एनपीएल: विदेशी खेलाडी, कोही फर्किँदै, कोही आउँदै

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू गोर्खाजका नामिवियाली खेलाडी जेरार्ड इरसमस आइतवार कर्णाली याक्सविरुद्ध आक्रामक पारी खेलिरहेका थिए।

त्यतिबेला मिडिया बक्समा चर्चा थियो - "उनलाई कतिखेर खेल सकौँ र एयरपोर्ट पुगौँ जस्तो भइरहेको होला"।

आइतवार साँझ नै नेपाल छोड्दै गरेका इरसमस काठमाण्डू गोर्खाजका लागि अन्तिम खेल खेलिरहेका थिए।

अन्तिम खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे। अर्का विदेशी खेलाडी जोन सिम्पसनसँग मिलेर ४५ बलमा ८६ रनको साझेदारी गरे। आफैले ३३ बलमा ४३ रन बनाई काठमाण्डू गोर्खाजलाई जिताउन अहम् भूमिका निभाए र 'प्लेयर अफ द म्याच' पनि जित्न सफल भए।

खेल सकिनासाथ इरसमस त्यहाँबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लम्किए। उनी दुबईमा हुने आईएल टी-२० खेल्न नेपाल छाड्दै थिए।

इरसमस जस्तै एनपीएल सीजन- २ खेलिरहेका अरू विदेशी खेलाडीहरूले पनि नेपाल छोडिसकेका छन्। कोही छोड्ने तयारीमा रहेको बताइएको छ।

यसरी प्रतियोगिताको बीचमा धमाधम खेलाडीहरू फर्किनुले कतिपयले एनपीएल-२ को ब्रान्डमा नै असर पर्न सक्ने हो कि भन्ने चिन्ता व्यक्त गरिरहेका छन्।

एनपीएललाई 'ट्रान्जिट इभेन्ट्स' बनाउन नहुने उनीहरूको भनाइ छ।

कतिपयले भने यसलाई नियमित प्रक्रिया भनेका छन्।

पोखरा एभेन्जर्सका कर्ण थापा भन्छन्, " ठूला लीगहरूमा बढी रकममा अनुबन्धन हुने भएकोले हामीले खेलाडीलाई रोक्न सक्दैनौँ। यतै राख्ने हो भने ठूलो रकम दिन सक्नुपर्छ। जुन फ्रेन्चाइज टोलीलाई अहिलेको अवस्थामा गाह्रो हुनसक्छ।"

को को गए?

काठमाण्डू गोर्खाजका इरसमसअघि विराटनगर किंग्स शुभम् रन्जनेले एनपीएल छोडेका थिए।

विराटनगरबाट ५ खेल खेल्ने क्रममा यी अमेरिकी अलराउन्डरले प्रभावकारी प्रदर्शन गरेका थिए। खेलेको ५ खेलमा ४ मा जित हात पारेको विराटनगरलाई उनको अभाव खट्किने पक्का देखिन्छ।

एनपीएल छोड्ने अर्को ठूलो नाममा पोखरा एभेन्जर्सबाट खेलिरहेका न्यूजील्यान्डका जिम्मी निशमको नाम आउँछ।

गतवर्ष जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन मुख्य भूमिका खेलेका उनी यसपालि भने प्रभावकारी हुन सकेनन्। उनको टोलीले अहिले प्ले अफमा पुग्न ठुलै चमत्कार गर्नुपर्ने अवस्थामा छ।

पोखरा एभेन्जर्सकै अर्का विदेशी खेलाडी डान डोथवेटले पनि एनपीएल छोडेका छन्। तर उनले भने चोटका कारण टीम छोडेका हुन्।

त्यस्तै टेस्ट कोटामा आएका अफगानिस्तानका अलराउन्डर गुलबदिन नैबले पनि लुम्बिनी लायन्स छोडेर गइसकेका छन्। यद्यपि उनको प्रदर्शन सम्झिन लायक बन्न सकेन।

अरू केही खेलाडीहरूले पनि टीम छोड्ने हल्ला चलिरहेको छ। जसमा सुदूरपश्चिम रोयल्सका अमेरिकी खेलाडी हरमित सिंहको नाम थियो।

यद्यपि हरमितले आफू अब अन्तिम समयसम्म एनपीएलमा नै रहने सार्वजनिक घोषणा गरिसकेका छन्।

को को आए?

सोमवार दुई चर्चित खेलाडी एनपीएल खेल्न काठमाण्डू आइपुगेका छन्।

पहिले नै अनुबन्धित भइसकेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी विराटनगर किंग्समा र इङल्यान्डका ओपनर जेसन रोय पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगेका हुन्।

फाफ डूले विराटनगर किंग्सबाट खेल्दा टोलीलाई शुभम रन्जनेको अभाव मेट्न सक्ने छ। त्यस्तै रञ्जने गएपछि विराटनगरमा श्रीलङ्काका अलराउन्डर शेहान जयासुर्या आइसकेका छन्।

पोखराले जेसन रोय मात्र होइन, श्रीलङ्काका ब्याटिङ अलराउन्डर धनञ्जय रक्सन र भारतीय अलराउन्डर श्रृषी धवनलाई टोलीमा भित्राएका छन्।

किन आउँदै जाँदै

विश्व क्रिकेटका अन्य लीगहरूको समय जुधेकोले विदेशी खेलाडीहरूको आउने जाने क्रम चलेको हो।

दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी अबुधाबीको टी-१० लीग सकेर नेपाल आएका हुन्।

विशेषतः अबको एक महिना युएईमा आईएल टी-२० लीग हुन लागेकाले खेलाडीहरू उता लागेका हुन्। त्यसैले विदेशी खेलाडीले पहिले नै निश्चित खेलको लागि भनेर टोलीमा अनुबन्धित भएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।