तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतीय विमान अपहरणको २५ वर्ष : 'नेपाली विमानस्थलमा भारतको अतिरिक्त सुरक्षा जाँच अब नगर्दा राम्रो'
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
पच्चीस वर्ष अगाडि काठमाण्डूबाट विमान अपहरण भएपछि भारतको अनुरोधमा राखिएको अतिरिक्त सुरक्षा जाँच अब आवश्यक नरहेको नेपाल सरकारका प्रवक्ताले बताएका छन्।
"विगतमा नेपालको सुरक्षाप्रति भारतीय विमानसेवालाई धेरै विश्वास नभएको बेला त्यो सहमति भएको हो। अहिले म त्यसलाई आवश्यक ठान्दिनँ। त्यो नगर्दा राम्रो हुन्छ किनभने हामीले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेका छौँ," सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बीबीसीसँग भने।
तपाईँ काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै भारतीय विमान चढेर भारततर्फ जाँदै हुनहुन्छ भने आज पनि तपाईँले एउटा अतिरिक्त सुरक्षा जाँच झेल्नुपर्छ।
विमानस्थलभित्रको स्वाभाविक अध्यागमन तथा सुरक्षा जाँच सकेर विमान चढ्ने बेलामा तपाईँले फेरि सुरक्षा जाँचको अर्को चरण पार गर्नु पर्छ – त्यो पनि विमानको ढोकै छेउ अनि विमानस्थलको जमीनभन्दा अढाइ फिटमाथि जहाँ भारतीय सुरक्षाकर्मीले एकसरो जाँच गर्छन्।
उक्त अतिरिक्त सुरक्षा जाँचले २५ वर्षअघिको विमान अपहरणको घटनाले दुई छिमेकी देशको सम्बन्धमा पारेको नकारात्मक असरको तुस अझै नमेटिएको देखाउने नेपाली विश्लेषकहरूले बताउँदै आएका छन्। भारतीय विश्लेषकहरूले चाहिँ दुई देशबीच अविश्वास रहेकोभन्दा पनि अद्वितीय सम्बन्धको प्रतीकका रूपमा यसलाई हेर्नुपर्नेमा जोड दिने गर्छन्।
सन् १९९९ को डिसेम्बर २४ का दिन इन्डिएन एअरलाइन्सको उडान नम्बर ८१४ को एअरबस विमान अपहरण हुँदा त्यतिखेर नेपालमा भारतका राजदूतका रूपमा थिए कृष्ण भी राजन। उनी नेपालमा सबभन्दा लामो समय भारतीय राजदूतको कार्यभार सम्हाल्नेमा पर्छन्।
"यसको निरन्तरता भनेको सुरक्षा व्यवस्थाप्रति अविश्वास होइन कि केही भइहाल्ला कि भनेर अपनाइएको एउटा सावधानी हो," राजनले बीबीसीलाई बताए।
अर्का भारतीय विश्लेषक अतुल ठाकुर भन्छन्, "खुला सिमाना तथा अद्वितीय रणनीतिक अवसर तथा चुनौती रहेका दुई देशबीच आवश्यकतामा आधारित प्रबन्धका रूपमा यसलाई हेरिनु पर्छ।"
तात्कालीक असर
"त्यो घटनापश्चात् नेपाललाई लिएर भारतको सुरक्षा सम्वेनदशीलता बढेकै हो। घटनाको छानबिनका बेला पनि भारतका तर्फबाट विभिन्न दबाव आएका थिए," उक्त घटनाको सरकारी छानबिन समितिका सदस्य एवं पूर्व गृहसचिव खेमराज रेग्मीले भने।
अपहरण लगत्तै भारतले इन्डिएन एअरलाइन्सको नेपालसँगको सम्पूर्ण उडान रोकिदिएको थियो। पाँच महिनापछि भारतीय विमानको काठमाण्डू उडान पुन: सुरु भयो तर त्यसका लागि नेपालले विमानस्थलमा माथि उल्लिखित थप सुरक्षा प्रबन्धको अनुमति दिनु परेको थियो।
तर त्यो घटनापश्चात् नेपाली विमानस्थलहरूमा नेपाल स्वयम्ले गर्ने सुरक्षा प्रबन्ध तथा जाँचको व्यवस्था पनि कडा पारिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
