यसको उपयोग सुरु गरे।

पछि यात्रा र व्यापारका माध्यमबाट गन पाउडर भारत, युरोपसमेत अन्य देशमा पुग्यो र यसको उपयोग खास अवसर र चाडहरूमा गर्न थालियो।

पटकाको सुरुआत कहाँबाट भयो?

भारतमा दिपावलीका बेला व्यापक रूपमा पटका पड्काइन्छ

तस्बिर स्रोत, Getty Images

कथा अनुसार ईसा पूर्वको दोस्रो शताब्दीमा चीनमा मानिसहरू बाँसको टुक्रालाई आगोमा हाल्थे। बाँसको भित्रको हावा तातोले फैलिँदा त्यो चर्को आवाजमा पड्किन्थ्यो। मानिसहरू त्यस्तो चर्को आवाजले नराम्रा आत्मा भाग्छन् भन्ने विश्वास राख्थे।

यसको सयौँ वर्षपछि चीनका रसायनविद्ले गल्तीबाट बारुद आविष्कार गरे। बारुदलाई बाँस या कागजको नलीमा भरियो, त्यसलाई परीक्षण गर्दा पहिलो पटक त्यसबाट आवाज र प्रकाश देखियो। त्यहीँबाट आतसबाजीको सुरुवात भयो।

बिस्तारै यो चलन चीनबाट युरोप पुग्यो। समयसँगै नयाँ प्रविधिको सहयोगमा पटका झन् बढी रङ मिसिएको जस्तो, झन् झन् उचाइमा पुग्ने र आवाज ठूलो निकाल्न सक्ने बन्दै गयो।

अहिले पटका मनोरञ्जनको साधन मात्र नभएर खासगरी चाडबाड, विवाह र अन्य समारोहको हिस्सा जस्तो बनेको छ।

र अहिले पर्यावरण र स्वास्थ्यको हिसाबबाट सुरक्षित ग्रीन पटाखाको पनि विकास हुँदै छ ताकि मनोरञ्जनका साथमा सुरक्षा पनि ध्यानमा रहोस्।

पटकामा थरी थरीका रङ्ग कसरी देखिन्छ

पटका पड्काउँदा थरी थरीका रङका प्रकाश निस्कछन्

तस्बिर स्रोत, Getty Images

पटका पड्काउँदा आकाशमा कैयौँ रङ्ग देखिन्छ जसले त्यसलाई सुन्दर देखाउँछ।

पटकाभित्र विशेष रसायन हुन्छ। जब पटका बल्न थाल्छ तब ती रसायनहरू तातो भएर थरी थरीका रङ्गको प्रकाश निस्कछन्।

सुरुवातमा पटकामा कुनै रङ्ग हुँदैनथ्यो। बारुद जल्दा कुनै रङ्ग बिनाको प्रकाश निस्कन्थ्यो र अँध्यारोलाई उज्यालो बनाइदिन्थ्यो।

१९ औँ शताब्दीमा युरोपका वैज्ञानिकले अलग अलग धातुमा आधारित मिश्रण पटकामा मिलाउने हो भने त्यसले रङ्गिन प्रकाश पैदा गर्ने पत्ता लगाए।

उदाहरणका लागि रातो रङ्ग स्ट्रोन्टिअमबाट, हरियो रङ्ग बेरिअमबाट र सेतो रङ्ग टाइटेनिअम, जिरकोनिअम र म्याग्नेसिअम मिलेर बन्छ।

नीलो रङ्ग बनाउन सबभन्दा कठिन छ।

नीलो रङ्ग कपर अर्थात् तामाबाट बन्छ तर धेरै तातो भए रङ्ग उड्छ कम तातोमा रङ्ग नै बन्दैन।

सबभन्दा धेरै पटका कसले किन्छन्

वाल्ट डिज्नी मनोरञ्जनका लागि प्रख्यात छ

तस्बिर स्रोत, Getty Images

संसारमा आतसबाजीको सबभन्दा ठूलो खरिदकर्ता वाल्ट डिज्नी कम्पनीलाई मानिन्छ।

डिज्नीले हरेक वर्ष करिब ५ करोड डलर पटकामा खर्च गर्ने बताइन्छ। उसले संसारका धेरै ठाउँमा बनाएको थीम पार्कमा हर रात गरिने आतसबाजीमा यो प्रयोग गर्ने गर्छ।

