पृथ्वीनारायण शाह: नेपाल एकीकरण गर्दा स्थापित सेनाका पाँच एकाइ कुन हुन् र अहिले कहाँ छन्

नेपाली सेना

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठनिक जग निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ।

अढाई सय वर्ष लामो शाहवंशीय शासन अन्त्य भएर मुलुकमा गणतान्त्रिक शासनकालको लगभग डेढ दशक पुग्न लागेको छ।

तर राष्ट्रनिर्माता भएकाले र नेपाल स्थापना गर्न पुर्‍याएको योगदानका आधारमा नेपाली सेनाले अझै पनि पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दै आएको बताएको छ।

आफ्ना प्रत्येक एकाइका कार्यालयहरूमा पृथ्वीनारायण शाहका तस्बिर राख्दै आएको नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ को अवसरमा आफ्नो मुख्यालय जङ्गी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरेको थियो।

नेपाली सेना र पृथ्वीनारायण शाहबीचको सम्बन्ध

नेपाली सेनाका तत्कालीन प्रवक्ता सन्तोषबल्लभ पौडेल राष्ट्रको एकीकरणकर्ता र नेपाली सेनाको सङ्गठन निर्माणमा खेलेको भूमिकाका लागि पृथ्वीनारायण शाहलाई सम्मान गर्ने गरिएको बताएका थिए।

"उहाँलाई हामीले राष्ट्रनिर्माताका रूपमा मानिआएका हौँ। नेपाली सेनालाई नेपालको संविधानको धारा २६७ को उपधारा १ मा राष्ट्रिय एकताको रक्षा गर्ने दायित्व पनि छ। राष्ट्रनिर्माता हुनुभएको हुनाले राष्ट्रिय एकताका लागि हाम्रो सम्मान उहाँप्रति हुन्छ," उनले भने।

राष्ट्रिय एकता दिवस

तस्बिर स्रोत, RSS

उनले थपे, "नेपाली सेनाको पहिलो पाँचवटा एकाइहरू खडा गरेर उहाँले आधुनिक नेपाली सेनाको आधारशिला हाल्नुभयो त्यसको लागि पनि हामी उहाँलाई ठूलो सम्मान गर्छौँ। अहिलेको स‌ेना उहाँले नै बनाएको सेना र स्थापना गरेको पद्धतिको निरन्तरता हो।"

उनका अनुसार नेपालको सन्दर्भमा सैनिक रणनीति, कूटनीति, युद्धकला र कौशल, सेना र सैन्य परिवारको व्यवस्थापन सहितका क्षेत्रमा सशक्त सैनिक नेताको भूमिका निर्वाह गरेका कारण पनि नेपाली सेनाले शाहलाई सम्मान गर्ने गरेको हो।

सैनिक इतिहासबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी प्रेमसिंह बस्न्यात विक्रम संवत् १६१६ मा राजा द्रव्य शाहले गोर्खाको शासन सम्हाल्दादेखि नै नेपाली सेनाको इतिहास सुरु भए पनि पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताउँछन्।

उनले भने, “इतिहासमा हेर्दा राजा पृथ्वीनारायण शाहको पालाबाटै नेपालको सैनिक रणनीति विकास भएको पाइन्छ। उहाँ आफैँले सैनिक सङ्गठन खडा गर्नुभयो। आफैँले नेतृत्व गरेर सेनाको अभिभावकको भूमिका खेल्दै लडाइँको मोर्चामा रहनुभयो।”

“एकीकरणको परिकल्पना गरेर त्यसलाई सफल बनाएका कारणले उहाँलाई नेपाली सेनाले आफ्नो पितामहसरह मान्छ।”

बस्न्यात नेपालको प्रारम्भिक सैनिक सङ्गठनबारे थप खोजबिन हुनु आवश्यक रहेको उल्लेख गर्छन्।

पृथ्वीनारायण शाह

तस्बिर स्रोत, Deepak Luitel

तस्बिरको क्याप्शन, नुवाकोट दरबारमा राखिएको पृथ्वीनारायण शाह र उनका रानीहरूका प्रतिमूर्ति

तर उनका भनाइमा राजा पृथ्वीनारायण शाहबाहेक अरू शाहवंशीय राजाले ‘सिपाही भएर लडाइँमा निस्किने’ गरेका दृष्टान्त पाइँदैन।

शाहले बनारसबाट एकीकरण अभियानलाई सघाउन गोलीगट्ठा र तीन कालिगड पनि नेपाल भित्र्याएका उनी बताउँछन्।