"विगतमा भन्दा हामीले सुरक्षा व्यवस्थामा धेरै सुधार गरेका छौँ। त्यो घटनाले हामीलाई यस्ता सुरक्षाका विषयमा एकदमै सम्वेदनशील रहनुपर्ने पाठ सिकाएको छ," मन्त्री गुरुङले भने।
"आफ्नो तर्फबाट त्यस्ता घटना दोहोरिन नदिनेमा हामी विश्वस्त छौँ," उनले भने।
उनको सो भनाइमा भारतका पूर्वराजदूत केभी राजन पनि सहमत सुनिन्छन्।
"दुवै देशमा जस्तासुकै राजनीतिक रङ्गका सरकार आए पनि सहकार्य राम्रो रहेको छ। त्यसैले, आज यो विश्वास गर्नको लागि पर्याप्त स्थान छ कि कसैलाई पनि २५ वर्षअघि क्रिसमसको अघिल्लो दिन भएको जस्तो दुर्भाग्यपूर्ण घटना पुनः दोहोर्याउन निकै गाह्रो छ," राजनले भनेका छन्।
घटनाको प्रभाव – 'सुरक्षा संवेदनशीलता बढ्यो'
खुला सिमानाले जोडिएको नेपालसँग भारतको बहुआयामिक सम्बन्ध रहँदै आएकोमा सुरक्षाले प्रमुखता पाउन थालेको अनुभव विश्लेषकहरूले गरेका छन्।
"त्यो घटना साम्य बनाउन भारतले जस्तो सम्झौता गर्यो र जस्ता मानिसलाई उसले रिहा गर्नु पर्यो त्यसले कैयन् वर्षसम्म दक्षिण एसियामा आतङ्कवादको नयाँ लहर नै ल्याइदिएको थियो," सुरक्षा मामिलाका जानकार विश्लेषक तथा कान्तिपुर दैनिकका पूर्व प्रधानसम्पादक सुधीर शर्मा भन्छन्।
अपहरणको अन्त्य गराउन भारतले उसका जेलमा रहेका तीनजना बन्दीलाई रिहा गर्नु परेको थियो। ती तीन बन्दीहरूले पछि भारतीय संसद्मा हमला जस्ता कैयन् आतङ्ककारी कार्य गरेको दिल्लीले बताउँदै आएको छ।
पूर्व भारतीय राजदूत राजनको विचारमा चाहिँ सुरक्षा भारत-नेपाल सम्बन्धको मुख्य एजेन्डा बनेको सन् १९४७ मा भारत स्वतन्त्र भएपछि देखि नै हो।
"त्यस समयमा चिनियाँहरूको हिमालको दक्षिणतर्फ कस्तो नियत रहला भन्ने मुख्य चिन्ता थियो। तिब्बतमा चिनियाँ क्रियाकलाप, अनि नेपाल, भुटान र भारतका केही भागहरू समावेश गरेर माओले चीनका "पाँच औँलाहरू" भनेर टिप्पणी गरेका विषय थिए," उनले बताए।
नब्बेको दशकसम्म आइपुग्दा खुला सीमा वारपार हुने हतियार, लागुऔषधको तस्करी तथा आतङ्कवादी गतिविधिहरूमा ध्यान केन्द्रित भएको उनले बताए।
तर अपहरणको घटनाले दुई देशको सम्बन्धमा धक्का पुर्याएको उनले स्वीकार गरे।
"विमान अपहरण भारतीय जनमतका लागि ठूलो झट्का थियो र दुवै देशका नीति निर्माताका लागि एक चेतावनी पनि। कुनै शङ्का छैन कि नागरिक समाजको स्तरमा सद्भावको ह्रास भएको थियो भने राजनीतिक एवं सरकारी स्तरमा विश्वासको स्खलन भएको थियो," राजनले भने (विस्तृत अन्तर्वार्ता तल पढ्नुहोस्)।
अर्का भारतीय विश्लेषक अतुल ठाकुर उक्त अपहरणको षडयन्त्र नै एकातिर "भारत र नेपालबीच विकसित विश्वासमा आधारित द्विपक्षीय सम्बन्धको स्वाभाविक मार्ग भत्काउन, अनि अर्कोतिर कुख्यात आतङ्कवादीहरूलाई भारतीय नियन्त्रणबाट रिहा गराउन" गरिएको ठान्छन्।
"भारतले उसको सामरिक स्वार्थमा ठूलो मूल्य चुकाएर उक्त घटना अन्त्य भयो। तर भारतविरुद्ध तेस्रो पक्षलाई आफ्नो भूमि दुरुपयोग गर्न नदिने एक छिमेकी मित्रको रूपमा नेपाल रहिरहने तथ्यमा (हाम्रो) आशा र विश्वास छ," ठाकुरले भने।
क्रिसमसदेखि नयाँ वर्षको पूर्वसन्ध्यासम्म के के भए?