गिनीज वर्ल्ड रेकर्ड्सका अनुसार अहिलेसम्मको सबभन्दा ठूलो आतसबाजी प्रदर्शन २०१६ मा नयाँ वर्षको स्वागतक्रममा फिलिपिन्सको चर्च अफ क्राइस्टमा भएको थियो।

त्यसबेला एक घण्टाभन्दा केही ज्यादा समयमा कुल ८,१०,९०४ वटा पटका छोडिएको बताइन्छ।

आश्चर्यजनकरूपमा पूरै प्रदर्शनको दौरान लगातार पानी परिरह्यो तर आतसबाजी रोकिएन बरु निकै शानदार देखियो।

भारतमा कसरी सुरु भयो पटकाको चलन

भारतमा पटकाको प्रयोग व्यापक रूपमा गरिन्छ

तस्बिर स्रोत, Getty Images

जानकारहरूका अुसार भारतमा पटकाको चलन गन पाउडर आएसँगै सुरु भयो।

अलीगढ मुस्लिम विश्वविद्यालयमा मध्यकालीन भारतको इतिहास पढाउने प्रोफेसर सैयद अली नदीम रेजवीलै बीबीसी हिन्दीलाई बताए अनुसार यो सिलसिला १५औँ शताब्दीमा सुरु भएको हो।

त्यो त्यो समयको कुरा हो जब पोर्चुगाली भारत भएका थिए। त्यस क्रममा हतियारका रूपमा गन पाउडरको प्रयोग बढ्यो।

प्रोफेसर रेजवीका अनुसार "सुरुआतमा गन पाउडरको प्रयोग केवल सेनामा गरिन्थ्यो। बिस्तारै बिस्तारै भारतले चीनसँग प्रविधि सिकेर पटका बनाएको हो। "

प्रोफेसर सैयद अली नदीम रेजवीको भनाइ छ- मुगल शासनका संस्थापक जहीर-उद-दीन मोहम्मद बाबरले पनि मध्य एशियाबाट यो प्रविधि भित्र्याएका थिए।

बाबरले हतियारमा यसको धेरै प्रयोग गरे। साथै उनले भारतमा पटाखाको चलन फैलाए।

पछि मुगल कालमा चाडबाड र उत्सवमा पटाखाको प्रयोग आम हुँदै गयो।

प्रोफेसर रेजवी पहिले अहिलेको पटाखाको फरक पनि बताउँछन्। उनी भन्छन् - पहिले पटाकामा केवल अर्गानिक सामग्री प्रयोग हुन्थ्यो। अहिले कैयौँ प्रकारको रसायन मिसाइन्छ, जसले नोक्सान गर्छ।

उनी भन्छन्, पुरानो जमानमा पटकाबाट त्यस्तो समस्या हुँदैनथ्यो जुन अहिले हुन्छ। तर पहिले पनि समस्या चाहिँ हुन्थ्यो।

हरित पटका

ग्रीन पटकाबाट तुलनात्मकरूपमा कम प्रदूषण हुन्छ

तस्बिर स्रोत, Getty Images

हरित पटका देख्न, जलाउन र आवाजको मामलामा सामान्य पटका जस्तो लाग्छ तर यसबाट कम प्रदूषण हुन्छ।

सामान्य पटाखाका तुलनामा यसलाई बाल्दा करिब ४० देखि ५० प्रतिशतसम्म कम हानिकारक ग्यास निस्कन्छ।

नेशनल इन्भार्नमेन्टल इन्जिनियरिङ रिसर्च इन्स्टिट्यूट (नीरी)की मुख्य वैज्ञानिक डा. साधना रायलू भन्छिन्, "ग्रीन पटकाबाट पनि हानिकारक ग्यास निस्कन्छ। तर यसबाट निस्कने प्रदूषणको स्तर पारम्परिक पटकाको तुलनामा कम हुन्छ।

उनका अनुसार सामान्य पटका जल्दा नाइट्रोजन र सल्फर जस्ता ग्यास ठूलो मात्रामा निस्कन्छ। हरित पटाकामा यी हानिकारक तत्वको मात्रा कम हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।