गणतन्त्र पक्षधर भन्छन् 'गणतन्त्र बलियो छ तर जोखिममा पनि'

तस्बिर स्रोत, RSS
- Author, शरद केसी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
एमालेका पूर्वउपाध्यक्ष भीम रावल गृह जिल्ला अछाममा छन्। समाचारको निम्ति प्रतिक्रिया लिन बीबीसीले बुधवार अपराह्न सम्पर्क गर्दा उल्टो उनमा काठमाण्डूको घटनाक्रमबारे चासो देखियो।
काठमाण्डूको केन्द्र भागमा राजसंस्था पक्षधरहरू भेला भइरहेका थिए। त्यही बेला सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि प्रदर्शन आयोजना गरिरहेको थियो।
पूर्वउपप्रधानमन्त्री रहिसकेका रावल अहिलेको राजनीतिक व्यवस्था चुनौती र जोखिमले घेरिइसकेको देखिरहेका छन्। "देश पनि सङ्कटापन्न अवस्थामा छ जस्तो लाग्छ," उनले भने, "मैले गाउँ बस्तीहरूमा पनि अब राजा आए पनि हुन्छ भन्ने आवाज फैलिरहेको देख्छु त्यसको निम्ति कुशासन जिम्मेवार छ।"
उनी 'यो व्यवस्था काम लागेन, नेताहरूले सिद्ध्याए भन्ने राजसंस्था पुनर्स्थापना फर्काउन खोज्नेहरूको धारणा ठिकै हो कि भन्ने जनमानसमा पर्ने सम्भावना प्रबल' देखिरहेका छन्।
दोस्रो विकल्प मतपत्रबाट प्रकट हुने उनी देख्छन्।

तस्बिर स्रोत, RSS
"त्यो भएन भने निर्वाचनमा स्वतन्त्र लगायतका मानिसहरू अगाडि आउँदा यी दलहरू विरुद्ध मत दिन सक्ने सम्भावना देखिन्छ," नेता रावलले आफूले देखिरहेको तेस्रो विकल्पबारे चर्चा गर्ने क्रममा शिक्षा, यातायात, उद्योग र उत्पादन लगायतका क्षेत्रमा व्यापक असन्तुष्टि रहेको उल्लेख गरे, "यस्तो बेला कसैले जनतालाई सङ्गठित गरेमा आम रूपमा शासक विरुद्ध विद्रोहको अवस्था सृजना भएको पनि विभिन्न देशमा देखिन्छ। नेपाल पनि कतै त्यता जाँदै त छैन भन्ने सङ्केत पनि देखिन्छ।"
गणतन्त्रवादी भएर लामो समय राजनीति गरेका उनलाई पार्टीले निष्कासित गरेको छ।
उनलाई निष्कासन गर्ने पार्टी एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग भने गणतन्त्रको जग किन बलियो छ भन्ने तर्कहरू छन्।
गणतन्त्रको जग कसरी बलियो?

"जनआन्दोलनमा लाखौँ जनता सडकमा उत्रिए अनि फरक बिचार भएका कम्युनिस्ट र कांग्रेस मिलेर ल्याएको गणतन्त्र हो। प्रक्रियागत रूपमा संविधानसभाबाट घोषणा गरियो," ज्ञवाली भन्छन्, "तत्कालीन राजाले पनि त्यो आदेश स्वीकार गर्दै दरबार छाडे अनि सरकारले पनि उनको सुरक्षा र आवासको व्यवस्था गरेको हो। त्यसैले यसको जग बलियो छ।"
परम्परागत राजतन्त्रको नेतृत्व गरिरहेको राजा वीरेन्द्रको वंश विनाश हुनु, संवैधानिक राजतन्त्रको अभ्यास गरिरहेका राजा ज्ञानेन्द्रले सत्ता हातमा लिनुले संवैधानिक राजसंस्थाको निरन्तरताको सान्दर्भिकता अन्त्य भएकोमा नेता ज्ञवाली जोड दिन्छन्।
गणतन्त्रात्मक संविधान जारी गर्दा एक ठाउँमा आएका दलहरू एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्र अझैँ पनि समावेशी सिद्धान्त, धर्म निरपेक्षता र समाजवाद उन्मुख विशेषता सहितको सङ्घीय गणतान्त्रिक नेपालको संविधानको रक्षाको पक्षमा एक ठाउँमै छन्।
उनी (राजावादी) हरूले त अहिले धमिलो पानीमा माछा मार्न जाल लिएर उत्रिएका छन्, त्यो जसले पनि गर्छ, पानी धमिलो बनाउने को हो? एक पछि अर्को गर्दै सत्तामा बस्नेहरू हुन्
माओवादी केन्द्रका सचिव राम कार्की पनि अहिले गणतन्त्रको जरो बलियो रहेको विश्वास व्यक्त गर्छन्। उनको बिचारमा राजतन्त्र विरुद्धको सङ्घर्ष जनजाति र दलित समुदायमा शिक्षाको चेतना पुग्ने अङ्ग जस्तो बन्न पुग्यो। त्यस्तै मूलतः सामाजिक रूपमा राजतन्त्रात्मक हाइरार्की (सोपान) नरहेको ठान्ने उनी त्यसै कारण पनि गणतन्त्रको जग बलियो भएको ठान्छन्।
"राजसंस्था विकल्प होइन। तर पार्टीहरूमा हिजो पञ्चायत कालमा प्रतिबन्धित अवस्थामा रहेको जस्तै आन्तरिक लोकतन्त्रको हत्या गणतन्त्रमा भएपछि असन्तुष्टि देखा परेको हो।" कार्की आशावादी सुनिन्छन्, "प्रगतिशील विकल्प दिन नसके पश्चगामी विकल्प सधैँ हाबी हुन्छ, खोजेर ल्याउनु पर्दैन। तर नवीनतम विचार सोच र शैली लिएर नयाँ राजनीति आउँछ जस्तो लाग्छ।"
गणतन्त्रमा जोखिमको चर्चा: 'मूल नेतृत्व कारक'

