'बोन्डाइ बीच आक्रमणलाई प्रेरित गर्ने' इस्लामिक स्टेट के पुन: बलियो बनेको हो?

तस्बिर स्रोत, AFP via Getty Images
- Author, क्याथरीन हिथवूड र फर्नान्डो डूआर्ट
- Role, बीबीसी विश्व सेवा
- Author, बीबीसी मनिटरिङ
- Role, जिहादिस्ट मिडिया इन्साइट टीम
गत सप्ताहन्तमा अस्ट्रेलियाको बोन्डाइ बीचमा भएको घातक हमला "इस्लामिक स्टेट विचारधारा"बाट प्रेरित भएको भनेर अस्ट्रेलियाका प्रधानमन्त्रीले बताएसँगै त्यसले इस्लामिक स्टेट (आईएस) समूहप्रति विश्वव्यापी ध्यान खिचेको छ।
प्रहरीले घटनास्थलमा भेटिएको गाडीमा "घरेलु" आईएस झण्डाहरू विस्फोटक उपकरणहरूसँगै फेला परेको जनाएको छ।
आईएसले बिहीवार आफ्नो साप्ताहिक पत्रिका 'अल-नाबा'मा आक्रमणबारे टिप्पणी गरेको थियो।
त्यहाँ उसले उक्त हिंसालाई प्रत्यक्ष रूपमा सञ्चालन गर्नुको साटो आफ्नो अनलाइन सन्देशमार्फत् प्रेरित गरेको श्रेय पाउने दाबी गरिरहेकोजस्तो देखिने भाषा प्रयोग गरेको थियो।
अस्ट्रेलियाको हमलामा दुई बाबुछोरालाई सन्दिग्ध आक्रमणकारीको रूपमा पहिचान गरिएको छ। घटनाकै क्रममा प्रहरीले बाबु गोली लागेर मरेका छन् भने छोरालाई १५ वटा हत्याको अभियोग लगाइएको छ।

तस्बिर स्रोत, Anadolu via Getty Images
सिड्नीमा भएको आक्रमणले आईएसले पश्चिमा निसानाविरुद्ध हमला गर्ने वा त्यसलाई प्रेरित गर्ने प्रयास गर्न नछाड्ने भन्ने कुरा स्मरण गराउँछ। सन् २०१७ देखि यसको प्रभाव व्यापक रूपमा घटेको थियो। त्यस वर्ष उसले सिरिया र इराकमा इस्लामिक परम्परामा आधारित आफ्नो शासन व्यवस्था "क्यालिफेट"का आधारहरू गुमाएको थियो।
बोन्डाइ बीच गोलीकाण्डको एक दिनअघि सिरियामा भएको आक्रमणबारे यसका समर्थकहरूले अनलाइन माध्यममा आफ्नो उत्साह बाँडेका छन्। तर आईएस त्यसमा मौन रहेको छ। अमेरिकाले सिरियाको हत्याकाण्ड आईएसका एक कार्यकर्ताले गरेको जनाएको छ।
बीबीसी मनिटरिङमा जिहादसम्बन्धी विषयका विज्ञ मीना अल-लामी भन्छिन् : "हामी कहिल्यै नहराएको कुराको फिर्ताबारे कुरा गर्न सक्दैनौँ।"
उनी ती हमलाहरूलाई इस्लामिक स्टेटको कारबाही भनिहाल्ने कुराविरुद्ध सहज हुन सुझाउँछिन्। त्यसो गर्नाले उक्त समूहको वास्तविक क्षमताहरू प्रतिबिम्बित गर्नुको सट्टा यसको प्रचार बढाउने जोखिम हुन्छ।
के इस्लामिक स्टेट अझै सक्रिय छ?

