कस्ता शब्द असंसदीय? भाषाबारे संसद्‌मा बेलाबेला चर्काचर्की पर्नुका कारण

प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसद अमरेशकुमार सिंह (बायाँ) र महेश बर्तौला

तस्बिर स्रोत, House of Representatives

तस्बिरको क्याप्शन, केही दिन अघि प्रतिनिधिसभाको बैठकमा सांसद अमरेशकुमार सिंह (बायाँ) र महेश बर्तौला
    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटबारे छलफल चल्दै गर्दा केही दिन अघि एक सांसदले दिएको अभिव्यक्तिलाई आपत्तिजनक ठहर्‍याउँदै सभामुखले रेकर्डबाट हटाउन आदेश दिएसँगै पुन: एकपटक संसद्‌मा प्रयोग हुने भाषाबारे चर्चा भइरहेको देखिन्छ।

लामो समय नेपाली कांग्रेसको राजनीति गरी पछिल्लो संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिई जितेका अमरेशकुमार सिंहले प्रधानमन्त्री, मन्त्री तथा सत्ता गठबन्धनका शीर्ष नेताका निर्वाचन क्षेत्रमा अस्वभाविक रूपमा बजेट विनियोजन गरिएको भन्दै "बाँकी जिल्ला छिमेकी देशहरूलाई 'लिज'मा दिए हुने" बताएका थिए।

उनको अभिव्यक्तिप्रति नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गरेसँगै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइलाई रेकर्डबाट हटाउन आदेश दिए। "माननीयको आशय जे भए पनि पाँचवटा बाहेक अन्य जिल्लालाई नाम लिएरै अरूलाई दिए हुन्छ भन्नुभएको छ। अंससदीय भाषाको प्रयोग भएको भन्ने कुरालाई ध्यानमा राखेर यसलाई रेकर्डबाट हटाउन निर्देशन दिन्छु," घिमिरेले आदेशका क्रममा भनेका थिए।

आफ्नो अभिव्यक्तिलाई रेकर्डबाट हटाउन भनिएपछि सांसद सिंहले सभामुखले दलीय हिसाबले निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए। "सबै जिल्लामा बजेट किन नगएको भनेर किन निर्देशन दिनुहुन्न?," सिंहको प्रश्न थियो, "बजेट पनि नजाने, बोल्न पनि नपाउने?"

नाराबाजीबीच बैठक अघि बढाउँदै सभामुख घिमिरेले सिंहलाई निर्धारित विषयमा केन्द्रित भएर बोल्न सचेत गराएका थिए।

संसद् भनेकै बहसको थलो भएकाले बेलाबखत सांसदहरूका शब्द चयन, भाषा तथा कतिपय अभिव्यक्तिका सम्बन्धमा चर्काचर्की हुने गरे पनि त्यसलाई अस्वभाविक ठान्न नहुने तर बहसलाई मर्यादित बनाउनेतर्फ सम्बन्धित सबै सचेत भने हुनु पर्ने जानकारहरू बताउँछन्।

अभ्यास

सङ्घीय संसद्

तस्बिर स्रोत, RSS

प्रतिनिधिसभा वा राष्ट्रियसभामा सदस्यहरूले प्रयोग गरेका शब्दबारे बहस तातेको र रेकर्डबाट हटाइएको यो पहिलो घटना होइन।

प्रधानमन्त्रीकै अभिव्यक्तिमाथि समेत सांसदहरूले आपत्ति जनाएपछि रेकर्डबाट हटाउन आदेश गरिएका नजिरसमेत छन्।

पाँच वर्षअघि तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको उत्तर दिने क्रममा "आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको" जबाफ आफूले नदिने बताएसँगै आफ्नो प्रश्नलाई होच्याएको भन्दै प्रतिपक्षी सांसदहरूले चर्को विरोध गरेपछि त्यतिखेरका सभामुख कृष्णबहादुर महराले ओलीका "संसदीय मर्यादाअनुकूल नरहेका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन" दिएका थिए।

संसद् सचिवालयले सदनमा सांसदहरूका अभिव्यक्तिको अडिओ रेकर्डसँगै त्यसलाई शब्दमा उतारेर 'भर्बेटिम' अर्थात् अक्षरशः अभिलेखसमेत राख्ने गर्छ। "समामुखले रेकर्डबाट हटाउन आदेश दिएका खण्डमा सोही अभिलेखबाट ती शब्दहरू हटाइन्छन्," संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले भने।

लामो समय संसदीय मामिलाबारे कलम चलाएका पत्रकार हरिबहादुर थापा नेपालमा संसदीय अभ्यास सुरु भएदेखि नै सत्ता पक्षकाले विपक्षीका र विपक्षीले सत्तापक्षका मानिसहरूले प्रयोग गरेका कतिपय शब्दलाई असंसदीय भन्ने गरेको बताउँछन्। "सोह्र सालदेखि नै त्यस्तो अभ्यास देखिन्छ, त्यतिखेर 'भ्रष्टाचार', 'लुटपाट' 'डाँकु', 'गुन्डा' जस्ता शब्द पनि असंसदीय मानिन्थे," उनले भने, "पञ्चायतकालमा पनि केही शब्दहरूमाथि बहस भएका छन्। पछिल्लो संसदीय कालखण्डमा पनि बहसका क्रममा प्रयोग भएका शब्दहरू हटाइएका २५ भन्दा धेरै उदाहरण छन्।"

