तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'म्यान्मारको सेनाले पहिला रोहिन्ज्याहरूलाई मार्यो, अहिले भर्ती गर्न खोज्दै छ'
- Author, जोनाथन हेड र बीबीसी बर्मिज
- Role, ब्याङ्कक
म्यान्मारको सेनाले झन्डै सात वर्षअघि रोहिन्ज्या समुदायका हजारौँ मानिसको हत्या गर्यो। संयुक्त राष्ट्रसङ्घले त्यसलाई "जातीय सफाया" को सङ्ज्ञा दिएको थियो। अहिले सेना सोही समुदायबाट सहयोग लिन खोज्दै छ।
म्यान्मारको रखाइन प्रान्तमा बसोबास गर्ने रोहिन्ज्याहरूसँगको अन्तर्वार्तापछि सेनाले सो समुदायका कम्तीमा १०० जनालाई भर्ती गरेको बीबीसीले थाहा पाएको छ। उनीहरूलाई सैन्य सरकारको रक्षाका लागि प्रयोग गरिन्छ।
सुरक्षाका दृष्टिले यो सामग्रीमा उल्लिखित रोहिन्ज्याहरूको नाम फेरिएको छ।
"म डराएँ तर म जानुपर्यो," ३१ वर्षे मोहम्मदले भने। उनका तीन सन्तान छन्। उनी रखाइन राज्यको राजधानी सित्वेनजिकै अवस्थित 'ब दु फा' शिविरमा बस्छन्। आन्तरिक रूपमा विस्थापित भएका कम्तीमा डेढ लाख रोहिन्ज्याहरू एक दशकदेखि त्यस्ता शिविरमा बस्दै आएका छन्।
उक्त शिविरका अगुवाले मध्यफेब्रुअरीमा रातितिर आएर उनलाई सैन्य तालिम गर्नुपर्ने बताएको मोहम्मद सुनाउँछन्। "यो सेनाको आदेश हो," मोहम्मद ती व्यक्तिले भनेको सम्झिन्छन्। "यदि मानेनौ भने उनीहरूले तिमीहरूका परिवारलाई हानि पुर्याउने धम्की दिएका छन्।"
निसानामा विस्थापित रोहिन्ज्या युवा
बीबीसीले कुरा गरेका कैयौँ व्यक्तिहरूले सैन्य अधिकृतहरू शिविर भएको ठाउँमा जाँदै रोहिन्ज्या युवाहरूलाई अनिवार्य सैन्य तालिम लिन आउन आदेश दिएको कुरा पुष्टि गरेका छन्।
तर मोहम्मदजस्ता युवाले म्यान्मारको नागरिकता पाएका छैनन्। उनीहरूलाई आफ्नो गाउँ र समुदायभन्दा बाहिर जान नपाउने प्रतिबन्ध लगाइएको छ।
सन् २०१२ मा रखाइन राज्यमा मिश्रित समुदायमा बस्दै आएका दशौँ हजार रोहिन्ज्यालाई धपाएर फोहोर शिविरहरूमा बस्न बाध्य पारिएको थियो।
त्यसको पाँच वर्षपछि सेनाले क्रूर दमन गरेपछि सन् २०१७ को अगस्टमा सात लाखको सङ्ख्यामा रोहिन्ज्याहरू भागेर शरण लिन बाङ्ग्लादेश पुगेका थिए। त्यतिखेर सेनाले हजारौँ मानिसको हत्या र बलात्कार गर्नुका साथै उनीहरूका गाउँ जलाइदिएको थियो।
झन्डै छ लाखको सङ्ख्यामा अझै रोहिन्ज्याहरू म्यान्मारमा छन्।
दबावमा सेना
रोहिन्ज्याहरूमाथि सेना र राज्यले गरेको व्यवहारका कारण म्यान्मारले द हेगस्थित 'इन्टरन्याश्नल कोर्ट अफ जस्टिस'मा नरसंहारसम्बन्धी मुद्दा खेपिरहेको छ।
अहिले जबरजस्ती रोहिन्ज्यालाई भर्ती गर्न थाल्नु सेना हताश अवस्थामा पुगेको सङ्केत हो।
रखाइन राज्यको जातीय विद्रोही समूह 'अराकान आर्मी'ले ठूलो भूभागमा आफ्नो नियन्त्रण कायम गरेको छ। त्यहाँ लडाइँ हुँदा गोली हानाहान र हवाई आक्रमणमा परेर दर्जनौँ रोहिन्ज्याहरूको ज्यान गएको थियो।