सन् १९९९ डिसेम्बर २४ को अपरान्ह करिब १८० यात्रुसहितको इन्डिएन एअरलाइन्सको आइसी ८१४ विमानलाई काठमाण्डू विमानस्थल छोडेको केही समयमै हरकत-उल-मुजाहिद्दिन नामक समूहका पाँचजना अपहरणकारीहरूले कब्जामा लिन्छन्।
दिल्ली जानुपर्ने जहाज पहिले भारतको अमृतसर अनि पाकिस्तानको लाहोर र त्यसपछि संयुक्त अरब इमिरेट्सको दुबई हुँदै अफगानिस्तानको कान्दाहारमा पुगेर बिसाइन्छ।
"प्लेनमा खानाको प्याकेट खोल्नै नपाउँदै एक्कासी होहल्ला गर्दै हामीलाई घोप्टो पर्न भनियो। सुरुमा त यो विमानमा धेरै नवविवाहित जोडीहरू भएकोले सायद गरगहना लुट्न पो आएका हुन् कि जस्तो लागेको थियो," उक्त विमानका एकजना नेपाली यात्रु सञ्जय धितालले सम्झिए।
श्रीमति रोजिना पाठकसित बिहे भएको एक महिनापनि नबित्दै उनी पत्नीसहित आफ्नो कार्यस्थल पाकिस्तान तर्फको यात्रामा थिए।
"तर पछि जब अपहरणकारीहरूले आफूहरू कश्मीरी मुसलमान भएको बताए अनि मलाई अब उनीहरूको माग भारत सरकारले पनि सितिमिति पूरा गर्दैन होला भन्ने लाग्यो। त्यसपछि हाम्रो ज्यान साँच्चिकै जोखिममा परेको भान भयो," उनले भने।
सातौँ दिन चाहिँ आफ्नो सातो नै गएको उनी सम्झन्छन्। "भारत सरकारसँग वार्ता नमिलेको भन्दै अपहरणकारीहरूले एक्कासी स्वचालित बन्दुक यात्रुहरूमाथि तेर्स्याएका थिए," उनले भने।
तर केही घण्टापछि स्थितिले फेरि कोल्टे फेरेको थियो र भोलिपल्ट डिसेम्बर ३१ मा उनीहरू एक साता लामो कान्दाहार बसाइपछि दिल्ली फर्कन पाएका थिए।
पाकिस्तानको पेशावरमा आम्दा नामक जापानी गैरसरकारी संस्थाको प्रमुखको रूपमा कार्यरत उनी कामको सिलसिलामा अफगानिस्तानका दुर्गम भेगमा पनि स्वास्थ्य सेवा पुर्याउन गइरहन्थे। त्यो कुरा थाहा पाएपछि 'चीफ' भनिने अपहरणकारीको नाइकेले उनलाई जहाजको ककपिटमा बोलाएर हालचाल सोधेको उनी सम्झन्छन्।
"त्यसपछि उनीहरूको मिजास मप्रति नरम भएको थियो। के चाहिन्छ भनेर सोध्दा मैले पानी मागेको थिएँ।"
हुन पनि काठमाण्डूबाट अपहरण गरेर लगेदेखि उनीहरूले यात्रुहरूलाई न खाना न पानी गरेर सास्ती दिएर राखेका थिए।
"अपहरण गरेको भोलिपल्ट बिहान बल्ल प्लास्टिकको गिलासमा पानी र केही बिस्कुट दिएका थिए। त्यसपछि कान्दाहारमा पुगेपछि चिसो भात र राजमा तरकारी दिए," उनले सम्झिए।
यात्रुलाई हँसाए तर आफ्नै हाँसो खोसियो
उक्त भारतीय विमानमा सवार यात्रुहरूमाझ सबैभन्दा चर्चितमध्येका एक थिए काठमाण्डूका पश्मिना व्यापारी गजेन्द्रमान ताम्राकार।
"अपहरणमुक्त भएर फर्किएपछि उहाँको मुहारमा पहिले जस्तो चमक आएन। एकदम रमाइलो ख्यालठट्टा गर्नुपर्ने मानिस बिरामी पर्दै जानु भयो। केही वर्षमै ह्रृदयाघात भएर उहाँको ज्यान गयो," उनकी पत्नी मिरा ताम्राकारले बीबीसीलाई बताइन्।