तस्बिर स्रोत, AFP via Getty Images
आफ्नो प्रभाव उत्कर्षमा रहेको समयमा आईएसले सिरिया र इराकका विशाल क्षेत्रहरूमा शासन गर्यो। त्यहाँ उसले कर प्रणाली, शिक्षा, धार्मिक प्रहरी र स्वास्थ्य सेवामार्फत् आफूलाई सक्रिय रूपमा प्रस्तुत गर्यो।
तर सन् २०१९ मा अमेरिकी नेतृत्वको ७० भन्दा बढी राष्ट्रहरूको गठबन्धनले यसको 'भौतिक क्यालिफेट'लाई परास्त गर्यो।
अल-लामीका विचारमा सन् २०१९ मा अमेरिकी आक्रमणको क्रममा आत्महत्या गर्ने संस्थापक नेता अबु बकर अल-बगदादीको मृत्युपछि उक्त समूहको आकर्षण अझ कमजोर भएको छ।
त्यस बेलादेखि यसका कुनै पनि नेताको मान्यताप्राप्त पहिचान वा सार्वजनिक व्यक्तित्व देखिँदैन।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का अनुसार आज सिरिया र इराकमा ३,००० सम्मको सङ्ख्यामा आईएस लडाकुहरू छन्।
यसको विपरीत सन् २०१४ मा क्यालिफेट स्थापनाको घोषणा गरेपछि एक समय सो समूहमा सामेल हुन हजारौँ विदेशी लडाकुहरू ओइरिरहेका थिए।
अल-लामीका विचारमा आईएसको घट्दो शक्तिको अर्को सङ्केत यसको आक्रमणको सङ्ख्या हो। उक्त समूहले सन् २०१० को मध्यतिर सिरिया, इराक र पश्चिमा विश्वमा कैयौँ ठूला आक्रमणहरूको जिम्मेवारी लिएको थियो।
"यो अब धेरै हदसम्म साना, हिट-एन्ड-रन आक्रमणहरूमा निर्भर छ," उनी भन्छिन्। अनि पश्चिमा विश्वमा दुर्लभ रूपमा हुने आक्रमणहरू केन्द्रीय रूपमा समन्वयसाथ हुनुभन्दा धेरै हदसम्म आईएसबाट "प्रेरित" हुने गरेको उनी बताउँछिन्।
गत वर्ष खोरासान प्रान्त (आईएसकेपी) भनेर चिनिने आईएसको अफगानिस्तान शाखा ज्यानुअरीमा इरानमा भएको घातक आक्रमणसँग जोडिएपछि यो विश्वव्यापी समाचार बन्यो।
त्यसमा झन्डै १०० जनाको मृत्यु भयो। त्यसको दुई महिनापछि रुसमा झन्डै १५० जना मारिए। त्यसले युरोपमा आक्रमणको योजना बनाएको पनि आशङ्का पनि गरिए तापनि तीमध्ये धेरैजसोलाई विफल पारिएको थियो।
यद्यपि यस वर्ष आईएसकेपी उल्लेखनीय रूपमा कमजोर भएको छ र अफगानिस्तानमै पनि हमला गर्न सङ्घर्ष गरिरहेको छ।

