तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी अध्यागमनले दक्षिण कोरियाली कारखानामा छापा मारेपछि तनाव र अन्योल
- Author, निक बीक
- Role, यूएस भेरिफाइ संवाददाता, एलाबेल, जोर्जा
संयुक्त राज्य अमेरिकाको जोर्जास्थित एउटा कार उत्पादन कारखानामा आप्रवासीहरूलाई लक्ष्य बनाएर मारिएको छापाको घटनाका साक्षी बनेका दक्षिण कोरियाली कामदारहरूले अमेरिकी सङ्घीय एजेन्टहरू आउँदाको तनाव र अन्योलपूर्ण अवस्थाबारे बीबीसीसँग कुरा गरेका छन्।
कोरियाली कार उत्पादक ह्यून्डाई र ब्याटरी उत्पादक एलजी एनर्जीले संयुक्त रूपमा सञ्चालन गरेको सवारीसाधन संयोजन गर्ने उक्त कारखानाबाट अमेरिकी अध्यागमन निकायका अधिकारीहरूले ४७५ जनालाई पक्राउ गरेका थिए। पक्राउ पर्नेमध्ये ३०० जना दक्षिण कोरियाली नागरिक थिए। उनीहरूमध्ये केहीलाई साङ्लोले बाँधेर लगिएको थियो।
आफ्नो नाम नखुलाउने सर्तमा उक्त कारखानाका एक कर्मचारीले बीबीसीलाई बताएअनुसार कम्पनीका वरिष्ठ अधिकारीहरूले अनेकौँ पटक फोन गरेपछि मात्रै कर्मचारीहरूले उक्त छापाबारे जानकारी पाएका थिए। "कैयौँ टेलिफोन लाइनहरू बजिरहेका थिए र काम रोक्न भनिएको थियो," उनले भने।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिको पदमा फर्किएपछि भएको सबैभन्दा ठूलो छापाबारे समाचार प्रकाशित हुन थालेपछि चिन्तित आफन्तहरूले त्यहाँका कामदारहरूसँग सम्पर्क गर्ने प्रयास गरे।
"उनीहरू पक्राउ पर्दा मोबाइल कार्यालयमै छोडेका थिए। फोन बजिरहेको थियो तर कार्यालय बन्द थियो," उनले भने। अमेरिकी अधिकारीहरूका अनुसार छापाका क्रममा केही कर्मचारीहरूले भाग्ने प्रयास गर्दै नजिकै रहेको फोहोर पानीको पोखरीमा हाम फालेका थिए।
आईसीईले छापाको भिडिओ फुटेज सार्वजनिक गरेको छ। त्यसमा बख्तरबन्द सवारीसाधनहरूमा सङ्घीय एजेन्टहरू प्रवेश गरेको र कारखानामा कामदारहरूलाई लाइन लगाएको देखिन्छ। तीमध्ये केहीलाई बसमा राख्नुअघि साङ्लोले बाँधिएको देखिन्छ।
उनीहरूलाई भिसाको अवस्था र राष्ट्रियताका आधारमा फरकफरक समूहमा छुट्ट्याएर राखिएको थियो। त्यसपछि उनीहरूलाई फरकफरक बसमा चढाइयो।
बिहीवार बिहान १०:३० बजे कार्यालयमा प्रवेश गर्नुअघि करिब ४०० जना सङ्घीय एजेन्टहरू सात अर्ब डलरको कारखानाअघि जम्मा भएका थिए।
गत वर्ष स्थापना भएको उक्त कारखाना ३,००० एकर क्षेत्रमा फैलिएको छ। त्यहाँबाट अहिले पक्राउ परेका कामदारहरूलाई विद्युतीय सवारीसाधन संयोजन गर्ने काम गर्दै आएका थिए।
अध्यागमन अधिकारीहरूले उक्त कारखानाको हाताभित्र बन्दै गरेको विद्युतीय सवारीसाधनको ब्याटरी कारखानामा गैरकानुनी रोजगारी दिइएको आशङ्कामा अनुसन्धान भइरहेको बताएका छन्।
बीबीसीले अमेरिकामा काम गर्ने अधिकार पाएका एक कामदारसँग भेटेर कुरा गरेको छ।
उनका अनुसार पक्राउ परेका अधिकांश मानिसहरू मिस्त्री र केही भने प्रशिक्षार्थीहरू हुन्। तर बीबीसीले त्यसको स्वतन्त्र पुष्टि गरेको छैन।
उनले त्यहाँ कार्यरत धेरै जनासँग अमेरिकामा काम गर्ने केही न केही कागजपत्र भएको तर फरक प्रकृतिको भिसा लिएर काम गरेको वा भिसा अवधि सकिएको हुन सक्ने बताएका छन्।
ह्यून्डाई र एलजी एनर्जीसँग प्रतिक्रियाका लागि बीबीसीले सम्पर्क गरेको छ। उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै "प्रशासनसँग सहकार्य गरिरहेको" र "उनीहरूको काममा सहयोगका लागि उत्पादन स्थगित गरिएको" उल्लेख गरेका छन्।
ह्यून्डाईले पक्राउ परेका कुनै पनि व्यक्ति आफ्नो कम्पनीले प्रत्यक्ष रोजगारी दिएका व्यक्ति नभएको बताएको छ। उक्त कम्पनीले "आफ्नो कारखाना सञ्चालन हुने हरेक देशको कानुन र नियम पालना गर्न प्रतिबद्ध" रहेको जनाएको छ।
छापा पछाडि आईसीईका प्रमुखले पक्राउ परेका सबै ४७५ जना "अमेरिकामा गैरकानुनी रूपमा उपस्थित रहेको" बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।