नियम

प्रतिनिधिसभा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, (फाइल) प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभामा हुने गतिविधिहरूलाई प्रतिनिधिसभा नियमावली, २०७९ले निर्देशित गर्छ।

उक्त नियमावलीको नियम २० र २१ मा क्रमश: बैठकमा पालना गर्नुपर्ने नियम र छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमहरूको सूची समावेश छ।

त्यसमा 'अशिष्ठ, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने' भनिएको छ।

त्यसप्रतिकूल हुने शब्दहरू सभामुखले रेकर्डबाट हटाउने आदेश दिन सक्छन् तर त्यसरी कुनै शब्द हटाइएमा त्यसबारे सदनलाई जानकारी गराउने चलन छ।

उपल्लो सदन राष्ट्रिय सभामा पनि यस्तै प्रकृतिको व्यवस्था छ।

"हामीले प्रयोग गर्न नहुने शब्दहरू किटेर सूची भने बनाएका छैनौँ," सङ्घीय संसद्‌का महासचिव पाण्डेले भने, "समयसँगै समाजले भाषाको एउटा स्तर तय गरेको हुन्छ, भलै त्यो अलिखित हुन्छ। हामीले समाजमा प्रचलित त्यही अभ्यासलाई मापदण्ड मानेर हेर्ने हो र आपत्तिजनक शब्दहरूलाई असंसदीय ठान्ने हो।"

"शब्द आफैमा संसदीय वा असंसदीय नहुन पनि सक्छ। जस्तै कुनै माननीयले रोस्ट्रममा उभिएर अर्का माननीयलाई 'चोर' भने भने त्यो असंसदीय भयो तर उनी सांसदले 'हिजो फलानो ठाउँमा चोरी भएछ, चोरलाई किन सजाय गरिएन' भनेर सोधे भने त्यही शब्द फेरि संसदीय भयो।"

संघीय संसदका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईका अनुसार विसं २०४८ सालमा संसद्‌मा प्रयोग गर्न नहुने 'असंसदीय शब्दहरू'को सूची बनाएर अभ्यास गर्न खोजिएको थियो।

"त्यतिखेरका संसद्‌का सचिव जीवनलाल सत्यालले असंसदीय शब्दहरूको सूची बनाएर सांसदहरूलाई वितरण गर्नुभएको थियो, यद्यपि त्यो आधिकारिक सूची थिएन," भट्टराईले भने, "उहाँसँग राष्ट्रिय पञ्चायतको पनि अनुभव थियो र त्यसैका आधारमा उहाँले केही दर्जन शब्द, वाक्यांश र उखानहरूलाई त्यसमा समेट्नुभएको थियो।"

'संसद्‌भित्र' नामक सत्यालको पुस्तक विसं २०४८ सालमा संसद् सचिवालयले नै प्रकाशन गरेको पाइन्छ।

"… बोल्ने, अभिव्यक्ति दिने काम नै यहाँभित्र प्रमुख काम भए तापनि यहाँ बोल्ने विश्वव्यापी रूपमा परम्परा–पोषित तौरतरिका, स्थापित नियम र काइदा हुन्छन्। संसदीय भाषा सशक्त तर संयमित, स्पष्ट तर शालीन र सञ्चार–सक्षम र शोभनीय हुनु पर्दछ," उक्त पुस्तकको 'असंसदीय अभिव्यक्ति' खण्डमा सत्यालले लेखेका छन्, "हाम्रो भाषा र दैनिक बोलीचालीमा कतिपय शब्द, उच्चारण, वाक्यांश, वाक्पद्धति, उखान आदि असंसदीय खालका हुन्छन्। त्यस्ता असंसदीय अभिव्यक्तिहरूको पहिचान पहिलेदेखि नै भइराखेमा संसदीय बोलाइ स्तरीय तथा शोभनीय तुल्याउनमा अलिकति भए पनि सघाउ पुग्न सक्ने देखिन्छ…"

त्यसपछि उनले केही दर्जन उदाहरण प्रस्तुत गरेका छन्, जसमा अश्लील अर्थ दिने तथा द्विअर्थी, स्त्रीद्वेषी, जातविशेषसँग सम्बन्धित, हेप्ने तथा होच्याउने किसिमका शब्द, टुक्का तथा उखानहरू समेटिएका छन्।

राजनीति

संसद्

तस्बिर स्रोत, RSS

कतिपय जानकारहरू संसदीय अभ्यासका क्रममा सभामुख र सांसदहरूले नै नियमहरूको मर्यादा नराख्दा समस्या उत्पन्न हुने गरेको बताउँछन्।

