रुसले युक्रेनमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जेलेन्स्कीको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको देशमा "नयाँ रुसी रकेट" ले हमला गरेको र त्यसमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)को "विशेषता" रहेको बताएका छन्।

टेलिग्राममा लेख्दै जेलेन्स्कीले लेखेका छन्, "गति, उचाइ जस्ता विशेषताले त्यो अन्तरमहादेशीय बलिस्टिक भएको [सङ्केत] गर्छ। परीक्षणहरू अहिले जारी छ। पुटिनले युक्रेनको भूमिलाई तालिम गर्नका लागि प्रयोग गरिरहेका छन् भन्ने यकिन छ।"

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरिएको भन्ने आरोपबारे रुसले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन।

टेलिग्राममा जेलेन्स्कीले लेखेका छन्, "आज हाम्रा सन्की छिमेकीले एकपटक फेरि उनी कस्ता छन् र कसरी उनले मानिसको जीवन, स्वतन्त्रता र मर्यादालाई तुच्छ सम्झिन्छन् भन्ने देखाएका छन्। साथै उनी कति डरपोक छन् भन्ने पनि उनले देखाएका छन्।

"उनी डराएकै कारणले नयाँ क्षेप्यास्त्रहरू प्रयोग गर्न थालिसकेका छन्।"

घटना किन महत्त्वपूर्ण

बीबीसी मनिटरिङका भिटाली शेफचेन्खो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रसँगै रुसले पश्चिमाहरूलाई सन्देश दिन खोजेको हुन सक्ने ठान्छन्।

"रुसले युक्रेनमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको सत्य हो भने, लडाइँमा प्रयोग भएको यस्तो क्षेप्यास्त्र यो पहिलो पटक हुने छ - यो युद्धमा मात्रै होइन, इतिहासमै," उनले भने।

मस्कोका अधिकारीहरूले लामो समयदेखि रुसविरुद्ध पश्चिमाहरूको अत्याधुनिक क्षेप्यास्त्रको प्रतिक्रिया जनाउने धम्की दिँदै आएका छन् र यो त्यही प्रतिक्रिया हुन सक्ने शेफचेन्खोले बताए।

पश्चिमाका लागि सन्देश यस्तो हुन सक्छ, 'हामीसँग क्षेप्यास्त्रहरू छन् र तिनीहरूले विश्वका जुनसुकै ठाउँमा हमला गर्न सक्छन् र तिनीहरूले परमाणु अस्त्रहरू पनि बोक्न सक्छन्।'

उनका अनुसार पूर्वीयुक्रेनस्थित सहर डिनिप्रोविरुद्ध प्रयोग भएका हतियारहरू भने परमाणुभन्दा पनि परम्परागत भएको देखिएको छ।

नयाँ, लामो दूरीको र थप शक्तिशाली क्षेप्यास्त्र प्रयोग गर्न मस्को तयार देखिँदा यो समाचार भने युक्रेनका लागि नराम्रो भएको उनले बताएका छन्।

अमेरिकाको आधिकारिक प्रतिक्रिया आउन बाँकी

युक्रेनले रुसले आफ्नो डिनिप्रोमा रहेको संरचनालाई लक्षित गरेर रुसले हमला गरेको जनाएको छ तर उक्त हमलाले ठ्याक्कै के क्षति पुर्‍यायो भन्ने स्पष्ट भएको छैन।

'आइसीबीएम' परमाणु युद्धशीर्ष प्रदान गर्न बनाइएको हो तर यो परम्परागत विस्फोटनहरूमा पनि काम लाग्छ र उच्च गतिमा हजारौँ किलोमिटर यात्रा गर्न सक्छ। रुसले गरेको यो हमलामा भने परमाणु युद्धशीर्ष परिचालन नगरिएको बताइएको छ।

यसैबीच बीबीसीको अमेरिकी साझेदार 'सीबीएस न्यूज'का अनुसार अमेरिकी नाम नखुलाइएका एक अधिकारीले युक्रेनमा प्रहार भएको क्षेप्यास्त्र बलिस्टिक भए पनि अन्तरमहादेशीय क्षेप्यास्त्र भने नभएको जनाएका छन्।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रबारे दाबी गर्नुअघि युक्रेनको हवाई फौजले पनि आइसीबीएम नै भएको जनाएको थियो।

तर अमेरिकी सरकारले यसबारे आधिकारिक प्रतिक्रिया भने जनाएको छैन।

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र के हो?

जुन क्षेत्रबाट प्रहार गरिन्छ, त्यहाँबाट हजारौँ किलोमिटर यात्रा गर्ने क्षमता बलिस्टिक क्षेप्यास्त्रहरूको हुन्छ।

खास गरी चार प्रकारका बलिस्टिक क्षेप्यास्त्रहरू हुन्छन् - छोटो दूरी, मध्यम दूरी, 'इन्टरमिडियट' दूरी र लामो दूरीका लागि छ्ट्टाछुट्टै।

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र( आइसीबीएम) सबैभन्दा लामो दूरीको क्षेप्यास्त्र हो जुन ५,५०० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्छ।

त्यसको अर्थ आइसीबीएमले टाढा रहेर पनि विश्वका जुनसुकै ठाउँका निसानामा हमला गर्न सक्छ।

बलिस्टिक क्षेप्यास्त्रहरू जेट इन्जिनको प्रयोगबाट पनि प्रहार हुन सक्ने क्रूज क्षेप्यास्त्रहरूभन्दा फरक हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।