अस्ट्रेलिया गोलीकाण्ड : आक्रमणकारीमाथि जाइ लागेर बन्दुक खोस्ने 'नायक' को हुन्
अस्ट्रेलियाको बोन्डाइ बीचमा भएको गोलीकाण्डका बेला एक आक्रमणकारीमाथि जाइ लागेर बन्दुक खोस्ने व्यक्तिको परिचय खुलेको छ। उनको नाम अहमद अल अहमद हो। उनी ४३ वर्षका भए।
समुद्री तटमा यहुदी पर्व 'हानका' मनाउन भेला भएका मानिसहरूमाथि आइतवार राति आक्रमण हुँदा अहमद दौडिएर गई एक आक्रमणकारीलाई झम्टिएको र बन्दुक खोसेर लिएको अनि सोही व्यक्ति बन्दुक सोझ्याएको देखिने भिडिओ प्रत्यक्षदर्शीहरूले खिचेका थिए।
उक्त भिडिओ वास्तविक भएको बीबीसीले पुष्टि गरेको छ।
अहमद फलफूल विक्रेता हुन्। उनका दुई सन्तान छन्। उनको परिवारले 'सेभनन्यूज अस्ट्रेलिया'लाई बताएअनुसार पाखुरा र हातमा गोली लागेकाले उनको स्थानीय अस्पतालमा शल्यक्रिया गरिएको छ।
उक्त आक्रमणमा परी १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रहरीले उक्त आक्रमण यहुदी समुदायप्रति लक्षित "आतङ्ककारी कार्य" भएको बताएको छ। 'हानका' पर्व मनाउन आयोजित कार्यक्रममा आक्रमण हुँदा त्यहाँ १,००० जनाभन्दा बढी मानिस भएको प्रहरीले जनाएको छ।
"उनी नायक हुन्, शत प्रतिशत नायक। उनलाई दुइटा गोली लागेको छ, एउटा पाखुरामा र अर्को हातमा," अहमदका नातेदार मुस्तफाले सेभनन्यूज अस्ट्रेलियासँग आइतवार राति भने।
"म उनलाई निको होस् भन्ने कामना गर्छु। म उनलाई राति हेर्न गएको थिएँ। उनी ठिकै थिए तर हामी डाक्टरले के भन्छन् भन्ने कुराको प्रतीक्षामा छौँ," सोमवार बिहान उनले भने।
प्रहरीका अनुसार उक्त घटनाका सन्दिग्ध आक्रमणकारीहरू बुवा र छोरा हुन्। उनीहरूको उमेर क्रमशः ५० र २४ भएको बताइएको छ। प्रहरीले ५० वर्षे आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ। उनका छोरा चाहिँ अस्पतालमा गम्भीर अवस्थामा छन्।
घाइते अहमदलाई जुट्यो १० लाख डलरभन्दा बढी आर्थिक सहयोग

तस्बिर स्रोत, FACEBOOK/CHRIS MINNS
अहमदका लागि 'गोफन्डमी'मा अन्लाइन चन्दा सङ्कलन गर्न थालिएको छ।
सोमवार दिउँसोसम्म १० लाख अमेरिकी डलर उठिसकेको छ। एक अमेरिकी अर्बपतिले अहमदलाई ९९,९९९ डलर दिएका छन्। पर्शिङ स्क्वाएर क्यापिटल म्यानेज्मन्टका विलिअम अक्मनले दिएको उक्त रकम अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा हो।
अहमदका बुवा मोहम्मद अल अहमद र आमा मालाकेह हसन अल अहमदका अनुसार उनीहरू केही महिनाअघि सिरियाबाट सिड्नी आएका थिए। आफ्ना छोरा सन् २००६ मा अस्ट्रेलिया आएको उनीहरूले एबीसीलाई बताएका छन्।
"उसले मानिसहरू मर्न थाल्यो अनि त्यो मान्छे [आक्रमणकारी]को गोली सकिएपछि उसले खोस्यो तर उसलाई गोली लाग्यो," आमाले भनिन्, "ईश्वरले उसको रक्षा गरून् भनेर हामी प्रार्थना गर्छौँ।"
"उसले जे गर्यो त्यो गर्दा उसले आफूले जोगाउन लागेका मानिसहरूको पृष्ठभूमिबारे सोचेन, ती बाटोमा मारिँदै गरेका मानिसहरू थिए," बुवा अहमदले भने।
"उसले कसको राष्ट्रियता के हो भनेर विभेद गरेन। विशेष गरी यहाँ अस्ट्रेलियामा एक नागरिक र अर्को नागरिकबीच भिन्नता छैन।"
भिडिओमा के देखिन्छ