तस्बिर स्रोत, RSS
गणतन्त्र दिवसको उपलक्ष्यमा नेकपा एकीकृत समाजवादी पार्टीले राखेको कार्यक्रममा नेता झलनाथ खनालले वर्तमान सत्ताका नेतृत्वकर्ताहरूप्रति चर्को असन्तुष्टि जनाए।
'उनीहरूकै कारण गणतन्त्रको आधारभूत चरित्र हरण भएको' आरोप पनि उनले लगाए।
"यो गणतन्त्र केही मुठ्ठी भरका बिचौलियाको निम्ति थिएन, यो गणतन्त्र मुठ्ठी भरका दलाल पुँजीपति वर्गका निम्ति मात्र स्थापना गरिएको होइन, यो गणतन्त्र विभिन्न किसिमका भ्रष्टहरूको हितका निम्ति स्थापना गरिएको थिएन, तर हाम्रो देशको गणतन्त्र आम जनताको गणतन्त्र भइरहेको छैन," पूर्वप्रधानमन्त्री खनाल भन्छन्, "हिजोका सामन्त परिवर्तित दलाल पुँजीपतिको गणतन्त्र बनिरहेको छ, शोषकहरूको गणतन्त्र बनिरहेको छ, काला बजारिया र तस्करहरूको गणतन्त्र बनिरहेको छ।"
उनको ठम्याइमा जनतामा निराशा छ, देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले सङ्कटग्रस्त छ। तर 'राजावादी र पुनरुत्थानवादीहरूबाट गणतन्त्र खतरामा नरहेको' उनको विश्वास छ।
"उनीहरूले त अहिले धमिलो पानी भयो र माछा मार्न जाल लिएर उत्रिएका छन्। त्यो जसले पनि गर्छ। धमिलो पानी बनाउने को हो?" नेता खनालले आफै जबाफ दिए, "अहिले एक पछि अर्को गर्दै सत्तामा बस्ने र जनता तथा राष्ट्रको हित विपरीत काम गर्ने, यिनै कारणले गर्दा यो पुँजीवादी गणतन्त्र हो, त्यै पनि खतरामा परेको छ।"
तर एमाले नेता ज्ञवाली गणतन्त्रको आगमनयताको राजनीतिक अभ्यासका क्रममा विभिन्न क्षेत्रमा धेरै ठूलो परिवर्तन र विकास भएको ठान्छन्।

तस्बिर स्रोत, Getty Images
"गणतन्त्रले जनताको चेतना बढाउँछ र आलोचनात्मक चेतको स्वाभाविक विकास हुन्छ। त्यसैले अहिले असन्तुष्टि देखिएको छ," उनी बचाउ गर्छन्, "जनता गणतन्त्रको विरुद्धमा होइन, पार्टीहरूले जनताको अहिलेको आवश्यकताअनुसार प्रगतिको बाटो समाउन नसकेको हो। शासन र व्यवस्थाको नेतृत्व गर्दा हुने कमी कमजोरीप्रतिको जनताको असन्तुष्टि हो, व्यवस्था विरुद्धमा होइन।"
लाखौँ जनता सडकमा आए, संविधानसभाबाट घोषणा गरियो, त्यो स्वीकार गर्दै राजाले दरबार छाडे, कम्युनिस्ट र कांग्रेस मिलेर ल्याएको गणतन्त्र हो, यसको जग बलियो छ
अभ्याससँगै आएको अवसर: सकारात्मक कि नकारात्मक?