तस्बिर स्रोत, Getty Images
आईएसका नाममा गरिएका अधिकांश हमलाहरू यतिखेर सब-सहारा अफ्रिकामा देखिन्छन्।
इन्स्टिट्यूट फर ईकोनमिक्स एन्ड पीसद्वारा प्रकाशित सन् २०२५ को 'ग्लोबल टेररिजम इन्डेक्स रिपोर्ट' अनुसार आईएस र उसका सहयोगीहरू "सन् २०२४ मा सबैभन्दा घातक आतङ्कवादी सङ्गठनका रूपमा रही २२ देशहरूमा १,८०५ मृत्युको लागि जिम्मेवार पाइए।"
अल-लामीले थपेअनुसार आईएसले आफ्नो प्रचार शक्ति गुमाएको छ। "उनीहरूसँग ती चिप्लो, विस्तृत प्रचार भिडियोहरू थिए र अब उनीहरू भिडियोहरू बाहिर निकाल्न साँच्चै सङ्घर्ष गर्छन्।"
तर आईएसले अझै पनि आफ्नो अनलाइन मिडियामार्फत् आक्रमणहरू उक्साइरहेको छ।
अल-लामीका विचारमा यससँग "अनलाइन समर्थकहरूको सेना छ, जो युवा छन्, सामाजिक सञ्जालबारे जानकार छन् र उक्त समूहले आफ्नो प्रचारमा छोडेको खाडल पुर्न साँच्चै मद्दत गरेका छन्।"
उनीहरू युवाहरूसम्म पुग्ने प्रयासमा फेसबुक र इन्स्टाग्रामजस्ता प्ल्याट्फर्महरूमा सक्रिय छन्। बीबीसी मनिटरिङका विश्लेषकहरूले प्रायः हतियार कसरी प्रयोग गर्ने, कसरी गोली हान्ने र कसैलाई कसरी घातक चक्कु प्रहार गर्ने भन्नेबारे "क्षणक्षणका मार्गनिर्देशन" भएका 'म्यानुअल'हरू पाइन्छन्।
अल-लामीलाई तीमध्ये केही पोस्टहरू अनुभवी "मिडिया जिहादीहरू" द्वारा बनाइएका भन्नेमा आशङ्का छ। उनको अनुमानमा ती केही "केवल साधारण युवाहरू हुन्, जो आईएस प्रचारबाट प्रभावित थिए र उक्त समूहलाई यसको सन्देश प्रचार गर्न मद्दत गरिरहे।"
बोन्डाइ आक्रमणपछि आफ्नो टिप्पणीमा आईएसले दाबी गरेअनुसार "जिहाद" अब "अझ गाह्रो र जटिल चरणमा प्रवेश गरेको छ", जुन अनलाइन क्षेत्रमा बढ्दो रूपमा फैलिएको छ।
"डिजिटल संसारमार्फत् आदेश प्राप्त गर्नु ... एक प्रभावकारी रणनीति हो जसलाई धेरै स्रोतहरू आवश्यक पर्दैन र धेरै अवरोधहरू पार गर्न सक्छ," उसले भनेको छ।
के आईएस अफ्रिका र एशियामा बढ्दै छ?
मध्यपूर्वमा यसको परम्परागत आधारहरूमा समर्थन गुमाउनुको अर्थ आईएसले विकल्पहरू खोजेको छ।
दक्षिण एशियामा आईएस-खोरासन प्रान्त वा आईएसकेपीलाई नै सबैभन्दा आक्रामक एकाइहरूमध्ये एक मानिन्छ।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार अफगानिस्तान र उत्तरी पाकिस्तानमा यसका २,००० लडाकुहरू छन् भने ताजिकिस्तान र उज्बेकिस्तानजस्ता अन्य मध्यएशियाली देशहरूबाट भर्ती गर्ने काम जारी छ।
यसैबीच आईएसको कथित पूर्वी एशिया प्रान्त (आईएसईएपी)ले दक्षिणपूर्वी एशियालाई समेट्छ र धेरै हदसम्म दक्षिणी फिलिपिन्समा केन्द्रित छ। त्यो पहिले फिलिपिन्स र इन्डोनेशियामा कैयौँ घातक आक्रमणहरूको लागि जिम्मेवार थियो।
यद्यपि उक्त एकाइले यस वर्ष कुनै पनि आक्रमणको जिम्मेवारी लिएको छैन। विज्ञहरूका भनाइमा आईएसको मुख्य ध्यान यतिखेर अफ्रिकामा हो।

तस्बिर स्रोत, AFP via Getty Images
नेदरल्यान्ड्सस्थित इन्टर्न्याश्नल सेन्टर फर काउन्टर-टेररिजमका सुरक्षाविज्ञ अड्रिअन श्टुनी विगत केही वर्षमा उक्त महादेशमा "आईएस तीव्र गतिमा बढेको" चेतावनी दिन्छन्।
"उनीहरूले साहेल (उत्तरी अफ्रिकाको क्षेत्र) र पश्चिम अफ्रिकाजस्ता कमजोर शासन भएका क्षेत्रहरूमा सुरक्षा रिक्तताको फाइदा उठाएर जबरजस्ती र स्वैच्छिक पश्चिमा सैन्य फिर्ता, क्षेत्रीय अस्थिरता र आतङ्कवादविरोधी प्रयासहरूको लागि घट्दो लागानीबीचमा त्यसो गरेका छन्।"
संयुक्त राष्ट्रसङ्घका अनुसार इस्लामिक स्टेटको वेस्ट अफ्रिका प्रान्त (आईएसडब्ल्यूएपी) मा ८,००० देखि १२,००० लडाकुहरू हुन सक्छन्। अल-लामीका भनाइमा यस वर्ष उक्त समूहले गरेको दशमध्ये नौ आक्रमणहरू सब-सहारा अफ्रिकामा भएका छन्।
उनी आईएस साहेल र सोमालियामा सक्रिय रहेको र त्यहाँ उसको बलियो अवस्थामा रहेका अल-कायदा एकाइहरूको रूपमा गम्भीर जिहादी प्रतिद्वन्द्विता रहेको बताउँछिन्।
यद्यपि उनी त्यो नाइजिरिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) र मोजाम्बिकमा सबैभन्दा बलियो रहेको बताउँछिन्।
ती देशहरूमा आतङ्ककारीहरूले प्रायः इसाई समुदायका साथै सैन्य बलहरूलाई लक्षित गर्छन्। डीआरसीमा आईएस सम्बद्ध व्यक्ति तथा समूहहरूले गैरमुस्लिमहरूले बारम्बार आक्रमण गर्ने क्षेत्रहरूमा कर तिर्न लगाउने प्रयास गरेको उनी बताउँछिन्।
"आईएसका अनुसार डीआरसीका इसाईहरूसँग तीन विकल्पहरू छन् : इस्लाम धर्म अपनाउने, आईएसलाई 'जिजिया' भनेर चिनिने कर तिर्ने वा मारिने। धेरैजसो अवस्थामा तिनले (आतङ्ककारीहरूले) उनीहरूलाई विकल्प दिँदैनन्। आईएसका लडाकुहरू उनीहरूको गाउँमा छापा मार्छन् र मार्छन्," उनी थप्छिन्।

