विशाल चिनियाँ घरजग्गा कम्पनी एभर्ग्रान्ड शेअर बजार सूचीबाट हट्यो

निर्माणाधीन अग्ला भवनहरूअगाडि एउटा दुईपाङ्ग्रे सवारीसाधनमा बसेकी चिनियाँ महिला

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, एभर्ग्रान्ड कुनै समय चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनी थियो
    • Author, पीटर हस्किन्स
    • Role, व्यापार संवाददाता, बीबीसी न्यूज

विशाल चिनियाँ घरजग्गा कम्पनी एभर्ग्रान्डको शेअर १५ वर्षपछि पहिलो पटक हङ्‌कङको शेअर बजारबाट हटाइएको छ।

कुनै बेला चीनको सबैभन्दा ठूलो उक्त घरजग्गा कम्पनी एभर्ग्रान्डको शेअर बजारमा ५० अर्ब अमेरिकी डलरभन्दा बढी कुल मूल्याङ्कन हुने गर्थ्यो। ऋणको भरमा अस्वाभाविक उन्नति गरेको उक्त कम्पनी ठूलो ऋणभारका कारण नराम्ररी धराशायी हुन पुग्यो।

विज्ञहरू उक्त कम्पनीलाई सूचीबाट हटाइने कदम अपरिहार्य र अन्तिम भएको बताउँछन्।

"एक पटक सूचीबाट हटाइएपछि फिर्ता आउने कुनै सम्भावना छैन," चीनको राजनीतिक जोखिम परामर्शदाता कम्पनी यूरेशिया ग्रूपका निर्देशक डान वाङ भन्छिन्।

एभर्ग्रान्ड यतिखेर विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा वर्षौँदेखि उत्पन्न सङ्कटमा उस्को भूमिकाको लागि निकै चिनिएको छ।

एभर्ग्रान्डमा भएको के हो?

केही वर्षअघि मात्र एभर्ग्रान्ड समूह चीनको आर्थिक चमत्कारको एक ज्वलन्त उदाहरण थियो।

चीनको सामान्य ग्रामीण परिवेशबाट आएका यसका संस्थापक तथा अध्यक्ष हुई का यान सन् २०१७ मा फोर्ब्सले सार्वजनिक गर्ने एसियाका धनाढ्य व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा पुगेका थिए।

सन् २०१७ मा अनुमानित ४५ अर्ब अमेरिकी डलर रहेको उनको सम्पत्ति हाल घटेर एक अर्बभन्दा कममा पुगेको छ। व्यक्तिगत रूपमा पनि उनको सार्वजनिक पतन कम्पनी खस्केको जस्तै असाधारण खालको छ।

सन् २०२४ को मार्चमा हुईलाई आफ्नो कम्पनीको आम्दानी वास्तविकभन्दा बढाइचढाइ गरेर प्रस्तुत गर्दै ७८ अर्ब अमेरिकी डलर देखाएकोमा ६५ लाख अमेरिकी डलर जरिवाना तिराइनुका साथै चीनको पुँजी बजारमा आजीवन प्रतिबन्ध लगाइएको थियो।

लिक्विडेटरहरूले हुईको व्यक्तिगत सम्पत्तिबाट ऋणदाताहरूको लागि पैसा फिर्ता गर्न सकिन्छ कि भनेर समेत खोजी गरिरहेका छन्।

एभरग्र्यान्डेले चीनको सबैभन्दा सफल फुटबल क्लबको स्वामित्व लिएको थियो

तस्बिर स्रोत, AFP via Getty Images

आफू धरासायी भएको समयमा एभार्ग्राण्डसँग चीनभरि २८० सहरमा झण्डै १,३०० परियोजनाहरू विकास भइरहेका थिए।

व्यापकस्तरको यो व्यापारिक साम्राज्यमा एक विद्युतीय कार निर्माता र चीनको सबैभन्दा सफल फुटबल टोली- ग्वाङ्झाउ एफसी पनि समावेश थियो जो यस वर्षको सुरुमा आफ्नो ऋण तिर्न असफल भएपछि फुटबल लीगबाट निस्काशनमा परेको थियो।

एभरग्रान्ड ३०० अर्ब अमेरिकी डलर ऋण सापटी लिएर निर्माण गरिएको थियो र त्यसले विश्वको सबैभन्दा ऋणी घरजग्गा कम्पनीको पहिचान समेत बनाएको थियो।

ठूला घरजग्गा व्यवसायीहरूले ऋण लिन पाउने रकममा नियन्त्रण गर्ने गरी बेइजिङले सन् २०२० मा नयाँ नियमहरू ल्याएपछि यो समस्या सुरु भएको थियो।

ती नयाँ उपायहरूले एभरग्रान्डलाई आफ्नो व्यवसायलाई निरन्तरता दिन पैसा आइरहेको सुनिश्चित गर्न ठूल्ठूला छुटमा आफूले बनाएका घरहरू विक्रीमा राख्न बाध्य बनायो।

ब्याज तिर्न सङ्घर्ष गर्न परेको उक्त कम्पनीले छिटै नै आफ्नो केही विदेशी ऋणहरूको साँवाव्याज तिर्ने म्याद गुजार्यो।

कति छ ऋण?

एभरग्र्यान्डेका मालिक हुई का यान कुनै समय एसियाकै सबैभन्दा धनी व्यक्ति थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एभरग्रान्डका मालिक हुई का यान कुनै समय एसियाकै सबैभन्दा धनी व्यक्ति थिए

वर्षौँको कानुनी लडाइँपछि सन् २०२४ को ज्यानुअरीमा हङकङको एक उच्च अदालतले सो कम्पनी बन्द गर्न आदेश दिएको थियो।

अदालतको उक्त आदेशपछि कारोबार हुनबाट निलम्बित एभरग्रान्डको शेअरहरू त्यसबेलादेखि नै सूचीबाट हट्ने जोखिममा थिए।

त्यसबेलासम्म उक्त कम्पनीलाई घेरेको सङ्कटले यसको शेअर बजार मूल्याङ्कनमा ९९ प्रतिशतभन्दा बढी कमी भैसकेको थियो।

कम्पनीले अर्बौँ डलरको विदेशी दायित्व चुक्ता गर्नका लागि व्यावहारिक योजना प्रस्ताव गर्न असमर्थ भएपछि त्यसलाई 'लिक्विडेसन'मा लैजाने आदेश आएको हो।

यस महिनाको सुरुमा लिक्विडेटरहरूले एभरग्रान्डको ऋण हाल ४५ अर्ब अमेरिकी डलर रहेको र यसले अहिलेसम्म केवल २५ करोड ५० लाख डलरको सम्पत्ति मात्र बेचेको खुलासा गरेका थिए।

उनीहरूले यस व्यवसायलाई पूर्ण रूपमा स्वस्थ तुल्याउने काम 'असम्भवजस्तै हुने' बताए।

"अहिले डिलिस्टिङ पक्कै पनि प्रतीकात्मक छ तर यो एउटा कोसेढुङ्गा हो," वाङ भन्छिन्।

ड्यूक विश्वविद्यालयका प्राध्यापक शितोङ किआओका अनुसार टाट पल्टिएको सम्बन्धी यस प्रक्रियामा कुन कुन लगानीकर्ताहरू भुक्तानी प्राप्त गर्न सफल हुन्छन् र उनीहरूले कति पाउन सक्छन् भन्ने कुरा मात्र बाँकी छ।

अर्को लिक्वीडेसन सुनुवाइ सेप्टेम्बरमा हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।