राजेन्द्र लिङ्देन र धवल शमशेरबीचको त्यो सहकार्य, यो कित्ताकाट

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेता ज्ञानेन्द्र शाही र महामन्त्री धवल शमशेर राणा

तस्बिर स्रोत, Getty Images

    • Author, फणीन्द्र दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद चुलिँदै जाँदा उक्त दलका एकजना महामन्त्री धवल शमशेर राणाले गत महाधिवेशनमा अध्यक्ष बन्न 'राजेन्द्र लिङ्देनलाई सघाएर आफूले ठूलो भूल गरेको महसुस अहिले गरिरहेको' टिप्पणी गरेका छन्।

त्यस्तै, पार्टीमा आन्तरिक विवाद जारी रहँदा अध्यक्ष लिङ्देनले अनुशासनविपरीतका गतिविधि स्वीकार्य नहुने भन्दै नेतृत्व मन नपरेको खण्डमा महाधिवेशनसम्म पर्खन र विचार नमिलेको खण्डमा 'बाटो तताउन' ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष लिङ्देनले पार्टीका कतिपय वरिष्ठ नेतालाई जिम्मेवारीबाट पदमुक्त गरेपछि उक्त दलको एउटा पक्ष निर्वाचन आयोगसम्म पुगेको छ।

यो बीचमा पार्टी अध्यक्ष लिङ्देनले नियुक्त गरेकी केन्द्रीय अनुशासन समितिकी अध्यक्षले पार्टीको बृहत्तर हित र नीतिविपरीत कुनै पनि क्रियाकलाप नगर्न पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेकी छन्।

पूर्वाग्रह राखिएको आरोप

पछिल्ला दिनमा महामन्त्री राणासहित राप्रपाका कतिपय नेताहरूले सार्वजनिक रूपमा नै अध्यक्ष लिङ्देनको कार्यशैलीको आलोचना गरिरहेका छन्।

यो बीचमा राप्रपा अध्यक्षले पार्टीको अनुशासन विभाग प्रमुखमा रोशन कार्कीलाई मनोनीत गरेका थिए। उक्त कदम विधानविपरीत भएको भन्दै विगतमा अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदी निर्वाचन आयोग पुगेका छन्।

त्यसबाहेक उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट र सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट पनि लिङ्देनले हालै पदमुक्त गरेका थिए।

ती कदमहरूप्रति सार्वजनिक रूपमा रोष व्यक्त गर्नेमा राप्रपाका महामन्त्री धवल शमशेर राणा पनि हुन् जसलाई अघिल्लो वर्षको असोजमा सङ्गठन विभाग प्रमुखबाट हटाइएको थियो।

बीबीसीसँग कुरा गर्दै राणाले अध्यक्षको कदमले आफूहरूलाई निर्वाचन आयोग जान बाध्य बनाएको बताए।

उनले भने, "पार्टी अध्यक्ष भनेको अभिभावक नै हो। अभिभावकले सबैलाई मिलाउनुको सट्टा आफूसँग विमति राख्ने मान्छे, आफूलाई विरोध गर्ने मान्छे हटाउन थालेपछि बाध्य भएर हामीले यो कदम चाल्नुपरेको हो। अहिले पनि पार्टीको अजेण्डा प्रति हामी सकारात्मक छौँ र काम गरिरहेका छौँ।"

BBC
(अघिल्लो महाधिवेशनमा) राजेन्द्र लिङ्देनलाई अघि सारेर मैले ठूलो भुल गरेको रहेछु। यसबारेमा म अहिलेलाई यत्ति नै भन्छु
धवल शमशेर राणा
महामन्त्री, राप्रपा

तर राप्रपा अध्यक्ष लिङ्देन उक्त आरोपको प्रतिवाद गर्छन्। उनले बीबीसीसँग भने, "बाहिर आए जस्तो ठूलो समस्या होइन। यो खाली अनुशासनको र पार्टीभित्र जिम्मेवारी बाँडफाँटसँग सम्बन्धित विषय हुन्। पहिला जस्तै नेतृत्वलाई दबावमा राखेर आफू अनुकूल चलाउन खोज्ने प्रवृत्तिले शिर उठाउन खोज्छ तर त्यो प्रयत्न मात्रै हो।"

उनले थपे, "पार्टीमा विचार मिल्छ तर नेतृत्व मन पर्दैन भने महाधिवेशनसम्म पर्खनुपर्छ। विचार नै मिल्दैन भने बाटो तताउनुपर्छ भनेर मैले भनिसकेको छु। मलाई जहाँसम्म लाग्छ, फरक विचार राख्नेहरू हुनुहुन्न। नेतृत्व चित्त नबुझेको भए महाधिवेशन नजिकै छ, महाधिवेशनको सामना गर्न तयार रहनुहोस् भनेर म आग्रह गर्न चाहन्छु।"

