अस्ट्रेलियाको गुप्तचरीबारे पुनरावलोकन गर्ने प्रधानमन्त्री अल्बनीजीको घोषणा

तस्बिर स्रोत, EPA/Shutterstock
- Author, केटी वट्सन
- Role, अस्ट्रेलिया संवाददाता
- Author, ह्यारी सेकूलेक
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले गत साता बोन्डाइ बीचमा भएको आक्रमणपछि प्रहरी र राष्ट्रिय गुप्तचर एजेन्सीको समीक्षा गर्ने घोषणा गरेका छन्।
"गत आइतवार आईएसआईएस-प्रेरित अत्याचारले हाम्रो देशमा द्रुत रूपमा परिवर्तन भइरहेको सुरक्षा वातावरणलाई बलियो बनाएको छ," अल्बनीजीले इस्लामिक स्टेट समूहको संक्षिप्त नाम प्रयोग गर्दै भने।
"हाम्रा सुरक्षा एजेन्सीहरू त्यसको जबाफ दिने उत्तम स्थितिमा हुनुपर्दछ।"
सिड्नीको समुद्री तटमा यहुदी समुदायको एक उत्सवमा दुई बन्दुकधारीले गोली चलाउँदा मारिएका १५ जनाको शोकमा आइतवार अस्ट्रेलियाभरि राष्ट्रिय शोक मनाइएको छ।
घटनाको एक साता पूरा हुँदै गर्दा आइतवार स्थानीय समयअनुसार साँझ ६:४७ मा कडा सुरक्षाबीच एक मिनेट मौन धारण गरिनेछ।
प्रहरीले १४ डिसेम्बरको आक्रमणलाई आतङ्कवादी घटना घोषणा गरेको छ। अधिकारीहरूले "इस्लामिक स्टेटको विचारधारा"बाट प्रेरित भएर बावु–छोराबाट आक्रमण भएको दाबी गरेका छन्।
आक्रमणको आरोप लागेका २४ वर्षीय नवीद अकरमलाई हत्याका १५ र आतङ्कवादी गतिविधिका सहित ५९ वटा अभियोग लगाइएको छ। जबाफी आक्रमणमा उनका बुवा साजिदको मृत्यु भएको थियो।
अल्बनीजीले अप्रिल २०२६ मा हुने समीक्षा गुप्तचर निकायलाई अतिवादसँग जुध्न सक्षम बनाउनेमा केन्द्रित हुने बताए।
"यहूदी विरोधी भयानक बोन्डाइ बीच आतङ्कवादी आक्रमणको सन्दर्भमा प्रधानमन्त्री र मन्त्रिपरिषद्ले सङ्घीय कानुन र गुप्तचर एजेन्सीहरूसँग अस्ट्रेलियालीहरूलाई सुरक्षित राख्न सही शक्ति, संरचना, प्रक्रिया र साझेदारीको व्यवस्था छ कि छैन भनेर जाँच गर्नेछ," प्रधानमन्त्री अल्बनीजीले भने।
तीन दशक यताकै सबैभन्दा घातक सामूहिक गोलीकाण्डपछि अस्ट्रेलियामा सरकारले बन्दुक नियन्त्रणलाई कडा पार्ने योजना घोषणा गरेको छ। न्यू साउथ वेल्सका प्राइमरले घृणा जगाउने भाषणमा कडाइ गर्न जोड दिइरहेका छन्।
राष्ट्रिय शोक दिवससँगै बोन्डाइमा पनि आइतवार अलग्गै शोक कार्यक्रम आयोजना गरिएको छ।
यस अघि गभर्नर-जनरल सामन्था मस्टिनले बोन्डाइमा आयोजित एक जागरणलाई सम्बोधन गरेकी थिइन्।
अस्ट्रेलियाको राष्ट्रिय परिषद्ले आयोजना गरेको कार्यक्रममा उपस्थित व्यक्तिहरूले शान्तिको प्रतीकको रूपमा सेतो लुगा लगाएका थिए।
"बोन्डाइमा होस् वा हाम्रो राष्ट्रको जुनसुकै ठाउँमा भए पनि सम्पूर्ण यहूदी समुदायहरू यो देशको आफ्नो हो र देशको सफलताको हिस्सा हो," उनले भनिन्।
देशभरिका अस्ट्रेलियालीहरू अझै पनि बोन्डाइ घटनालाई लिएर चिन्तित अवस्थामा छन्। आफ्नो देशमा घटेको उक्त घटना अझै पनि कतिपयलाई विश्वास लागिरहेको छैन।
तर सप्ताहान्तबाट जनजीवन केही सामान्यतर्फ फर्कियो। बोन्डाइको तटमा यसअघि जस्तै जलक्रीडा गर्नेहरू, दौडनेहरू र कुकुर डुलाउनेहरू फेरि एक पटक आफ्नो नियमित दिनचर्यामा फर्किएका छन्।
नर्थ बोन्डाइमा जलक्रीडा गर्दा हुने दुर्घटनामा जीवन रक्षकहरूको संस्थाका अध्यक्ष स्टीभ लर्नाचले बालबालिकाहरूको जलक्रीडाको नियमित कार्यक्रमहरू रद्द गर्ने योजना आफूहरूले यसअघि बनाएको बीबीसीसँग सुनाए। तर आइतवारबाट यो गतिविधि पनि सुरु भएको छ।
"हामी हाम्रो यहूदी समुदायप्रति संवेदनशीलताको बारेमा पनि सचेत थियौँ," लर्नाचले भने। "हामीले उनीहरूको राय सोधेका थियौँ र उनीहरूले हामीले गरेका कामबारे आभार व्यक्त गर्दै अगाडि बढ्न सहयोग गरे।"
गत हप्ता भएको बन्दुक हमलामा जीवन रक्षक स्वयंसेवकहरू पहिलो पटक प्राथमिक उपचारका लागि घटनास्थलमा पुगेको लर्नाच स्मरण गर्छन्।
केही जीवन रक्षकहरूलाई नायकको रूपमा सम्मान गरिएको छ।

आफ्नी छोरीलाई बालबालिकाहरूको जलक्रीडामा लिएर आएकी जरल्लाइन नर्डफेल्फ्ट भन्छिन्, "हामी जतिसक्दो चाँडो सामान्य जनजीवनमा फर्कनु जरुरी थियो।"
"तपाईँ फर्कनु पर्छ, तपाईँ भाग्न सक्नुहुन्न, तपाईँले डरलाई जित्न दिनु हुँदैन। समुद्री तट अस्ट्रेलियाको जीवनशैली हो र हामी सबैलाई यो मन पर्छ," उनले बीबीसीसँग भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