नेपाली सेनाको ऐतिहासिक अभिलेखहरूमा नुवाकोट युद्धमा सफलता पाएपछि शाहले पाँचवटा गुल्महरू विक्रम संवत् १८१९ स्थापना गरेको पाइन्छ।

नुवाकोट विजयबाट प्राप्त करिब ७०० नाल बन्दुकको सहायताले नेपाल जित्ने इच्छालाई साकार पार्न पाँचवटा कम्पनीको गठन गरिएको थियो।

यी पाँच कम्पनीको स्थापनालाई नेपाली सैनिक सङ्गठनको महत्त्वपूर्ण आरम्भ मानिन्छ।

पृथ्वीनारायण शाह

तस्बिर स्रोत, Madan Chitrakar

Presentational grey line

राजा पृथ्वीनारायण शाहले स्थापना गरेका पाँच कम्पनी यी हुन्।

श्रीनाथ कम्पनी

विक्रम संवत् १८१९ साल असोज ५ गते स्थापना गरिएको श्रीनाथ कम्पनी नेपाली सेनाको सबैभन्दा जेठो पल्टनमध्ये एक हो।

अहिले गणमा रूपान्तरण भइसकेको यो पल्टन महेन्द्रनगर ब्यारेक, धनुषामा तैनाथ छ।

नेपाली सेना

तस्बिर स्रोत, Nepal army

तस्बिरको क्याप्शन, श्री श्रीनाथको निशान

इष्टदेवता गोरखनाथ बाबाको नामबाट श्रीनाथ कम्पनी नुवाकोटमा खडा भएको अभिलेख जङ्गी अड्डामा रहेको नेपाली सेनाले जनाएको छ।

उक्त गणले नेपाल एकीकरणको समयमा विक्रम संवत् १८२३ मा हरिहरपुर गढीको युद्ध, विक्रम संवत् १८३८ मा सिदानचोकको युद्ध, विक्रम संवत् १८४९ को पाल्पा र कास्की युद्ध लडेको थियो।

त्यसबाहेक तत्कालीन इस्ट इन्डिया कम्पनीसँग विक्रम संवत् १८६१ मा बुटवल युद्ध, विक्रम संवत् १८२४ को सिन्धुलीको युद्ध र विक्रम संवत् १८७१ को नेपाल-अङ्ग्रेज युद्धमा भाग लिएको थियो।

सन् १८५७ को भारतीय सिपाही विद्रोह, सन् १९४८ को हैदराबादको जातीय विद्रोह, नेपाल-भोट युद्ध र पहिलो अनि दोस्रो विश्वयुद्धमा पनि यो पल्टन सहभागी भएको ऐतिहासिक अभिलेखमा पाइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग भएका हतियार कस्ता छन्

श्री कालीबक्स कम्पनी

राजा पृथ्वीनारायण शाहले विक्रम संवत् १८१९ असोज ५ गते खडा गरेको कम्पनीमध्ये श्री कालीबक्स गण पनि एक हो।

यो सेनाका एकाइमध्ये वरीयता क्रममा दोस्रो नम्बरमा पर्छ।

काली बक्सको निसान

तस्बिर स्रोत, Nepal Army

विक्रम संवत् १८२४ मा अङ्ग्रेजहरूसँगको सिन्धुलीमा भएको निर्णायक लडाइँमा त्यसबेला गुल्म रहेको यो एकाइले पनि भाग लिएको थियो।

विक्रम संवत् १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन खटिएको यो एकाइले बजिरिस्तानमा गएर पठानहरूको विद्रोहलाई दमन गर्न सहयोग गरेको थियो।

विक्रम संवत् २००७ सालमा नेपाली सेनाको पुनर्गठनसँगै यो पल्टन खारेजीमा परेको भए पनि २०१५ सालमा राजा महेन्द्रले भक्तपुरस्थित रिक्रुट तालिम केन्द्रलाई यो गणको निसान दिएका थिए।

विसं २०३८ सालमा गणमा परिणत भएको श्री कालीबक्सलाई विक्रम संवत् २०४८ सालमा त्रिशूली-सोमदाङ सडक निर्माण गर्ने क्रममा इन्जिनियर गण बनाइएको थियो।

अहिले यो गण सुर्खेतमा तैनाथ छ।

श्री बर्दवाणी कम्पनी

गोरखाको कालिकास्थान माझकोटबाट करिब एक किलोमिटर पूर्व उपल्लोकोटमा अवस्थित “वज्रभैरव”बाट “वज्रवाणी” नामकरण हुँदै यो कम्पनी खडा भएको थियो।