ठूलो ज्यानका उनी हँसाउने कलाकारका रूपमा पनि चिनिन्थे।
तर अपहरणका बेला जे भयो त्यसले उनको हाँसो सदाको निम्ति खोसिदिएको पत्नी मिराले बताइन्।
अपहरणका बेला ताम्राकारले दु:खी यात्रुहरूलाई हँसाएर मनोरञ्जन गराएको धिताल सम्झन्छन्। "हिन्दी फिल्म शोलेको डायलग सुनाउने देखि अपहरणकारीहरूकै पनि नक्कल गरेर उनले हँसाए। तर एकजना अपहरणकारीको नक्कल गर्दा ती रिसाए र ताम्राकारको टाउकोमा पेस्तोलको पछाडिको भागले हिर्काउँदा उनलाई चोट नै लाग्यो। त्यसपछि उनी चुपचाप बस्न थाले," उनले भने।
त्यसबेला विमानभित्र मात्र होइन बाहिरको दुनियाँमा पनि ताम्राकारलाई मानसिक चोट पर्ने घटनाहरू भएका थिए।
खासगरि भारतीय सञ्चार माध्यमहरूले उनी पनि एक अपहरणकारी भएको भन्ने आधारहीन समाचार फैलाएका कारण उनको परिवारले तनाव झेल्नु पर्यो। तत्कालीन परराष्ट्रमन्त्री डा रामशरण महतले कोही पनि नेपाली नागरिक अपहरणमा सामेल नभएको भनेर सञ्चार माध्यमलाई भन्नु परेको थियो।
"त्यो घटनापछि वहाँको सक्रियता पनि कम भयो। पश्मिनाको व्यापार पनि खत्तम भयो। कतै जाँदा पनि जानु भएन," मिरा ताम्राकारले सुनाइन्।
विमानबाहिर मच्चिएको बबन्डर
शुक्रवार अपराह्ण अपहरित भएको सो विमानभित्र यात्रुहरू त्रासमा थिए भने बाहिर पनि बबन्डर मच्चिएको थियो।
"एकदम अत्यासलाग्दो वातावरण थियो। एकातिर भारतीय सञ्चारमाध्यमहरूले नेपाली पक्षको सुरक्षा कमजोरीलाई बढाइचढाइ गरेर प्रस्तुत गरेका थिए भने भारतले कुनै कारबाही नै पो गर्ला कि नेपालविरुद्ध भन्ने डर पनि थियो," उक्त घटनालगत्तै नेपाल सरकारले गठन गरेको छानबिन समितिका सदस्य एवं पूर्व गृहसचिव खेमराज रेग्मीले भने।
भोलिपल्टै शनिवार नेपालको मन्त्रिपरिषद्ले घटनाको छानबिन गरेर सुझाव दिन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो।
तत्कालै भारतले उसका विमान नेपाल आउन रोकिदिएको थियो जुन क्रम पाँच महिनासम्म चल्यो।
त्यतिखेर नेपालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए भने भारतमा बीजेपीका नेता अटल बिहारी वाजपेयी प्रधानमन्त्री थिए। राजनीतिक नेतृत्वबीच हार्दिकतापूर्ण सम्बन्ध त थियो तर उक्त घटनाले त्यसमा पनि प्रभाव पारेको ठानियो।
"दिल्लीका शीर्ष नेता, प्रधानमन्त्री वाजपेयी समेतले यस घटनालाई नेपाली राजनीतिक नेतृत्वले पर्याप्त गम्भीरताका साथ नलिएको महसुस गरेका थिए," भारतीय राजदूत राजनले बीबीसीलाई बताए।
नेपालभित्र चाहिँ भारतले उक्त सङ्कटको उचित व्यवस्थापन गर्न नसकेकाले काठमाण्डूमाथि दोष थोपरेको भावना व्याप्त रहेको सम्झँदै उनले त्यसलाई 'भारतीय सञ्चार माध्यमले राम्रै मलजल गरेको' बताए।