तस्बिर स्रोत, AFP via Getty Images
अल-लामीका अनुसार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यानको अभावका कारण अफ्रिकामा आईएसलाई धेरै हदसम्म अनियन्त्रित रूपमा सञ्चालन गर्ने माहोल छ। यो कुरा समूह आफैँले समेत गुनासो गर्ने गरेको छ।
"गत वर्ष आईएस निराश थियो। उसले आधिकारिक सन्देशमार्फत् भन्यो- 'हामी अफ्रिकामा यी सबै ईसाईहरूलाई मारिरहेका छौँ र पश्चिमा मिडिया जातिवादी छ। उनीहरूलाई वास्ता छैन,'" उनी भन्छिन्।
आईएस अफ्रिकामा अत्यधिक सक्रिय भए तापनि अल-लामीका अनुसार त्यसको सिरिया र इराकमा पहिलेजस्तो शक्ति "कत्ति पनि छैन।"
"मध्यपूर्वमा पहिलेजस्तो अफ्रिकामा आईएसले क्षेत्र नियन्त्रण गर्दैन। बरु उक्त सङ्गठन लुक्ने ठाउँ र हिट-एन्ड-रन आक्रमणहरूमा भर पर्छ।"
अब के?

तस्बिर स्रोत, AFP via Getty Images
च्याटम हाउसका वरिष्ठ फेलो डा रेनाद मन्सुरको विश्वासमा आईएस विगतको तुलनामा निकै कमजोर छ।
"आईएसआईएसको अधीनमा बस्ने ठूलो जनसङ्ख्याले दुःख भोग्यो," उनी भन्छन्। बीबीसीको कुराकानीमा उनी सरकारहरूसँग मोहभङ्ग भएका ठाउँमा पनि "आईएसआईएसले पहिलेजस्तो धक्का दिएरहेको वा आकर्षित नगरिरहेको" बताउँछन्।
"ती जराहरू अहिले छैनन्। त्यसैले निकट भविष्यमा त्यसरी क्यालिफेट बढेको देख्न गाह्रो छ," उनी थप्छन्। तर उनको चेतावनीमा आईएस शक्तिका लागि प्रतिस्पर्धा गर्ने कैयौँ सशस्त्र समूहहरू भएका क्षेत्रहरूमा फस्टाउने सम्भावना छ।
सुरक्षाविज्ञ अड्रिअन श्टुनी सबैभन्दा ठूलो जोखिम अन्तर्राष्ट्रिय समुदायले आईएसबाट आएको खतरालाई कसरी प्रतिक्रिया दिन्छ भन्नेमा निहित हुने बताउँछन्। उनको चेतावनीमा ठूला आक्रमणहरूपछि "प्रतिक्रियात्मक शैली" काम नगर्ने भएकाले विभिन्न देशहरूबाट निरन्तर दबाव आवश्यक छ।
"आईएसआईएसजस्तो अनुकूल प्रतिद्वन्द्वी र त्यसको विकसित रणनीतिविरुद्ध तत्कालीन प्रतिक्रिया दिने काम अपर्याप्त छ," उनी भन्छन्। "आईएस बेवास्तामा फस्टाउँछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