विक्रम संवत् १८१९ असोज ०९ गते स्थापना भएको यो कम्पनीले एकीकरण अभियान तथा काँगडा अभियानमा लडेको थियो।

नेपाली सेना

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, श्री बर्दबहादुरको निसान

विक्रम संवत् १८६९ मा काजी भीमसेन थापाले सेनाको सुधार कार्यक्रममा बर्दवाणी कम्पनीलाई पल्टनमा परिमार्जित गरेका थिए।

प्रथम विश्वयुद्धमा लडेको बर्दवाणी पल्टनलाई नेपाल-तिब्बत युद्धमा प्राप्त सफलताको कदर गर्दै जङ्गबहादुर राणाले ‘बर्दबहादुर’ पल्टन भन्दै बहादुरीको पुष्पहार चढाएको बताइन्छ।

त्यसयता यो पल्टनलाई "बर्दबहादुर" पल्टन भनी सम्बोधन हुन थालेको हो।

अहिले ठूलीटार ब्यारेक सिन्धुलीमा यो तैनाथ छ।

श्री सबुज कम्पनी

विक्रम संवत् १८१९ मा एकीकरण अभियानका क्रममा खडा गरिएको यो पल्टनले नेपाल-तिब्बत युद्ध, नेपाल-अङ्ग्रेज युद्ध, भारतीय सिपाही विद्रोह दमन र दुवै विश्वयुद्धमा सहभागिता जनाएको पाइन्छ।

विसं २०३८ सालमा सबुज गुल्म र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा टोली मिलेर सबुज गण बनेको हो।

एकीकरण अभियानअन्तर्गत विक्रम संवत् १८१९ मा अङ्ग्रेज फौजसँग, विक्रम संवत् १८२२ मा कीर्तिपुर विजय अभियानमा, विक्रम संवत् १८२४ मा सिन्धुलीमा इस्ट इन्डिया कम्पनीका कप्तान किन्लकको अङ्ग्रेज फौजसँग र विक्रम संवत् १८४२ मा कास्की, नुवाकोटलगायतको विजय अभियानमा यो फौज सहभागी भएको नेपाली सेनाको अभिलेखमा उल्लेख छ।

नेपाली सेना

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, श्री सबुजको निसान

विक्रम संवत् १९७२ को प्रथम विश्वयुद्धमा भारतको देहरादुनमा ब्रिटिश सरकारलाई समर्थन जनाउँदै लडेको यो फौज विक्रम संवत् १९७५ मा अफगान युद्धको लागि काबुलमा तैनाथ भएको थियो।

विक्रम संवत् १९९६ मा दोस्रो विश्वयुद्धको लडाइँमा पनि यो पल्टनले भाग लिएको थियो।

अहिले यो सल्यानस्थित सिमखर्क ब्यारेकमा खटिएको छ।

गोरख कम्पनी

नेपाल एकीकरणको क्रममा नुवाकोट र मकवानपुरमाथि जित हासिल गर्दा मगरहरूको साहस र देशभक्तिबाट प्रभावित भएर राजा पृथ्वी नारायण शाहले विक्रम संवत् १८१९ फाल्गुन १० गते यो पल्टन खडा गरेका थिए।

नेपाली सेनाका अनुसार शाहले उक्त कम्पनीमा मगर जातिका मानिसलाई मात्रै भर्ना लिन निर्देशन दिएका थिए।

नेपाली सेना

तस्बिर स्रोत, Nepal Army

तस्बिरको क्याप्शन, पुरानो गोरखको निसान

पछि राजा रणबहादुर शाहको पालामा विक्रम संवत् १८४० मा स्थापना गरिएको अर्को नयाँ कम्पनीको नाम पनि गोरख नै जुरेकाले सुरुमा स्थापित पल्टनलाई पुरानो गोरख र पछि नाम जुरेको पल्टनलाई नयाँ गोरख भन्ने नाम दिइएको थियो।

पुरानो गोरख गण नेपाल एकीकरण अभियानमा मकवानपुरपछिका लडाइँमा मात्रै सहभागी भयो।

अहिले पुरानो गोरख गण उपत्यका पृतना अन्तर्गत काठमाण्डूमा छ।

यो सामग्री पहिलो पटक सन् २०२१ मा प्रकाशित भएको थियो।