महाधिवेशनअघि 'सफाइ'

राप्रपाका नेताहरू प्रकाश चन्द्र लोहनी, राजेन्द्र लिङ्देन र पशुपति शमशेर राणा एउटा प्रदर्शनमा झन्डा बोकेका कार्यकर्ताहरू माझ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, संस्थापन र असन्तुष्ट पक्षबीचको पछिल्लो विवाद‌मा पाका नेताहरूले मध्यस्थता गर्नसक्ने ठानिएको छ

राप्रपाको अहिलेको नेतृत्व २०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएको हो। अघिल्लो महाधिवेशनमा राप्रपा महामन्त्री राणाले अध्यक्षमा लिङ्देनलाई सघाएका थिए।

राणा भन्छन्, "प्रजातान्त्रिक प्रणालीमा पार्टीलाई चलाउनुपर्छ भन्ने मूल्य मान्यता बोकेर हामी यहाँ आएका हौँ। पहिला पनि नेताहरूले त्यस्तो गरेनन् भनेर विमति र विवाद हुँदै आएपछि मैले नै युवा नेतृत्वलाई धेरै प्रयास गरेर जिताएको हो।"

उनले थपे, "हाम्रो महाधिवेशन ५-६ महिनामा आउँदैछ। महाधिवेशनभन्दा पहिले सफाइ गर्न थालेपछि को जाने महाधिवेशनमा? यो सबैले घेर्दै गएपछि बाध्य भएर हामी निर्वाचन आयोगमा गएका हौँ। र यो कुरा बाहिर गएको हो। नत्र पार्टीभित्र नै सङ्घर्ष भइरहेको थियो।"

अघिल्लो महाधिवेशनको सहकार्य, अहिलेको कित्ताकाट

अघिल्लो महाधिवेशनमा नै आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताउने गरेका राणाले त्यसबेला आफ्ना नजिकका नातेदार पनि रहेका पशुपति शमशेर राणाले अन्तिम समयसम्म उक्त पदका लागि उम्मेदवारी दिने अडान राखेपछि आफू पछि हटेको सार्वजनिक रूपमा बताउँदै आएका छन्।

हाल राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापाविरुद्ध त्यसबेला लिङ्देनलाई आफूहरूको साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्दै पूर्वराजासँग पनि छलफल गरेको राणाले हालै एउटा अन्तर्वार्तामा खुलासा गरेका थिए।

बीबीसीसँग मङ्गलवार कुरा गर्दै राणाले भने, "राजेन्द्र लिङ्देनलाई अघि सरेर मैल ठूलो भूल गरेको रहेछु। यसबारेमा म अहिलेलाई यत्ति नै भन्छु। हामी आफ्नो पार्टीभित्रै सङ्घर्ष गर्छौँ। यही सङ्घर्षबाट पार्टीलाई पार लगाएर अघि बढ्छौँ," उनले भने।

राप्रपाको विधानले प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन हुने व्यवस्था गरेको छ।

अहिलेसम्म महाधिवेशनको मिति तय नभए पनि संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना अनि सङ्घीयता खारेजीको माग बोकेको उक्त दलले यसै वर्षभित्र महाधिवेशन गर्ने अपेक्षा राप्रपाका नेता कार्यकर्ताहरूले गरिरहेका छन्।

BBC
नेतृत्व चित्त नबुझेको भए महाधिवेशन नजिकै छ, महाधिवेशनको सामना गर्न तयार रहनुहोस्। जहिलेसम्म म नेतृत्वमा हुन्छु, पार्टीमा अनुशासन कायम गर्ने जिम्मेवारी मेरो हो
राजेन्द्र लिङ्देन
अध्यक्ष, राप्रपा

अध्यक्ष लिङ्देनले अहिले आफूले गरेका निर्णयहरूले महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्य नराखेको बताए।

उनले भने, "म छिटो छिटो महाधिवेशनको प्रक्रियामा समावेश हौँ र आफू आफूले पाएका जिम्मेवारीहरू पुरा गरौँ भन्ने अनुरोध गर्छु। महाधिवेशन लक्षित कुनै त्यस्तो क्रियाकलाप पार्टीभित्र गर्नुपर्ने जरुरी छैन। तर जहिलेसम्म म नेतृत्वमा हुन्छु, यसको अनुशासन कायम गर्ने जिम्मेवारी मेरो हो। त्यसकारण म त्यो पालना गराउँछु।"