आफ्नो किताब 'काठमाण्डू क्रोनिकल्स' मा राजनले विमान अपहरणको घटनाले भारतीय जनताको नजरमा रहेको नेपालको सदभावका साथै उसको छवि र आत्मसम्मानमा धक्का पुगेको उल्लेख गरेका छन्। तर त्यसको 'दोषको केही भाग दिल्लीको पनि रहेको' उनले इँगित गरेका छन्।
"नयाँ दिल्लीले पनि नेपालको दानवीकरणका प्रयासलाई प्रोत्साहन हुने किसिमका लापरवाही देखाएको थियो – भारतीय नेताहरूका वक्तव्य र दोषारोपणमार्फत्, जो स्पष्ट रूपमा आफ्ना सरकारको कमजोर व्यवस्थापनबाट ध्यान हटाउन गरिएका थिए," राजनले लेखेका छन्।
त्यतिखेरको एउटा घटना सम्झँदै उनले नेपाललाई बदनाम गर्ने कोसिस कस्तासम्म भएका थिए भनेर उल्लेख गरेका छन्। दिल्लीले त्यहाँको एक नाम चलेको सञ्चारमाध्यमलाई रिपोर्टिङ्का लागि काठमाण्डू विमानस्थलका सबै इलाकामा पहुँच दिलाउन आफूलाई अनुरोध गरेको र आफूले पनि राजदुतका हैसियतले आवश्यक अनुमतिका निम्ति प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अनुरोध गरेर व्यवस्था मिलाइदिएको उनले लेखेका छन्।
तर पछि उक्त सञ्चार माध्यमले अपहरणको घटनापश्चात् पनि 'काठमाण्डूको विमानस्थलको सुरक्षा यति फितलो रहेको छ कि टेलिभिजन रिपोर्टर त्यहाँका अति सम्वेदनशील क्षेत्रमा बेरोकटोक आउजाउ गर्न सकेको छ' भन्ने आशयमा समाचार सम्प्रेषण गरेको उनी सम्झन्छन्।
त्यसको आफूले विरोध गर्दा कुनै सुनुवाइ नभएको र घटनाका कारण तात्तिएको वातावरणमा दुई देशको विशेष सम्बन्धमा दीर्घकालीन प्रभावको वास्ता नगरिएको देखिएको उनले उल्लेख गरेका छन्।
के निष्कर्ष थियो छानबिन समितिको?
विमानस्थलमा 'सुरक्षा कमजोरी भएकै कारण विमान अपहरण जस्तो घटना हुन सकेको' देखिए पनि छानबिन समितिले त्यस्तो कमजोरी कसले कसरी गर्यो भनेर किटान गर्न चाहिँ सकेन।
"ती अपहरणकारीहरूले सामान्य यात्रुले प्रयोग गर्ने बाटो र प्रक्रिया नै अवलम्बन गरेको देखियो। सुरक्षा जाँचमा उनीहरूलाई रोकिएन," समिति सदस्य खेमराज रेग्मीले भने।
छानबिनकै दौरान आफूहरूले विमानस्थलको सुरक्षा जाँच्न गरेको प्रयास सम्झँदै उनले भने, "समितिको अध्यक्ष पूर्व प्रहरी महानिरीक्षकसँग रहेको हतियार पनि विमानस्थलका जाँचकीले पत्तो लगाएनन्।"
त्योबेला विमानस्थलमा जडान गरिएका १६ वटा सीसीटिभी क्यामेरामध्ये केवल ४ वटा मात्र चालु हालतमा रहेको समितिले पाएको थियो।
जाँचकीहरूलाई उचित तालिमको अभाव भएको देखि लिएर सम्वेदनशील क्षेत्रमा जथाभावी पास बाँडेर अनावश्यक व्यक्तिहरूलाई पहुँच दिइएका जस्ता विषयहरू समितिको प्रतिवेदनमा उठाइएका थिए।