तस्बिर स्रोत, RSS
उनी गणतन्त्रको विकल्प नरहेकोमा विश्वस्त छन्।
"त्यसो भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइँदैन। त्यो जोखिममा पर्न पनि सक्छ," अहिले पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताउँदै उनी भन्छन्, "हाम्रा कमजोरी छन्। आत्मसमीक्षा गर्दै सच्याउनु पर्छ। गणतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन।"
गणतन्त्रवादी नेताहरू राज्यको शासकीय पुनर्संरचना, समावेशी चरित्र, धर्म निरपेक्षता जस्ता विशेषताले पनि गणतन्त्रलाई संस्थागत अनि बलियो बनाउन सहयोग गरिरहेको विश्वास गर्छन्।
राज्यका विभिन्न तह र तप्कामा विभिन्न जातजाति र समुदायका मानिसहरूले अवसर पाएको देखिन्छ।
स्थानीय तह र प्रादेशिक संरचनाको बलमा जनता नजिक सरकार पुर्याउने प्रयास भइरहेको नेताहरू बताउँछन्। तर अनावश्यक शासकीय संरचनाले राज्य कोषमा थापिएको आर्थिक भारको तुलनामा जनतालाई परिणाम दिन नसकेको भन्ने आलोचना पनि सुनिन्छ।
शासन प्रणाली जनताको हित, भावना, आकाङ्क्षा र आवश्यकताअनुसार सञ्चालन भएन भने व्यवस्थाको नाम राम्रो राख्दैमा जनताले प्यारो मानिरहन्छ भन्ने कुरा इतिहासले देखाउँदैन
पिछडिएका वर्ग, लिङ्ग, जाति, समुदाय र क्षेत्रका मानिसहरूको निम्ति परिकल्पना गरिएको समानुपातिक प्रणालीको दुरुपयोगको आलोचना गर्दै नेता भीम रावल भन्छन्, "तर त्यो मिचियो, ठूला नेताका पत्नी, नातेदार, आसेपासे र चर्चामा आए अनुसार कतिपयले मोटो रकम दिएर नेतालाई खुसी पार्नेहरूले त्यो लाभ लिए।"
उनी त्यसमा ठूलो सुधारको खाँचो देख्छन्। "तर अहिले प्रमुख दल खास गरी कांग्रेस र एमालेको नेतृत्वमा रहेकाबाट त्यो सम्भव हुने आशा कसैले नगरेको" उनको दाबी छ।
"शासन प्रणाली जनताको हित, भावना, आकाङ्क्षा र आवश्यकताअनुसार सञ्चालन भएन भने व्यवस्थाको नाम मात्रै राम्रो राख्दैमा जनताले प्यारो मानिरहन्छ भन्ने कुरा नेपालको इतिहासले पनि देखाउँदैन, संसारको इतिहासले पनि देखाउँदैन," नेता रावल गणतन्त्र जोखिममुक्त नरहेको पनि औँल्याउँछन्।
प्रगतिशील विकल्प दिन नसके पश्चगामी विकल्प सधैँ हाबी हुन्छ, तर नवीनतम विचार, सोच र शैलीको राजनीति आउँछ जस्तो लाग्छ
राजावादीलाई सुझाव: 'राजा खोज्न गणतन्त्रवादी पार्टीमा पस'
कतिपय आलोचकहरू राजसंस्था फर्काउन 'आन्दोलन गर्ने अगुवाहरूको अनुहारमा पनि आकर्षण नरहेको' ठान्छन्। उनीहरूका बिचारमा राजावादीहरू आफै पनि विभाजित छन्, युवालाई आकर्षित गर्न सकिरहेका देखिन्न।
माओवादी नेता राम कार्की 'राजनीतिक संस्कृतिमा गणतन्त्र नझल्केपनि राजनीतिक रूपमा भने गणतन्त्र बलियो रहेको' ठान्छन्।

"समाजमा गणतन्त्र छ। तर राजनीतिमा र नेतामा छैन," उनी व्यङ्ग्य गर्छन्, "राजतन्त्र नेताको परिवारमा सरेको जस्तो देखिन्छ।"
उनका भनाइमा भारत लगायत अन्य देशको तुलनामा नेपालमा सामन्तवादको इतिहास र जरो कमजोर छ।
"तर सनातन धर्म आदिले थुपारेको जुन संस्कृति छ, राजा फाले पनि त्यो कहीँ न कहीँ बाँच्न खोज्दो रहेछ। त्यस कारण त्यो संस्कृति खोज्नेहरूले चिन्ता गर्नु पर्दैन," नेता कार्की हाँस्दै भन्छन्, "ज्ञानेन्द्र शाहको वरिपरि दौडिएर (राजा) खोजिरहेकाहरू अरू पार्टीमा गए त पाइहाल्थे त। अझ छोटो अवधिमा।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