लिङ्देनले बदमासी भएको खण्डमा आवश्यकता अनुसार पार्टीमा कारबाही र निलम्बन भइरहने पनि उल्लेख गरे।

राप्रपाको पछिल्लो विवादलाई महाधिवेशन अघि दलभित्र देखा परेको शक्ति सङ्घर्षको रूपमा पनि कतिले अर्थ लगाइरहेका छन्।

काठमाण्डू चाबहिल नजिकको गौरीघाट क्षेत्रको घरमा बीबीसीसँग कुरा गर्दै राजावादी नेता तथा पूर्वमन्त्री नवराज सुवेदी
तस्बिरको क्याप्शन, पार्टी सदस्यता त्यागेको घोषणा गरेर 'संयुक्त जनआन्दोलन समिति'का संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन आयोगको संयोजक पदबाट हटाइएको कारण उत्पन्न भएको विवाद निर्वाचन आयोगसम्म पुगेको छ

महामन्त्री राणाले आगामी महाधिवेशनमा नेतृत्व दाबीबारे सरसल्लाहपछि मात्रै आफ्नोतर्फबाट निर्णय आउने बताए।

"साथीहरूले जे भन्छन्, म त्यसका निम्ति तयार रहनेछु। सबै साथीहरूले तैँ लड्नुपर्छ भने भने म पछाडि हट्ने मान्छे होइन। तर म एक्लै लड्छु भनेर अघि सर्ने मान्छे पनि होइन।"

अध्यक्ष लिङ्देनले महाधिवेशनको मिति घोषणा नै नभएकाले कुनै टुङ्गोमा नपुगेको भन्दै आफू पार्टीको भावी नेतृत्वको विषयमा खुल्ला रहेको बताए।

उनले थपे, "म नै अध्यक्ष हुनुपर्छ भन्ने छैन। सहमति भयो सरसल्लाह भयो र राम्रो नेतृत्व आयो भने अर्कोलाई अध्यक्ष मानेर पनि जान सकिन्छ। पद आफैँले पाउँदामात्र चल्छ, राम्रो हुन्छ भन्ने होइन। आवश्यकता पर्‍यो साथीभाइ सबैले दोहोर्‍याएर जिम्मेवारी लिँदा राम्रो हुन्छ भन्ने भयो भने फेरि जिम्मेवारी लिएर जान पनि सकिन्छ। बेला आएपछि भनिन्छ, अहिले त्यो बेला भएको छैन।"

राप्रपा नेपालसँगको सहकार्य

राप्रपा नेपालका अधयक्ष कमल थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, केशरबहादुर विष्टसहितका नेताहरू जनआन्दोलन घोषणा सभा कार्यक्रममा।
तस्बिरको क्याप्शन, राजसंस्था पक्षधर दल र शक्तिहरूबीच विभाजन र एकताको लामो शृङ्खला छ

राप्रपा भित्रको संस्थापन र असन्तुष्ट दुवै समूहका नेताहरूलाई बीबीसीले राप्रपा नेपालसँगको सम्भावित सहकार्यबारे पनि सोधेको थियो।

महाधिवेशन अघि पार्टी एकताको सम्भावनाबारेको प्रश्नमा अध्यक्ष लिङ्देनले भने, "अहिले नै हामी त्यो दिशामा पुगेका छैनौँ। तर असम्भव छैन।"

महामन्त्री राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग 'आत्मीय सम्बन्ध' रहेको बताउँदै आफू नेतृत्वमा पुगेको खण्डमा सबै राजावादी, राष्ट्रवादी, हिन्दूवादी र सङ्घीयता विरोधीलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताए।

उनले थपे, "अहिले कतै जाने, अरूसँग मिल्ने पार्टी फोड्ने कुनै सोच हामीमा छैन। तर भित्तैमा टास्न थाले भने के हुन्छ म भन्न सक्दिनँ। हामी अहिलेलाई पार्टीभित्रै सङ्घर्ष गर्छौँ।"

नेपालमा राजसंस्थावादी दलहरूबीच विभाजनको लामो श्रृङ्खला रहेकाले कतिपय राजनीतिक पर्यवेक्षकहरूले राप्रपाभित्र देखा परिरहेको पछिल्लो विवादलाई सामान्य मानेका बुझिन्छ।

हाल राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभाको पाचौँ ठूलो दल हो र उक्त दलसँग १३ जना सांसदहरू छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।