देशका अन्य भागमा पनि सेनाले विद्रोही फौजहरूसँगको लडाइँमा ठूलो क्षति बेहोरेको छ। ठूलो सङ्ख्यामा सैनिकहरू हताहत भएका छन् वा उनीहरूले आत्मसमर्पण गरेका वा पराजित भएका छन्। त्यसको क्षति पूर्ति गर्ने काम सेनाका लागि कठिन बनेको छ।
कमै मानिसले मात्र अलोकप्रिय सैन्य शासकलाई साथ दिँदै आफ्नो ज्यान जोखिममा पार्न चाहेको देखिन्छ।
त्यसैले आफूहरू फेरि निसानामा परेको ठान्दै रोहिन्ज्याहरू चिन्तित देखिन्छन्।
'सेनाको ढाल'
सैन्य शासकहरूले पराजित हुन लागेको लडाइँमा आफूहरूलाई ढाल बनाउन खोजेको रोहिन्ज्याहरू ठान्छन्।
मोहम्मदका अनुसार उनलाई सित्वेको २७०औँ लाइट इन्फ्यान्ट्री बटालिअनमा गाडी चढाएर लगिएको थियो। सन् २०१२ को जातीय हिंसामा उनीहरूलाई गाडीमा राखेर लखेटिएपछि रोहिन्ज्याहरूले उक्त सहर छाड्न प्रतिबन्ध लगाइएको थियो।
"हामीलाई कसरी गोली भर्ने र हान्ने भन्ने सिकाइएको छ," उनी भन्छन्, "उनीहरूले हामीलाई बन्दुक कसरी फुकाल्नुपर्छ र फेरि जोड्नुपर्छ भन्ने पनि देखाए।"
बीबीसीले हेरेको एउटा भिडिओमा जबरजस्ती भर्ती गरिएका रोहिन्ज्याहरूले एउटा समूहलाई बीए६३ राइफल कसरी प्रयोग गर्ने भन्ने सिकाएको देखिन्छ। म्यान्मारको अझै उक्त पुरानो बन्दुक प्रयोग गर्छ।
मोहम्मदलाई दुई साताको सैन्य तालिम दिएर घर जान दिइयो। तर दुई दिनमै फिर्ता बोलाएर अन्य २५० सैनिकसँगै एउटा डुङ्गामा पाँच घण्टा टाढा पठाइयो।
उक्त ठाउँमा पहाडका थुम्कामा रहेका तीनवटा सैन्य आधारशिविर नियन्त्रण गर्न खोजिरहेका अराकान आर्मीसँग लडाइँ चर्किएको थियो।
"म किन लडिरहेको छु भन्ने नै मलाई थाहा थिएन। रखाइनको एउटा गाउँमा गोली चलाउन आदेश दिइँदा मैले गोली हान्नुपर्थ्यो।"
उनी त्यहाँ ११ दिनसम्म लडे। खाद्यान्न राखिएको छाप्रोमा बम खसेपछि खानेकुराको अभाव भयो।
उनले भर्ती भएका कैयौँ रोहिन्ज्याहरूको ज्यान गएको देखे। उनका दुइटै खुट्टामा छर्रा लाग्यो र उनलाई उपचारका लागि सित्वे फिर्ता ल्याइयो।
लडाइँमा रोहिन्ज्याको मृत्यु
मार्च २० मा अराकान आर्मीले ती तीनवटै शिविरलाई आफ्नो नियन्त्रणमा लिएपछि लडाइँका तस्बिरहरू सार्वजनिक गर्यो। तिनमा देखिएका शवमध्ये तीन वटा रोहिन्ज्या सैनिकको भएको पहिचान गरियो।
"म लडाइँ गर्दा निकै डराएको थिएँ। मैले आफ्नो परिवारको विषयमा मात्र सोचेँ," मोहम्मदले भने।
"मैले कहिल्यै यस्तो लडाइँमा जानुपर्ला भन्ने सोचेको थिइँन। म घर जान चाहन्थेँ। अस्पतालबाट घर फर्किँएपछि म आमाको अँगालोमा रोएँ। मलाई आमाको गर्भबाट फेरि जन्मिए जस्तो लाग्यो।"
'ओएन ट गी' शिविरका हुसैनलाई पनि जबरजस्ती सेनामा भर्ती गरियो। उक्त शिविर पनि सित्वेनजिकै छ।
उनका भाइ महमूदका अनुसार सेनाले हुसैनलाई फेब्रुअरी महिनामा लगेको थियो। उनले सैन्य तालिम पनि लिए। तर लडाइँमा पठाइनुअघि नै उनी भागेर भूमिगत भए।