अहमदले बन्दुक खोसेको भिडिओ अनलाइन माध्यममा व्यापक शेअर भएको छ।
उक्त भिडिओमा ताडको बोटपछाडि लुकेर एक आक्रमणकारीले बन्दुक ताक्दै गोली हान्दै गरेको देखिन्छ।
पार्क गरिएको एउटा कारपछाडि लुकेका अहमद दौडिँदै गएर ती आक्रमणकारीमाथि जाइ लाग्छन्।
अहमद बन्दुक खोस्न सफल हुन्छन् र ती आक्रमणकारीलाई भुइँमा धकेल्छन् र उनीतिर बन्दुक सोझ्याउँछन्। ती आक्रमणकारी पछाडि सर्दै पदयात्रीहरू हिँड्ने पुलतिर जान्छन्।
त्यसपछि अहमदले बन्दुक तल झुकाउँदै आफ्नो एक हात माथि उठाएर आफू आक्रमणकारी नभएको सङ्केत प्रहरीलाई दिन्छन्।
तर उही आक्रमणकारीले पछि पुलमा अर्को हतियार बोकेर फेरि गोली चलाएको देखिन्छ।
अर्का सशस्त्र आक्रमणकारी त्यही पुलबाट निरन्तर गोली चलाइरहन्छन्। तर उनीहरूले कसलाई निसाना बनाएका हुन् भन्ने कुरा चाहिँ स्पष्ट छैन।
अहमदको प्रशंसा

तस्बिर स्रोत, AFP via Getty Images
आइतवार अबेर आयोजित पत्रकार सम्मेलनमा न्यूसाउथ वेल्सका प्रेमिअर क्रिस मिन्सले आक्रमणकारीको बन्दुक खोस्ने व्यक्तिको बहादुरीको प्रशंसा गरे। तर उनले अहमदको नाम भने खुलाएनन्।
"ती व्यक्ति वास्तविक नायक हुन्। उनको बहादुरीको कारण आज राति निकै धेरै मानिसहरूको ज्यान जोगिएको छ भन्ने कुरामा मलाई कुनै शङ्का छैन," उनले भने।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले भने, "आज हामीले अस्ट्रेलियालीहरू अरूलाई सहयोग गर्न खतरा मोल्न तयार भएको देखेका छौँ।"
"यी अस्ट्रेलियालीहरू नायक हुन्। उनीहरूको बहादुरीले मानिसहरूको ज्यान जोगिएको छ।"
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि अहमदको प्रशंसा गर्दै उनीप्रति आफ्नो "ठूलो सम्मान" भएको बताएका छन्।
"उनी निकै धेरै आँटिला व्यक्ति रहेछन् जो सोझै एक आक्रमणकारीमाथि जाइ लागे अनि धेरै मानिसको ज्यान जोगाए," ह्वाइट हाउसमा क्रिस्मसका अवसरमा आयोजित एउटा भोजमा ट्रम्पले भने।
आक्रमणकारीहरूबारे के थाहा छ

स्थानीय सञ्चारमाध्यमले उनीहरूको नाम क्रमशः सजिद अकरम र नवीद अकरम भएको बताएका छन्।
गृहमन्त्री टोनी बर्कका अनुसार अनुसार दुई आक्रमणकारीमध्ये बुवा सन् १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए। त्यसपछि उनले पार्ट्नर भिसा हुँदै आवासीय भिसा लिए। छोराको जन्म अस्ट्रेलियामै भएको र उनी त्यहीँका नागरिक भएको बर्कले बताए।
प्रहरीका अनुसार ५० वर्षे आक्रमणकारीसँग सन् २०१५ देखि बन्दुक राख्ने अनुमतिपत्र थियो र उनी स्थानीय 'गन क्लब'मा सदस्य पनि थिए।
प्रधानमन्त्री अल्बनीजीका अनुसार अक्टोबर २०१९ मा शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा छोरा चाहिँ अधिकारीहरूको दृष्टिमा परेका थिए। तर त्यतिबेला छानबिन गर्दा कुनै खतरा वा उनी हिंसामा संलग्न हुन जोखिम नदेखिएको उनले बताए।
अस्ट्रेलियास्थित मुस्लिम समुदायका संस्थाहरूले उक्त घटनाको भर्त्सना गरेका छन्।

तस्बिर स्रोत, Reuters
घरमा छापा, कारमा 'इस्लामिक स्टेटका झण्डा'

तस्बिर स्रोत, AFP via Getty Images
एक वरिष्ठ प्रहरी अधिकारीले अस्ट्रेलियाको एबीसी न्यूजलाई सन्दिग्ध आक्रमणकारीहरूको कारमा अतिवादी समूह इस्लामिक स्टेट (आईएस)का दुइटा झण्डा फेला परेको बताएका छन्।
उक्त प्रसारकका अनुसार घटनास्थलमा कारको बोनेटमा एउटा झण्डा देखिएको थियो।
यसअघि प्रहरीले आइतवार राति नै दक्षिणपश्चिम सिड्नीस्थित उनीहरूको घरमा छापा मारेको छ। उक्त स्थान गाडीमा जाँदा घटनास्थलबाट एक टाढा पर्ने बोनीरिगमा छ।
"राति प्रहरीले यो घरमा छापा मार्यो र त्यहाँ बस्ने तीन जनालाई पक्राउ गर्यो।... उनीहरूलाई फिर्ता ल्याइयो र कुनै अभियोग नलगाई छोडियो। उनीहरू फेरि भित्र गए," उक्त घरनजिकैबाट बीबीसी संवाददाता केटी वाट्सनले भनिन्।
सजिद अकरम र नवीद अकरम उक्त घरमा केही साताअघिसम्म थिए। त्यसपछि उनीहरू क्याम्प्सीस्थित एअरबीएनबीद्वारा सञ्चालत एउटा अपार्टमन्टमा सरेका थिए। उक्त स्थान बोन्डाइ बीचको घटनास्थलबाट नजिकै पर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









