ट्रम्पका आलोचकको रेस्टुरेन्टमा शंकास्पद विस्फोटक उपकरण

अमेरिकी संचारमाध्यमका अनुसार सीएनएन तथा वरिष्ठ डेमोक्र्याटहरूलाई पठाइएकाजस्तै शंकास्पद प्याकेट न्यूयोर्क सिटीस्थित कलाकार रोबर्ट डि निरोको स्वामित्वमा रहेको एउटा रेस्टुरेन्टमा पठाइएको छ।

प्रहरीलाई उद्धृत गर्दै अमेरिकी संचारमाध्यमले स्थानीय समयअनुसार बिहीबार बिहान म्यानह्याटनस्थित सो रेस्टुरेन्ट ट्राइबेका ग्रिलमा उक्त प्याकेट पुगेको जनाएको छ।

भूतपूर्व उपराष्ट्रपति जो बाइडनले पनि त्यस्तै प्याकेट प्राप्त गरेको विवरणहरूमा जनाइएको छ।

अघिल्ला घटनाहरूसँग सम्बन्ध भएमा यसै हप्ताभित्र त्यस्तो शंकास्पद प्याकेट प्राप्त गर्ने डि निरो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका नवौँ आलोचक हुनेछन्।

'ट्रम्प आलोचक'

रेजिङ बुल तथा मिट द पेरेन्सजस्ता चलचित्रका कलाकार डि निरो, अमेरिकी राष्ट्रपति ट्रम्पका कडा आलोचक हुन्।

उनले एकपटक ट्रम्पलाई, उनकै शब्दमा, राष्ट्रिय विपद् भनेका थिए।

गत जुन महिनामा ओस्कार पुरस्कार विजेता डि निरोले अवार्ड्स समारोहमा ट्रम्पको आलोचना गर्दा सो समारोहमा उपस्थित दर्शकहरूले ताली बजाएर उनको स्वागत गरेका थिए।

न्यूयोर्क प्रहरीका अनुसार डि निरोको चलचित्र प्रोडक्सन कम्पनी पनि रहेको सो रेस्टुरेन्टको भवनमा उक्त शंकास्पद उपकरण पुग्दा त्यहाँ कोही पनि थिएनन्।

न्यूयोर्कस्थित प्रहरीले ती शंकास्पद प्याकेटहरूबारे छानबिन गरिरहेका छन्।

खोजी

भूतपूर्व राष्ट्रपति बराक ओबामा र भूतपूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई हुलाकमार्फत् शंकास्पद विस्फोटक पदार्थ पठाइएको थियो।

अधिकारीहरूका अनुसार न्यूयोर्क, वासिङ्गटन डिसी तथा फ्लोरिडास्थित विभिन्न स्थानहरूमा विस्फोटक उपकरहणहरू पठाइएका थिए।

कुनै पनि विस्फोटक उपकरणहरू विस्फोट भने भएका छैनन्।

अमेरिकी संघीय जाँच ब्युरो- एफबीआई- ले ती उपकरणहरू पठाउने मानिसबारे खोजी थालेको छ।

पछिल्लो प्याकेट फेला परेपछि सामाजिक संजालको बेवसाइट ट्वीटरमा सन्देश राख्दै राष्ट्रपति ट्रम्पले समाजमा देखिएको आक्रोशको ठूलो हिस्सा, उनकै शब्दमा, मूलधारका संचारमाध्यमले झुटो तथा गलत समाचार दिएका कारण भएको बताएका छन्।