"पक्ष-विपक्षको प्रस्तुति आफ्नो ठाउँमा छ, तर सभामुखको आसनमा बस्नेहरू राजनीतिबाट पृथक् रहन नसक्दा पनि समस्या हुने गरेको छ। हाम्रा धेरै सभामुखहरू त्यस्ता भए," पूर्वमहासचिव भट्टराईले भने, "उनीहरूलाई आफ्नो कर्तव्य र निष्पक्ष कार्यसम्पादनबारे जानकारी नभएको भने होइन।"

सांसदहरूले सामाजिक सञ्जालमा ध्यान खिच्न पनि अमर्यादित र चर्को अभिव्यक्ति दिने गरेको कतिपयको ठम्याइ छ तर पूर्वमहासचिव भट्टराई भने त्यसमा सहमत छैनन्।

"सामाजिक सञ्जाल नहुँदा पनि हामीले त्यस प्रकारका प्रस्तुति देखेकाले म सामाजिक सञ्जाललाई दोष दिन चाहन्नँ," उनले भने।

"अमर्यादित तरिकाले संसद् सञ्चालन हुने कुरा सांसद तथा संसद् र सरकारको नेतृत्वमा भएका व्यक्तिहरूको आचरणको कुरा पनि हो। अन्यत्रको संसद्‌मा सांसदहरूले आफ्ना तर्क, बहस र प्रस्तुतिमा आफ्नो क्षमता देखाउँछन्। यहाँ हाम्रोमा कतिपय सांसदहरू उद्दण्ड तथा चर्को बोली, उग्र शारीरिक हाउभाउमा कहिलेकाहीँ त लुगै फुकालेर प्रस्तुत भएका उदाहरण पनि छन्। आचरणमा ध्यान नदिँदासम्म जस्तोसुकै नियम वा मापदण्ड बनाए पनि योभन्दा फरक परिणामको अपेक्षा गर्न कठिन छ।"

बहस

संसद्

तस्बिर स्रोत, Parliament Secretariat

महिलासँग सम्बन्धित, जातविशेषसँग सम्बन्धित र कुनै कालखण्डमा बहुप्रचलित तथा सामान्य ठानिने शब्दहरू अर्को समयमा गएर असभ्य लाग्न सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने पत्रकार थापा बताउँछन्।

उनी असंसदीय शब्दहरूको सूची नै बनाइनुपर्ने धारणा राख्छन्।

"संसद् भनेको आदर्शको थलो हो। त्यहाँ प्रयोग हुने भाषा सभ्य हुनुपर्छ, जुन भाषाशैलीबाट नागरिकले पनि सिकून् र नयाँ आउने जनप्रतिनिधिहरू पनि त्यसबारे संवेदनशील बन्न सकून्," थापाले भने, "अघिल्लो पुस्ताले सजिलैसँग प्रयोग गर्ने कतिपय भाषाहरू अहिलेको समयमा उपयुक्त नदेखिन पनि सक्छन्। त्यसैले त्यस्ता कुराहरू लिपिबद्ध हुनुपर्छ।"

छिमेकी राष्ट्र भारतमा लोकसभाले असंसदीय शब्दहरूको सूची बनाएर संसद्‍मा तिनको प्रयोग गर्न बन्देज लगाउँदै आएको छ तर सत्तापक्षले विपक्षीले प्रयोग गर्ने शब्दहरू छानेर असंसदीयको सूचीमा राखिदिएको आरोप विपक्षीहरूले लगाउँदै आएका छन्।

संघीय संसदका महासचिव पाण्डे सूची बनाउने सन्दर्भमा नेपालमा दुईथरी बहस भइरहेको बताउँछन्।

"संसद्‍मा आपत्तिजनक भाषा प्रयोग हुनुहुँदैन, अमर्यादित वा असंसदीय शब्दहरू हटाउनुपर्छ भन्ने एकथरीका मान्छेहरूको विचार देखिन्छ भने केहीले चाहिँ सांसदहरूले प्रयोग गरेको भाषा रेकर्डबाट हटाउन नहुने मत राख्छन् ता कि भोलि सोधकर्ताहरूले खोज्दा त्यसबारे थाहा पाउन सकून्।"

"हामीकहाँ त्यस्तो सूची बनाउने तयारी नभए पनि काम गर्दै जाँदा कहिलेकाहीँ त्यसको आवश्यकता भने महसुस हुन्छ," पाण्डेले भने।

'पहिलो संसद्' नामक पुस्तकका लेखक जगत् नेपाल नेपालमा संसदीय अभ्यास गर्न थालेको यतिका समय बित्दा पनि संसद् र त्यहाँ हुने बहसको स्तर बढ्न नसकेको टिप्पणी गर्छन्।

"समयक्रममा त्यो परिस्कृत हुँदै जानुपर्ने हो, तर त्यस्तो देखिँदैन," उनी भन्छन्, "बोल्ने अभ्यास नभएका सांसद्हरूको मुखबाट कहिलेकाहीँ अन्जानमै अमर्यादित शब्दहरू निस्किनु भिन्दै कुरा हो, तथापि सांसदहरूका निम्ति खँदिलो किसिमको प्रशिक्षणको व्यवस्था गरियो भने असंसदीय शब्दहरूको प्रयोग रोकिनुका साथै बहसको स्तरसमेत बढ्न सक्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।