नेपाल र अफगानिस्तान दुवै यू-१९ विश्वकपको 'सुपर सिक्स'मा पुग्ने दाउमा

यू-१९ विश्वकपको समूह चरणका खेलमा नेपाल र अफगानिस्तान दुवै पराजित भएका छन्। त्यसैले शुक्रवारको खेलमा जसले जित्यो त्यही टोलीले 'सुपर सिक्स' प्रवेश पाउने छ।

त्यसैले दुवै टोलीको लागि यो 'गर या मर' को खेल हो।

नेपालको लागि अफगानिस्तान कडा प्रतिद्वन्द्वी मानिन्छ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पछाडि छोडेर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको पूर्ण सदस्यता पाइसकेको अफगानिस्तानसँगको भिडन्त नेपालको लागि चुनौतीपूर्ण नै हुने गरेको छ।

विगतका खेलहरूलाई विचार गर्ने हो भने नेपालभन्दा अफगान बलियो टोली देखिन्छ।

तर दक्षिण अफ्रिकाको लन्डन पार्कमा भइरहेको यू-१९ विश्वकप क्रिकेटको प्रतिस्पर्धा भने दुवै टोलीको लागि खुल्ला छ।

उमेर समूहको यो प्रतिस्पर्धामा कुनै टोलीले अर्कोमाथि सजिलै दबावमा राख्न सक्ने देखिएको छैन।

बरु नेपाललाई एउटा अवसर छ। यदि शुक्रवार वर्षा भएमा रन रेटको आधारमा नेपाल तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्ने छ।

तर बफेलो पार्कको शुक्रवारको मौसमले पानी पर्ने सङ्केत दिएको छैन।

समूह चरण

समूह 'ए' मा रहेको नेपालले न्यूजील्यान्ड र पाकिस्तानसँगको दुवै खेलमा हार बेहोर्‍यो। न्यूजील्यान्डले ३०२ रन बनाएर नेपालको बलिङ चुनौती फिक्का रहेको देखाउन खोजेको थियो।

तर सो खेलमा नेपालका अर्जुन कुमालले धैर्यपूर्ण ब्याटिङ गर्दै ९० रन बनाएर नेपाली ब्याटिङ कमजोर नरहेको देखाएका थिए। अरू कुनै ब्याटरले कुमाललाई साथ दिने गरी जिम्मेवारीपूर्ण इनिङ्स खेल्न नसक्नु नेपाली टोलीको कमजोरी रह्यो।

पाकिस्तानसँग पाँच विकेटले पराजित खेलमा युवा नेपाली खेलाडीहरूले ब्याटिङमा धैर्य राख्न नसकेको भनी आलोचना भएको देखियो।

तर राम्रो विपक्षीविरुद्धको खेलबाट नेपाली कप्तान देव खनालले भने सन्तुष्टि प्रकट गर्दै भनेका थिए, "तीव्र गतिका हाम्रा बलर आकाश चन्द र गुलशन झाले राम्रो खेलेका छन्। यसले हामीलाई अर्को खेलमा राम्रो आत्मविश्वास मिल्ने छ।"

अफगानिस्तान पनि लीगका दुई खेलमा पाकिस्तानसँग १८१ र न्यूजील्यान्डसँग एक विकेटले पराजित भएको थियो।

दुवै खेलमा उनीहरूको ब्याटिङ खुलेको देखिँदैन। न्यूजील्यान्डविरुद्ध ९१ रन मात्र जोडेको अफगानिस्तानले ९२ रनको सहज लक्ष्य पूरा गर्न दिने क्रममा नौ विकेट लिएर बलिङमा आफ्नो बलियो भएको देखाएको थियो।

अफगान स्पिनर र नेपाली ब्याटर

अफगानिस्तान र नेपालको युवा टोलीको प्रतिस्पर्धाको ताजा उदाहरण झन्डै दुई महिनाअघि यूएईमा खेलिएको यू-१९ एशिया कप हो। उक्त खेलमा नेपाल ७३ रनले पराजित हुन पुगेको थियो।

सो खेलमा नेपालविरुद्ध जमसिद जाद्रनले १०६ रन बनाएका थिए भने विकेट किपर नुमान शाहले ६० रन बनाएका थिए।

तर त्यसै खेलमा नेपालका अर्जुन कुमालले ९१ रनको प्रभावशाली इनिङ्स खेलेर अफगानिस्तानलाई चुनौती कडा चुनौती दिएका थिए।

जमसिद र नुमानसँगै जफिउल्लाह तराखीजस्ता अफगान ब्याटर शुक्रवारको खेलमा पनि नेपाली बलरको प्रमुख चुनौती रहने छन्।

विश्लेषकहरूका अनुसार शुक्रवारको खेलको मुख्य सङ्घर्ष भने अफगान स्पिन बलर र नेपाली ब्याटरबीच हुने छ।

अफगानिस्तानका दायाँहाते अफ-ब्रेक बलर मोहम्मद गजनफार, बायाँहाते खलिल अहमद र नासिर खान नेपाललाई समस्यामा पार्न सक्ने मुख्य स्पिनर हुन्। खलिलले पाकिस्तानविरुद्ध चार विकेट र न्यूजील्यान्डविरुद्ध दुई विकेट लिएका थिए।

न्यूजील्यान्डविरुद्ध पहिला ब्याटिङ गरेर ९१ रन बनाएको अफगान टोलीले स्पिनरहरूकै भरमा खेल आफ्नो पक्षमा पार्ने प्रयास गरेको थियो।

कस्तो छ नेपाली खेलाडीको क्षमता

नेपालको ब्याटिङ लाइनअपमा कप्तान देव खनालसँगै अर्जुन कुमाल, विपिन रावल र गुलशन झाजस्ता राम्रा खेलाडी छन्।

पाकिस्तानविरुद्धको खेलमा मध्यक्रमका दीपक डुम्रेले पनि राम्रो खेलेका थिए।

यी अनुभवी ब्याटरहरूले दक्षिण अफ्रिकाको मैदानमा भने सोचे जस्तो प्रदर्शन गर्न सकेको देखिएको छैन।

बलिङको कुरा गर्दा तीव्र गतिका आकाश चन्दसँगै नेपाली टोलीमा दुर्गेश गुप्ता दीपेश कँडेल र गुलशन झा छन्। तर उनीहरूले जारी प्रतियोगितामा प्रभावशाली रूपमा खेल्न सकेका छैनन्।

एशिया कपमा अफगानिस्तानसँग भोगेको नमिठो पराजय र समूह चरणको दुई खेलको परिणामपछि नेपाललाई शुक्रवार अफगानिस्तानलाई पन्छाउँदै सुपर सिक्समा पुग्ने राम्रो अवसर छ।

समूह चरणमा प्रत्येक समूहमा रहेको चार टोलीमध्ये तीन टोली सुपर सिक्समा पुग्ने तालिका छ। पराजित हुने टोलीले १३ देखि १६ औँ स्थानको लागि प्ले-अफ खेल्नुपर्ने हुन्छ ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।