जब नर्वेमा हजारौँ मानिसलाई दशौँ लाखको चिट्ठा पर्‍यो…तर समाचार झुटो ठहरियो

युरो ज्याकपट चिट्ठा

तस्बिर स्रोत, NurPhoto via Getty Images

तस्बिरको क्याप्शन, युरो ज्याकपट चिट्ठाका टिकटहरू कतिपय युरोपेली देशहरूमा बेचिन्छ(फाइल फोटो पोल्यान्डबाट)

कैयन् नर्वेलीहरूले अब आफूहरू लखपति भएको ठाने जब सरकारी स्वामित्वको जुवा खेलाउने कम्पनीले तिनलाई दशौँ लाखको चिट्ठा परेको सन्देश पठायो – तर पछि त्यो त त्रुटिवश पठाइएको भनियो।

'कैयन् हजार' मानिसहरूलाई युरोज्याकपट चिट्ठामा जितेको रकमको गलत परिमाण उल्लेख भएका सन्देश शुक्रवार पठाइएको नर्स्क टिपिङ कम्पनीले जनाएको छ।

ठ्याक्कै कति मानिसलाई त्यस्तो गलत खबर गरियो? भन्ने बीबीसीको प्रश्नको जबाफ दिन उक्त कम्पनीले अस्वीकार गरेको छ।

क्षमा याचना

नर्स्क टिपिङ् कम्पनीका प्रमुख कार्यकारी टोन्ये साग्सटुएनले उक्त घटनाबारे माफी माग्दै पदबाट राजीनामा दिएकी छन्।

कम्पनीका अनुसार युरोसेन्टलाई नर्वेजियन क्रोनरमा परिवर्तन गर्दा चिट्ठा रकम 'अति धेरै' हुन पुगेको हो। स्थानीय सञ्चारमाध्यमले रकमलाई १०० ले भाग गर्नु पर्नेमा १०० ले गुणन गरिएको उल्लेख गरेका छन्।

नर्स्क टिपिङ्ले जर्मनीबाट चिट्ठाको रकम युरोमा पाउँछ र त्यसलाई नर्वेजियन क्रोनरमा परिवर्तन गर्छ।

शनिवार साँझ चिट्ठामा जितेको रकमको परिमाण सच्च्याइएको थियो। कम्पनीका अनुसार त्रुटियुक्त रकम परिमाण कसैलाई बाँडिएको भने थिएन।

"म एकदमै क्षमा प्रार्थी छु कि यति धेरै मानिसहरूलाई हामीले निराश बनायौँ। मानिसहरू हामीसँग रिसाएको म बुझ्न सक्छु," साग्सटुएनले विज्ञप्ति जारी गर्दै बताइन्। 'विश्वासमा घात' भएकाले कम्पनीविरुद्धका 'आलोचनाको औचित्य रहेको' उनले बताइन्।

कतिपय मानिसहरूले चिट्ठा परेपछि विदा मनाउन जाने, घर साजसज्जा गर्ने वा नयाँ अपार्टमेन्ट किन्ने योजना बनाइसकेको भनेर आफूलाई कैयन् सन्देश प्राप्त भएको उनले बताइन्।

"उनीहरूसँग म केवल माफी माग्न सक्छु। मलाई थाहा छ त्यो सानो सान्त्वना मात्र हुनेछ।"

एकजना महिलाले नर्वेजियन ब्रोडकास्टिङ् कर्पोरेशन (एनआरके)सँग कुरा गर्दै आफूले १२ लाख क्रोनर (करिब १ लाख १९ हजार अमेरिकी डलर) जितेको भनेर सन्देश आएको बताइन्। तर खासमा उनले त्यसको एकदमै सानो अंश मात्र जितेकी थिइन्।

नर्स्क टिपिङ्को बोर्डले कम्पनी सञ्चालनको प्रशासक निकाय संस्कृति मन्त्रालयका अधिकारीहरूसँग शनिवार आकस्मिक बैठक गरेको थियो।

बैठकपश्चात् साग्सटुएनले प्रमुख कार्यकारीको पदबाट राजीनामा दिइन्।

उनी उक्त पदमा सन् २०२३ को सेप्टेम्बर देखि थिइन् भने नर्स्क टिपिङ् कम्पनीमा उनी सन् २०१४ देखि आबद्ध थिइन्।

"यहाँ कैयन् ठाउँमा गल्ती भएका छन्। यो मेरो जिम्मेदारी हो," उनले भनिन्।

कम्पनी छाड्नु पर्दा आफू 'दु:खी' भएको तर 'सुधारका प्रक्रियाहरू' थालिएकाले विश्वस्त पनि भएको उनले बताइन्।

संस्कृति तथा समानता सम्बन्धी मन्त्री लुब्ना जाफरीले एनआरकेसँग कुरा गर्दै 'त्यस्ता गल्ती हुन नहुने' बताइन्। नर्स्क टिपिङ् कम्पनीसँग नर्वेमा सो चिट्ठा खेलाउने एकल अधिकार रहेको छ।

"अवस्थालाई सुधार्न बोर्डले सक्रियतापूर्वक काम गर्ने छ भन्ने हाम्रो अपेक्षा छ," उनले भनिन्।

नर्स्क टिपिङ् कम्पनी विवादमा परेको यो पहिलो पल्ट भने होइन।

पछिल्ला महिनाहरूमा 'कैयन् गम्भीर त्रुटिहरू भएको फेला परेको' जनाउँदै कम्पनीले 'पछिल्लो एक वर्षमा निकै प्राविधिक समस्या पनि बेहोरेको' बताएको छ।

नियामक तथा ग्राहकहरूले आफूलाई 'धेरै आलोचना' गरिरहेको स्वीकार्दै कम्पनीले ती गुनासा 'औचित्यपूर्ण' रहेको बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।