तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भूकम्पपछिको पुनर्निर्माण: कसले बनाए एक कोठे घर
भूकम्पपछिको पुनर्निर्माणका क्रममा सयौँ निजी घरहरू सरकारी अनुदान रकम लिनका लागि एक कोठा मात्रको बनेको पाइएको छ।
त्यस्ता घरहरू परिवारका लागि अपुग हुने भएकाले अन्य प्रायोजनमै प्रयोग भइरहेको र बसोबासका लागि भने परम्परागत तरिकाले नै बनेका घरहरू प्रयोग हुनु चिन्ताको विषय भएको जानकारहरू बताउँछन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरूले आफूहरू एककोठे घर बनिरहेकोकोबारे जानकार रहेको भन्दै सङ्ख्याका विषयमा जिल्लाहरूबाट विवरण सङ्कलन गरिने बताएका छन्।
भूकम्प पीडितहरूमध्ये केहीले 'अनुदानको घोषणा हुँदासम्म घर बनाइसकेकाले' र केहीले 'महँगीले निम्त्याएको बाध्यताका कारण' अनुदान लिन त्यसो गर्नु परेको जनाएका छन्।
कारण
धादिङको रूभीभ्यालीका कुमार लामाको परिवारले भूकम्पको डेढ वर्षपछि मात्र घर बनाउन शुरू गरेको थियो। छ महिनाअघि मात्र उनको एककोठे घर बन्यो।
जिल्ला सदरमुकामबाट उत्तरतर्फको उनको गाउँ पुग्न हिँडेर पाँच दिन लाग्छ। जहाँ धेरैजसो सामान बोकेरै लग्नुपर्छ।
एककोठे घर बनाउँदा झण्डै छ लाख खर्च भएको बताउँदै उनी भन्छन्, "एक कोठे नै बनाउँदा पनि सरकारबाट पाइनेभन्दा दोब्बर खर्च भयो।"
अस्पष्टता
तीन किस्ते सरकारी अनुदान घर निर्माणका लागि सहयोग पुग्ने रकम मात्र भएकोमा थुप्रै परिवारले त्यसलाई नै सबै रकमको रूपमा बुझ्दा यस्तो समस्या आएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
मापदण्ड पूरा गरिएको हकमा कोठाहरू कतिवटा निर्माण गर्ने भन्ने निर्णय परिवारकै हुने भएकाले त्यसमा हस्तक्षेप गर्न नसकिने सरकारी बाध्यता देखिन्छ।
अनुदान घोषणा हुनु अघि मापदण्ड विना घर बनाइसकेकाले तीन लाखको सदुपयोग गर्न त्यति रकमले भ्याउने घर बनाएको पाइएको कतिपय स्थानीय अधिकारीहरू बताउँछन्।
त्यस्ता घरहरू कतै कतै भण्डार कक्ष त कतै बाख्रा पाल्न समेत प्रयोग भइरहेको पाइएको छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुली भन्छिन्, "मापदण्ड बमोजिम घर बनाउने कुरा सरकारले निकै पछि ल्यायो, त्यतिखेरसम्म कतिपय मानिसहरूले आफ्नै तरिकाले घर बनाइसकेका थिए।"
विकट भेगमा बढी
भूकम्पप्रभावित क्षेत्रभन्दा बाहिर समेत घर हुनेहरू र पुराना घर भत्काउन नचाहनेहरू समेत एककोठे घर बनाउनेहरूमा पर्छन्।
यस्ता समस्या नियमित सरकारी अनुगमन हुन नसकेका विकट भेगमा पाइएको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे बताउँछन्।
उनी भन्छन्, "यस्तो कुरा व्यापक रूपमै आएको छ। हामीले प्राविधिकहरू पठाउनुअघि नै कति घरहरू बनिसकेका थिए। कति घरहरू यस्तो बनेका छन् भनेर जिल्लाहरूबाट रिपोर्ट मागेका छौं।"
निजी आवास निर्माणका लागि झण्डै सात लाख २७ हजारले सम्झौता गरेकोमा अहिलेसम्म तीन लाख ६ हजार घरहरू मात्र निर्माण सम्पन्न भएका छन्।