इरानमाथि आक्रमण योजना मूर्तरूप दिनुभन्दा १० मिनेटअघि टरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आफूले हमलालाई मूर्तरूप दिनुभन्दा १० मिनेटअघि मात्रै मनसाय बदलेको बताएका छन्।

बिहीवार खसालिएको एउटा अमेरिकी ड्रोनको जवाफमा तीनवटा विभिन्न ठाउँमा हमलाको योजना बनाइएको थियो।

तर १५० जना मानिस मारिने थाहा भएपछि आफूले हमला रोक्ने निर्णय गरेको ट्रम्पको भनाइ छ।

इरानले उक्त ड्रोन आफ्नो आकाशमा आएकाले खसालिएको बताए पनि अमेरिकाले ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेको बेला खसालिएको आरोप लगाएको छ।

तनाव

अमेरिका र इरानबीच तनाव चलिरहँदा यो घटना भएको हो। यस्तो घटनाक्रमबारे सबैभन्दा पहिले न्यूयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो।

उक्त अखबारले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बारे उल्लेख गरेको थियो।

न्यूयोर्क टाइम्सका अनुसार बिहीवार साँझ सात बजेसम्म पनि अमेरिकी सेना र कूटनीतिज्ञहरू इरानका राडार र क्षेप्यास्त्र ब्याट्रीहरू भएका स्थानमा आक्रमण गरिने अपेक्षामा थिए।

शुक्रवार प्रतिक्रिया जनाउँदै ट्रम्पले भने आफू कुनै पनि किसिमको हतारमा नरहेको बताएका छन्।

"हाम्रो सेना अझ बलियो, नयाँ र विश्वको सबैभन्दा उत्कृष्ट फौजको रूपमा अगाडी बढ्न तयारी अवस्थामा छ," उनले थपे।

न्यूयोर्क टाइम्सले के लेख्यो?

न्यूयोर्क टाइम्सले सो योजनाबारे बिहीवार राति समाचार प्रकाशित गरेपछि अन्य अमेरिकी पत्रिकाहरूले पनि आफैँले तथ्य सङ्कलन गरेर त्यही कुरा लेखे।

न्यूयोर्क टाइम्सले लेखेको छ, "हवाइजहाजहरू उडिरहेका थिए, जहाजहरू आवश्यक स्थानमा थिए तर पछाडि हट्ने आदेश आएकाले कुनै क्षेप्यास्त्र प्रहार भएन।"

सो हमला इरानी नागरिकहरूलाई क्षति नपुगोस् भनेर शुक्रवार बिहानै गर्ने योजना गरिएको थियो।

सो हमला फेरि हुने वा नहुने कुरा स्पष्ट छैन। ह्वाइट हाउस र रक्षा मन्त्रालय रहेको पेन्टागनले समाचारमाथि कुनै प्रतिक्रिया दिएका छैनन्।

ड्रोनलाई के भयो?

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानको इस्लामिक रिभोलुसनरी गार्डस् कोर (आइआरजिसी) ले बिहीवार सबेरै खसालेको हो।

मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ।

उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्।

सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले 'उत्तेजक व्यवहार' देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

अमेरिकाले बिहीवारै अमेरिकी वायुसेवाहरूलाई इरानी आकाशको नजिकै जहाज नउडाउन आकस्मिक निर्देशन दिएको छ।

ट्रम्पले के भने?

राष्ट्रपति ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्।

ड्रोन खसाल्ने काम 'सायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने' उनको भनाइ थियो।

तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्‍याएका छन्। ट्रम्पले उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको दोहोर्‍याएका छन्।

ट्रम्पले भने, "यो केवल शब्द मात्र होइन यसबारे पूरै वैज्ञानिक दस्तावेज हामीसँग छ।"

हवाई प्रतिबन्ध

अमेरिकाले आफ्नो देशमा दर्ता भएका सबै विमानहरूलाई खाडी र आसपासका समुद्रमाथिका इरान नियन्त्रित हवाई आकाश प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासनले त्यस क्षेत्रमा विमानहरू पहिचानको जोखिम हुन सक्ने भन्दै सचेत गराएको हो।

बिहीवार इरानले खसालेको ड्रोनको आकार समेत यात्रुवाहक विमान जत्रै थियो।

संयुक्त अरब इमिरेट्स, ब्रिटिस एयरवेज, केएलएम र क्वान्ट्स लगायत अन्य देशका विमान सेवाले समेत त्यस क्षेत्रको हवाईमार्गको विकल्प खोज्ने बताएका छन्।

बजारमा असर

अमेरिका र तेहरानबीच बढेको तनावको असर अन्तर्राष्ट्रिय बजारमा समेत देख्न थालिएको छ।

सबैभन्दा बढी सुन र पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

सुनको मूल्य ६ वर्षमा सबैभन्दा उकालो लागेको छ।

त्यसको एउटा मुख्य कारण बढ्दो देखिएको सैन्य द्वन्द्वका बीच लगानीकर्ताहरूले सम्भावित आर्थिक जोखिमबाट सुरक्षित रहन खोज्नु ठानिएको छ।

कच्चा तेलमा यसै महिना घटेको मूल्य केही बढेको छ।

खाडी एउटा मुख्य तेल निर्यात गर्ने क्षेत्र हो, जुन विकसित तनावबाट गम्भीर रूपमा प्रभावित हुने ठानिएको छ।