तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यूकेको रक्षा मन्त्रालयले अमेरिकी सेनालाई पठाउनुपर्ने इमेल रुसको सहयोगी देशमा पठायो
- Author, रिचल रसेल र साइमन जोन्स
- Role, बीबीसी न्यूज
टाइप गर्दा भएको त्रुटिका कारण गोप्य जानकारीहरू समेत रहेको इमेल रुसको निकट सहयोगी देशलाई पठाइएपछि यूकेको रक्षा मन्त्रालयले उक्त घटनाबारे छानबिन सुरु गरेको छ।
ती इमेलहरू अमेरिकी सेनालाई पठाउन लागिएका थिए। अमेरिकी सेनाले आफ्नो डोमेन नेम ‘डट एमआईएल’ (.mil) प्रयोग गर्छ।
तर इमेल ठेगाना टाइप गर्ने क्रममा आई (i) छुटेपछि ती सन्देशहरू पश्चिम अफ्रिकी राष्ट्र मालीमा पुगे।
ब्रिटिश रक्षा मन्त्रालयले २० भन्दा कम इमेलहरू "गलत ठेगाना"मा पठाइएको जनाएको छ। तर ती इमेलमा "गोप्य वा अति गोप्य" कुराहरू नभएको उसको भनाइ छ।
उसले एउटा ट्वीट गर्दै ती इमेलहरू "नियमित" खालका भएको र तिनले "परिचालनसम्बन्धी सुरक्षा वा प्राविधिक डेटाको खुलासा नगरेकोमा" आफू विश्वस्त रहेको जनाएको छ।
"थोरै मात्रामा इमेलहरू त्रुटिका कारण गलत इमेल ठेगानामा पठाइएपछि हामीले त्यसबारे अनुसन्धान सुरु गरेका छौँ," रक्षा मन्त्रालयका एक जना प्रवक्ताले पीए समाचार संस्थालाई भनेका छन्।
प्रक्रियाबारे समीक्षा
ती प्रवक्ताले आफूहरूले प्रयोग गर्ने सबै खाले संवेदनशील जानकारीलाई "गलत दिशातर्फ जाने जोखिमलाई कम गर्न डिजाइन गरिएको प्रणालीमा शेअर गरिएको" पनि बताए।
"रक्षा मन्त्रालयले आफ्ना प्रक्रियाको निरन्तर समीक्षा गर्छ र हाल सूचना व्यवस्थापन, डेटा हराउने कार्यको रोकथाम र संवेदनशील जानकारीको नियन्त्रणमा सुधार गर्ने कार्यक्रम चलिरहेको छ," उनले भने।
यसै महिनाको सुरुमा त्यस्तै खालको त्रुटिका कारण अमेरिकी रक्षा मन्त्रालयबाट पनि लाखौँ सैन्य इमेलहरू मालीमा पठाइएको थियो।
तीमध्ये केही इमेलमा पासवर्ड, मेडिकल रेकर्ड र शीर्ष अधिकारीहरूका यात्रा कार्यक्रम लगायतका संवेदनशील जानकारी समावेश भएको ठानिएको थियो।
मालीसँग रुसको साइनो
यसै महिनाको सुरुमा युक्रेनसँगको ब्ल्याक सी सम्झौता टुटेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नि:शुल्क अन्न ढुवानी गर्ने वाचा गरेका ६ वटा अफ्रिकी देशहरूमध्ये माली पनि एक हो।
रुसको नौसेनाले सन् २०२२ फेब्रुअरीमा आक्रमण गरेपछि युक्रेनको ब्ल्याक सी बन्दरगाहहरूमा नाकाबन्दी गर्यो।
त्यसपछि त्यहाँ दुई करोड टन अन्न फसेको थियो। त्यो अन्न निर्यातको लागि त्यहाँ पुगेको थियो।
उक्त घटनाका कारण मध्यपूर्व र अफ्रिकी देशहरूमा खाद्यान्न अभाव उत्पन्न भएको थियो।
माली रुसको निकट सहयोगी देश पनि हो किनभने उक्त देशमा मस्कोका भाडाका सैनिक वाग्नर लडाकुहरूलाई जिहादी समूहविरुद्ध त्यहाँको सेनासँग मिलेर लड्न उक्त देशमा तैनाथ गरिएको छ।
यसै साताको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मालीका रक्षा मन्त्री, वायुसेना प्रमुख र उपप्रमुखलाई पश्चिम अफ्रिकी देशमा वाग्नरको विस्तारमा समन्वय गर्न गरेको आरोप लगाउँदै उनीहरूमाथि प्रतिबन्ध लगाउने बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।