लिबियाका पूर्वनेता गद्दाफीका छोराको 'गोली हानेर हत्या'

    • Author, निक स्प्रिङगेट र माया डेभिस
  • पढ्ने समय: २ मिनेट

लिबियाका भूतपूर्व नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल-इस्लामको गोली हानेर हत्या गरिएको बताइएको छ।

लिबियन न्यूज एजेन्सीका अनुसार ५३ वर्षीय सैफको हत्या भएको पुष्टि उनका राजनीतिक प्रमुखले मङ्गलवार गरेका हुन्। उनलाई गद्दाफीका उत्तराधिकारीका रूपमा हेर्दै आइएको थियो।

सैफको गृहनगर जिन्तानस्थित निवासमा "चारजना कमान्डो"को युनिटले हत्या गरेको उनका वकिलले समाचारसंस्था एएफपीलाई बताएका छन्।

विवरणमा जनाइएअनुसार आक्रमणमा कसको संलग्नता छ भन्ने कुरा स्पष्ट भएको छैन।

घटनाक्रमको एउटा संस्करणमा सैफकी बहिनीले आफ्ना दाइको मृत्यु अल्जेरियासँगको सीमानजिक भएको लिबियन टीभीलाई बताएकी छन्।

प्रभावशाली तथा डरलाग्दा

सैफ अल-इस्लामलाई उनका बुवा गद्दाफीपछि सबैभन्दा प्रभावशाली तथा डरलाग्दा व्यक्तिका रूपमा हेरिन्थ्यो।

गद्दाफीले सन् १९६९ देखि सन् २०११ मा एउटा विद्रोहमार्फत् सत्ताच्युत हुनुअघि लिबियामा शासन गरेका थिए। सन् २०११ मै उनी मारिए।

सन् १९७२ मा जन्मिएका सैफले सन् २००० देखि गद्दाफीको पतन नभएको बेलासम्म पश्चिमा देशहरूसँग लिबियाको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

आफ्ना बुवालाई सत्ताच्युत गरिएपछि प्रतिद्वन्द्वी लडाकु समूहले जिन्तानमा उनलाई करिब छ वर्षसम्म जेलमा राखेको थियो।

सैफमाथि विद्रोहका बेला सरकारविरोधी प्रदर्शनकारीहरूमाथि दमन गर्ने भूमिका निर्वाह गरेको आरोप लगाइएको थियो।

सन् २०११ को जनविद्रोहका क्रममा मानवताविरुद्ध अपराध गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीमाथि मुद्दा चलाउन खोज्यो।

आन्दोलनमा दमन गरेको अभियोगमा देशको पश्चिममा पर्ने त्रिपोलीस्थित एक अदालतले सन् २०१५ मा उनलाई मृत्युदण्डको सजाय सुनायो, जहाँ संयुक्त राष्ट्रसङ्घ समर्थित सरकारको शासन छ।

तर देशको पूर्वमा पर्ने तोब्रुकस्थित एउटा लडाकु समूहले माफी दिने कानुनअन्तर्गत दुई वर्षपछि उनलाई रिहा गरिदियो।

विभाजित लिबिया

गद्दाफीलाई सत्ताच्युत गरिएयता लिबिया विभिन्न लडाकु समूहहरू नियन्त्रित क्षेत्रहरूका रूपमा बाँडिएको छ। अहिले त्यहाँ दुईवटा प्रतिद्वन्द्वी सरकार छन्।

गद्दाफीको शासनकालमा कुनै सरकारी भूमिकामा नभए पनि सैफ अल-इस्लामले नीतिहरू बनाउन सघाउनुका साथै उच्चस्तरीय वार्ताहरूको नेतृत्व गरे। त्यसमा गद्दाफीले आफ्ना परमाणु कार्यक्रमहरू त्यागेको सहमति पनि पर्छ।

उक्त सहमतिपछि उत्तर अफ्रिकी उक्त देशमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा भए, कतिपयले गद्दाफीलाई एउटा सुधारवादी र बदलिँदो लिबियाको मुहारका रूपमा हेरे।

आफ्ना बुवाबाट विरासतमा सत्ता लिन चाहेको कुरा सैफले सधैँ अस्वीकार गरे। सत्ताको बागडोर "विरासतबाट प्राप्त हुने खेतीबारी नभएको" उनले भन्ने गर्थे।

यद्यपि सन् २०२१ मा उनले राष्ट्रपति पदका लागि उठ्ने घोषणा गरे, जुन चुनाव अनिश्चितकालका लागि स्थगित भयो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।