के भन्छ सेना
म्यान्मारको सेनाले अराकान आर्मीसँगको लडाइँमा रोहिन्ज्याहरूलाई प्रयोग गरेको आरोप अस्वीकार गरेको छ।
सेनाका प्रवक्ता रोहिन्ज्याहरूलाई लडाइँको अग्रमोर्चामा पठाउने कुनै योजना नरहेको दाबी गर्छन्। "हामी उनीहरूको सुरक्षा सुनिश्चित गर्न चाहन्छौँ र त्यसैले हामीले उनीहरूलाई आफ्नो सुरक्षित भएर बस्न भनेका छौँ," जेनरल ज मिन टुनले भने।
तर बीबीसीसँगको अन्तर्वार्तामा विस्थापित रोहिन्ज्याहरू बस्ने पाँचवटा भिन्नभिन्न शिविरका सात जनाले समान कुरा सुनाए। उनीहरूले यस वर्ष जबरजस्ती भर्ती गरेर लड्न पठाइएका कम्तीमा १०० रोहिन्ज्याबारे आफूलाई थाहा भएको बताए।
उनीहरूका अनुसार फेब्रुअरी महिनामा सैन्य र स्थानीय सरकारी अधिकारीहरू शिविरहरूमा आएर रोहिन्ज्या युवाहरू सेनामा सेनामा अनिवार्य भर्ती हुनुपर्ने घोषणा गरेका थिए।
सुरुमा उनीहरूले रोहिन्ज्याहरूलाई भर्ती भएमा खाद्यान्न, तलब र नागरिकता दिइने प्रलोभन देखाएका थिए।
अराकान आर्मीसँग द्वन्द्व बढेर अन्तर्राष्ट्रिय आपूर्ति अवरुद्ध हुँदा रोहिन्ज्याहरू बसोबास गर्ने शिविरमा खानेकुराको अभाव बढेको छ र मूल्य बढेको छ।
नागरिकता नदिइएकाले रोहिन्ज्याहरूले प्रणालीगत विभेद खेप्नुपरेको छ। उनीहरू लामो समयदेखि म्यान्मारमा आफ्नो स्वीकार्यताका लागि सास्ती खेप्दै आएका छन्। उक्त विभेदलाई मानवाधिकारवादी समूहहरूले रङ्गभेद मानेका छन्।
नागरिकता दिन अस्वीकार
भर्ती गरिएका रोहिन्ज्या युवाहरूलाई लिन आउँदा सेनाले नागरिकता दिने आश्वासन फिर्ता लियो।
शिविरका मानिसहरूले आफूहरू गैरनागरिक भए किन सेनामा भर्ती हुनुपर्यो त भनी प्रश्न गरे। उनीहरूलाई आफू बसेको स्थानको रक्षा गर्ने दायित्व उनीहरूक भएको बताइयो। सैनिकहरूले उनीहरू सैनिक नभईकन 'लडाकु' हुने बताए।
नागरिकताबारे सोध्दा उनीहरूको जबाफ "तिमीहरूले गलत बुझ्यौ" भन्ने थियो।
शिविर समितिका एक सदस्यका अनुसार सेनाले भर्ती गर्न सकिने सम्भावित मानिसहरूको नयाँ सूची माग गरिरहेको छ। तर लडाइँबाट फर्केको पहिलो समूहका मानिसको कुरा सुनेपछि अरूले भर्ती हुन अरुचि देखाएका छन्।
तर शिविरका नेताहरूले अहिले बेरोजगार र गरिब युवाहरूलाई मनाउने प्रयासमा छन्। नेताहरूले त्यस्ता युवालाई उनीहरू जाँदा उनीहरूका परिवारलाई शिविरका अरू मानिसबाट चन्दा उठाएर सहायता गर्ने बताएका छन्।
मानवाधिकारवादी समूह फोर्टिफाई राइट्सका म्याथ्यू स्मिथ भन्छन्, "यस्तो भर्ती अभियान गैरकानुनी छ र यो जबरजस्ती श्रममा लगाउने कुराजस्तै हो।"
"जे भइरहेको छ त्यसको क्रूर र विकृत पक्ष छ। आज म्यान्मारको सेनाले देशभरि भइरहेको प्रजातान्त्रिक आन्दोलनविरुद्ध लड्न नरसंहारमा परेका रोहिन्ज्याहरूलाई जबरजस्ती भर्ती गर्दै छ। यो सरकारलाई मानव जीवनको मतलब छैन। अब म्यान्मारको सेनाले उत्पीडनको लामो इतिहासमा शोषणको नयाँ अध्याय थप्न लागेको छ।"