प्रतिवेदनले ठाउँ ठाउँमा मेटल डिटेक्टर तथा एक्स रे मेसीनहरू राख्नु पर्ने अनि कर्मचारीहरूलाई हवाई सुरक्षा तालीम दिनुपर्ने सुझाव दिएको थियो।
छानबिनका बेला प्रकाशमा आएको अर्को विषय चाहिँ घटनाको एक डेढ महिना अगावै 'विमान अपहरण हुन लागेको सूचना आफूले पाएको' भनेर तत्कालीन पर्यटन सहायकमन्त्री नारायणसिंह पुनले बताएको तर उक्त सूचना बमोजिम हवाई सुरक्षा समिति क्रियाशील नभएको वा अन्य सुरक्षात्मक कदम चालेको नपाइएको भन्ने रह्यो।
"त्यत्रो सम्वेदनशील विषयमा राजनीतिक नेतृत्व गैरजिम्मेवार भएको देखिएको थियो," रेग्मीले भने। मन्त्री पुनको निधन भइसकेको छ।
हरिबाबु चौधरी त्यतिबेला राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थिए। खुफिया सूचना सङ्कलन तथा विश्लेषणको जिम्मा पाएको विभाग पनि सो घटनाका बेला चनाखो नपाइएको आलोचना भएका थिए।
"यस्तो घटना हुन सक्छ भनेर गाइँगुइँ कुरा चलेको भए पनि कुनै ठोस सूचना हामीसँग थिएन। तर सुरक्षामा कमजोरी भएको र विमानस्थलमा लापरबाही भएको चाहिँ पक्कै हो," चौधरीले बीबीसीलाई बताएका छन्।
अपहरणका ती आठ दिन आफ्नो निम्ति धेरै तनावपूर्ण रहेको सम्झँदै उनले आ-आफ्नो जिम्मेदारीबारे सबैले पाठ सिकेको बताए।
"हाम्रो समितिले पत्ता लगाएको एउटा कुरा चाहिँ के हो भने उक्त अपहरणमा कुनै नेपाली अधिकारी वा सुरक्षा कर्मचारीको कुनै किसिमको सुनियोजित संलग्नता पाइएन। सुरक्षामा लापरवाही भएको चाहिँ देखियो," रेग्मीले भने।
सुरक्षा मामिला विश्लेषक तथा पत्रकार सुधीर शर्मा पनि यसलाई नेपालको राज्य प्रणालीमा व्याप्त 'कुनै कुरालाई गम्भीरतापूर्वक नलिने, लापरवाही दोहोर्याइरहने' प्रवृत्तिसँग जोड्छन्।
अधिकारीहरूले अहिले नेपालको विमानस्थलको सुरक्षा बलियो बनाइएको बताइरहँदा बेलाबेला त्यहाँबाटै भएका भनिएका सुन तस्करीका विवरणहरूले कमजोरीहरू पूरै सम्बोधन भइनसकेको देखाउने सुरक्षा मामिलाका जानकारहरूले बताएका छन्। भविष्यमा अप्रिय घटना हुन नदिन त्यस्ता कमजोरी बेलैमा सम्बोधन गरिहाल्न उनीहरूले सुझाव दिएका छन्।
केभी राजनसँगको अन्तर्वार्ता
नेपाल मामिलाका जानकार भारतीय कूटनीतिज्ञ के भी राजन हालसम्मकै सबभन्दा लामो अवधि नेपालमा राजदूतको कार्यभार सम्हाल्ने व्यक्ति पनि हुन्। उनी सन् १९९५ देखि २००० सम्म काठमाण्डूमा खटिएका थिए। उनकै पालामा इन्डिएन एअरलाइन्सको विमान अपहरण भएको थियो। हाल दिल्लीमा रहेका राजनसँग बीबीसी न्यूज नेपालीका सञ्जय ढकालले उक्त घटना र त्यसका परिणामबारे कुराकानी गरेका थिए।
घटना भएको पच्चीस वर्ष पुग्दै गर्दा तपाईँ त्यसलाई कसरी सम्झनु हुन्छ। यस घटनाले त्यसपछिका वर्षहरूमा भारत-नेपाल सम्बन्धमा कति प्रभाव पार्यो?
