अस्ट्रेलियाको बोन्डाइ बीच गोलीकाण्ड 'इस्लामिक स्टेट विचारधारा'बाट प्रेरित: अस्ट्रेलियाका प्रधानमन्त्री

अस्ट्रेलियाको बोन्डाइ बीचमा भएको गोलीकाण्ड "इस्लामिक स्टेट विचारधाराबाट प्रेरित" भएको प्रधानमन्त्री एन्थनी अल्बनीजीले बताएका छन्। यसअघि बन्दुकधारीहरूले इस्लामिक स्टेट समूहप्रति निष्ठा राखेको विवरण आएको थियो।
यहुदी चाड हानकामा सहभागीहरूलाई लक्षित गरी दुई बन्दुकधारीहरूले गरेको आक्रमणमा पन्ध्र जनाको ज्यान गएको थियो।
सिड्नीको धेरै अस्पतालहरूमा अझै पनि २४ जना बिरामीहरू उपचाररत छन्। तीमध्ये तीन जना बिरामीको अवस्था अझै गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था गम्भीर तर स्थिर छ र बाँकीको अवस्था स्थिर रहेको न्यू साउथ वेल्स हेल्थले जनाएको हो।
पीडित हुनेहरूमा एक १० वर्षीया बालिका, ब्रिटिश मूलका एक रब्बी, सेवानिवृत्त प्रहरी अधिकारी र होलोकोस्टमा बाँचेकाहरू पनि छन्।
स्थानीय मिडियामा आक्रमणकारीहरूको नाम ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षीय छोरा नावेद रहेको उल्लेख छ। अक्रमको घटनास्थलमै मृत्यु भएको थियो भने उनका छोरा अस्पतालमा छन्।
आक्रमणकारीबाट बन्दुक खोसेका 'हिरो' लाई भेटेपछि प्रधानमन्त्रीले के भने
बोन्डाइ गोलीकाण्डका बन्दुकधारीलाई आक्रमण गर्ने अहमद अल अहमदलाई अस्पतालमा भेटेपछि प्रधानमन्त्री एन्थनी अल्बनीजीले उनलाई एकजना "सच्चा अस्ट्रेलियाली नायक" जसले "देशको उत्तम प्रतिनिधित्व गर्ने" बताए।
"उनी एकदमै विनम्र छन्। उनी आफ्ना साथीभाइ र आफन्तहरूसँग बोन्डाइ गएका थिए।"
"उनी एक कप कफी लिन खोजिरहेका थिए। त्यही बेला उनले आफूलाई एउटा यस्तो क्षणमा पाए जहाँ मानिसहरूलाई उनकै अगाडि गोली हानिएको थियो। उनले कारबाही गर्ने निर्णय गरे र उनको बहादुरी सबै अस्ट्रेलियालीहरूका लागि प्रेरणा हो।"
"भोलि उनको थप शल्यक्रिया हुने छ," प्रधानमन्त्री अल्बनीजीले भने।
"उनका आमा र बुबा सिरियाबाट उनलाई भेट्न यहाँ आएका थिए र मैले पनि उनीहरूलाई भेट्न सकेँ। उनीहरू धेरै गर्व गर्ने आमाबुवा हुन्। हामीले राक्षसीपन देखेका बेला उनी मानवताको शक्तिको उदाहरणको रूपमा चम्किने छन्।"
यसअघि रेडियो अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री अल्बनीजीले अस्पतालमा रहँदा अहमद अल अहमदलाई भेट्न जाने बताएका थिए।
बीबीसीले पुष्टि गरेको भिडिओमा ४३ वर्षीय अहमद अल अहमदले दौडेर बन्दुकधारीको हतियार खोसेको र त्यसपछि उनीमाथि बन्दुक तेर्स्याउँदै पछि हट्न बाध्य पारेको देखिन्छ। उनलाई धेरै पटक गोली लागेको थियो र त्यसपछि उनको घाउको शल्यक्रिया गरिएको छ।
"यो असाधारण थियो, सामूहिक गोलीकाण्डमा संलग्न बन्दुकधारीको पछाडि घस्रिरहेको त्यो भिडिओ सामग्री," अल्बनीजीले सिड्नीको नोभा रेडियोलाई भनेका थिए।
"उनी एक नायक हुन् र त्यसलाई पहिचान गर्न आवश्यक छ। म पक्का छु कि हामी त्यो गर्ने छौँ।"

तस्बिर स्रोत, NSW Police
यसैबीच गोलीकाण्डमा घाइते भएका दुई प्रहरी अधिकारीका परिवारसँग पनि बीबीसीले कुरा गरेको छ।
प्रहरीका अनुसार घाइतेमध्ये एक जना कन्स्टेबल स्कट डायसनलाई गम्भीर तर स्थिर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।
नाम नखुलाइएका अर्का प्रहरी अधिकारी पनि अस्पतालमा गम्भीर तर स्थिर अवस्थामा छन्।
दुई घाइते अधिकारीका परिवारले बोन्डाइ गोलीकाण्डमा मारिएका र घाइते भएकाहरूका प्रियजनहरूलाई सम्झिन चाहन्छन्।
उनीहरू साहसका साथ काम गर्ने र घटना लगत्तै त्यहाँ पुग्ने प्रहरी अधिकारीहरू र प्यारामेडिक्सहरूप्रति आभार व्यक्त गर्न चाहन्छन्।
उनीहरू अस्पताल टोली र विशेष गरी आईसीयूमा रहेकाहरूलाई पनि धन्यवाद दिन चाहन्छन्।
तर आफ्ना प्रियजनहरू निको हुने कुरामा आफ्नो ध्यान केन्द्रित भएको भन्दै गोपनीयताको लागि पनि उनीहरूले आग्रह गरेका छन्।
न्यू साउथ वेल्सका प्रिमिअरले के भने
न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्सले यो त्रासदीपूर्ण घटनाले समुदायलाई एकताबद्ध गरेको बताउँदै यहूदीविरोधी भावनासँग लड्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।
जनताले समर्थनको सन्देशमार्फत् एकअर्कालाई "प्रेम देखाएको" देखेर आफू खुसी भएको पनि उनले बताए।
उनले यो "एक हप्तामा पूरा नहुने" र आफ्नो सरकारका लागि दीर्घकालीन परियोजना हुने बताए।
"अष्ट्रेलियामा बन्दुकसम्बन्धी सबैभन्दा कडा कानून ल्याउन दृढ रहेको र तिनीहरूलाई न्यू साउथ वेल्समा उल्लेखनीय रूपमा कडा गरिने" उनले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