म्यान्मारको सेनाले रोहिन्ज्याहरूलाई अराकान आर्मीविरुद्धको लडाइँमा प्रयोग गर्दा रखाइनका बौद्धमार्गी समुदायसँग साम्प्रदायिक हिंसा फेरि फैलिने खतरा छ। रखाइनका अधिकांश बौद्धमार्गीहरू विद्रोहीलाई समर्थन गर्छन्।
यी दुई समुदायबीचको द्वन्द्वका कारण सन् २०१२ मा सित्वेजस्ता सहरबाट हजारौँ रोहिन्ज्यालाई निकालिएको थियो। सन् २०१७ मा रखाइनका मानिसहरूले सेनासँग मिलेर रोहिन्ज्यामाथि आक्रमण गरे।
त्यसपछि दुई समुदायबीच खासै तनाव देखिएको छैन।
रखाइनमा स्वायत्तताको लडाइँ
सेनालाई सत्ताच्युत गर्ने र देशमा नयाँ सङ्घीय प्रणाली स्थापना गर्ने उद्देश्यसहित विभिन्न जातीय विद्रोही र विपक्षी समूहहरू सक्रिय छन्। त्यही अभियानअन्तर्गत अराकान आर्मी स्वायत्त राज्यका लागि लडिरहेको छ।
अराकान आर्मी जितको सँघारमा छ। सो समूहले उक्त राज्यमा बसोबास गर्दै आएका सबै मानिसलाई नागरिकता दिने कुरा गरेको छ। त्यसको अर्थ विस्थापित भएर शरण लिन बाङ्ग्लादेश गएका रोहिन्ज्याहरूले फिर्ता हुने अवसर पाउन सक्छन्।
त्यहाँको मनस्थिति अहिले फेरिएको छ।
अराकान आर्मीका प्रवक्ता काइङ तुखाले बीबीसीलाई बताएअनुसार सैन्य शासकका तर्फबाट लड्न रोहिन्ज्याको प्रयोगलाई "हालसालै नरसंहारको पीडित बनेका र निरंकुशताबाट मुक्ति पाउन लडिरहेकाहरूसँग भएको सबैभन्दा नराम्रो धोका" सङ्ज्ञा दिएका छन्।
सेनाको पक्षमा भएका सञ्चारमाध्यमले बुतिदाउङमा अराकान आर्मीविरुद्ध रोहिन्ज्याहरूले विरोध गरेको भन्दै प्रचार गरिरहेका छन्। यद्यपि बीबीसीसँग कुरा गरेका स्थानीयवासीहरूका अनुसार सेनाले दुई समूहलाई विभाजन गर्न त्यसो गरेको हुन सक्छ।
चेपुवामा रोहिन्ज्या
यतिखेर रोहिन्ज्याहरू म्यान्मारमा आफ्नो बाँच्न पाउने अधिकारलाई मान्यता नदिने सेनाका पक्षमा लड्न बाध्य छन्। उनीहरू छिट्टै रखाइनका अधिकांश भागमा नियन्त्रण गर्न सक्ने जातीय विद्रोहीसँग लडिरहेका छन्।
कुनै बेला ती दुवै पक्षको निसानामा परेका उनीहरू अहिले उनीहरूको चेपुवामा परेका छन्।
मोहम्मदलाई सेनाले आफ्नो पक्षबाट लडेको एउटा प्रमाणपत्र दिएको छ।
उनलाई त्यो केका लागि काम लाग्छ भन्ने थाहा छैन। उनलाई आफू पुनः लडाइँमा जानुपर्छ कि पर्दैन भन्ने पनि थाहा छैन।
बरु उनी अराकान आर्मीले सित्वे र आफ्नो शिविर भएको क्षेत्रमा नियन्त्रण कायम गरे आफू समस्यामा परिएला कि भन्ने चिन्तामा छन्।
उनी अझै घाइते नै छन्। लडाइँबाट फर्किएपछि आफू राति निदाउन नसकेको उनी बताउँछन्।
"उनीहरू फेरि आउलान् कि भनेर म आत्तिन्छु। यस पटक म भाग्यले फर्केर आएँ, तर अर्को पटक के हुन्छ भन्ने मलाई थाहा छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।