विमान अपहरण भारतीय जनमतका लागि ठूलो झट्का थियो र दुवै देशका नीति निर्माताका लागि एक चेतावनी पनि। कुनै शङ्का छैन कि नागरिक समाजको स्तरमा सद्भावको ह्रास भएको थियो भने राजनीतिक एवं सरकारी स्तरमा विश्वासको स्खलन भएको थियो। नेपाल एक पर्यटक गन्तव्यको रूपमा - खासगरि भारतीय जोडीहरूको लागि यो हनिमुन मनाउने लोकप्रिय गन्तव्य थियो - अचानक यसले आकर्षण गुमायो। दिल्लीका शीर्ष नेता, प्रधानमन्त्री वाजपेयी समेतले यस घटनालाई नेपाली राजनीतिक नेतृत्वले पर्याप्त गम्भीरताका साथ नलिएको महसुस गरेका थिए। नेपाल भित्र चाहिँ एउटा भावना व्याप्त थियो – जसका केही आधार पनि थिए - कि सङ्कटको व्यवस्थापन गर्ने आफ्नो नैराश्यपूर्ण विफलताका कारण भारत सरकार काठमाण्डूविरुद्ध सुरक्षा कमजोरी गरेको असमान दोष थोपर्न प्रयासरत थियो, जुन प्रयासलाई भारतीय सञ्चार माध्यमले राम्रै मलजल गरे।
साँचो कुरा के थियो भने दुवै पक्षबाट गम्भीर सुरक्षा कमजोरीहरू भएका थिए। भारतको दुई खम्बे (नेपालप्रति तत्कालीन नीति) राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रलाई समर्थन गर्ने नीतिले राम्रो नतीजा दिइरहेको थियो। उच्च स्तरका भ्रमणहरूको अभूतपूर्व शृङ्खला अनि, जलस्रोत, व्यापार, पारवहन र ऊर्जा सम्बन्धी महत्त्वपूर्ण द्विपक्षीय सम्झौताहरू भएका थिए।
जसले उक्त अपहरणको षडयन्त्र रचे - तेस्रो देशमा आधारित खुफिया एवं तस्करी तथा आतङ्कवादसँग जोडिएको सञ्जाल - तिनको स्पष्ट चाहना के पनि थियो भने अपहरणले दुई पक्षीय सम्बन्धमा आइरहेको सुधार तथा उच्च स्तरमा भइरहेको खुफिया सहकार्य अवरुद्ध हुन पुगोस्। यद्यपि तिनको मूल उद्देश्य चाहिँ भारतीय हिरासतमा रहेका कुख्यात आतङ्कवादीहरूको रिहाइ थियो।
धेरैले भन्छन् कि यो घटनापश्चात् भारत-नेपाल सम्बन्धमा सुरक्षा नै प्रमुख एजेन्डा बन्न पुग्यो, जसको अनुभव अहिले पनि गर्न सकिन्छ। उदाहरणका लागि, अझै पनि काठमाण्डूबाट भारतीय विमानसेवा चढेर भारत जाने यात्रुहरूलाई विमानस्थलभित्रको सुरक्षा चेकजाँच पश्चात् विमानस्थलको टर्माकमा पुन: भारतीय अधिकारीहरूले सुरक्षा जाँच गर्छन्। के यसले भारत अझै पनि नेपालको विमानस्थलको सुरक्षा व्यवस्थाप्रति विश्वस्त नरहेको अर्थ दिँदैन?
वास्तवमा, सुरक्षा भारत-नेपाल सम्बन्धको मुख्य एजेन्डा त सन् १९४७ मा भारत स्वतन्त्र भएपछि देखि नै बनेको हो। त्यस समयमा चिनियाँहरूको हिमालको दक्षिणतर्फ कस्तो नियत रहला भन्ने मुख्य चिन्ता थियो। तिब्बतमा चिनियाँ क्रियाकलाप, अनि नेपाल, भुटान र भारतका केही भागहरू समावेश गरेर माओले चीनका "पाँच औँलाहरू" भनेर टिप्पणी गरेका विषय थिए। त्यसपछि सन् १९६२ मा भारत-चीन लडाइँ भयो।
नब्बेको दशकसम्म आइपुग्दा, हाम्रा ध्यान खुला सीमा वारपार हुने हतियार, लागुऔषधको तस्करी तथा आतङ्कवादी गतिविधिहरूमा केन्द्रित थियो। खुला सिमानाको दुवै पक्षद्वारा प्रभावकारी व्यवस्थापन भइरहेको थिएन।
विमान अपहरणपछि, काठमाडौँ र दिल्लीबीच भारतीय एअरलाइन्सको उडान पुनः सुरु गर्न गरिएका वार्ता निकै कठिनताका साथ गरिएका थिए जसमा म स्वयं भारतका राजदूतको रूपमा संलग्न थिएँ। तपाईंले उल्लेख गरेको त्रिभुवन विमानस्थलको अतिरिक्त सुरक्षा जाँच वास्तवमा (त्यसैको) समझदारीको रूपमा गर्न थालिएको हो। भारतीय पक्षले उडानका प्रत्येक यात्रुको शरीर जाँच गर्ने भनेर राखेको अडान अनि नेपालले आफ्नो माटोमा विदेशी सुरक्षा निकायबाट त्यस्तो शरीर जाँच गर्न नदिने भनेर दिएको जबाफको एउटा (त्यो समझदारी) मिलनविन्दु थियो। यसको निरन्तरता भनेको सुरक्षा व्यवस्थाप्रति अविश्वास होइन कि केही भइहाल्ला कि भनेर अपनाइएको एउटा सावधानी हो।
आज, हामीसँग यस्तो नेपाल छ जो आफ्नो भूमिलाई तेस्रो पक्षले भारतविरुद्ध प्रयोग नगरोस् भन्नेबारे दृढ छ। अनि भारत पनि आत्मविश्वासपूर्ण छ र ऊ नेपालको सार्वभौमिकतामा हस्तक्षेप नगरेको ठानिन दृढ छ। अहिले त समावेशी तवरमा तीव्र आर्थिक विकासको एजेन्डा मुख्य बनेको छ।
के नेपाल र भारतले त्यो दुर्भाग्यपूर्ण घटनाबाट पाठ सिकेका छन्? संसार अझै जटिल छ र यस्ता घटनाहरू भविष्यमा रोक्न आवश्यक छन्।
विमान अपहरणको घटनाले सुरक्षा उपायहरू सुदृढ पार्ने, खुफिया निकायहरू बीच सहकार्य बलियो बनाउने, खुला सिमानालाई मित्रतापूर्ण तर सुरक्षित बनाउने गरी सीमाको व्यवस्थापन सुधार गर्ने ताकि असाधारण साझा सम्बन्ध रहेका यी दुई देशको यो साझा सम्पत्ति बन्न सकोस्।
तर तपाईं सही हुनुहुन्छ, जब तपाईं भन्नुहुन्छ कि संसार एक जटिल स्थान हो। हामी अनिश्चयपूर्ण र आकलन गर्न नसकिने समयमा बाँचिरहेका छौँ।
अन्यत्रबाट उब्जित र आफ्ना साझा स्वार्थतर्फ लक्षित खुफिया गतिविधिबारे दुवै देश निरन्तर चनाखो रहन आवश्यक छ। भारत र क्यानडा बीचका हालै देखा परेका अनौठा समस्या, एकअर्काका कूटनीतिज्ञलाई निकाल्ने र एकअर्काविरुद्ध गम्भीर आरोप लगाउने घटनाले पनि प्रमाणित गर्छ कि सुरक्षा सम्बन्धी मामिलाले कसरी गम्भीर समस्या सिर्जना गर्न सक्छ।
भाग्यवश, भारत-नेपाल सुरक्षाको द्विपक्षीय चासोको राजनीतिकरण भएको छैन, र दुवै देशमा जस्तासुकै राजनीतिक वर्णका सरकार आए पनि सहकार्य राम्रो रहेको छ। त्यसैले, आज यो विश्वास गर्नको लागि पर्याप्त स्थान छ कि २५ वर्षअघि क्रिसमस इभको दिन भएको जस्तो दुर्भाग्यपूर्ण घटना पुनः दोहोर्याउन निकै गाह्रो छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।